नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले आजको युरोप र अमेरिकामा समाजवादको नाराले नपुग्ने भन्दै अब साम्यवादको एजेन्डा लिएर कम्युनिस्ट अगाडि बढ्नु पर्ने बताएका छन् ।
रुसी समाजवादी क्रान्ति र चिनियाँ क्रान्तिपछि विश्वमा पुँजीवादीहरुले समाजवादका थुप्रै विशेषताहरुलाई लागू गरेर समाजवादीहरुमाथि नै प्रहार गर्ने गरेको भन्दै महासचिव विप्लवले अब अमेरिकी र युरोपली विश्वमा साम्यवादको एजेन्डालाई स्थापित गर्नै पर्ने बताएका छन् ।
नेकपा निकट मगर मुक्ति मोर्चा नेपालको केन्द्रीय भेलापछि केन्द्रीय कार्यालयको बैठकमा महासचिव विप्लवले यस्तो बताएका हुन् ।
युरोप र अमेरिकालगायत विकसित देशमा कम्युनिस्ट आन्दोलन किन माथि उठ्न सकेन भन्ने प्रश्न आजको समकालीन विश्वमा कम्युनिस्टहरुमाथि पेचिलो प्रश्न देखा परेको भन्दै विप्लवले पुँजीवादीहरुमाथि हाबी हुन कम्युनिस्टहरुले साम्यवादको कार्यक्रमलाई जोडदार रुपमा स्थापित गर्नु पर्नेमा जोड दिए ।
महासचिव विप्लवले नेपाललगायत अरु तेस्रो मुलुकका देशमा अब समाजवादी क्रान्तिको कार्यक्रम लिएर जानु पर्नेमा जोड दिए ।
देशमा जारी कथित संघीयताले देशको समस्या समाधान गर्न नसक्ने भन्दै महासचिव विप्लवले समाजवादी व्यवस्थापछि संघीयताले मात्र नेपालका उत्पीडित जाती र समुदायको मुक्ति हुने धारणा राखे ।







