द सेन्टर फर ग्लोबल डेभलपमेन्टका अनुसार ’वान बेल्ट वान रोड’ परियोजनामा जोडिएका आठवटा देश चिनियाँ ऋणमा डुबेका छन्। तिनीहरू जिबुटी, किर्गिस्तान, लाओस, माल्दिभ्स, मंगोलिया, मोन्टेनेग्रो, पाकिस्तान र ताजिकिस्तान हुन् ।
शोधकर्ताहरू भन्छन्, यी देशहरूले ऋणका कारण आफ्नो प्रगति कुन हदसम्म प्रभावित हुनसक्ला भन्ने कुरा आकलन पनि गर्न सकेका छैनन् ।

पाकिस्तान
द सेन्टर फर ग्लोबल डेभलपमेन्टको रिपोर्ट अनुसार चिनियाँ ऋणको जोखिम सबैभन्दा बढी पाकिस्तानलाई छ ।
चीनले त्यहाँ ६२ अर्ब डलर बराबरका परियोजनाहरूमाथि काम गरिरहेको छ र त्यसमा चिनियाँ साझेदारी ८० प्रतिशत रहेको छ ।
चीनले पाकिस्तानलाई उच्च ब्याजदरमा ऋण दिएको छ । जसका कारण आउँदा दिनमा पाकिस्तानमाथि चिनियाँ ऋणको बोझ अझ बढ्ने खतरा छ।
जिबुटी
अन्तराष्ट्रिय मुद्रा कोषका अनुसार जिबुटीले जसरी ऋण लिइरहेको छ त्यो हेर्दा उसलाई खतरनाक साबित हुनसक्छ ।
गत दुई वर्षमा मात्रै बाह्य ऋणमा कुल गाहर्स्थ उत्पादनको ५० प्रतिशतबाट ८० प्रतिशतले वृद्धि भएको छ । यो मामिलामा विश्वको कम आय भएका देशहरूमध्ये जिबुटी पहिलो मुलुक बनेको छ ।
जिबुटीले लिएको अधिकांश ऋण चीनको एक्जिम ब्याङ्कबाट आएको हो ।
माल्दिभ्स
माल्दिभ्सका ठूला परियोजनाहरुमा चीनको ठूलो हिस्सा रहेको छ ।
चीनले ८३० करोड डलरको लागतमा त्यहाँ एउटा विमानस्थलको निर्माण गरिरहेको छ । विमानस्थलसँगै एउटा पुलको निर्माण भइरहेको छ जसको लागत ४०० करोड डलर रहेको छ ।
विश्व ब्याङ्क र अन्तराष्ट्रिय मुद्रा कोषका अनुसार माल्दिभ्स नराम्रो तरिकाले चिनियाँ ऋणमा डुब्न लागेको देखिँदैछ । माल्दिभ्सको वर्तमान सत्तापक्षलाई चिनियाँ विश्वास प्राप्त रहेको बताइन्छ ।
लाओस
दक्षिण(पूर्वी एसियामा लाओस एउटा गरीब देशको रूपमा चिनिन्छ । त्यहाँ चीनले ’वान बेल्ट वान रोड’ अन्तर्गतका परियोजनामाथि काम गरिरहेको छ ।
त्यसको लागत ६.७ अर्ब डलर रहेको छ जुन लाओसको कुल गार्हस्थ उत्पादनको आधा हुन आउँछ । अन्तराष्ट्रिय मुद्रा कोषले अन्तर्रा्ष्ट्रिय ऋण पाउने योग्यता लाओसले गुमाउन सक्ने चेतावनी दिएको छ ।
मंगोलिया
मंगोलियाको भविष्यको अर्थव्यवस्था कस्तो हुनेछ यो कुरा आधारभूत ढाँचाको विकासमा भइरहेको लगानीमा निर्भर गर्नेछ ।
चीनको एक्जिम ब्याङ्क सन् २०१७ को शुरूतिर एक अर्ब डलर लगानी गर्न तयार भएको थियो । चीनले त्यसको शर्तका रूपमा जलविद्युत् र राजमार्ग आयोजनाहरुमा सहभागिता खोजेको छ ।
’वान बेल्ट वान रोड’ परियोजना अन्तर्गत चीनले आगामी पाँच वर्षमा मंगोलियामा ३० अर्ब डलर लगानी गर्ने कुरा छ । त्यस्तो भए मंगोलिया चिनियाँ ऋणबाट बाहिर निस्कन सहज नहुने बताइन्छ ।
मोन्टेनेग्रो
विश्व ब्याङ्कको अनुमान अनुसार सन् २०१८ मा यहाँका मानिसहरूमाथि कुल गार्हस्थ उत्पादनको ८३ प्रतिशत ऋणभार थोपरिएको छ ।
त्यहाँ बन्दरगाह र यातायातसम्बन्धी परियोजनाका लागि सन् २०१४ मा एक्जिम ब्याङ्कसँग एउटा सम्झौता भएको छ । जसमा पहिलो चरणको लगानी अर्थात् एक अर्ब डलरमध्ये ८५ प्रतिशत चीनले दिनेछ।
ताजिकिस्तान
ताजिकिस्तान एसियाका गरीब मुलुकहरूको सूचीमा पर्छ । अन्तराष्ट्रिय मुद्रा कोषले उक्त देशलाई ऋणको बोझले थिचिसकेको चेतावनी दिएको छ ।
सन् २००७ देखि २०१६ को बीचमा ताजिकिस्तानले लिएको विदेशी ऋणमध्ये चीनको हिस्सा ८० प्रतिशत रहेको छ ।
किर्गिस्तान
किर्गिस्तान पनि ’वान बेल्ट वान रोड’ परियोजनामा सामेल छ । त्यहाँका विकास परियोजनाहरूमा चीनको एकपक्षीय लगानी रहेको छ ।
सन् २०१६ मा चीनले त्यहाँ डेढ अर्ब डलर लगानी गरेको थियो। किर्गिस्तानले लिएको विदेशी ऋणमा चिनियाँ हिस्सा ४० प्रतिशत रहेको छ ।
(नोट ः यो लेख बीबीसी हिन्दी डट कम मा प्रकाशित मूल आलेखको नेपाली रूपान्तरण हो।)







