हिजो
गरिब, दलितका अगेना चाहर्थ्यौ ।
नमस्कार गरी
निमेक गरेको
आटो मजाले लम्काउँथ्यौ।
तर
आज जमाना फेरिएको छ
तिम्रा कुरा फेरिएको छ,
समाज फेर्छु भन्ने
तिमी फेरिएका छौ।
र त, तिमीले हिजो
“हजुर, बा, आमा “भन्ने
शब्द हराएको छ।
खासमा आज गाउँमा,
हिजो तिमीलाई
आटो खुवाउने गरिब, दलित
किसान बा-आमाले
तिमीलाई पुज्नु पर्ने रे?!
जयजयकार गर्नु पर्नु पर्ने रे?!
मानौ! हिजोको,
सामन्त र तिमी उस्तै उस्तै।
सेतै फूलेका बुढा किसानलाई
नाटक जस्तै लाग्छ आज।
हिजो
जुवातास खेल्नेलाई
मुखमा तास कोचाउँथ्यौ,
आज तिमी खेल्दा के गर्ने?
रण्डीबाजी गर्नेलाई
कालो मोसो लगाएर
गाउँ घुमाउथ्यौं
तर तिमी शहरमा
अवैध श्रीमती घुमाउँदै गर्दा
आज तिमीलाई कस्ले मोसो लगाउने?
कस्ले गाउँ घुमाउँने?
रक्सी खाने गाउँका
काले, लाले र रामेहरूलाई
जेंगतका भाटा
तिनका शरीरमा
भाँचिएर तीन टुक्राहुने गरी पिट्थ्यौ।
आज तिमी शहर पसी
बियरको बोतलमा
नाँच्दा
मजदुर गरिब काले, लाले र
रामेहरू
के सोच्दा हुन् ?
आफै बाँडेका सपनाहरूको
हत्या गर्दै हिड्ने
तिमीलाई के भन्दा हुन् ?
सपनाहरूका
हत्यारा कि अरू?
(10 jan2018 )







