
किस्सा १
भकुण्डेबेँसीमा भर्खर खेती सुरुवात गरेको थिएँ । खेतमा कुलो लाउने पालो हुन्थ्यो । अरुको दिउँसो । मेरो राति । खानपिन गरेर राति १० बजे तिर लागिहाल्थेँ ।
टर्च लाईट अनि काँधमा फरूवा लिएर जाने । बिहान म ६ बजे घरमा आएर सुत्थेँ । फर्कदा एउटा होटलमा गएर चिया खान्थेँ । चिया खाँदा कतिपय चिनेका मान्छेले मन्त्रीज्यू भनेर बोलाउथे ।
फोहोर लुगा, साथमा फरुवा दाह्री पालेको हेर्दै फोहोरी । यस्तो धेरै चलिरह्यो । मैलो मान्छे । होटलका साहुजीले तपाईलाई किन मान्छेहरुले मन्त्री भन्दै उडाएका भनेर सोधे । मलाई बडो हाँसो उठ्यो । मैले उहाँलाई म मन्त्री नै हो भने ।
बाबुराम भट्टराईको पालामा पर्यटन मन्त्री र झलनाथ खनालको पालामा स्वास्थ्य मन्त्री भएको हूँ म मन्त्री नै हूँ भने उहाँलाई । उहाँले अप्ठ्यारो मानेर ‘सरी’ है मन्त्री भनेर नमस्कार गर्नुभयो ।
माफ गर्नुहोला पनि भने उनले । मैले म अहिले मन्त्री होइन जनता छु भने । त्यसपछि त्यहा ठूलो हल्ला भयो । पछि सबैलाई थाहा भयो ।
किस्सा २
म भकुण्डेवेसीमा एकदिन खेतमा धान गोडिरहेको थिएँ । खेतमा काम गर्ने मान्छे आउदै थिए । मान्छे पर्खिएर के बसिराख्ने भनेर म गोड्न थाले । झण्डै साठी बैसड्ढी रोपनी खेत लिएको थिएँ । एक हुल नेपाली सेना आइरहेका थिए दौडिदै । सबै कटेपछि सेनाका हाकिमले सोधे– ए भाइ यो कुन धान हो रे ?
मैले कालो धान हो दाइ भने । उमेरमा ऊ म भन्दा भाइ नै थियो । तर मैले भाइ भनिन् । फेरि यो धान लाउने मान्छे को हो रे भनेर सोधे ? मैले लोकेन्द्र विष्ट भन्ने मान्छे हो दाइ भनेँ । त्यसपछि उनले कहाँ छन तिनी भने ।
मलाई अप्ठ्यारो पर्याे । म आफै हो भनौ भने उसले पत्याउनेवाला थिएन् । म आफैलाई के भन्ने भयो । मैले उहाँ अहिले काठमाडौं तिर जानुभएको छ भने । उनले कहिले आउनुहुन्छ भनेर सोधे दुईचार दिन पछि होला भनेर जवाफ दिएँ । करसापले भेट्न खोज्नु भा’छ भन्देउ है भाइ भन्दै बाटो लागे ।
किस्सा ३
साँखुमा मैले १८/१९ रोपनी खेत लिएर धान लगाएको थिएँ । म प्राय खेतमै हुन्थेँ । एक जना मन्त्री आएर धान लगाएका छन् भन्ने हल्ला चलेछ । एक दिन दिउँसो खेत गोड्दै थिएँ ।
मलाई खोज्दै बूढा मान्छे आए । हेर्दै पञ्च जस्तो थिए । सुटबुट लगाएका । उनले मलाई नै आएर सोधे, ‘यहाँ एकजना मन्त्री आएर खेती गर्न थाल्याछन् रे कता छन् ?’
मैले हाफपाइन्ट, च्यातिएको टिर्सट र कमसल खालको चप्पल लगाएको थिए । खेतमा काम गरिरहेको थिएँ । त्यहाँ पनि मलाई अप्ठ्यारो भयो । के भन्ने–भन्ने भएँ । मन नलागी नलागी मन्त्री यतै छन भनेँ । उनले कता छन त खोई भनेर फेरि पो सोधे । म आफै हो हजुर भन्नैपर्यो ।
उनले मलाई तीन फन्को घुमेर हेरे । अचम्मित भए । मन्त्री पनि यस्तो हुन्छ भने, ठूलो स्वरमा । नचाहिने कुरा गर्ने भनेर गाली गरे । मलाई ढाट्ने भन्दै रिसाउँदै गए । मलाई मन मनै हाँसो लाग्यो ।
अलि माथि गाँउमा पुगेर उनी वडो रिसाएछन्, ‘त्यो ठिटाले मलाई मन्त्री मै हूँ भन्यो कस्तो बदमास रहेछ ।’ त्यस्तो पनि मन्त्री हुन्छ भनेर सोधेछन् । त्यहाँका बसेकाले मलाई चिनेका थिए । उनलाई ‘मान्छे नचिन्ने मन्त्री उनै हुन’ भन्दिएछन् ।
उनी आधा घण्टापछि फेरि हस्याङफस्याङ गर्दै आए । सरी है मन्त्रीज्यू भनेर माफी मागे । मैले केहि छैन् हजुर भनेर सम्झाएर पठाएँ । मन्त्री त उता झण्डा हल्लाएको गाडीमा होलान म त भूपू मन्त्री हो भन्दिएँ । त्यसपछि उनी हाँस्दै बाटो लागे ।
किस्सा ४
दाङमा ८४ कठ्ठामा कालो धान लाउदै थिएँ । त्यहाँ मान्छेसँगै अलि बढी साधन स्रोत पनि चाहिने भयो । एकै दिनमा ५०÷६० जना मान्छे काममा लगाएका थियौं ।
म पनि उनीहरु सँगै काट्ने बोक्ने काम गर्न थालेँ । ठूलो मान्छे बनेर काम नगरी बस्दिन म । कसैलाई मतलव थिएन काम गर्नेहरुलाई । काम गर्दै गर्दा कुरा चलेछ । मन्त्री चाहिँ कुन हो भन्दा रहेछन् । कसैले नपत्याउने । अनि सबै काम गर्नेहरुले खुसुखुसु गफ गर्दा रहेछन् ।
एकजनाले मन्त्री यही छन् भनेछन् । काम गर्नेलाई मन्त्री कहाँ छन भनेर चासो भएछ । मन्त्री कहीँ देखेनन् । मन्त्री खोज्न थालेको धेरै भइसकेछ ।
खाजा खान म पनि उनीहरुसँगै बसेँ । उनीहरुले अर्कै खाजा खाए । म काम गर्न जाँदा सातु वोकेर जान्थेँ । मैले सातु खाएँ । सातु खाँदा सबै हास्न थाले ।
मैले किन हाँसेको भनेपछि मन्त्रीको खाजा त यस्तो पो हुदो रहेछ भन्दै बेस्सरी हासे सबै । मैले सातु मन पर्ने भन्दै सातु महिमा बताउदै थिएँ, एकजनाले भने, ‘तपाइलार्ई चिन्न हामीलाई तीन दिन लाग्यो ।’ उनीहरु तीनदिनदेखि मन्त्री खोज्दै रहेछन् ।
किस्सा ५
म बल्छी खेल्न रुचाउँछु । मसँग माछा मार्ने जाल छ । फुर्सदमा जहिले जान्छु । एकदिन सुनकोसीमा बल्छी खेल्न साथीहरुसँग गएँ । दिनभर खोलामै बिताइएछ । ४/५ बजे तिर भोक लाग्यो । माछा पकाएर खाने कुरा भयो ।
नजिकको खाजा पसलमा पुगियो । एकजना किसान आएर मलाइ नै सोधे, ‘तपाईको घर कहा हो?’ काठमाडौं हो भनें । उनले त होइन तपाई त पश्चिमतिर को जस्तो लाग्यो भने ।
पश्चिम तिरै हो भने एकजना मान्छे चिन्नुहुन्छ भन्दै कुरो अघि वढाए, एकजना मन्त्रीले कालो धान लगाएका छन रे यसबारे तपाईलाई केही थाहा छ कि ? भनेर…
मैले अलि अलि थाहा छ भनेपछि उनले थप चासो देखाए । सम्पर्क गराइदिनु भने । हाम्रो गफ नजिकैका साथीले सुनिरहेका थिए । तपाइले खोजेको मान्छे उहानै हो भन्दिहाले । ती मान्छे बढो अलमलमा परे त्यसबेला । निकैवेर टाउको कन्याइरहेका थिए बिचरा ।
किस्सा ६
दाङबाट गाडीमा काठमाडौं आउदै थिँए । एकजना मान्छे आएर तपाईको नाम के रे ? भनेर सोधे । पूर्व मन्त्री हैन भने । तपाईको गाडी खोई भने । मैले छैन भने ।
बेच्नु भयो कि फिर्ता गर्नुभयो भनेर सोधे । मैले फिर्ता गरेँ भन्दिए । मन्त्री भएको मान्छे सार्वजनिक यातायातमा असुरक्षा हुदैन भन्दै चासो व्यक्त पनि गरे ।
मैले हुदैन तपाईहरु हुनुहुन्छ नि भने । त्यति के भनेको थिए आसपासका सबै मान्छेले घेर्न थाले । मसँग सकारात्मक नकारात्मक कुरा गर्न थाले । नेता र मन्त्रीप्रति उनीहरु कोही सकारात्मक थिएनन् । जनताका पक्षमा काम गर्न नसकेकोमा सवै आक्रोसित थिए ।
मलाइ चाहीँ गाडीमा देखेर होला सोझै आलोचना भने गरेनन । फेरि म भूपू भइसकेको पनि त थिएँ त्यही भएर सहानुभूति राखे क्यार । त्यसवेला मलाइ मान्छेलाई सम्झाउन हम्मे पर्याे ।
नेपालको राजनीति यस्तै छ अरु मन्त्रीले म जस्तो गर्दैनन् त म के गरुँ भनेपछि बल्ल सबैको चित्त वुझ्यो । त्यसपछि गाडीको माहोल साम्य भयो ।
प्रस्तुतिः पवन बराइली, शिलापत्र अनलाइनबाट ।







