
अहिले ठ्याक्कै माओवादीले सशस्त्र आन्दोलन थाल्नु भन्दा अगाडि पुष्पकमल दाहालले प्रस्तुत गरेको गाउँ देखि शहर घेर्ने चिनियाँ मोडेलको ग्रामीण वर्गसंघर्षको खाका सम्झिन्छु । आन्दोलनको मुल नारा माक्सवाद, लेनिनवाद र माओवाद थियो । आज २३ वर्षपछि माओवादी केन्द्रले एमालेसंग पार्टी एकताको लागि तयार पारेको १३ बुदे आधारपत्रमा माओवाद हटाइसकेको छ ।
माओवादी केन्द्रले माओवाद हटाउनु हर्ष र विस्मातको कुरा जे भएपनि उसले जुन इतिहास बोकेर युद्ध लडेको थियो, अन्ततः त्यसको मेरुदण्ड मासेपछि माओवादको नाममा संचालन गरेको आन्दोलन र राजनितिक गतिविधिमाथि प्रश्न खडा हुनु अस्वभाविक हुनेछैन । माओवादी केन्द्र र एमाले पार्टीको बीचमा पार्टी एकताको लागि तयार पारेको १३ बुदे आधारपत्रमा आधारित बुदामा मुख्यत: दुई बुँदाले जो कसैको पनि ध्यानाकर्षण गर्दछ भन्ने लाग्छ । किनभने हिजो जुन सिद्धान्तको मुल जगमा टेकेर जनतालाई आन्दोलित गरेको थियो, आज त्यही मुल जगलाई एकताको १३ बुदे आधारपत्रवाट हटाइएको छ ।
मार्गदर्शक सिद्धान्त : माक्सवाद–लेनिनवाद-
एकतापछिको संयुक्त पार्टीको मार्ग सिद्धान्त `माक्र्सवाद र लेनिनवाद´ राखिएको छ । जब कि, माओवादीले क्रान्तिकालमा आफ्नो मुल सिद्धान्त मालेमावाद राखेको थियो । जब एकताको नाममा माओवादी केन्द्रले आफ्नो सैद्धान्तिक बटम लाइन `माक्र्सवाद, लेनिनवाद र माओवाद´वाट माओवाद झिकिसकेपछि दस बर्ष चलेको आन्दोलनको समीक्षा गर्नुपर्छ कि पर्दैन ? त्यस आन्दोलनको औचित्य माथि बहस गर्नुपर्छ कि पर्दैन ? १७ हजार बहादुर छोराछोरीले बगाएको रगतको समीक्षा गर्नुपर्छ कि पर्दैन ? दुबै पक्षवाट भएका हजारौं बेपत्ता नागरिक, ज्यादतीको बारेमा समीक्षा गर्नुपर्छ कि पर्दैन ? यहाँसम्म कि अहिलेको संविधान र गणतन्त्रको बैधानिकता माथी समीक्षा गर्नुपर्छ कि पर्दैन ? यदि माओवाद गलत थियो भन्ने हो भने छ क्रान्तिको नाममा गरिएका अहिलेसम्मका गतिबिधीहरुलाई अपराध मान्ने कि नमान्ने ? यदि सहि छ भने `माक्र्सवाद र लेनिनवाद´को पछाडि `माओवाद´ थप्नलाई माओवादी केन्द्रले संघर्ष गरेन किन ? `माओवाद´ २१ औं शताब्दीका क्रान्तिकारीहरुको सैधान्तिक मुटु हो, हिजो यहि सिकाइएको थियो । यदि आज त्यस सन्दर्भलाई जोडेर भन्ने हो भने, के आज माओवादी केन्द्र मुटुबिना बाँचिरहेकै संगठन हो ?
विप्लव नेतृत्वको तत्कालीन नेकपा माओवादीले पार्टीको नामवाट माओवादी हटाउदा रोल्पाको महाधिवेशन हल एकाएक अश्रुपुर्ण भएको थियो । तर पनि उसको मुल सिद्धान्तमा `माक्र्सवाद, लेनिनवाद र माओवाद´ जस्ताको तस्तै थियो । यदपी कयौं इमानदार कार्यकर्ताहरु धुरुधुरु रोएका थिए । किनभने हिजो माओवादको नाराले मर्न तयार हुने कार्यकर्ता उनै थिए । उनीहरुको वर्गमुक्ती बाहेक कुनै उप्रान्त स्वार्थ थिएन ।
माओवादी केन्द्रमा पनि यस्ता हजारौं हजार इमानदार कार्यकर्ताहरुको कमी छैन । आज उनीहरुको मनमा के चलिरहेको होला ? आफ्नै रगत पसिनाबाट हुर्किएको संगठनमा आज माओवाद झिकिएको छ । हिजोकै सन्दर्भलाई यहाँ जोड्ने हो भने स्थिति झन् भयावह भएको छ, यसकारण कि संगठनको मुटु झिकिएको छ । आज उसले माओवाद त्यागेर हिजो आफैले बुर्जुवा सिद्धान्त किटान गरेको जनताको बहुदलीय जनवादमा फर्किसकेको छ । बहुदलीय जनवाद हिजो चाहिँ बेठिक हुने, आज कुन मानेमा, कुन स्वार्थमा ठिक भयो ? हिजो माओवाद ठिक हुने, आज माओवाद कुन नजिरले बेठिक भयो ? यसको इतिहासको समीक्षा हुनैपर्छ । यसमा एमालेसङ्ग माओवादीको सैद्धान्तिक पराजय स्वीकार गरिएको छ ।
समाजवादको मोडल : बहुलवादी विशेषताको समाजवाद
पार्टी एकतापछिको संयुक्त पार्टीले निर्माण गर्न खोजेको समाजवादको मोडल `बहुलवादी विशेषताको समाजवाद´ हुनेछ । यदि कुरा नलुकाएर निस्कपट रुपमा हाक्काहाक्की घोषणा गर्ने हो भने कम्युनिस्ट पार्टीको सैद्धान्तिक बटम लाइन बहुलवादी हुनै सक्दैन । भनिन्छ, त्यो सर्हावरावर्गको अधिनायकवादले नामेट गरिदिएको हुन्छ । यदि कुनै पार्टी कम्युनिस्ट छ भने त्यसले माक्र्सवादको यो मान्यतालाई स्वीकार्नैपर्छ । होइन भने त्यो माक्र्सवादी बन्नै सक्दैन । माक्र्सवादबिनाको कम्युनिस्ट हुनै सक्दैन । जनतालाई खुलस्त रुपमा बताउनुपर्छ । जनता र कार्यकर्ताहरुलाई अँध्यारोमा राखेर राजनीति गर्नु भनेको यो राजनीतिक अपराध ठहर्छ ।
मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवादको गर्भवाट विकसित रुप हो बहुलवादी विशेषताको समाजवाद । माओवादीले हिजो एमालेको बहुदलीय जनवादलाई बुर्जुवा जनवाद किटान गरेको कुरा होइन भनेर कसैले दावी गर्नसक्छ ? हिजो उसले चाहेको समाजवाद बैज्ञानिक समाजवाद थियो । बुर्जुवा सिद्धान्तमा आधारित समाजवाद बुर्जुवा समाजवाद हो कि होइन ?
हिजो बुर्जुवा भनिएको सिद्धान्तलाई घुमाउरो पाराले `बहुलवादी विशेषताको समाजवाद´को रुपमा आज आएर भने स्वीकार गरेको छ । जब कि कम्युनिस्ट पार्टीले सर्वहारावर्गको अधिनायकवादलाई आफ्नो लक्ष मान्दछ । बहुलवाद र अधिनायकवाद एकै होइनन् । यी दुई सिद्धान्तको बीचमा निकै फराकिलो खाडल छ ।
सर्वहारावर्गको अधिनायकवादमा बहुलवादको प्रश्नै आउँदैन । यो पेरिसडाडाँको राजनैतिक बैमानी हो भन्दा फरक पर्ला जस्तो लाग्दैन । यसले हिजो रगत र पसिना बगाएका कयौं कार्यकर्ताहरुलाई अन्यौलमा पारेको छ । हिजो आफुले लडेको ईतिहास सहि थियो वा पार्टीले लिएको अहिलेको लाइन ? सवैको अगाडि यो प्रश्न जरुर खडा भएको छ । हिजो बुर्जुवा भनिएको सिद्धान्त आज कसरी जनवादी भयो ? के अन्य कम्युनिस्ट घटकले लगाएको आरोप जस्तै माओवादी केन्द्र प्रतिक्रान्तिको सिकार भएकै हो ? होइन भने आफ्नो सैद्धान्तिक बटमलाइन `माक्र्सवाद, लेनिनवाद र माओवाद´बाट `माओवाद´ किन हटायो ? र हिजो बुर्जुवा भनिएको `बहुदलीय जनवाद´लाई आफ्नो समाजवादको मार्गदर्शन किन बनायो ? जनता जान्न चाहन्छ । माओवादी केन्द्रले जवाफ दिनैपर्छ ।
माओवादी केन्द्र र एमालेको बिचमा भएको पार्टी एकताको आधारपत्रवाट यहि निष्कर्ष निकाल्न सकिन्छ कि माओवादीको पराजय र एमालेको सैद्धान्तिक बिजय देखिएको छ । एमालेको सिद्धान्तलाई कुनै कोणवाट चोट पुर्याएको देखिदैन । अहिले केही मिडियामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बरावरी सिद्धान्तको आधारमा पार्टी एकता हुनुपर्छ भनेर बोल्नु भएको छ । त्यसमा प्रश्न गर्न सकिन्छ कि, के त्यो १३ बुदे आधारपत्र माओवादी केन्द्रको सहमति बिनै तयार पारिएको हो ?
के त्यो आधारपत्र निर्माण गर्दा माओवादीको तर्फबाट कोहि प्रतिनिधिको उपस्थिति थिएन ? यसको जवाफ जनतालाई दिनैपर्छ । होइन भने कम्युनिस्ट र माक्र्सवादको नाममा जनतालाई अन्यौलको भुमरीमा अल्झाई राख्ने अधिकार कुनै दललाई छुट छैन ।







