
ख्यालख्यालैमा हो ख्यालख्यालैमा !
कति छिटो दिल बस्यो कमरेड लारक्यालैमा !
निमुखाको झुपडीको मान्छे हुँ म भन्थ्यौ हिजो !
झुपडीमै बास थियो हो नै जस्तो बन्थ्यौ हिजो !
कति प्यारो देख्ने गर्थ्यौं तिम्ले झोला भिरेपछि !
कस्को थियौ कस्को भयौ तिमी सहर छिरेपछि !
ख्यालख्यालैमा हो…..!
हाम्रा थोत्रा थाङ्नामा नि मजासँग निद लाग्थ्यो
हामी बस्थ्यौं गौंडा रुँघ्न तिम्रो डर टाढा भाग्थ्यो
हाम्रै ढिडो गुन्द्रुकमा तिम्रो जिब्रो रमाउँथ्यो
हाम्रै आँगनीमा हाम्रो सेना डेरा जमाउँथ्यो
ख्यालख्यालैमा हो……!
तिम्रा काँखमा रमाउँथे धुस्रे फुस्रे केटाकेटी !
निहुरेर नमस्कार भन्ने गर्थ्यौ हाम्लाई भेटी !
ती दिन गए यी दिन आए सुनेर नि सातो गयो !
सुनेम हाम्ले अव हाम्रो लार्क्याल पो नेता भयो !
ख्यालख्यालैमा हो …….!
हामी झनै चाउरियौं तिमी चिल्लो बन्दै गयौ
नमस्कार गर्दा पनि चिनिन त भन्दै गयौ
हिजोसम्म हाम्रा थियौ आजबाट उस्का भयौ
कति चाँडै कमिसन चन्दा अनि घुसका भयौ
ख्यालख्यालैमा…..!
लड्नेहरू किनारामा ट्वाल्ल हेरिराखेका छन् !
लार्क्याल पो छिरिकन टन्न स्वाद चाखेका छन् !
गणतन्त्र ल्याउँनलाई हामी लड्यौं मरीमरी !
डाडु पन्यु लार्क्यालको हातमा भो कसो गरी ?
ख्यालख्यालैमा…..!
कवि एवं लेखक माअाेवादी केन्द्रका पाेलिटव्युराे सदस्य हुन् , लेखककाे फेसबुकबाट ।







