अर्धचेतमा देखिने रंगिन दुनियाँ

केवल मृत सपना हुन्

ज्यूँदों सपना त त्यो हो

जो चेत मस्तिष्कमा चम्किरहेको हुन्छ ।

चम्किंछन् आकाशमा बिजुलीका ज्वालाहरु

बर्षिन्छन् कञ्चन थोपाको लहरहरु

अनि धमिल्याउछन् निश्चल जलसागरहरु

बिजुली चम्किनु,

बर्षिनु अनि धमिलिनु तर,

चम्किएको बिजुलीसंग डराउनु मृत सपना हो

बर्षिएको शीतलतासंग तर्सिनु मृत सपना हो र,

धमिलोमा अमिलिनु पनि मृत सपना हो ।

 

ज्यूँदों सपना त्यो हो,

जो चम्किएको बिजुलीको चमक छोप्ने आँट गर्छ

बर्षामा बेप्रवाह भिज्न र भिजाऊन सक्छ

अनि धमिलोमा सङ्ग्लिदै मूल प्रवाहमा बग्न सक्छ

त्यो ज्यूदों सपना हो,

जो स्खलितमा अडिग रहन सक्छ

विचार अनुसरणीय बन्न सक्छ

मृत सपना झूठको भोगी हुन्छ ।

सत्य हो कामरेड, मृत सपना केवल अफवाह

निहित यथार्थ हुन्छ कालान्तरमा

धोका, धोका, नितान्त धोका परक हुन्छ

अन्त्य केवल भयभित मृत्‍यु मात्र हुन्छ

मृत सपना केवल सुन्दर भोगको भोको मात्र हुन्छ

सुन्दरताको भोक अन्त: भिखारीमा रूपान्तरित हुन्छ ।

पूँजीवादमा कमाउने, जमाउने

अनि रमाउने लालाहित मृत सपना हुन् ।

केवल खून चुस्ने जुगा जस्तो,

भोको अजिंगर जस्तो, कमाउने लालसामा बिक्नु अपरिहार्य हो

आजको मृत जीवन हो कालान्तरमा मुर्दा घरको

अपरिचित एउटा लास बन्नु मात्र हो ।

मात्र आज चुसिएर भोली खरानी बन्नु मात्र हो ।

भोलिको लागि आज तर्साएर खोक्र्याउनु मात्र हो,

केवल मुर्दा सपना, मृत सपना…

 

ज्यूँदों सपना त भौतिकवादी दुनियाँ हो

जो परिवर्तनीय हुन्छ

आफू बाँच्न र अरुलाई बचाउन सिकाउँछ

लुट्न होईन जूट्न सिकाउँछ,

समानताका आचालमा बाच्न सिकाउँछ ।

यो आधुनिक रंगीन सपनाबाट

पर प्रकृतिको अनुकम्पामा रम्न सिकाउँछ,

जहाँ संसारका अरु प्राणीहरु जस्तै,

मानिसको एउटै वर्ग-जात-धर्म रहने छ ।

त्यो ज्यूँदों सपना हो,

उत्पति सत्य हो,

अन्त्य पनि सत्य हो

बिऊ उम्रिएर बिरुवा बन्नू सत्य हो

अनि बिरुवा पाउलिएर बैंसिनु पनि सत्य हो ।

तर बैंसको उन्मादमा बैलिनु मृत सपना हो

बिना जननी बिलाउनु मृत सपना हो ।

कलिलोमा खिल्खिलाउनु अनि बैंसमा महकाऊनु,

महक फैलाऊदै फलित हुने ईच्छा अर्थनीय सपना हो ।

मृत्‍यु सत्य हो भने, जीवितमा विवेकशील बन्नु ज्यूँदों सपना

हो जाग्नु ज्यूँदों सपना हो,

जागाउनु तेजीलो किरणीय सपना हो

तसर्थ, परिवर्तन अपरिहार्य हो,

परिवर्तनीय अभिलाषा ज्यूँदों सपना हो ।

कामरेडहरु, क्रान्ति ज्यूँदों सपना हो,

दमन मृत स्वपन दोष हो ।

वैचारिक हतियार ज्यूदों सपना हो,

शोषक र हत्यारा मृत सपना हो ।

सहिद अमरताको ज्यूँदों सपना हो,

गद्दार केवल मृत सपनामा फसेको कैदी मात्र हो ।

यहाँ ज्यूँनु छ, जीवित भएर,

ती महान् सहिद, बेपत्ता, घाईतेहरुको ज्यूँदों सपनाको यात्रा गर्न ।

अनि अषिम आस्थावान जनको मन बचाउन,

चरम पूँजीवादी ज़ंजीर तोड़ेर समाजवादको घाम झुल्काउन ।

बस् पर्छ त केवल मृत सपनाबाट जाग्न,

अनि तेजिलो प्रकाशमा खुल्ला आँखाले

ज्यूँदों सपना देख्न ज्यूदों सपना,

बस जीवित भएर देखिने भौतिक सपना.

ज्यूँदों सपना ।

१-फाल्गुन-२०७४

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार