(रेखा खनाल माओवादी जनयुद्धमा सेना बनेर हिडेकी थिइन् । २०५७ देखि पूर्णकालीन कार्यकर्ता भएर माओवादी जनयुद्धमा सहभागी भएकी खनाल ३३ भन्दा बढी फौजी कारवाहीमा सहभागी भएकी थिइन् । लडाईमा तत्कालीन शाही सेनाको गोली लागेर पटक–पटक घाइते समेत भएकी थिईन् । महान् जनयुद्धको २३ बर्ष प्रवेशको अवसरमा रेखा खनालसंग जनबाटाेले कुराकानीमा आधारित तयार पारेकाे सामग्री यहाँ प्रस्तुत गरिएको छ–सम्पादक) ।

०५६ सालतिर म कक्षा ८ मा पढ्दै थिएँ । रुकुम रोल्पातिर माओवादी जनयुद्ध चर्किरहेको थियो । हाम्रो स्कूल अर्घाखाँचीको ढाकाबाङ गाविस पीपलनेटामा थियो । त्यतिबेलै म माओवादी समर्थित विद्यार्थी संगठनमा जोडिएँ । हामीलाई संगठित गर्नका लागि कमरेड शिशिर, मोती, साँफी लगायत कमरेडहरु पहिलो पटक आउनुभयो र राजनीतिक प्रशिक्षण दिनुभयो । त्यतिवेला गाउँमा महिला हिंसा विभेद, अन्याय, अत्याचार र जाडरक्सी, जुवातास विरुद्ध माओवादीले अभियान चलाइरहेको थियो ।
म स्कूल पढ्दै गर्दा लुकेर भूमिगत रुपमा माओवादीलाई सहयोग गर्थेँ र कारवाहीमा सहभागिता हुन्थेँ । गाउँ र स्कूलमा पछि विस्तारै माओवादीमा जोडिएको थाहा पाएपछि पुलिसहरु खोज्न आउन थाल्यो । माओवादी नेताहरु गाउँमा कहिलेकाही मात्र आउनुहुन्थ्यो । म कक्षा १० को अन्तिमतिर पढ्दापढ्दै स्कूल छोड्नुपर्ने भयो ।
अर्घाखाँचीमा पार्टी कमजोर भएकोले र कसै साथीहरु नभेटिएपछि म प्युठानको बरौला गाविसमा पुगेर साथीहरुको सम्पर्कमा पुगेँ र त्यही संगठित भएँ । त्यतिवेला महिला संगठनको केन्द्रीय सदस्य लिला शर्मा र जिल्ला इन्चार्ज झपेन्द्र सुवेदी हुनुहुन्थ्यो र लामो समय म लिला दिदीसंगै जनयुद्धमा सहभागी भएर हिडेँ । केही महिनापछि मलाई आफ्नो घर आउन मन लाग्यो र म अर्घाखाँची फर्किएँ । अर्घाखाँची आफ्नो घरमा आएर पढ्ने सोँच बनाए तर पुलिस प्रशासनले खोजतलास गरेपछि घरमा बसेर पढ्न सक्ने अवस्था भएन । त्यसपछि म अर्घाखाँची जिल्लामा नै साथीहरुसंग सम्पर्क भयो ।
त्यसपछि म जिल्लामा नै जोडिएर काम गर्न थालेँ । ०५९ भाद्र २३ गते सन्धिखर्क आक्रमणको योजना भयो । पहिलो पटक म त्यो फौजी आक्रमणमा सहभागी हुने अवसर पाएँ । त्यहाँ जनमुक्ति सेनाको फस्ट बटालियन थियो म त्यसको ‘रुटगाईडर’को रुपमा गएँ । मैले त्यही बेला पहिलोपटक राइफल पड्काउने अवसर पाएँ । त्यसलगत्तै म जनमुक्ति सेनाको जिल्ला प्लाटुनमा बसेर काम गरेँ ।
सन्धिखर्कमा भीषण लडाइँ चल्यो । सन्धिखर्क कब्जा भएपछि फर्केर जानेक्रममा रोल्पाको सिमानामा सम्म पुगेर हामीले घाइतेहरुलाई छोड्न पुग्यौं । त्यसपछि जनमुक्ति सेनाको हाम्रो प्लाटुनमा जिल्लामा खटियो । त्यसपछि राजनीतिक कामको जिम्मा लिनुपर्ने भयो । अर्घाखाँचीको पूर्वी क्षेत्रतिर पार्टीको एसियम भएर ४ वटा गाविसमा काम गरेँ । ०६० सालमा फेरि क्रान्तिको आवश्यकता अनुसार जनमुक्ति सेनामा जानुपर्ने भयो । १५ जनाको टिमको कमाण्ड गरेर म सेनाको जिम्मेवारीमा गएँ । अहिले म बाहेक ती साथीहरु अहिले राजनीतिमा छैनन् । जनमुक्ति सेनाभित्र म निकै लामो समय स्वास्थ्यकर्मीको रुपमा काम गरेँ ।

लेखिका ।
जनयुद्धकै क्रममा खारामा आक्रमण भयो । खारा आक्रमणमा पनि म सहभागी भएँ । सेनाका ब्यारेकहरुमाथि भीषण हमाला भयो । सेनाका केही कमाण्डरहरुको घाइते हुनुभयो र केही कमाण्डरहरुको सहादत भयो । खारा हमला असफल भयो । मेरो पनि खुट्टामा गोली लागेर पटक घाइते भएँ । त्यसपछि पार्टीको ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीतिक योजना अनुसार हामी गण्डक प्रस्थान गर्यौं । हजारौंको जनमुक्ति सेना अत्याधुनिक हात हतियार सहित गण्डकतिर लाग्यो । गण्डकतिर जादै गर्दा रोल्पाको डुम्ला भन्ने ठाउँमा सेनासंग ठूलो दोहोरो भीडन्त भयो । तत्कालीन शाही सेना तलबाट हामी माथि जंगलबाट दोहोरो फायरिङ चल्यो । लडाईले भयङ्कर रुप लियो । आकाशमा शाही सेनाको हलिकप्टर आयो र हामी माथि चारैतिर बम गोली बर्षायो । हाम्रो जनमुक्ति सेनाका कम्पनी कमाण्डर मनोज घाइते हुनुभयो । शाही सेनातर्फ पनि ठूलो क्षति भयो । त्यहाँबाट हामी रिट्रिट भयौं । त्यहाँ म फेरि घाइते भएँ तर हिड्न सक्थेँ । त्यसपछि पश्चिम अर्घाखाँची, प्युठान, गुल्मी हुँदै पाल्पाको बहादुरपुर भन्ने ठाउँमा आइँपुग्दा फेरि सेनासंग जम्काभेट भयो र दोहोरो भीडन्त भयो ।
पार्टीले तानसेन आक्रमणको योजना बनाएको थियो । मसंग एसएमजी हतियार साथमा थियो । म ‘एसाल्ट’ गु्रपमा थिएँ र हाम्रो आक्रमणको जिम्मा जिल्ला कारागारमा थियो । अध्याँरोमा लडेर मेरो दुवै खुट्टा मर्कियो र मैले ब्रोफिन खाएँर लडाइँमा गएँ । राती १२ बजे पहिलो फायर हामीले खोल्यौं । त्यहाँ पुलिसहरु थोरै संख्यामा थिए, सवै भागेर गए । खासै धेरैवेर लड्नै परेन । हाम्रो एकजना कमरेड घाइते हुनुभयो उहाँलाई प्राथमिक उपचार गरेर मुख्य पोष्टमा पठायौं । तानसेन बजार बम र गोलाको आवाजले थर्किएको थियो । सेनाको ब्यारेक, जिल्ला प्रहरी कार्यालय लगायत सरकारी कार्यालयहरुमा भीषण लडाई चलिरहेको थियो । सरकारी भवनहरु बम र गोलीले ध्वस्त भइरहेका थिए । जताततै आगोका लप्काहरु देखिन्छ । हामी टेलिफोन टावरमा शाही सेना रहेको खवर पाएपछि त्यहाँ गयौं । राती ११ बजेदेखि सुरु भएको लडाई ३ बजेभित्र पुरै सदरमुकाम कब्जा भइसकेको थियो । विहान नहुँदै तानसेन बजारमा बिजयको जुलुस र नाराहरु गर्जियो । त्यो लडाईको डिभिजन कमिसार कमरेड हेमन्तप्रकाश ओली ‘सुदर्शन’ हुनुहुन्थ्यो ।
बुटवल आक्रमण गर्ने पार्टीको योजना बन्यो । बुटवलमा सेनाको व्यारेक हान्ने योजना थियो । त्यसका लागी हामी बुटवलतर्फ अगाडी बढ्यौं । यसका तयारीका लागी हामी झण्डै तीन महिना पाल्पाको बसन्तपुर जंगलमा बास बस्यौं । कैयौ दिन जंगलभित्रै तरुल र भ्याकुर खनेर खायौ, चाउचाउ र साथीहरुले बोरामा पकाएर लगेका भात मुट्ठीमा बाँडेर आयौं । काँचो चाउचाउ खाएर बस्यौं । काचो चामलमा चाउचाउको सुप राखेर खायौं । म लडाईमा प्रायजसो ‘एसाल्ट गु्रप’ मा पर्थेँ । हामी बुटवल नजिक–नजिक आइसकेका थियौं । कमाण्डरबाट १ घण्टा समय अगाडी नबढ्न आदेश आयो । आक्रमणको योजना ‘एक्स्पोज’ भएको रहेछ । चारैतिर चोक चोकमा शाही सेना आएर बसेको खबर आयो । त्यसपछि हामी रिट्रिट हुनुपर्यो । त्यतिबेला असाध्यै पीडाको महसुस भयो । लडाई जितेर फर्कन नपाएको पीडा असाध्यै दुखदायी हुँदो रहेछ । एकातिर भोक, तिर्खा र अनिदो अर्कोतिर लडाई नलडिकनै रिट्रिट हुनुपर्दाको पीडा असाध्यै भारी महसुस भयो ।
त्यसपछि प्रभाकरको कमाण्डमा तौलिहवा आक्रमण गर्ने योजना बन्यो । जनमुक्ति सेनाको केही टिम ब्लकका लागी बुटवलमा नै बस्यो । हाम्रो टोली पाल्पामा केन्द्रीत थियो । विहान ९ बजेदेखि हिडेको तौलिहवा पुग्दा रातको ११ बज्यो । दिनभर जंगलको यात्रा हिड्नुपर्यो । साँझ ६ बजेतिर बाणगंगा पुग्दा रातो घाम बाँकी नै थियो । त्यहाँबाट ट्रकमा जादै गर्दै ट्रक दुर्घटना भयो । हाम्रा ४ जना कमरेडहरु घाइते हुनुभयो । फेरि अर्को ट्रक चढेर तौलिहवातर्फ लागियो । ट्रकबाट ओर्र्र्लिएर ४ घण्टा हिडेर तौलिहवा पुगियो । त्यहाँ पनि मेरो जिम्मा जिल्ला कारागारमा नै थियो । हामी सुरुमा सवै लड्थ्यौं । त्यसपछि घाइतेहरुको उपचार गर्नुपथ्र्यो । त्यहाँ पनि जनमुक्ति सेनाभित्रका स्वास्थ्य विभाग नै थियो । हामीले नै पहिलो फायर खोल्यौं । व्यारेकमा निकै ठूलो भीडन्त भयो ।
हामीलाई लामो लडाईपछि रिट्रिट हुन आदेश आयो । त्यसपछि हामी बाणगंगासम्म ट्रकमा नै फर्कियौं र त्यहाँदेखि हिड्दै गन्तब्यतिर लाग्यौं । तौलिहवा लडाइँपछि हामीलाई फरक अनुभूति भयो । पहाडमा लड्न जति सजिलो हुन्थ्यो तर मधेशमा भूगोलका कारण गाह्रो अनुभूति भयो । पश्चिम पाल्पामा गम्भीर समिक्षा भयो ।
०६२ को असोज–कार्तिकतिर आउँदा चुनबाङ बैठक बस्यो । त्यसपछि माओवादी युद्धले नयाँ बाटो लिदै थियो । सरकार र माओवादी वीच बार्ताका प्रयासहरु भइरहेको थियो । बृहत शान्तिसम्झौता भयो र जनमुक्ति सेनालाई क्यान्टोनमेनमा बस्ने आदेश भएपछि म पाँचौं डिभिजन अन्तर्गत रोल्पाको दहवनमा बसेँ । मलाई सवैभन्दा पीडा क्यान्टोनमेनभित्रको बसाइँ भयो । सरकारले पहिलो चरणको प्रमाणिकरण गर्यो र अर्को प्रमाणिकरण नहुँदै ०६४ सालको पहिलो संविधान सभाको चुनावका लागी भनेर पार्टीको योजनामा वाइसिएल बनाएर अगाडी बढ्यौं । शान्तिप्रक्रियाको छोटो अवधिमा नै पार्टी सम्झौताको नाममा विचार आन्दोलन तहसनहस हुन पुग्यो ।
जनतालाई जुन आश्वासन र विश्सास दिलाएर जनयुद्ध सुरु भयो त्यसलाई प्रचण्ड–बाबुरामले संसदवादमा पुगेर विसर्जन गराए, यो असाध्यै दुखदायी कुरा हो । जनयुद्धको चाहना पुरा नहुँदा केही समय जीवनमा निराशा त भयो, धेरै साथीहरुको जीन्दगी नैे विग्रियो । जीवन निर्वाहका लागी धेरै साथीहरु अरबतिर लाग्न बाध्य भए । प्रचण्ड–बावुरामले ठूलो गद्दारी गरे । जनतालाई निराशा बनाए । सहिद घाइते तथा वेपत्ता योद्धाहरुको सपनालाई अपमानित गरे ।
मलाई अहिले जनयुद्धमा लागेमा कुनै पछुटो छैन । जनयुद्धमा सहभागी भएकोमा मलाई आज गौरव लागिरहेको छ । महान जनयुद्धको क्रममा मैलै २२ वटा ठूला साना कारवाहीमा भाग लिएँ । मृत्युसंग नजिकबाट खेल्ने अवसर पाएँ । व्यक्तिगत रुपमा चाहेको भए धेरै गर्न सकिन्थ्यो तर प्रतिक्रियावादी राज्यसत्ता विरुद्धका लडाईमा ठूलो अनुभव प्राप्त भयो । माओवादी आन्दोलनमा नभएको भए घरजम गरेर बस्ने बाहेक अरु केही हुन्नथ्यो जस्तो लाग्छ ।
अझै पनि हाम्रा सपनाहरु पुरा भएका छैनन् । सहिदका सपना पुरा भएका छैनन् । घाइते अपाङ्गहरुको खोजविन भएको छैन । जनयुद्धपछि ठूलो निराशा र प्रतिक्रान्तिपछि कमरेड विप्लवको नेतृत्वमा क्रान्ति अगाडी बढिरहेको छ । जनयुद्धका बाँकी कार्यभार पुरा गर्ने अवसर प्राप्त भएको छ । यसको नेतृत्व सवै क्रान्तिकारीहरु एक ठाउँमा उभिएर गर्नु आवश्यक छ । एकीकृत जनक्रान्तिको माध्यमद्धारा नेपालमा राजनीतिक क्रान्ति सम्पन्न गर्नुपर्छ । वैज्ञानिक समाजवाद प्राप्त नहुँदासम्म नेपालका गरिब जनताको व्यवस्था आउँदैन ।
महान् जनयुद्धको २३ औं बर्ष प्रवेशको अवसरमा क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने प्रतिबद्धता गरौं ! सवैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।







