नीलो रंगको सैनिक पोसाक । गलामा बाँधिएको रातो रुमाल र रातो तारासहितको आकर्षक टोपी । चीनको दक्षिण–पश्चिम प्रान्त जिझोउस्थित विद्यालय प्रांगणमा चिसो मौसमबीच स–साना बालबालिका परम्परागत मार्सल आट्र्स ‘कुङ फु’ सिकिरहेका हुन्छन् ।

विन्सिसुई गाउँको पहाडमा रहेको यो स्कुल एक सय वर्षपहिल्यै स्थापना भएको हो । तर, नौ वर्षयता विद्यालयको नाम मात्रै फेरिएको छैन, पोसाक र पाठ्यक्रम नै बदलिएको छ । चीनमा रहेका दुई सय ३१ भन्दा बढी सैनिक विद्यालयमध्ये यो एक पुरानो विद्यालय हो । सन् २००८ बाट सरकारले आफ्नै लगानीमा सुरु गरेका सैनिक विद्यालयको संख्या बढ्दो छ । गरिब प्रान्तका त्यस्ता विद्यालयलाई सैनिक विद्यालयमा परिणत गरिएको छ, जहाँ क्रान्तिको समयमा चिनियाँ लालसेनाले आधार इलाका खडा गरेका थिए ।

यस्ता विद्यालयमा विद्यार्थीलाई बच्चैबाट कम्युनिस्ट पार्टीका सिद्धान्त घोकाइन्छ । सैन्य अभ्यास गराइन्छ ।

‘रेड आर्मी स्कुल’ले विद्यार्थीका लागि निकै राम्रो शिक्षा दिइरहेको छ । यस विद्यालयले उनीहरूलाई सानैबाट सचेत र मिहिनेती हुन सिकाउँछ,’ स्कुलका म्यानेजर मु चुनयोङ भन्छन्, ‘जिझोउ प्रान्त गरिब प्रान्तमध्ये एक हो । तर, यहाँ अहिले धेरै परिवार सम्पन्न र सुखी जीवन बाँचिरहेका छन् । त्यसैले उनीहरूले यस्तो जीवन कसरी पाए भन्ने बुझाउन यो विद्यालय खोलिएको हो।’

जिझोउ प्रान्तकै युक्विङ काउन्टीमा रहेको ‘वर्कस एन्ड पिसेन्ट्स रेड आर्मी’ स्कुलको इतिहास दुईसय २९ वर्ष लामो छ । तर, यो विद्यालय सैनिक विद्यालयमा परिणत भएको चार वर्ष मात्रै भयो । यहाँ सानैदेखि विद्यार्थीले ‘राष्ट्रवादी शिक्षा’ लिन्छन् ।

कक्षामा पढ्ने ११ वर्षीय कुनाङ यान्ली भन्छन्, ‘धेरै देशहरू हामीमाथि शासन गर्न चाहन्छन् । त्यसैले हामीले मिहिनेतसाथ पढ्नुपर्छ र त्यस्तो हुन दिनुहुँदैन ।’ शिक्षकहरूले ‘लालसेना’को गौरवगाथा विद्यार्थीलाई सुनाउने गरेका छन् । लोभी तानाशाह तथा तत्कालीन समयका जापानी शासकबाट ‘लालसेना’ले कसरी देशलाई स्वतन्त्र बनाए भन्ने विषय विद्यार्थीलाई बुझाइन्छ ।

‘आजको जीवन धनी छ । मानिसहरू खुसी छन् । तर, यो जीवन कहाँबाट आयो ? कसले दियो ?’ कक्षा ४ का शिक्षक सिन हङले प्रश्न राखे । ‘यो सबै लालसेनाका क्रान्तिकारी सहिदहरूको रगतबाट आएको हो,’ सैनिक पोसाक लगाएका नौ वर्षका ली जियाचेङले जवाफ फर्काए । याङ डेझी र यो विद्यालयमा केही भिन्नता छ । जस्तो, सबै विद्यार्थीले यहाँ लालसेनाको पोसाक लगाउँदैनन् । ‘यहाँ उत्कृष्ट विद्यार्थीलाई मात्रै यस्तो पोसाक लगाउने छुट छ,’ शिक्षक हङले भने ।

विद्यार्थीलाई पार्टी र सहिदहरूप्रति इमानदार रहन शिक्षा दिइन्छ । ‘अरू देशहरू अझै पनि युद्धमा छन् । अफ्रिकामा धेरै व्यक्ति भोकमारीको चपेटामा छन् । त्यसैले, लालसेनाले गरेको बलिदानी नबिर्सनू,’ सिन हङले विद्यार्थीमाझ भने ।

राष्ट्रपति सी जिनपिङले सैनिक विद्यालयलाई नमुना विद्यालय भनेका छन् । उनी आफैँ पनि लालसेनाका छोरा हुन् । दक्षिण–पश्चिम चीनको सैनिक विद्यालय सीकै बाबु सी जोङ छुनको नामबाट स्थापित छ । यस्ता विद्यालयलाई दसौँ हजार डलर सहयोग दिने घोषणा सीले गरेका छन् ।

शैक्षिक गुणस्तरका आधारमा विद्यालयहरूको भागमा कम वा बढी रकम पर्न सक्छ । यस्तो रकम शिक्षकको तलव वृद्धि गर्ने तथा विद्यार्थीका लागि पोसाक र शैक्षिक सामग्री खरिद गर्ने प्रयोजनमा खर्च हुन्छ । त्यसैले आफ्नो विद्यालयलाई उत्कृष्ट बनाउने प्रतिस्पर्धा चलिरहेको छ ।

राष्ट्रपति सीले देशका दुई लाख ८३ हजारभन्दा बढी विद्यालयमा ‘नयाँ युगको राजनीतिक शिक्षा’ दिने योजना ल्याएका छन् । यसै वर्षबाट लागू हुने नयाँ पाठ्यक्रममा कम्युनिस्ट सिद्धान्तका ठूला–ठूला ठेली समावेश छन् । अब, सैनिक विद्यालय मात्रै नभएर अन्य विद्यालयमा पनि चिनियाँ क्रान्ति, राजनीति र इतिहासबारे पढाइ हुनेछ ।

माक्र्स र माओबारे विद्यार्थीहरूले पढ्नुपर्नेछ । यसै शैक्षिक सत्रबाट शिक्षा मन्त्रालयले गणित र विज्ञानसँगै इतिहास, भाषा, कानुन र नैतिक शिक्षालाई समेत प्राथमिक तथा माध्यमिक तहमा अनिवार्य गरेको छ । परम्परागत औषधि, कन्फ्युसियसका विचार तथा चिनियाँ सभ्यताका विषयमा विद्यार्थीले पढ्नेछन् । चर्चित लेखक ‘लु सन’का विषयमा कक्षाकोठामा छलफल हुनेछ ।

गत महिना मात्रै चिनियाँ कम्युनिस्ट पार्टीले विद्यालयलाई ‘परम्परा तथा सामाजिक संस्कार’को प्रवद्र्धन गर्न निर्देशन दिएको थियो । चीनलाई विश्वकै महाशक्तिका रूपमा पुनःस्थापित गर्न पार्टीले खेलेको भूमिकाका विषयमा विद्यार्थीलाई जानकार गराउने सरकारको लक्ष्य छ ।

४० क्रान्तिकारी नायक, माओत्सेदुङले सन् १९४४ मा दिएको ‘जनताको सेवा’ नामक भाषणलगायत विषय नयाँ पाठ्य–पुस्तकमा समावेश छन् । सीको विदेश नीतिमा समावेश चीनको भूभाग तथा विवादास्पद साउथ चाइना सीका विषयमा पढाइ हुनेछ ।

कक्षा २ को पुस्तकमा ‘लिटिल हिरो’ वाङ इर्छियोको कथा समावेश छ । यी १३ वर्षका गोठाला सन् १९४२ मा कम्युनिस्ट पार्टीको मुखपत्रमा कार्यरत अधिकारीलाई जोगाउने क्रममा जापानी सेनाबाट मारिएका थिए । माओका सैनिकले क्रान्तिका सुरुवाती वर्षमा गरेका संघर्ष पाठ्यक्रममा समावेश छ ।

गणितमा समेत पार्टीको इतिहास घुसाइएको छ । ‘माओको समयमा भएको लङ मार्चको दूरी कति हुन आउँछ ?’ भन्ने प्रश्न गणित विषयको पाठ्यक्रममा छ । यसको उत्तर ६ हजार माइल्स भन्ने हुन्छ ।

तर, अभिभावक तथा शिक्षाविद्ले यो योजनालाई परिवर्तन गर्न माग गरेका छन् । प्राथमिक तहमा अध्ययनरत देशका १८ करोड १० लाखभन्दा बढी विद्यार्थीलाई गणित, विज्ञान र मानवशास्त्रका विषयमा आधुनिक शिक्षा मात्रै दिनुपर्ने उनीहरूको माग छ ।

चीनको धनी राज्यमध्ये एक, हेजियाङ प्रान्तका अभिभावकले यस शिक्षा प्रणालीको विरोध गरेका छन् । कक्षा ५ को पाठ्यक्रममा परम्परागत चिनियाँ औषधि बनाउने तरिका समावेश गरिएपछि अभिभावकहरू विरोधमा उत्रिएका छन् । ४० वर्षका सफ्टवेयर प्रोग्रामर डेन्ज झिगो यस्तो शिक्षा प्रणालीको विरोध गर्नेमध्ये एक हुन् । उनका दुई छोराछोरी प्राथमिक विद्यालयमा पढ्छन् । उनी यस्तो परिवर्तनले विद्यार्थीलाई आधुनिक विज्ञान बुझ्न समस्या गराउने तर्क गर्छन् । ‘प्राथमिक तहमा परम्परागत औषधि बनाउने तरिकाका विषयमा पढेका विद्यार्थीले माथिल्लो तहमा पुगेपछि आधुनिक विज्ञान पढ्दा कति समस्या बेहोर्नेुपर्ला ? यस्तो परिवर्तनको मूल्य हामीले बायोलोजी तथा केमेस्ट्रीबाट तिर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यो त बिहान डार्बिनको सिद्धान्त पढ्ने र दिउँसो सृष्टिको उत्पत्तिका विषयमा पढेजस्तो भयो । यस्तो शिक्षाबाट कसरी विद्यार्थीको विकास हुन सक्छ ?’

भर्खरै पार्टीको महाधिवेशनबाट थप शक्तिशाली भएर निस्किएका राष्ट्रपति सी जिनपिङले आफ्नो प्रोपोगान्डाको अभ्यासका लागि यस्तो शिक्षा प्रणाली भित्राएको आरोप आलोचकहरूको छ । विश्वव्यापी अर्थतन्त्रका लागि सीपयुक्त जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता रहेका वेला यस्तो शिक्षाले पार्टीको महानता मात्रै दर्शाउने उनीहरूको ठम्याइ छ । इन्टरनेटमा युवापुस्ताको बढ्दो आर्कषणबाट तर्सेर सरकारले यस्ता योजना ल्याएको उनीहरूको तर्क छ ।

‘पार्टीका सन्देश तथा सिद्धान्तहरू डुबानमा पर्ने खतरा देखेर सरकारले यस्तो योजना ल्याएको हो । न्युयोर्कको फर्डह्याम विश्वविद्यालयका चिनियाँ कानुन तथा सुशासनविद् कार्ल मिन्जनेरले भने, ‘कुनै समयको क्रान्तिकारी पार्टी अहिले धनी र शक्तिशाली भएको छ । त्यसैले समाजमा आफ्नो नैतिकता गुम्ने डर उनीहरूलाई छ ।’ बेइजिङ बस्ने इतिहासविद् तथा पार्टीका आलोचक झांग लिफान चिनियाँ क्रान्ति र अहिलेको समाजबीच आकाश–जमिनको अन्तर रहेको बताउँछन् । ‘पार्टीको सिद्धान्तमा ऊर्जा र सिर्जनशीलाको कमी छ,’ उनले भने, ‘त्यसैले भावी पुस्तालाई हातमा लिनका लागि गरिने प्रयास भनेकै विगतको बलिदानीको प्रचार हो ।’

स्वाभिमानको भोका रहेका मध्यमवर्ग तथा मजदुर यस्तो शिक्षाप्रणालीबाट खुसी देखिएका छन् । तर, धनाढ्य प्रान्तमा यस प्रणालीको विरोध भएको छ । बेइजिङका शैक्षिक परामर्शदाता जियाङ सुक्विन यस्तो शिक्षाले भविष्यमा हिंसा भड्काउन सक्ने चिन्ता गर्छन् । ‘अहिलेको राष्ट्रवाद हिंस्रक सैनिक राष्ट्रवादमा परिणत भएको खण्डमा यसलाई नियन्त्रण गर्न गाह्रो हुनेछ ,’ उनले भने ।

आलोचकहरूको संशय र भयका बाबजुद ‘राष्ट्रवादी शिक्षा’ फक्रिँदो छ । लालसेनाको गीत गाएर कक्षा सुरु हुन्छ । त्यसपछि विद्यार्थीले क्रान्तिकारी कथा पढेर सुनाउँछन् । राष्ट्रपति सीका विषयमा पनि पाठ्यक्रममा पढ्नुपर्छ । हप्तामा थुप्रैपटक स्कुलको प्रांगणमा भेला भएर विद्यार्थीले सीको सिंग्नेचर टोन ‘चाइनिज ड्रिम’ गाउँछन् । जुन यस्तो छ :
१ हजार वर्षको चिनियाँ सपना
१ हजार वर्षको चिनियाँ सपना
यो सपना अघि बढ्नेछ, यो तपार्इंको काँधमा हुनेछ ।
चीनको पुनरुत्थानका लागि, चीनको पुनरुत्थानका लागि ।

एजेन्सीहरूको सहयोगमा नयाँ पत्रिकाद्धारा तयार पारिएको सामग्री  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार