नक्सलीमाझ कानु सन्याल विद्रोह र दृढताका बिम्ब हुन् । सन् १९२८ मा सिलिगुडी (उत्तर बंगाल) को एक मध्यमवर्गीय परिवारमा जन्मेका कानु नक्सलवादको संस्थापकका रूपमा चारु मजुमदारभन्दा पछाडि मानिन्थे । तर, उनले चारुको नेतृत्व कहिल्यै पूर्ण रूपमा स्वीकार गरेनन् ।

नक्सलीहरूको राजनीतिक संसारमा किंवदन्तीजस्ता लाग्ने कानुको स्पष्ट हस्ताक्षर देखिन्छ । तर, यो प्रस्तुत आलेख भने कानु सन्यालको जीवनी होइन । यो एक नक्सलीको कथा हो । कानु सन्यालसँगै जोडिएकी दिपु हलदारको जीवन–कथा ।

अनेक आरोह–अवरोहले भरिएको उनको राजनीतिक जीवनको कथा ! नक्सलबारी आन्दोलनमा पूर्णकालीन भएपछि दिपुलाई घरबाट विवाहको दबाब आयो । उनले परिवारविरुद्ध थानामा मुद्दा हालिन् । अनि, केही किताब झोलामा बोकेर १४ वर्षकै उमेरमा घरबाट निस्किइन् । सायद किताबले उनको जीवन परिर्वतन गरिदियो । उमेरले ५ दशकको यात्रा पार गरिसकेकी अविवाहित दिपु त्यसपछि अझै घर फिरेकी छैनन् । घरका मानिससँग भेट नभएको तीस वर्षभन्दा बढी भयो । दिपु भन्छिन्, ‘अब त मेरो घर भने पनि, परिवार भने पनि यही गाउँ हो ।’

दिपु हलदारले देखेको क्रान्तिको सपना पूरा भयो/भएन ? वेलावेला उनी स्मृतितिर पस्छिन्, जहाँ कानु सन्यालको स्पष्ट अनुहार देखिन्छ । जीवनका ऊर्जामय दिन उनले कानु सन्याल सँगसँगै आन्दोलनमा बिताइन् । तर, मुख्य नेता चारु मजुमदारको खरो आलोचक भइन् । दिपु अहिले वर्षौं पहिले देखेको आन्दोलनको सपना सम्झेर टोलाई बस्छिन् ।
०००
ठूलो र चौडा बाटो । बाटोमा ट्याक्स उठाउन बनाइएको टोल ट्याक्स सेन्टर छ । टोल ट्याक्स सेन्टरसँगै बाटो काट्न बनेका ठूला जेब्राक्रस । त्यससँगै स्पिड बे्रक गर्न ठडिएका स्पिड ब्रेकरहरू । वरिपरि धमाधम बन्दै गरेका बाटा र त्यसैका लागि चाहिने हेभी इक्युपमेन्टहरूको लावालस्कर । मानिसभन्दा गाडीको चहलपहल धेरै छ । यी सबै दृश्यले कुनै ठूलो सहर वा नामी स्थानको संकेत गरेको भए पनि यो न कुनै ठूलो सहर हो, न कुनै चल्तापुर्जाको स्थान । नेपालको सिमाना काँकडभिट्टाबाट करिब चार किमि पूर्वउत्तरमा रहेको सानो बंगाली गाउँ हात्तीघिसाको बीचखण्ड हो ।

भारतको उत्तर र दक्षिणलाई जोड्न जोडतोडले निर्माण भइरहेको एसियन हाइवेको नक्सलबारी खण्ड छिचोलेर हामी हात्तीघिसासम्म पुग्न सक्छौँ । हात्तीघिसा आजकल कुनै सम्झिरहनुपर्ने ठाउँ होइन । यो गाउँ कुनै समयमा नक्सल आन्दोलनको केन्द्र रहेका अनेकौँ गाउँमध्येको एक थियो । नक्सल आन्दोलनको ज्वारभाटा सिर्जना गर्ने यी गाउँ आजकल गुमनामजस्तै छन् । त्यस्तै, गुमनाममा घिस्रिरहेको छ हात्तीघिसा पनि ।

पाँच दशकअघि नक्सल आन्दोलनको केन्द्र रहेका यी गाउँ आजकल सुनसानजस्तै छन् । राजनीतिको ठूला–ठूला बहस र घर्षण हुने नक्सलबारी आज खुम्चिँदै गएको सानो बजारमा सीमित हुँदै गएको छ । नक्सलबारीका गाउँघरका भित्ता, कोठा, चोटाहरूमा चारू मजुमदार, कानु सन्यालका भनाइ एवं अनेकौँ नाराहरू राता अक्षरले कोरिएका हुन्थे । हँसिया–हथौडाका लाल झन्डाले झकिझकाउ हुने यी गाउँमा आजकल त्यस्तो दृश्य विरलै देख्न पाइन्छ ।

नक्सलबारीले आजकल आफैँले बनाएको इतिहासको स्मृतिमा माल्यार्पण गर्नुबाहेक खासै केही गर्दैन । आन्दोलनका नेताहरूको स्मृतिमा बनेका शालिकलाई सम्झनु यहाँको औपचारिकता हो । तिनै सालिकमा ठडिएका नेतालाई सेल्टर दिने गथ्र्यो हात्तीघिसा, सतभैया, घेराबारी, घुनघुना, स्कुलडाँगीजस्ता नक्सलका गाउँहरूले । पहारगुनिया, अटल, नक्सलबारी, हात्तीघिसा चियाबगानका मजदुरहरू दिनहुँ सडकमा ओर्लेर जमिनदार र चियाबगान मालिकविरुद्ध प्रतिरोध गर्थे । त्यही चियाबगानका मजदुरका साना झुप्रा नै नक्सल आन्दोलनका नेताको सेल्टर हुने गथ्र्यो । उत्तरबंगालका यिनै गाउँले आन्दोलन र नेताहरूका अनेकौँ घटनाको इतिहास बोकेको छ । तर, आजकल नक्सल आन्दोलनको जीवित इतिहास भन्ने नेता जीवित छैनन्, न उनीहरूले छोडेको ठूलो बिरासत नै बाँकी छ ।

कुनै समय लाल झन्डाले झकिझकाउ हुने नक्सलबारीका यी गाउँ बिस्तारै पुराना सम्झनाबाट विस्मृत हुँदै गइरहेका छन् । आजकल नक्सलबारीमा लाल झन्डा विस्थापित हुँदै गएको छ । त्यसको ठाउँ अनेकौँ झन्डाले लिइसकेका छन् । नक्सलका गाउँमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीका मुस्कानसहितका तस्बिर जताततै देख्न भने सकिन्छ । मुस्कानसहितका ती ममताका तस्बिरले नक्सलबारी प्रवेश गर्ने जोकोहीलाई पहिलो स्वागत गर्ने गर्छ । त्यस्तै, स्वागत हात्तीघिसा प्रवेश गर्नेले पनि पाउँछ ।

हात्तीघिसा ग्राम पञ्चायतसँगै जोडिएको प्रधानमन्त्री ग्राम सडकबाट करिब चार किलोमिटर उत्तर लागेपछि सेवदेलाजोत भन्ने सानो गाउँमा पुगिन्छ । मुन्डा, उराउ, सतार र केही मात्रमा बंगलाभाषीहरूको बसोवास रहेको सेवदेलाजोत नक्सल आन्दोलनका नेता कानु सन्यालको कुनै समयको मुख्य सेल्टर थियो । उनै कानुले यही आदिवासी गाउँलाई आफ्नो मुख्य आधार बनाएर करिब पाँच दशक यही बस्तीमा बिताएका थिए ।

नक्सलवरिपरिका ठूला–ठूला चियाबगानका ज्यालादारी मजदुरका रूपमा रहेका आदिवासीका अनेकौँ पुस्ताका अनेकौँ सपना चियाबगानबाट सुरु भएर चियाबगानमै समाप्त हुने गरेको छ । यिनै आदिवासी गाउँबीच सडकसँगै जोडिएको एउटा सानो भुइँघर छ । घरको एक कुनामा सडकतिर फर्काएर सेतो पानामा बांग्लाभाषामा लेखिएको छ, ‘ओफिसेर घर सारानार काज चोलितेछे’ अर्थात् अफिस घर सार्ने काम हुँदै छ ।

नक्सल आन्दोलनको सफलता र असफलताका अनेकौँ किंवदन्ती कानुले यही घरको एकछेउमा बसेर आफ्ना अनेकौँ समर्थक र शुभचिन्तकलाई चार दशकसम्म सुनाएका थिए । मानिसको भिडले भरिभराउ हुने यो घर आजभोलि सुनसान छ । निर्जीव बुढो घर अनेकौँ घटनाको मौन साक्षी हो ।

म मध्याह्न १२ बजे त्यस घर पुग्दा दुई महिला र एक पुरुष सरसफाइमा व्यस्त थिए । सानो भुइँघरको छानोको जस्तापातालाई खियाले खाएका कारण यसले मौलिक रङ गुमाइसकेकोे छ । घरको भित्ता बाँसको भाटाले बेरेर काँचो माटोले लिपिएको छ । कुनै मनकारी समर्थकले भर्खरै घरको भुइँलाई भने सिमेन्टले लिपिदिएको छ । नक्सल आन्दोलनको सफलता र असफलताका अनेकौँ किंवदन्ती कानुले यही घरको एकछेउमा बसेर आफ्ना अनेकाैँ समर्थक र शुभचिन्तकलाई चार दशकसम्म सुनाएका थिए । मानिसको भिडले भरिभराउ हुने यो घर आजकल सुनसान देखिन्छ । निर्जीव बुढो घर अनेकौँ घटनाको मौन साक्षी पनि हो ।

नक्सल आन्दोलनको असफलतापश्चात् कानु सन्यालकोे जीवनको बाँकी समय क्रान्तिको रोमाञ्चकताको सपना देखेर यही घरमा बितेको थियो । नक्सल आन्दोलनको ग्राफ ओरालो लागेसँगै कानुले यही गाउँलाई आफ्नो स्थायी मुकाम बनाएका थिए । कानु सन्यालको मृत्युसँगै नक्सल आन्दोलनका धेरै कथा पनि उनीसँगै बिलाउँदै छ । करिब एक दशकअघि यो पंक्तिकारले कानु सन्याललाई भेट्दा उनी प्यारलाइसिसबाट ग्रस्त थिए, मुस्किलले बोल्थे । नक्सल आन्दोलनका अन्तरसंघर्षका अनेकौँ किस्सा कदमलाल मल्लिकलाई छेउमा राखेर सुनाएका थिए । सन् २०१० मार्च २३ तारिखमा आत्महत्या गरेको भनिएका कानु सन्यालको मृत्युपछि सुनसान रहेको यस घरलाई जीवन भर्ने प्रयत्नमा उनकै एक अनुयायी दिपु हलदार तल्लीन छिन् ।

दिपुको पहलमायसलाई कानु सन्याल मेमेरियल ट्रस्टमा रूपान्तरण गरिएको छ, जहाँ सन्यालको मृत्युको एक दशकको स्मृतिमा यही मार्च २३ तारिख अर्थात् (चैत ९ गते) सिपिआई (एम एल) राज्य कमिटीले एक कार्यक्रम आयोजना गर्दै थियो । सोही कार्यक्रमको चटारोले उनीहरू सरसफाइमा तल्लीन थिए । कानुको स्मृतिमा हुने कार्यक्रम सफलताका साथ सम्पन्न गर्ने चटारो उनै दिपु हलदारलाई छ ।

खागीको सुरुवाल र कुर्ता लगाएर बसेकी कालो वर्णकी दिपु आफैँ उक्त कार्यमा जुटेकी छिन् । कानु सन्यालसँगै तीन दशकभन्दा बढी राजनीतिक जीवन बिताएकी यी बंगाली महिला चौध वर्षको उमेरमा घर छाडेर राजनीतिमा होमिएकी थिइन् । दिपु अहिले ‘कानु सन्याल मेमोरियल ट्रस्ट’ नाम गरेको त्यही घरमा काम गर्दै थिइन् । उनले काम नसकुन्जेल गफ गर्नै नभ्याउने अड्डी कसेपछि मैले दुई घन्टाजति कुर्नुप-यो । दुई घन्टा सेबदेलाजोत गाउँको चारकुना घुमेपछि फेरि त्यही स्मृति ट्रस्टमा फर्केँ । त्यतिन्जेलसम्म उनले पनि फुर्सद पाएकी थिइन् ।

कानु सन्यालको असली बिरासत आफूले बोकेको ठान्ने दिपु नक्सलबारी आन्दोलन सुरु हुनै लाग्दा सन् १९६४ मा कोलकाताको माझेर गाउँमा जन्मिएकी थिइन् । आफू जन्मेको महिना र गते उनलाई याद छैन । कोलकाताको बेलगुरियाको बिँडी फ्याक्ट्रीको ज्यालादारी मजदुर रहेका उनका बाबुले उनीहरूलाई सन् १९६८ मा उत्तर बंगालको बागडुग्रामा लिएर आएका थिए । बेलगुरिया त्यसताका नक्सल आन्दोलनको विशेष प्रभाव क्षेत्रमा मानिन्थ्यो । ‘नक्सलीहरूले टाउको काट्छन्’ भन्ने सुनेका उनका बुवाले नक्सलीका डरका कारण बसाइँ सर्ने निधो गरी आफ्नो परिवारलाई बागडुग्रा ल्याएका थिए । दुई दिदी–बहिनी र दुई दाजु–भाइमध्ये कान्छी छोरी थिइन् दिपु ।

बेलगुरियाबाट जुन डरका कारण उनका बाबु बसाइँ सरेर यता आएका थिए, त्यो गाउँ झन् नक्सल आन्दोलन केन्द्रकैवरिपरि थियो । त्यही गाउँमा आन्दोलनका अनेकौँ किस्सा सुनेर दिपु हलदार हुर्केकी थिइन् । चित्तरञ्जन हाइस्कुल बागडुग्राबाट म्याट्रिक पास गरेकी दिपु हुर्कंदै गर्दा आन्दोलनको ग्राफ क्रमशः उकालो लाग्दै थियो । उनी स्मृतितिर पस्दै थिइन्, ‘हामी सानै छँदा हाम्रो गाउँमा धेरै कमरेड आउने गर्थे । उनीहरू किसान, मजदुर र दिन–हीनका पक्षमा कुरा गर्थे र रातभरि भित्ता कोर्ने, झन्डा लगाउने काम हुन्थ्यो, जसले मलाई खुब आकर्षित गथ्र्यो । त्यही आकर्षणले म राजनीतिमा जोडिन पुगेँ ।’ तर, जब उनी किशोर उमेरमा प्रवेश गरिन्, त्यतिखेरसम्म नक्सल आन्दोलनको ग्राफ क्रमशः घट्दै गएको थियो । नक्सल आन्दोलनको ग्राफ ओरालो लागे पनि उनको सम्पर्क–सम्बन्ध नक्सल आन्दोलनका नेता कार्यकर्तासँग भइसकेको थियो ।

एकीकृत भारतीय कम्युनिस्ट पार्टीबाट विभाजित भएको भाकपा (माक्र्सवादी)मा किसान क्रान्तिको कार्यदिशालाई लिएर चर्को मतभेद सुरु भएको थियो । त्यो मतभेदको पछाडि भारतको आन्तरिक अर्थ–राजनीतिक कारण एकातिर थिए भने वैश्विक रूपमा चिनियाँ सांस्कृतिक क्रान्ति र माओवादको प्रभाव अर्कोतिर थियो । आन्तरिक कारण र बाह्य प्रभावबीच भाकपा (माक्र्सवादी)मा चर्को मतभेद सुरु भएको थियो ।

मतभेदका बीच भाकपा (माक्र्सवादी)बाट अलग्गिएर चारु मजुमदारको नेतृत्वमा अल इन्डिया कम्युनिस्ट को–अर्डिनेसन सेन्टर गठन गरिएको थियो । त्यही को–अर्डिनेसन केन्द्रको नेतृत्वमा नक्सलबारीमा किसानहरूको एक बृहत् भेला गरियो । भेलाले जमिनदारहरूको लिस्टिङ ग¥यो । जमिनदारहरूसँग भएको अतिरिक्त जमिन किसानहरूले खोस्ने र दमन गर्न आएमा प्रतिरोध गर्ने भनी निर्णय ग-यो । त्योे भेलामा चारु मजुमदार, कानु सन्याल, दीपक विश्वास, सरोज दत्तासहित स्थानीय किसान नेता जंगल सन्थालसमेतको संलग्नता थियो । १९६७ मे २५ तारिखमा भएको किसान भेला र त्यसले गरेको प्रतिरोधले भारत वर्षमा क्रान्तिको शंखघोष भएको भन्ने नक्सल आन्दोलनका नेताहरूको ठहर थियो ।

तर, आन्दोलनप्रति सरकारको रबैया एकदमै कठोर थियो । सरकारी दमन र घरेलु हतियार बोकेका किसानको भिडन्तले एकजना पुलिस हवल्दार (कसैकसैले सब–इन्स्पेक्टर पनि भन्छन्) वाङ्दीसहित ९ जना किसानको मृत्यु भयो । जब नक्सल आन्दोलन चारु मजुमदारको नीतिअनुसार एक्सन ओरेन्टेट अर्थात् व्यक्ति हत्याको लाइनतिर उन्मुख भयोे, आन्दोलन सुरु भएकै वर्षदेखि व्यक्ति हत्याको विषयलाई लिएर उनीहरूबीच मतभेद सुरु हुन थालेको थियो ।

कानु सन्याल, केशव सरकारहरू व्यक्ति हत्याको राजनीतिक लाइनमा असहमत थिए । सन् १९६९ मा जब अल इन्डिया कम्युनिस्ट को–अर्डिनेसन सेन्टरबाट भाकपा (माले)को गठन प्रक्रियामा पार्टी पुग्यो, मतभेद झन् चुलियो । व्यक्ति हत्याको राजनीति र तत्कालै पार्टी गठन गर्ने पक्षमा नरहेका कानु सन्यालहरूले क्रमशः फरक मत राख्न थालेका थिए । फरक मत राख्नेमाथि मूल नेतृत्व कठोर बन्दै गएको थियो । त्यसकारण फरक मत राख्नेहरूमाथि नै कारबाही होला कि भन्ने डर उनीहरूमा रहेको कुरा एक दशकअघि यही पंक्तिकारसमक्ष कानु सन्यालले यही घरको एक कुनामा बसेर गरेका थिए ।

नक्सलबारी आन्दोलनकी नेता दिपु हलदार भन्छिन्, ‘नक्सल मेरो सपना थियो । सपना कुनै दिन पूरा हुन्छ भनी म यसमा लागेँ । तर, सपना पूरा हुन पुस्तौँ पनि कुर्नुपर्ने हुन सक्छ ।’

नक्सल आन्दोलन सुरु भएको पाँच वर्षभित्रै नक्सल आन्दोलनका प्राधिकार चारु मजुमदारको कोलकातास्थित लालबजार पुलिस कस्टडीमा शंकास्पद मृत्यु भएपछि आन्दोलन बिस्तारै शिथिल हुँदै गयो । चारु मजुमदारको मृत्यु हुँदा नक्सल आन्दोलनका पहिलो तहका नेता प्रायः जेलमै थिए । दोस्रो तहका नेताको भरमा आन्दोलन अघि बढ्दै थियो । नक्सल आन्दोलनका राजनीतिका अनेकाैँ पाटाका विषयमा यहाँ लेखिरहन सम्भव नहोला । तर, आन्दोलन सुरु भएको पाँच वर्षपश्चात् नक्सल आन्दोलनको ग्राफ ओरालो लाग्न थाल्यो । बिस्तारै आन्दोलन शिथिल हुन थालेपछि थुनामा रहेका नेताहरू क्रमशः रिहा हुँदै गएका थिए । यसै क्रममा कानु सन्याल भने सन् १९७९ मा जेलबाट रिहा भए ।

कानु सन्याल जेलबाट रिहा हुनु दुई वर्षअघि मात्र दिपु हलदारले हात्तीघिसाको यो गाउँमा पहिलोपटक पाइला राखेकी थिइन् । नक्सल आन्दोलनका अनेकौँ कथा सुनेर हुर्केकी दिपुलाई पार्टीको सम्पर्कमा ल्याउने काम भने नातामा भिनाजु पर्ने कदमलाल मल्लिकले गरेका थिए । उनले यही पार्टी र आन्दोलनमा नै सरिक हुने भनेर प्रण गरेकी थिइन् ।

नक्सल आन्दोलन ओरालो लागेर तहसनहस भएको समयमा किन तपाईं यसमा आकर्षित हुनुभयो ? दिपु भन्छिन्, ‘नक्सल त मेरो सपना थियो, जुन सपना कुनै दिन पूरा हुन्छ भनी म यसमा लागेँ ।’ तर, तपाईंको सपना त पूरा भएन नि ? मेरो यस प्रश्नमा प्रायः सबै कम्युनिस्टले दिने उत्तर झैँ उनको पनि रेडिमेड जवाफ थियो, ‘सपना पूरा हुन पुस्तौँ पनि कुर्नुपर्ने हुन सक्छ ।’

नक्सललाई सपना बनाएकी दिपु हलदारको जीवनको टर्निङ पोइन्ट बन्न पुगे– कानु सन्याल । कुराकानीको क्रममा उनै सन्यालको राजनीतिक सानिध्यतामा रहेकी दिपुले झन्डै–झन्डै आफूलाई कानु सन्यालकै असली उत्तराधिकारीका रूपमा उभ्याउने प्रयत्न गरेकी थिइन् । पार्टीको पूर्णकालीनजस्तै भएर काम गर्दागर्दै घरबाट विवाह गर्ने दबाब बढ्न थालेपछि उनले बागडुग्रा थानामा परिवारविरुद्ध मुद्दा दर्ता गराइन् । मुद्दा दर्तापश्चात् प्रहरीको रोहबरमा आफ्ना केही किताब लिएर घरबाट निस्केकी दिपु आजसम्म घर फर्केकी छैनन् ।

हात्तीघिसाको यो सानो गाउँमा भएका थोरै समर्थकबीच आफू  रमाएर बसेको उनको कथनले झल्काउँथ्यो । खासै ठूलो सांगठनिक गतिविधि र राजनीतिक भूमिका नभएपछि भएका समर्थकले पनि दिपु हलदारलाई बिस्तारै छोड्दै छन् । अनेकौँ नाममा विभाजित भएका भारतका कम्युनिस्ट पार्टी एकले अर्कालाई दक्षिणपन्थी र आफूलाई क्रान्तिकारी ठान्ने प्रवृत्तिकै निरन्तरता उनमा पनि छ ।

दिपुले सच्चाइको लडाइँ एक्लै भए पनि लडेको दाबी गरिन् । उनले यस्तो तर्क गरिन्, जो यथार्थसँग धेरै मेल खाँदैन । उनी संलग्न रहेको पार्टीको उपस्थिति पश्चिम बंगालमा खासै छैन । कानु सन्यालको जोडले सामान्य गतिविधि गरेर चलाएको पार्टी उनको मृत्युपश्चात् बिघटनको अवस्थामा पुगेको छ । त्यही पार्टीका समर्थकले पश्चिम बंगाल राज्यस्तरीय कमिटी गठन गरेका छन्, जसको सचिवमा सुव्रतो बसु छन् । त्यही कमिटीको सदस्यका रूपमा उनी संगठित छिन् ।

नक्सलबारी आन्दोलनलाई आफ्नो सपना मान्ने दिपु चारु मजुमदारको चाहिँ चर्को आलोचक हुन् । मजुमदारलाई सहिदको दर्जा दिन नमिल्ने उनको मत छ । नक्सलबारी आन्दोलनको स्पिरिटलाई चारु मजुमदारको व्यक्ति हत्याको लाइनले बिघटन गरेको उनको आरोप छ । ‘किसान र मजदुरलाई एकीकृत गरी आन्दोलन अगाडि बढाएको भए नक्सल आन्दोलन सफल हुने थियो । व्यक्ति हत्याको राजनीतिले जनताबाट आन्दोलनलाई अलग बनाएको छ,’ उनको तर्क कानु सन्यालसँग मिल्छ ।

कानुको राजनीतिक स्कुलिङमा हुर्केको कारण पनि होला– संवादमा उनले सन्यालको राजनीतिक लाइन पुष्ट्याइँ गर्न अधिकांश समय खर्च गरिन् । नक्सल आन्दोलनको लिगेसी बोकेकै भनेर भारतमा अहिले पनि माओवादी आन्दोलन भारतको टाउको दुखाइ भएको छ । तर, त्यसलाई नक्सल आन्दोलनको बिरासत भन्न नमिल्ने उनको तर्क थियो । उमेरले ५० वर्षभन्दा उकालो लागेकी अविवाहित दिपु हलदार हात्तीघिसा ग्राम पञ्चायतको सेवदोलाजोतको एकान्तमा ऐलानी जग्गामाथि बनेको सानो घरमा एक्लो जीवन व्यतीत गर्दै छिन् ।

पाँच दशकअघि कोरिएको नक्सल आन्दोलनको मार्गमा अनेकौँ सपना देखेर कैयौँ मानिस होमिएका थिए । दिपुहरूले देखेको सपना के सपनामा मात्र सीमित भएन र ? के अनेकौँ गुमनामको जस्तै उनको सपना पनि गुमनाम त हुने होइन ?

(लेखक कट्टेल रिडर्स झापाका सदस्य हुन् ।) 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार