रुसलाई सुदृढ आणविक शक्तिका रुपमा लिइएपनि आर्थिक क्षेत्रमा अहिले पनि कमजाेर देखिनुलार्इ विश्लेषकहरूले सन् १९९१ मा साेभियत रूसकाे विघटनकाे असर अहिलेसम्म रहेकाे बताएका छन् ।

वास्तवमा १९९१ मा सोभियत शासन अन्त्य भएपछि देशमा सम्पति निजीकरणको सुरुवात भयो जसबेला भ्रष्ट प्रणाली अनुरुप देशका मूल्यवान् सम्पदाहरु सस्तोमा बिक्री गरियो भने देशमा भित्र्याइने सामानको चाहिँ महङ्गो हुँदै गइरहेको थियो । यसरी देशको अधिकांश सम्पतिमा व्यक्तिगत हक लागू हुन थालेपछि धनाढ्य रुसी नागरिकहरु विदेशमा बस्न थाले ।
यसकारण देशको आधा भन्दा बढी सम्पति विदेश पुर्याइँदा बेलायत, स्वीट्जरल्यान्ड, साइप्रस जस्ता देशहरुमा बस्ने धनाढ्यहरुसँग रुसको पूरै जनताको सम्पति भन्दा धेरै रहेको तथ्याङ्कले देखाउँछ ।
त्यसमध्ये कतिपयले रुसमै लगानी गरेपनि त्यसबाट हुने घाटाको हिसाब मात्र रुसमा भयो भने सबै फाइदाको उपयोग विदेशी भूमिमै भएको पाइयो । विश्वको ३० प्रतिशत प्राकृतिक सम्पदा रुसमै भएपनि राजनीतिमा चारैतिरबाट किनारा लगाइएपछि आर्थिक प्रतिबन्धको शिकार हुनुपर्दा रुसको अर्थतन्त्रमा समस्या आउने क्रम जारी रहेको हो ।
यसका साथै घट्दो जनसङ्ख्याले पनि देशको उत्पादनमा नयाँ अवरोध उत्पन्न गरेको बताइन्छ । अर्कोतर्फ भूराजनीतिक चुनौतिका कारण रुसमा लगानी गर्नुपनि जोखिमयुक्त मानिएको हुँदा विदेशी लगानीले पनि कुनै फलदायक निष्कर्ष ननिकाल्ने भएको हो । यसका साथै विश्व बजारमा ऊर्जाको मूल्यमा निरन्तर कमी आउनुले पनि रुसको अर्थतन्त्रमा ठूलो प्रभाव पारिरहेको छ ।
गतवर्ष मात्र रुसको कूल घरेलु उत्पादन १६ खर्ब डलर बराबर रहेको पाइएको थियो जुन मूल्य परिवर्तनलाई हेरेर सन् २०१३ को तथ्याङ्क भन्दा धेरै कम रहेको बताइएको छ । यसरी आणविक क्षेत्रमा लगातार अघि बढाइरहँदा आर्थिक वृद्धिमा चाहिँ रुस पछि पर्दै गइरहेको सर्वसाधारणले समेत महसुस गरिसकेको संचार एजेन्सी क्वार्टजले जनाएको छ ।
यसमा अन्तर्राष्ट्रिय समुदायमा राष्ट्रपति पुटिनको प्रभावले ठूलो भूमिका खेलिरहेको विश्वविद्हरुको भनाइ छ । अमेरिका जस्तो विश्वकै शक्तिशाली देशको राष्ट्रपति चुनावमा समेत हस्तक्षेप गर्न सक्ने क्षमता भएपनि आर्थिक विपन्नताबाट रुस अझै उम्किन नसकेको बताइन्छ । बाहिरी रुपमा तेल, ग्यास, कोइला लगायत अनेकौँ बहुमूल्य धातुका श्रोतहरुले सम्पन्न भएपनि रुसको आर्थिक अवस्थामा सोचेजस्तो सुधार आउन नसकेको बताइएको छ ।
त्यसैले पनि अहिले रुसका नागरिकहरुले आफ्नो जीवन स्तर घट्ने क्रममा रहेको प्रत्यक्ष महसुस गरिसकेका छन् भने गरिबीको सीमा मुनि रहनेको सङ्ख्या १ करोड ५० लाखबाट २ करोड नागिसकेको बताइएको छ । यसले पुटिनको लोकप्रियतामा पनि निकै असर पारिरहेको गत महिनाको सर्वेक्षणले देखाएको छ ।







