जब, जापानमा हिउँ पर्छ।
नेपाली सेल्फी वालहरू
हिउँसँगै झर्छन्।
मानौ
जापानको हिउँ विशेष जस्तो।
अचम्म कस्तो न कस्तो!?
जापानमा थिचिएर
चाउरिएका अनुहारहरू
ब्युटी प्लसहरूमा
टिमिक्क पारी
पोष्ट हुन्छन्।
मानौ
ब्युटी प्लसले नै मुख धुन्छन्।
अनि
साकुरा भन्ने पैँयु फूल्छ
सेल्फी मुसलधारे हुन्छ।
पोष्टको महावर्षा हुन्छ।
ब्युटी प्लसमा छानिछानी
बनावटी हाँसो खिसिक्क!
मानौं
जापानमा खुसीको स्वर्ग नै छ।
तर थाहा छैन
ब्युटी प्लसमा नखिचिएका रेखाहरू
सेल्फीवालका व्यथाहरू।
बेमौसमा कति सेल्फीवाल
फूजीसान भन्ने ढिक्को हेर्न पुग्छन्।
लाईभ दिन्छन्
पुप्पो मै पुगे जस्तो फुर्ति झार्छन्।
तर जीवनको हजारौ ढिस्कोमा
ठोकिएको लाईभ अदृश्य पार्छन्।
जबकि स्वदेश नेपाल
बाह्रैयाम हिउँ पर्छ
हिउँचूलीहरूमा
हिउँदमा हिउँफेदी
तलतलका बस्ती पाखाहरू
सेताम्मै सेताम्मै
नपुगेनी सेल्फीवालका आखाँहरू।
साकुरा भन्ने पैयूँ त कति हो कति
लालिगुराँसले ढकमक्क पहाड जति।
गनी साध्य छैन फूजिसान ढिस्को
अटल छ सगरमाथा स्वदेशको।
प्रफुलित छन्
स्वदेशको वास्तविक खुसीहरू।
हेर त पर्व कन्चनजंघा
पश्चिम अपी शैपाल।
यही खुसीमा अमर छ
तिम्रो देश नेपाल।
के कमी छ र ?
नुनदेखि सुन
हीरादेखि मणी
सब त छ नि।
स्वदेशमा गर्व गर।
बिन्ति सेल्फीवाल
नकक्ली विदेशी
सेल्फीको पोको नहाल।
लेखक जापानमा बसेर पढार्इसँगै राेजगारी गरिरहेका छन् ।







