‘एकता मजदुरहरुको लागि धेरै मुल्यवान छ । साथै धेरै महत्वपूर्ण छ । आपसमा वाडिँदा मजदुरवर्ग केही पनि होईन तर एक हुदा यो सवै चीज हो ।’
– भ्ला.ई.लेनिन
‘मजदुरवर्गको एकता, मजदुर आन्दोलनमा जडसुत्रवाद र सकिर्णतावाद’ पेज ७६बाट ।

 

वस्तुतः नेपालमा नै क्रान्ति सम्पन्न हुने संभावना प्रवल छ । नेपाली जनताको हातमा राज्यसत्ता प्राप्त हुने स्थिति छ । तर यो स्वत पुरा भइ हाल्ने र प्राप्त हुने चाहि होईन । यसले केही महत्वपूर्ण आधारहरुको माग गर्दछ । त्यस्ता आधार मध्य इमान्दार र वास्तविक कम्युनिस्टहरुको एकता र मोर्चावन्दी महत्वपूर्ण छ । अझ भनौ भने आजको वस्तुस्थितिमा त विशेष महत्वकोनै मान्न सकिन्छ । यसवारे हामी कम्युस्टिहरुबीचमा वहस त चलिरहेको छ तर क्रान्ति सम्पन्न गर्ने संभावनाबाट कम र अन्य कोणवाट वढी हुने गरेको छ । जसले गर्दा कम्युस्टिहरुबीचको एकता र मोर्चावन्दी जनअपेक्षा अनुरुपको गतिमा वन्न सकेको छैन । यसप्रति सवै कम्युनिस्टहरुको ध्यान पुग्नै पर्दछ ।

नेपाली कम्युनिस्ट आन्दोलन फुट र एकताका श्रृङ्खलाहरुले भरिएको छ । एकता र फुटवारे अनेकौ तर्कहरु आउने गरेको भएपनि खास खास समयको फुट र एकतावाहेक प्राय एकता र फुटहरु कुनै गुणात्मक अन्तर विनानै आउने र जाने, वने र भत्किने गरेका छन् । ठोस रुपले भन्नु पर्दा ०१७ साल, ०२८ साल र ०५१ सालका फुट बाहेक अन्य फुटहरु प्राय सिद्धान्तहिन फुट जस्ता भएका छन् । ठिक त्यसैगरी क्रान्तिकारी प्रक्रियालाई उचाई दिने एकता वाहेक प्राय एकताहरुले मात्रा र आकारको घटवढ भन्दा नया अर्थ राख्न सकनेन् । यी सवै एकता र फुटलाई नेतृत्व तहका मान्छेहरुले भने अनेकौ तर्क कुर्तक गरेर सहि सावित गर्नेमा सारा समय खर्च गर्ने र गरि रहेका छन् ।

आजको दिनमा नेपालमा कम्युनिस्ट जनमत ६२ प्रतिशत छ । संभवत यो संसारकै सवै भन्दा ठूलो (सत्तामा वसेकालाई छोडेर)जनमत हो । पार्टीका चरित्र र दृष्टिकोण छोडेर भन्दा जनमत र जनआकांक्षा कम्युनिस्ट व्यवस्था र नेतृत्व प्रति छ । हजार कोसिस र षडयन्त्रका वावजुद विदेशी दलाल र पँुजीवादीहरुले छोप्न नसकेको यथार्थता हो यो । यसलाई सहज र निश्पक्ष वनाईयो भने यो जनमत ७० प्रतिशत भन्दा माथि सजिलै जान सक्छ । तर कम्युनिस्ट पार्टी र यसका नेताहरुमा यो जनमत र जनआकांक्षालाई संवोधन गर्ने, जिम्मा लिने, कुनै गंभीर्यता त्यति देखिदैन । कयौ पार्टी खासगरी एमाले त झन कम्युनिस्ट जनमत माथि नेै हमला गर्ने स्तरमा गिर्दै गएको छ । उसले यो काम कम्युनिस्ट भने पछि देख्नै नसक्ने पुरातनवादी शक्तिहरुसँग मिलेर गरिरहेको छ । ल ठिकै छ एमाले प्रवृतिले त जनआकांक्षा र देशको संभावनाबाट भाग्यो, भाग्ला केही भएन, तर यहा एमाले वाहेक जनवादी राज्यसत्ता र क्रान्ति आवश्यक ठान्ने क्रान्तिकारी कम्युनिस्टहरुको संख्या पनि त कम छैन । उनीहरुमा पनि यो जिम्मेवारीवोध गर्ने गुण देखिदैन । उनीहरु पनि देश जतासुकै जाओस, संभावना जेसुकै होस आफनै डम्फु ठोक्नेमा आनन्दित छन् । ‘आफु बाहेक जगतै मिथ्या’ भन्ने अहंकार सोचबाट ग्रस्त छन् ।

एउटा कम्युनिस्ट पार्टी र पार्टीका नेताहरुको पछिल्लो दायित्व र उद्धेश्य भनेको जनताको राज्य निर्माण गर्नु, जनताको हातमा सत्ता पु¥याउनु र जनताका अधिकारलाई सुनिश्चित गर्नु हो । ल कुनै पार्टीको विचारले अर्को पार्टीसँग ठयाक्कै मेलखाएन तर मुलभूत कुराहरु मिल्दछन भने क्रान्ति, जनता र राष्ट्रलाई केन्द्रमा राखेर एउटै पार्टीमा वस्न किन नहुने ? हाम्रो विचारमा यस्तो आँट र पहल कम्युनिस्टहरुले गर्नै पर्दछ । कम्युनिस्ट पार्टी र नेताहरुले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नसक्दा या परिस्थितिको सामना ठिक समयमा गर्न चुक्दा जनताले ठुल ठुला अवसरवाट क्षति भोग्नु परेको छ । नेताहरुको अल्पदृष्टी र हिचकिचाहवटका कारण नयाँ पुस्ताले दुख झेल्नु परेको छ । आज नेपालमा पुनः दुर्लभ अवसर आएको छ । यदी कम्युनिस्टहरुले फराकिलो दृष्टि वनाउँने हो भने या साँघुरो तर्क वितर्कमा नअलमलाउने हो भने जनता जताबाट पनि विजयी हुने संभावना छ । देशले साच्चैको सुन्दर भविष्य पाउन सक्छ । यसको लागि फेरी पनि जरुरत छ एकता र मोर्चावन्दीको । कम्युनिस्टहरु एकतावद्ध मात्र हुने हो र जनताको बीचमा एउटै धारणा र मतका साथ जाने हो भने नेपाली जनता कल्पनै नगरेको स्तरमा ज¥याक जुरुक्क उठ्ने निश्चित छ ।

निश्चत होकि पार्टी एकता र मोर्चावन्दीका लागि कम्युनिस्टहरुका केही वनिवनाउ मान्यताहरु छन् । खासगरी एउटै विचार, कार्यदिशाको समानता, नीति कार्यनीतिहरुको एकरुपता, नेतृत्वको भागवन्डा आदी आदी । यी गलत छन भन्ने त होईन तर कयौ कुराहरु यति पुराना र खुम्चिएका मान्यताहरु छन कि त्यहाभित्र तत्कालिक संभावनाहरुलाई पकड्ने जनताको जिम्मेवारीलाई पुरा गर्ने, राष्ट्रका आवश्यक्ताहरुलाई पुरा गर्ने ठाउँ नै छैन । खाली एकतर्फि रटानभित्र सवै संभावनाबाट पन्छिने खालको छ । त्यसैले हामीले आज एकता र मोर्चावन्दीको महत्वलाई अग्रस्थानमा राख्दछौ भने एकता र मोर्चावन्दीका नयाँ मान्यता र चाहनाहरु आत्मसाथ गर्नै पर्दछ । हामो विचारमा आजका त्यस्ता आधारमा क्रान्ति, जनआकांक्षा, जनवादी राज्यसत्ता, राष्ट्रिय स्वाधिनतालाई मुख्य वनाउँनु पर्दछ । यि आधारमा संभव भए सम्म पार्टी एकतलाई मुख्य वनाउँनु पर्दछ । यी आधारमा संभव भए सम्म पार्टीएकतालाई सार्थक पार्ने, भएन भने पनि मोर्चावन्दीलाई सफल पार्ने सोचाइ कम्युनिस्टहरुले बनाउँनै पर्दछ ।

हामी क्रान्तिकारी कम्युनिस्टहरु अहिले उत्साहित छौ, किनकी पछिल्लो समयमा ईमान्दार कम्युनिस्टहरु एकतावद्ध हुदैछन्, उनीहरु यसो गर्न हिचकिचाएका छैनन् । सानातिना मतमतान्तरका वावजुद ईमान्दारहरु एउटै ठाउँमा जुटनु पर्छ भन्ने विचार विकास हुदै गएको छ । दशकौ देखिको जनआकांक्षालाई नेतृत्व दिनु पर्दछ भन्ने वोध वढेको छ । यही सोचको कारण शान्तिप्रक्रियामा थुप्रै पार्टीहरुको बीचमा एकता भईसकेका छन् । माओवादी र माक्र्सवादी, माओवादी र क्रान्तिकारी माले, माओवादी र एकताकेन्द्र, माओवादी र थुप्रै कम्युनिस्ट व्यक्तित्व अनि अव निकट समयभित्र माओवादी र एकीकृतको बीचमा पुनः एकता हुदैछ, यो वास्तवमै महत्वपूर्ण हुने छ । यसले हामी नेपाली कम्युनिस्टहरुलाई अरु उत्प्रेरणा दिने छ ।

जानकारी नै छकि सामान्यत एकतालाई, पार्टीलाई बलियो बनाउँने, ठूलो बनाउँने, विपक्षीमाथि हावी हुने आदीमा बुझिन्छ तर हाम्रा एकताहरु जुन परिवेशमा हुदै छन् यिनको सम्वन्ध उल्लेखिय पक्षसँग मात्र सम्वन्धित छैनन् । यी एकताहरु ‘एकता क्रान्ति र जनसत्ताको लागि’ भन्ने मान्यतासँग सम्वन्धित छन् । हामीले माथिनै चर्चा ग¥यौकि आजको नेपालमा कम्युनिस्ट पार्टी हुने त्यति महत्वको छैन, ठूलो कम्युनिस्ट पार्टी मात्र पनि काफी होईन आवश्यकता यो होकि क्रान्ति पुरा गर्ने कम्युनिस्ट पार्टी, जनताको नेतृत्व गर्दै, जनसत्ताको स्थापना गर्न सक्ने कम्युनिस्ट पार्टी र त्यस्तो पार्टी सुढृदीकरणको लागि सवै ईमान्दार कम्युनिस्टहरुबीचको एकता ।

यस्तो उद्धेश्यसहितको एकता र एकतावद्ध कम्युनिस्ट पार्टीको निर्माणबाट मात्र हाम्रो एकतामा नयाँ आयाम थपिएको छ । आउँनुहोस् नेपालको क्षितिजमै आईसकेको जनताको विजयको महान् संभावनालाई एकतावद्ध भएर स्वागत गरौ ।

केही वर्षअघि विप्लवद्धारा लेखिएकाे लेख सान्दर्भिक ठानी प्रकाशित गरेका छाैं ।(सम्पादक)

समाप्त ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार