‘त्यो ऐतिहासिक दिन थियो, जो नेपालको राजनीतिमा न पहिले आएको थियो न फेरि आउने छ,’ नेपाल पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुरी भन्छन् ।

प्रत्येक पटक वैशाख ११ ले सडकभरि ओइरिएका मानिस अनि आक्रोश र उल्लास मिश्रित तिनका अनुहारको अभिव्यक्ति झल्काउने उनी बताउँछन् । ‘यस्तोमा पत्रकार महासंघले बिस्तारै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आवाज उठाएर आन्दोलन सुरु गर्यो,’ उनी सम्झन्छन्, ‘नेपाल बारले तुरुन्त त्यसमा साथ दियो, इन्जिनियरिङ एसोसिएसन, चिकित्सक संघ, प्राध्यापक संघ र शिक्षक संघ/संगठन पनि यसमा जोडिन आउँदा पेसागत संगठनको ठूलो गठबन्धन नै बन्यो जसका कारण आन्दोलनको राप रताप बढ्न थाल्यो ।’
आन्दोलनक्रममा निष्ठुरी १९ पटक पक्राउ परे भने २२ दिन लगातार थुनिए । तर उनले पत्रकार महासंघलाई आन्दोलनको केन्द्रमा राख्न छाडेनन् । बिस्तारै नागरिक अगुवा पनि यसमा सामेल भए । ‘नेताहरूप्रति चरम अविश्वास बढेकाले तिनले आन्दोलन गर्न सक्ने र गरे पनि जनताले साथ दिने अवस्थै थिएन,’ नागरिक अगुवा श्याम श्रेष्ठ सम्झन्छन्, ‘हामी सडकमा तारन्तार निक्लँदा आममानिसले साथ दिए ।’ दिन बित्दै जाँदा लाखौंलाख मानिस सडकमा ओइरिए । त्यही आन्दोलनका कारण २ सय ४० वर्ष पुरानो राजतन्त्रको जरो उखेलिएको ठान्छन् अर्का नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डे । ‘त्यही आन्दोलन थियो, जसले गर्दा नयाँ संविधान, गणतन्त्र र संघीयतासम्म जान सम्भव भयो,’ उनी भन्छन्, ‘यही आन्दोलनले हतियार उठाएको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्यायो र राजालाई बोक्ने दलहरूलाई गणतन्त्रको बाटोमा हिँडायो ।’

उपलब्धिका हिसाबले २०६२/६३ को जनआन्दोलनलाई नेपालको सबभन्दा ठूलो राजनीतिक परिवर्तन ठान्छन् उनी । ‘गणतन्त्र आउँदा सही अर्थमा लोकतन्त्र आएको छ र संघीयता कार्यान्वयन भइरहँदा बल्ल नागरिकको घरदैलोमा शासनसत्ता पुगेको म ठान्छु,’ उनी भन्छन्, ‘यति हुँदाहुँदै पनि यो १२ वर्षमा भएका उपलब्धिले महिला, जनजाति, मधेसी, आदिवासीलगायतलाई पूर्ण सन्तुष्टि दिन सकेको छैन । आउने दिनले देला भन्नेमा आशावादी छु ।’ नागरिक आन्दोलन चर्किंदै जाँदा कवि, लेखक, कलाकार पनि सक्रिय हुँदै गए । त्यसमध्येका एक थिए अर्जुन पराजुली, जो आन्दोलनकारीका माझमा गएर व्यंग्य कविता सुनाउँथे । ‘त्यो बेला सम्झँदा म रोमाञ्चित हुन्छु,’ उनी भन्छन्, ‘मान्छेको मुक्तिका लागि भएको आन्दोलनमा म पनि सहभागी थिएँ भन्ने तथ्यले भावुक पनि हुन्छु । एक जुगमा एकपटक आउने त्यो दिनका लागि हामीले संघर्ष गर्यौं र ल्यायौं पनि ।’
पाण्डे, श्रेष्ठ र निष्ठुरीले झैं पराजुली पनि जनआन्दोलनलाई ठूलो फड्को मान्छन् । ‘त्यो समयको माग थियो र आन्दोलन अनिवार्य,’ उनी भन्छन्, ‘त्यसपछि भएका वा नभएका घटना/परिघटना त्यसपछिकै समयमा गर्नुपर्ने काम थियो । जनआन्दोलनलाई यसमा दोष दिन मिल्दैन ।’
जनआन्दोलनलाई ऐतिहासिक जितका रूपमा परिणत गर्ने वैशाख ११ लाई नेपाली राजनीतिक क्रान्तिको सफल विन्दु ठान्छन् श्रेष्ठ । ‘मुलुक गणतन्त्रमा पुगेर तीनै तहको चुनाव भएपछि राजनीतिक क्रान्ति सफल भएको छ, यो जनआन्दोलनकै देन हो,’ उनी भन्छन्, ‘अब आर्थिक र सामाजिक क्रान्ति हुन बाँकी छ । त्यसका लागि पनि नागरिक अगुवाले नेतालाई निरन्तर खबरदारी गर्न चुक्नु हुँदैन ।’
निष्ठुरीको विश्लेषणमा नागरिकलाई स्वतन्त्रता र लोकतन्त्र दिने जनआन्दोलनको राजनीतिक महत्त्व विशिष्ट भए पनि यसबाट आमजनता लाभान्वित हुन पाएका छैनन् । ‘जनताको त्यो बलिदान र त्यागको लाभ खालि राजनीतिक नेतृत्वले मात्रै लियो । नेताहरू नै प्रधानमन्त्री, मन्त्री र सांसद भए । तिनको जीवनमा रातारात कायापलट भयो तर जनताको दु:ख जहाँको त्यहीँ छ । उनीहरू बरु महँगी र बेरोजगारीले पहिलेभन्दा बढी थिलथिलो भएका छन्,’ उनी भन्छन्, ‘जनताको सास्ती कम गर्न सरकारले खासै काम गर्न सकेको छैन ।’
आखिर यस्तो किन त भन्ने प्रश्नमा निष्ठुरीको जवाफ थियो, ‘नेताहरू बेइमान भएकाले । हाम्रो नेतृत्वले नाकको टुप्पोभन्दा पर हेर्ने दूरदर्शिता देखाउन नसक्दा भ्रष्टाचारदेखि महँगीसम्म बढेर आमजीवन भद्रगोल बनेको हो ।’
कान्तिपुरकाे सहयाेगमा ।







