
नेपाल कम्युनिस्ट पार्टीकाे सहायक संगठन राष्ट्रिय युवा जनस्वयमसेवकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यताले भ्रष्टाचारसँग जोडिएका ठूला काण्डहरुमा ठूलो मोलाइ गरिरहेको भन्दै उनीमाथि गहिरो छानविन गरी कडाभन्दा कडा सजाय गरिनु पर्ने बताएकाे छ ।
नेकपा निकट युवा संगठन राष्टिय युवा जनस्वयमसेवकले राजधानीमा पत्रकार सम्मेलन गरेर बस्न्यातमाथि यस्तो गम्भीर प्रश्नसहित कार्वाहीकाे माग उठाएको हो ।
राष्ट्रिय युवा जनस्वयमसेवकका अनुसार बस्न्यातले केही साना कर्मचारीहरुलाई आफैले योजनाबद्ध जालो थापेर घुस खुवाउने र आफैले समातेको नाटक गरिरहेको तर भित्र भने ठूला भ्रष्टाचारका काण्डमा मोलमोलाइ गरेको आरोप लगाएको छ।
बस्न्यातले राजश्व अनुसन्धान आयोगका प्रमुख चुडामणी शर्मा, पूर्व प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल, नेपाल आयल निगमका प्रमुख गोपाल खड्का लगायतका केही भ्रष्ट पात्रहरुमाथि चलिरहेको मुद्दामा बस्न्यातले भित्री रुपमा जोगाउने प्रयास गरिरहेको जनस्वयमसेवकको भनाइ छ ।
बस्न्यातले गरेकाे गंभीर प्रकृतिकाे कुकृतिकाे युवा जनस्वंसेवकद्धारा गरिएकाे अपिल
सानालाई ऐन, ठूलालाई चैन यो नै नेपाली राजनीति र संस्कृतिको विडम्वनायुक्त विशेषता हो । खासगरी सुशासन प्रदान गर्ने भन्ने राजनैतिक नेताहरु, अझ त ठूला दलका ठूला नेताहरु, अनि सुशासन कायम गर्ने निकायका प्रमुख पदाधिकारीहरु नै कुशासनका मतियार हुँदै गएका छन् । यो नै नेपाली जनताको दुर्भाग्य बन्दै आएको छ । आधा पेट खाएर, आधा आङ छोपेर बाँचेका दुःखी जनता यी कुराप्रति बेखबर त छन नै सचेत भनिने बौद्धिक तप्का र जुझारु युवा जमातले पनि केही हदसम्म यसबाट बेखबर छन् । देश, समाज र आफ्नैका विरुद्धको यो दुर्दशाको मुकदर्शक हामी कतिसम्म बनिरहने ?
राज्यको नीति निर्माण गर्ने, दैनिक प्रशासन चलाउने र भ्रष्टाचारको नियन्त्रण गर्ने अधिकार प्राप्त व्यक्ति नै महाभ्रष्ट हुनु विडम्वना हो । तर, नेपालमा यस्तै विडम्वना नै विडम्वनाहरु छन् । जुन व्यक्ति सुशासन र सदाचार भन्छ उही कुशासन र व्यभिचारको कारक बन्दै जाने गरेका छन् । जनताको सेवा गर्ने ठाउँमा पुग्नेहरु नै जनतामाथि लुट मच्चाउँदैछन् । आजसम्मको नेपाली राजनीतिक इतिहासले यही कुराको पुष्टि गर्दै आएको छ ।
अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि त्यस्तै एक विडम्वना बन्न गएको छ । सर्पले सर्पका खुट्टा देख्छ भनेजस्तै यस आयोगमा रहनेहरु केही भ्रष्टहरुका विरुद्ध अभियान चलाइरहेको देखाउँदै त्यसको खोलभित्र आफ्नो महाधन्धा सुरु गरिरहेका छन् । महाभ्रष्टका रुपमा चित्रित भएर अन्ततः भ्रष्ट नेताहरुबाटै महाअभियोग लगाएर फालिएका लोकमान कार्कीका उत्तराधिकारीका रुपमा आइपुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका वर्तमान प्रमुख झनै महाका पनि महाभ्रष्टमा परिणत भएका छन् । राजनैतिक नेताहरुलाई घुस कमिसन खुवाएर जीवनभर मालदार अड्डामा बस्न सफल आयोगका वर्तमान प्रमुख आयुक्त दिप बस्न्यात अहिले आयोगबाट ठूलो धन्दा चलाइरहेका छन् । यहाँ महाभ्रष्ट बस्न्यातका बारेका केही कुराहरु उल्लेख गरिएको छ ।
बस्न्यात सामान्य परिवारबाट प्रशासनिक सेवामा प्रवेश गरेका व्यक्ति हुन् । खोटाङ जिल्लाको एक सामान्य परिवारमा जन्मिएका बस्न्यात अहिले अर्बौ सम्पतिका मालिक छन् । उनको राजधानी काठमाडौंको बत्तिसपुतलीमा करिव ६ रोपनी जग्गामा तीन वटा ठूला ठूला महल छ । त्यससहित राजधानीमा उनको ठूलो सम्पति रहेको छ । जुन सम्पति उनको सबै पुख्र्यौली सम्पती जोड्दा, उनको देखिएको आम्दानीको स्रोतको हिसाब निकाल्दा पनि सयौ गुणा बढी देखिन्छ । उनले यो अकूत सम्पति कसरी जम्मा गरे भन्ने अध्ययन गर्दा सबै कुरा प्रष्ट हुन्छ । उनको सम्पतीको छानविन गरिनुपर्दछ ।
बस्न्यात अहिले राजनैतिक दल, निजामती प्रशासन र विभिन्न क्षेत्रमा रहेका ठूला भ्रष्टहरुको संरक्षण गर्ने र उनीहरुबाट अकूत रकम उठाउन तल्लिन छन् । अख्तियारबाट अर्बौका भ्रष्ट चुडामणी शर्मा, गोपाल खड्का, उपेन्द्रकान्त अर्याल लगायतले गरेका भ्रष्टाचारलाई सफाइ दिन, कारवाही गर्नुपर्ने स्थिति आएमा पनि उनीहरुमाथिको कारवाही कमभन्दा कम गराउन उनी दिनरात लागि परेका छन् । साना–साना व्यापारी र कर्मचारीहरुलाई आफैले घुस खान उक्साउने र आफैले पक्राउ गर्ने नाटक रच्दै बाहिर ठूलो डंका पिटेर उनले भित्र आफ्नो धन्दा चलाइरहेका छन् । अख्तियारमै मुद्दा तामेली रहेका नेपाल आयल निगमका निलम्वित प्रमुख गोपाल खड्का र नेपाल प्रहरीका पूर्व महानिरिक्षक उपेन्द्रकान्त अर्याल विरुद्ध त्यहीस्तरका मुद्दाहरुबारे उनले मोलतोल गरिरहेका छन् । जुनकुरा सञ्चारमाध्यममा व्यापकरुपमा आइसकेको छ । जबकि खडकालाई कारवाही गर्न संसदीय समितिले समेत निर्देशन दिइसकेको थियो । यसले के प्रमाणित गर्दछ भने शर्मा, खड्का र अर्याल भ्रष्टाचारी हुन नै । त्यो भन्दा पनि अझै ठूला भ्रष्ट बस्न्यात हुन् ।
बस्न्यातको शैक्षिक योग्यतामाथि पनि ठूलो प्रश्न छ । उनी नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर आजसम्म निजामति प्रशासनिक सेवामा बसेका थिए । उनले किनेर ल्याएको नक्कली सर्टिफिकेट पेश गरेर उच्च ओहोदा पुग्न सफल भए । उनले नेपालभर कतै पनि स्नातकोत्तर तहको अध्ययन गरेको रेकर्ड छैन । तर, उनले यतिसम्म चतु¥याइ गरेका छन कि आफ्नै विरुद्ध अख्तियारमा सुरुमा वेनामी उजुरी हाले । एकातिर आफ्नो सर्टिफिकेट प्रमाणित गरिपाउ भनेर वेनामी उजुरी हाल्ने र अर्कोतिर अख्तियारका पूर्व प्रमुखसँग मिलेर त्यो उजुरी तामेलीमा राख्न लगाए । त्यो मुद्दा तामेलीमा राखिएपछि अख्तियारको प्रमुख बन्न सफल भएका हुन ।
त्यसैगरी बस्न्यातको सर्टिफिकेट मात्र होइन उनको नागरिकता पनि नक्कली रहेको छ । उनले आफ्नो उमेर ह्वात्तै घटाएर नागरिकता बनाएका छन् । उनले आफ्नो उमेर यतिसम्म घटाएका छन् कि उनी आफ्नै सहोदर बहिनीभन्दा पनि कान्छो देखिएका छन् । बस्न्यातको नागरिकतामा जन्ममिति वि. सं.२००९ साल फागुन २ गते रहेको छ । जबकि उनकी बहिनी भगवती बस्नेत (कोइराला)को जन्ममिति २००९ साल जेठ भएको प्रमाणित भइसकेको छ । बस्न्यातले यस्ता थुप्रै नक्कली काम सुरुदेखि नै गर्दै आएको उनलाई राम्रोसँग चिन्ने उनका सहपाठीहरु बताउँछन् ।
सरकारको एउटा कर्मचारी जसले सेवा अवधिभर निकै मालदार मानिने संस्था र त्यसको पनि प्रमुख पदमा रहन पाउने अवसर कसरी उनलाई मात्र प्राप्त भयो ? उनको पदस्थापनाको विवरण यस्तो रहेको छ ।
२०३२/३/३२–०३७/३/१९ः लेखा अधिकृत कोहलपुर बनवासा सडक डिभिजन र दमक सडक डिभिजन
२०३७/३/२० – २०३९/५/१६ः मालपोत कार्यालय प्रमुख ताप्लेजुङ
२०३९/५/१७–२०४१/११/२५ः कर कार्यालय प्रमुख सिराहा लहान
२०४१/११/२६–२०४३/८/४ः मालपोत कार्यालय झापा प्रमुख
२०४३/८/५–२०४५/५/३०ः भन्सार प्रमुख त्रिभुवन अन्तराष्टिय विमानस्थल
२०४५/६/१–२०४९/८/२१ः डेपुटी डाइरेक्टर भन्सार विभाग त्रिपुरेश्वर
२०४५/६/१–२०४९/९/३ः उपसचिव सामान्य प्रशासन मन्त्रालय
२०४९/९/४–२०५१/३/३०ः उपसचिव स्थानीय विकास मन्त्रालय
२०५१/३/३१–२०५२/१/१९ः उपसचिव गृहमन्त्रालय
२०५२/१/२०–२०५२/९/२०ः कामु महानिर्देशक सूचना विभाग
२०५२/९/३–२०५४/१२/१४ः शाही नेपाली महावाणिज्य दुत कलकत्ता भारत
२०५४/१२/१५–२०५६/५/१६ः सहसचिव श्रम मन्त्रालय
२०५६/८/१७–२०५८/५/१८ः महानिर्देशक श्रम मन्त्रालय
२०५८/५/१९–२०६१/४/२२ः महानिर्देशक राजश्व अनुसन्धान विभाग
२०६१/४/२३–२०६३/११/२१ः सहसचिव अर्थ मन्त्रालय
२०६३/११/२२–२०६४/९/१५ः महानिर्देशक आन्तरिक राजश्व विभाग
२०६४/९/१६–२०६५/७/९ः महालेखा नियन्त्रक
२०६६/१/१०–२०६७/११/२ः सचिव भौतिक योजना तथा निर्माण मन्त्रालय२०७१ सालदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हुँदै प्रमुख आयुक्त
बस्न्यातको यो पोस्टिङले नै धेरै कुरा प्रष्ट पार्दछ । नेपाल सरकारका धेरै कर्मचारी आफ्नो सेवा अवधिभर पनि मालदार मानिएका अड्डामा जान पाउँदैनन् । अवसर पाए पनि यहाँ हुने घुस र कमिसनको खेल देखेर यसबाट टाढै भाग्ने गर्दछन् । एक दुई पटक पाइहाले पनि छोटो अवधिमै उनीहरु सरुवा हुने गरेका छन् । तर, बस्न्यात आफ्नो सेवा अवधिभर यसरी एक मालदार अड्डाबाट अर्को मालदार अड्डामा पुग्दै पुग्दै कसरी आयोगको प्रमुख आयुक्त भए भन्ने कुरा प्रष्ट हुन्छ । एउटा मालदार अड्डाबाट अरेको ठूलो मालदार अड्डामा, अर्कोबाट फेरि कमाउ अड्डामा पुग्दै पुग्दै उनले ४४ वर्ष बिताएको देखिन्छ । घुस खाने मात्र नभई घुस दिने, घुस खान उक्साउने, कमिसनको खेल सञ्चालन गर्ने, गलत वातावरण सिर्जना गर्ने वा गलत संस्कार बसाल्ने व्यक्ति झन खतरानाक हुन्छ । त्यो खतरानाक सामाजिक अपराध हुन्छ । बस्न्यातले ४४ वर्ष नेपालको प्रशासनिक क्षेत्रमा बसेर त्यो अपराध गरेका छन् । त्यसकारण उनीमाथि गहिरो छानविन गरी कडाभन्दा कडा सजाय दिइनुपर्दछ ।
हाम्रो अभियान भ्रष्टाचारका विरुद्धमा हो । हाम्रो अभियान कुशासनका विरुद्धमा हो । सबै नेपालीले गहिरो गरी बुझ्नुपर्दछ कि यो गलत राजनीतिक प्रणालीको परिणाम पनि हो । राजनीतिक प्रणालीको आडमा लुकेर राष्ट्रको सम्पति दोहन गर्ने र भ्रष्टाचारको महारोग फैलाउने प्रमुख पात्रहरु जनताबाट दण्डित हुन जरुरी छ । यदि नेपाल सरकारबाट बस्न्यात र यस्तै महाभ्रष्टहरुमाथि कुनै कदम नचालेको खण्डमा जनभावनाको सम्मान गर्दै हाम्रो संगठन त्यसका विरुद्ध दवाव तथा भण्डाफोर अभियानमा उत्रने उद्घोष गर्दछ । साथै यो अभियानमा निरन्तर जारी राख्ने जानकारी गराउँदै त्यसमा साथ दिन आम युवा वर्गमा अपिल गर्दछ । साथै सचेत बौद्धिक सुमदाय विभिन्न तह र तप्कामा रहेका इमान्दार राष्ट्रप्रेमी, देशभक्त, जनवादी शक्तिहरुमा यो अभियानमा हातेमालो गर्न पनि हामी अपिल गर्दछौ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दिप बस्न्यातलाई कार्वाहीका लागि जनअभियान ।
बाबुराम राई
संयोजक
राष्ट्रिय युवा जनस्वयमसेवक







