तिम्रो मानवता ढोंग हो
गोरो देशका फिरंगीहरु हो
तिम्रो मायाँ निमोठ्नका लागि हो
तिम्रो प्रजातन्त्र कमजोरहरुको
धड्कनहरुमा बिष पठाएर
स्वाधिनतामा बम खसाल्नको लागि हो !
अमेरिकाको सत्ताधारी
तिम्रो आतंकले अफगान भुमि
उनकै सन्तानद्वारा रंगियो
असंख्य नारी बिधवा बने
तिमीले ममताको दुध चुसाएर
हुर्काएको आतंकबाद !
कति प्रिय थियो तिम्रो लागि
जतिबेला उसलाई बहादुर बनाएर
उसको मसलमा रुसको विरुद्ध
खुब मालिस गर्यौ राइफलको तेलले
अहा तिम्रो पिरती
आतंकबादबाट साहरा खोज्ने
तिम्रो आरती !
लादेनसँग तिमी
कति लठ्ठिएका थियौ
स्वार्थ मिलेको थियो
त्यो मिलुन्ज्याल मित्र
त्यो मिल्न छोड्यो आतंकवाद !
सबै थाहा छ भियतनामदेखि
लावस, कोरिया अनि भारत
कम्बोडिया र पेरुसम्मको तिम्रो मानवता
तिम्रो जुत्ताभित्रको प्रजातन्त्र
र जुत्ताको तनाजस्तै स्वतन्त्रता
तिमीले मस्काउँदा मस्किने
र पÞmुकाउँदा खुल्ने स्वच्छन्दता !
के सबै स्वाधिनतामा तिम्रो दासता
के सबै दासतामा तिम्रो स्वाधिनता
यही गीत सधैँ गाइरहनु पर्ने
तिमीलाई सँधै देवता मानिरहनु पर्ने
तिम्रो निचतामा रम्नु पर्ने
आपÞm्मो पहिचानमा ताला लगाउनु पर्ने ?
थियो इराक समृद्धि हँुदै
महक सम्पन्नताको थियो
तर तिमीले त्यसको दण्ड दियौ
तानाशाही एकाधिकारको जामा भिराइदियौ
तिमीले डरलाग्दो अस्त्रको कोकोहोलो मच्चायौ
भनेकै थिए तिम्रा जाचाकीले
त्यहाँ तेल र ग्यास बाहेक केही छैन
त्यहाँ समृद्धि छ सुख छ
त्यसको आधार त्यहीको गर्भमा छ !
तर तिम्रो मिसन मानवता थिएन
तिम्रो मिसन प्रजातन्त्र थिएन
तिम्रो मिसन सुन्दरता थिएन
तिम्रो मिसन त लुट्नु थियो
तिम्रो मिसन पपेट दासता थियो
तिम्रो मिसन केवल हिँसा
लाखौ नारी पुरुष र बच्चाहरुको
नरसंहार, कत्लेआम र रौद्रता
दानवीय हिँसा, आम चिहान
नारकीय जीवन केवल दासता
नागासाकी र हिरोसिमाको जस्तै
भियतनाम, लावस र इण्डोनेशिया
भारत, अफ्रिका र ल्याटिन जस्तै
बलात्कार, रगत, चित्कार र मृत्यु
सिरियामा जस्तै बमबारी !
आँफै रसायनको तस्करी
रसायनको खेती गर्दै
अरुलाई आरोपित गर्ने
कोलाहल मच्चाउने र आक्रमण गर्ने
तिम्रा जासुसहरू कसले चिनेको छैनर !
तिमीले शान्त देश कसरी बिगार्छौ ?
तिम्रो स्वार्थ थाहा छैन र दुनियाँलाई
तिमीले कसरी युद्ध आयात गर्छौ
सुडान सुडान हैन उडान बनायौ
हज्जारौ वर्ष अफ्रिका लुट्यौ
महाभारत सिंगो तीन सताब्दी
लुट्नु लुट्यौ र भियतनामा मृत्युको
कहिल्यै नबिर्सिने घाउ रोपिदियौ !
तिमीलाई भ्रुण हत्याको पाप लागोस्
असंख्य विश्वका उत्पीडितहरुको
तिमीलाई महापाप लागोस्
कस्तो सिरिया आज खण्डहर बनायौ
तिम्रो ग्याँस र तेल स्वार्थको लागि
तिम्रो पाइपलाइन युरोप ल्याउने
इराकको सम्पदाको लुट
एकाधिकारीहरुको लुट
साम्राज्यवादीहरुको ब्रम्लुट !
तरल सम्पदा र ग्याँस
रसियनहरुको ब्यापार समाप्त पार्दै
इराक र सिरियाको बाटो
तिम्रो लुटलाई बाटो नमिलोस्
लाखौ सिरियालीहरुको रगतले
तिम्रो कपटलाई श्राप लागोस्
यांकी हामीलाई थाह छ
तँ दुष्ट छस् हिटलर भन्दा धेरै
तँ अपराधी छस्
तेरो नियत भ्रष्ट छ
तेरो बोलीमा सत्यता छैन
इराकमा लुटेको ग्याँस र तेलले
तैले युरोपमा नयाँ ब्यापार गर्दैछस्
त्यसको बाधक सिरिया हो
बाटोको अन्य विकल्प छैन
त्यो देश मरुभुमी नबनाएसम्म
त्यहाँका सबै बस्तीहरु
बारुद र बमले नउडाएसम्म
तेरो ग्याँस बिक्ने छैन
तेरो तेल प्लास्टिकको सुरुङ्गबाट
युरोपका घर घर पुग्ने छैन !
एउटालाई समाप्त पार्न
त्यसको ब्यापार सक्नु पर्छ
अहिले युरोपभर बलिरहेको
ग्याँस र तेल रोक्नु पर्छ
यहि त तेरो स्वार्थ हो
सिरिया तेरो स्वार्थको बाँधा
सिकार गरिरहेछस् निर्दोष बालकहरुको
जंगली ब्यासोले झैँ
निकारागुवाको तेरो कथा झैँ !
तड्पाई तड्पाई मारिरहेछस्
सामरिक स्वार्थको लागि
व्यापारिक स्वार्थको लागि
सिरियालि जनताको रगतले
सिरियन भुमि रंगिदा
टुलुटुलु नहेर होचाहरु
मसिना स्वाभिमानी देशहरु !
ब्वासाहरु हो
तिमीहरुलाई हाम्रा धेरै प्रश्नहरु छन्
के तिम्रो तेलको मूल्यभन्दा
उनीहरुको रगतको मूल्य कम छ ?
के तिमीहरुको ग्याँसको मूल्यभन्दा
उनीहरुको स्वासको मूल्य कम छ ?
के तिमीहरुको गोलीको मूल्य भन्दा
उनीहरुको जीवनको मूल्य कम छ ?
आज नदिए पनि भोली
स्वतन्त्र देशले माग्नेछ
उनीहरुको रगतको मूल्य
जिवन र उनीहरुको बस्ती संहारको मूल्य !
आफ्नो जिउमा गोलीको दाग नलागेसम्म
आफ्नो आगन वरिपरि बम नपÞmाटेसम्म
चुप लागेका लाटाहरु हो
अब तिमीहरुले होस् गरे हुन्छ
आज अरुको स्वाधिनता लुट्नेले
भोलि तिम्रो स्वाधिनता कुल्चने छ
तिम्रो भुमि उजाड बनाउने छ सिरिया झैँ
त्यो बमले समर्थक र विरोधी
कसैलाई चिन्ने छैन
त्यो विषाक्त गोलीले
तिमीले परिचय दिउञ्ज्याल पर्खिने छैन !
त्यो हाम्रो घर छिरुन्ज्याल
हाम्रो सम्पदा लुटुञ्ज्याल
टुलुटुलु हेरेर नबस
साम्राज्यवादी यांकीलाई
ठाउँ ठाउँबाट लखेट्न
उत्पीडित देशहरु एक हौं !







