बेइजिङको केन्द्रमा रहेकाले चीन भ्रमणमा आउने शतप्रतिशत विदेशी पर्यटक थिआन आनमन स्क्वायर पुग्छन् । चीनको मात्र होइन, यो विश्वकै सबैभन्दा ठूलो चोक मानिन्छ । थिआन आनमन चोक उत्तरपट्टि चीनको पुरानो दरबार छ- निषेधित सहर अर्थात् ‘फर्बिडन सिटी’ ।

यो विश्वकै सबैभन्दा ठूलो दरबार हो । दरबारको मुख्य प्रवेशद्वारमाथि राखिएको चिनियाँ नेता माओको तैल चित्र हरेक वर्ष परिवर्तन हुने बताइन्छ । चोकको पूर्वपट्टि चीनको राष्ट्रिय सङ्ग्रहालय छ । संयोगले यो पनि विश्वको सबैभन्दा ठूलो सङ्ग्रहालय हो । त्यति मात्र होइन, चोकको पश्चिममा रहेको जनवृहत् सभाभवन पनि विश्वको सबैभन्दा ठूलो संसद हो । यो चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसको भवन हो, जसलाई चिनियाँ संसद् पनि भनिन्छ ।
थिआन आनमन चोकको दक्षिणतिरचाहिँ चिनियाँ नेता माओ त्से तुङ छन् । हो, माओको निधन भएको ४१ वर्ष भए पनि उनको शव जस्ताको तस्तै राखिएको छ । माओ त्से तुङ तिनै विश्वप्रसिद्ध नेता हुन्, जसले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा विशाल जनयुद्ध गरेर जनगणतन्त्र चीन बनाए ।
नयाँ चीनका संस्थापक नेता माओ त्से तुङ कति वर्षका भए ? यो प्रश्न चिनियाँहरुमा पनि उठ्ने गर्छ । कसैले भन्लान् ‘अध्यक्ष माओ ८३ वर्षको उमेरमा मरेका हुन् । उनी मरेको पनि चार दशकभन्दा बढी भयो ।’ तर चीनमा माओ अझै जीवित छन् । सोमबारबाहेक हरेक दिन हजारौं चिनियाँहरु नेता माओसँग साक्षात्कार गर्छन् । चिनियाँ जनता मात्र होइन, कैयौं विदेशीहरु पनि माओलाई भेट्ने गर्छन् । बिसौं शताब्दीको मध्यदेखि विश्व थर्काउने नेता माओलाई चीनमा अहिले पनि ‘अध्यक्ष माओ’ भनेर सम्बोधन गरिन्छ ।
मृत्यु भएको ४१ वर्ष पूरा हुँदा पनि अध्यक्ष माओ उस्तै छन्, जस्तो सन् १९७६ मा थिए । उनी ‘अध्यक्ष माओ स्मारक भवन’ मा अहिले पनि सुतिरहेछन् ।
माओको जन्म १८९३ डिसेम्बर २६ मा चीनको हुनान प्रान्तको सावोसानमा भएको थियो । उनकै नेतृत्वमा १९४९ अक्टोबर १ मा जनगणतन्त्र चीन स्थापना भएको हो । १९७६ सेप्टेम्बर ९ का दिन बेइजिङमा उनको निधन भयो । निधनपछि पनि माओ त्से तुङको शवलाई सुरक्षित राखेर दैनिक हजारौं मानिसहरु उनको शव अगाडि उभिएर शिर निहुरााउँदै श्रद्धाञ्जली अर्पण गर्छन् ।
चीन भ्रमणमा आएका प्राय नेपालीको इच्छा पनि माओको शव हेर्ने हुन्छ । शव हेर्नका लागि लामो लाइन बस्नु पर्ने भएकाले समय अभावमा आतिथ्य गर्ने निकायले सबै नेपालीलाई माओको शव देखाएको हुँदैन । चीनमा आएर पनि माओको शव हेर्न नपाएकाहरुको एउटै प्रश्न हुन्छ – साँच्चै लाश नै राखेको हो कि लाशजस्तै बनाएर राखेको हो ? कहाँ नेपालीको मात्र प्रश्न हो र, चीन भ्रमणमा आएका अन्य देशका पर्यटकले पनि यही प्रश्न गर्छन् । कारण स्पष्टै छ – माओका शवका बारेमा अझै पनि रहस्य र जिज्ञाशा धेरै छ ।

माओ सन् १९४३ देखि चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य थिए भने सन् १९४५ देखि जीवनभर उनी चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका अध्यक्ष रहे । तिन दशकभन्दा बढी चीन शक्तिशाली नेता रहेका माओको निधन भए पनि उनको शवलाई सुरक्षित राखेर एक वर्षपछि माओ स्मारक हलमा सारियो, जहाँ आज पनि उनलाई मुद्रामा देख्न पाइन्छ ।
माओ स्मारक भवन निर्माणको कथा पनि निकै लामो छ । माओको मृत्यु भएको अढाइ महिनापछि १९७६ नोभेम्बर २४ मा निर्माण सुरू भएको यो भवन १९७७ मे २४ मा पूरा भयो । यसको निर्माणमा चीनका विभिन्न प्रान्तका सात लाख नागरिकले साङ्केतिक रुपमा स्वयंसेवा गरेका थिए । स्मारक भवनमा चीनका विभिन्न प्रान्तका फरक फरक वस्तुहरु प्रयोग भएका छन् । सिचुवान प्रान्तको ग्रेनाइट, क्वाङतोङको पोर्सिलियन माटोको प्लेट, पल्लो सान्सीका सल्लाको काठ, सिन्चियाङको विशेष प्रकारको वनस्पतिको बिउ, थाङसानको माटो, नान्चिङबाट रङ, खुनलुन पहाडबाट सेतो पत्थर, च्यान्सी प्रान्तबाट पाइन लग, ताइवानबाट पानी र बालुवाको नमुना यसमा मिसाइएको छ ।
अनि सीमामा उभिए पनि नेपालको शान रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाबाट ढुङ्गाको नमुना ल्याई यो भवनमा प्रयोग गरिएको छ । ५७.२ हजार वर्ग मिटर क्षेत्रफलमा विस्तारित माओ स्मारक भवनको मुख्य प्रवेशद्वारको माथिपट्टि सुनौला अक्षरमा टल्किरहेछ- ‘अध्यक्ष माओ स्मारक हल ।’
हलको उत्तरतिर प्रवेशद्वार छ भने दक्षिणतिर निस्कासन द्वार रहेको छ । भवनमा पस्नासाथ मार्बलबाट बनेको साढे तिन मिटर अग्लो माओको सालिक भेटिन्छ । मध्यभागको हलमा क्रिस्टलभित्र माओको शव छ । छातीसम्म चिनियाँ कम्युनिस्ट पार्टीको झन्डाले ढाकिएको शव कालो ग्रेनाइटको कफिनमा राखिएको छ । कफिनको चारैतिर चिनियाँ कम्युनिस्ट पार्टीको चिहृन, चीनको राष्ट्रिय चिहृन, चिनियाँ जनमुक्ति सेनाको चिहृन र माओको जन्म र निधनको तिथिमिति लेखिएको छ । स्मारक भवनको दोस्रो तलामा माओ त्से तुङसँगै चिनियाँ कम्युनिस्ट पार्टीका लोकपि्रय नेताहरु चाउ एन लाई, लिउ साओ ची, चु ते, तङ स्याओ फिङ र छनयुनको नाममा स्मृति कोठाहरु रहेका छन् ।
माओ स्मृति हलमा प्रवेश निःशुल्क छ । चीनमा मरेका मान्छेको सम्मानमा टोपी झिक्ने चलन भएकाले हलभित्र पस्ता टोपी लगाउन पाइन्न । त्यसै गरी क्यामेरा लान पनि निषेध गरिएको छ । आफूसँग भएको झोला वा कुनै खाद्य पदार्थ पनि भित्र लान पाइन्न । मोबाइल लान पाइन्छ तर भित्र कुरा गर्न पाइन्न ।
मङ्गलबारदेखि आइतबारसम्म बिहान ८ बजेदेखि १२ बजेसम्म खुला रहन्छ यो हल । जुलाई र अगस्तमा बिहान ७ बजेदेखि ११ बजेसम्म खुल्ने गर्छ । माओको जन्मदिन डिसेम्बर २६ र मृत्यु भएको दिन सेप्टेम्बर ९ मा चाहिँ थप दिउँसो २ देखि ४ बजेसम्म पनि हल खुल्ने गर्छ । स्मारक भवनमा माओप्रति श्रद्धा अर्पण गर्ने व्यक्तिहरु अन्य समयभन्दा डिसेम्बर २६ र सेप्टेम्बर ९ मा दशौं गुणा बढी हुन्छन् । त्यसैले पनि यी दुई दिनहरुमा दुई चरणमा स्मारक भवन खुल्ने गरेको हो । यसबाहेक पुर्खा दिवसका दिन पनि माओको शव हेर्ने मानिसको सङ्ख्या अत्यधिक हुन्छ ।
चीनमा छिङमिङचे अर्थात् पुर्खा दिवस अपि्रलमा पर्छ । पुर्खा दिवस मरिसकेका अग्रजलाई सम्मान गर्ने दिन हो । सो दिन आˆना पुर्खाको चिहान सफा गरी रङरोगन गरिन्छ । पछिल्लो समय चीनमा शव गाडेर चिहान बनाउने जमिन अभाव हुन थालेपछि जलाउन थालिएको छ । लाश जलाइए पनि अलिकति खरानी भने निश्चित स्थानमा पुरिन्छ र चिहानको प्रतीकको रुपमा स्मरण गरिन्छ ।
माओको शव हेर्न चाहने चिनियाँ नागरिकले बिहानै आफ्नो परिचय खुल्ने कार्ड र विदेशी भए राहदानी लिएर लाइनमा बस्नुपर्छ । दैनिक हजारौं मान्छे लाइन लागेर माओको शव हेर्न जाने भएकाले स्मृति भवनभित्र धेरै बेर बस्न पाइन्न ।
चीन सरकारको आमन्त्रणमा आएका विदेशी उच्च कूटनीतिज्ञहरुलाई भने विशेष सुविधा उपलब्ध हुन्छ । त्यस्ता विशिष्ट पाहुनालाई भवनभित्र केही समय बस्ने भवनको माथिल्लो तलामा पनि अवलोकन गर्ने अवसर हुन्छ । ती पाहुनाहरुले भवनभित्र माओको सालिकलाई पृष्ठभूमिमा पारेर फोटो खिच्न पनि दिइन्छ तर माओको शवको फोटो खिच्नचाहिँ कसैले पाइन्न ।
भावनात्मक रुपमा चिनियाँ जनताको मनभरि अझैसम्म जीवित छन् अध्यक्ष माओ । सबै चिनियाँ नागरिक र चीन घुम्न आउने हरेक विदेशीले माओलाई चिन्ने मौका पाएका छन् किनभने चिनियाँ युआनको एकदेखि सयसम्मका नोटमा माओको फोटो हुन्छ ।
माओको मृत्यु भएको ४२ वर्ष भइसक्दा पनि शवलाई जस्ताको तस्तै राख्नु चानचुने कुरा होइन । यसरी शव संरक्षण गर्नर् निकै खर्चिलो पनि छ । विशेष रासायानिक तत्व राख्नुपर्ने र यसको सुरक्षामा उच्च ध्यान दिनुपर्ने हुन्छ ।
८३ वर्षमा मरेका माओ अहिले पनि ८३ वर्षकै छन् । अरु मानिसहरुको उमेर बढ्दै जाँदा शरीर वृद्ध हुँदै जान्छ तर माओ सधैं ८३ वर्षकै उमेरमा सुतिरहेका छन् ।
(आचार्यको ‘चीन चिहाउँदा’ पुस्तकको अंश)बाट ।







