
उनी राजी भएनन् प्रतिक्रान्तिको मतियार बन्न
पुजिरहन चाहेनन् ईश्वर मानेर दुष्ट ढुङ्गोलाई
हिँडिरहे आफैले खनेको स्वर्णिम मार्गमा
र दुनियाँलाई सुन्नेगरी
हाम्रो रगतार्पणले आर्जेको
स्वप्नदर्शी उज्यालो यो हुँदै होइन
आफ्नै घरको मुलीले दिएको
धोकाधडीको पीडा सम्हाल्दै
उनी शीर ठाडो पारेर उभिए
र उद्घोष गरे
गद्दारी विरुद्ध लाप्पा खेलेर मात्र
फुल्नेछ सहिदको समाधिमा गुराँसको थुङ्गा
उनी भोकले दाम्रिएका वस्तीहरु पुगे
र भोकको विरुद्ध आवाज उराल्न सिकाए
उनी भित्रैबाट आकाश देखिने
सहिदको चुहिने झुप्रोमा गए
र सहिदले अर्पेको जीवनको अर्थ सम्झाए
खाटा बसेका घाऊ र बल्झनहरु सुम्सुम्याए
उनले कमिशन र मंहगीले निलेका मान्छेहरुलाई
शास फेर्ने उपाय सिकाए
सत्ताले चोख्याएका भ्रष्टहरुको चैनको निद्रामा
हुलिदिए डरलाग्दो सपनाहरुको बाढी
तब यो सब
सत्तालाई मन पर्दै परेन
उसका पाइला पाइलामा
आफ्नो मृत्युको छायाँ डुलिरहेको देख्यो
सत्तामा प्रतिक्रान्तिका अगुवाहरु थिए
बाटो छाडी भागेका भगुवाहरु थिए
कमिशनमा बाँचेका काला पेटहरु थिए
दुनियाँको खुशी लुटेर हाँसिरहेका ओठहरु थिए
समाते उनको कठालो
र लगाए हातमा हत्कडी
महासय,
आँखा छोप्दैमा कालो रातले
उड्न छोड्दैनन जुनकिरीहरु
हातमा झुन्ड्याउदैमा कसिलो हत्कडी
बन्दी बन्दैन आँधीकाे लय
उ कालो रातको विरुद्ध धाबा बोल्ने
जुनकीरीहरुको अगुवा हो
आँधीको लय सुसेल्दै उड्ने हुरी चराहरुको गीत हो
हरपल तिम्रो शीरमा नाँचिरहेको क्रान्तिको भुत
नयाँ युग कोरल्न ओथारो बसेको
प्रकाण्ड हो उ प्रकाण्ड हो ।
धन्यवाद ।
https://youtu.be/WfPhOPwIMGQ







