एउटै रंगका / एउटै कम्पनीका
साना ठूला केही गाडीहरू
झरिरहेछन् दछिणी ओरालो
जुन उकालो चढेका थिए
यिनीहरू
आक्रामक सिपाई झै हिजो
आज हरूवा सिपाही झैं
स्खलित दिमाग बाेकेर
झरिरहेछन् ओरालो दछिणतिर !
गाडीभित्र तीन खालका यात्री
छन्
जानीबुझी दछिण हिडेका
जबर्जस्ती कोचिएका
र
कहॉ जादै छु थाहाँ नपाएका !
पहिलो थरि मदमस्त छन्
भन्दै छन्-
हाम्रो सानो दुखले फर्काइएको
हैन
यो गाडी दछिणतिर !
दोश्रो थरि
भरपर्दो उद्धारकर्ताको लागि
गरिरहेछन् याचना
र
तेश्रो थरि
अशुभ असहज
मानिरहेछन्
इन्द्रियानुभूतिबाट
अर्को अनुभूति गर्ने शक्ति पुगेको
छैन !
कैले सिधै कैले घुमाउरो गर्दै
झरिरहेछ यो यात्रा दछिणतिर
आधा दर्जन समरुपी वाहनसहित !
बाटाका दुवै किनारमा मान्छेहरू
छन्
दायॉ किनारमा
जयनाम संकिर्तन गर्नेहरूको
पंक्ति छ
हरेक पछिल्ला विसौनीहरुमा
अझ ठूलो स्वागत चलिरहेछ !
वायॉ किनारमा पनि छन्
मान्छेहरू
आफ्ना अपहरित मान्छेहरुको
उद्धारको निम्ति गुनासो
गरिरहेका
आफ्ना सपनाको मृत्युमा
मौन धारणको तयारी गरिरहेका
नि:शव्द मौन धारण छ एकातिर
अर्को तिर विजयोल्लासको रौनक
छ !
वियोगान्त तर आत्म सम्मानको
यात्रा
तथाकथित संयोगान्त स्खलन
पछि
भयानक प्रहसन सहित
झरिरहेछ दछिणी ओरालो
समरुपका आधा दर्जन
दछिणी यातायात बाेकेर !
गाडीभित्र
घन्कन छोडेर “उठ जाग ” को
सामुहिक स्वर
बजिरहेको छ छमक छल्लो
तम्तमाइलो मन लगाएर
गाडीकै झ्यालबाट बाहिर हेर्दै
सोचमग्न हुँदैछु
आफूले तत्काल लिनु पर्ने निर्णय
बारे !
८ जुन २०१५







