लाश उठेर बोल्छ भन्ने विश्वास
बोकियो र धोका खाइयो !
प्रश्न गर्ने टाउकाहरूको आयु
तोकियो र धोका खाइयो !
न कहिलै लाश उठेर बोल्यो र न
समयमा प्रश्न कर्ता मरे !
खुट्टा ढुङ्गामा टाउको पहरामा
ठोकियो र धोका खाइयो !
अध्ययन गरिएन चिन्तन गरिएन
लहैलहैमा बरालियो !
अन्धाधुन्दमा हुने नहुने बढी
खोकियो र धोका पाइयो !
प्रश्न गरिएन शङ्का गरिएन
लुरु लुरु मात्र पछि लागियो !
हजुर घोकियो हुन्छ घोकियो
जय घोकियो र धोका पाइयो !
देउता बनाइयो भूत बनाइयो
मान्छे बनाउँन ध्यान गएन
चिप्लो टेकियो नाक ठोक्कियो
जिब्रो टोकियो र धोका पाइयो !
२०७२|१२| २१ ढल्को







