वार्तास्थल छनौटको सकस

एउटा प्राविधिक कुरामा माओवादी र सात पार्टीका बीचमा ठूलो समस्या रह्यो– वार्ता गर्ने तर कहाँ गर्ने ?

तत्कालीन नेकपा माओवादीको चाहिँ नेपालमै वार्ता गरे हुन्न भन्ने भनाइ थियो । नेपाली काँग्रेस र एमालेलाई नेपालमै वार्ता गर्न त्यति सम्भव छैन भन्ने थियो । त्यहीबीचमा वार्ताका निम्ति वातावरण निर्माण गर्न गिरिजाबाबु र माधव नेपालसँगको सल्लाहमा प्रचण्डजीसँग सरसल्लाह गर्न म रोल्पा गएँ ।

रोल्पामा छलफल भयो । त्यतिखेर प्रचण्ड कमरेड, बाबुराम कमरेड, बादल र विप्लव कमरेड पनि हुनुहुन्थ्यो । त्यहाँको छलफलमा मैले कहाँ वार्ता गर्ने भन्नेबारे कुरा चल्दा ‘अनुकूलतामा तपाईंहरूले निर्णय गर्ने कुरा हो । तर वार्ता गर्ने हो भने छिटो गर्नुपर्छ, लम्बिन दिनु हुँदैन र एउटा समझदारीमा पुगेर राजतन्त्रविरुद्ध प्रहार गर्नुपर्छ । त्यो कुरा तपाईंहरूको समझदारीमा टुङग्याउनुुस् तर छिटो टुङ्ग्याउनुस्’ भन्ने भइसकेपछि त्यहीँ रोल्पाबाट दिल्ली गएर वार्ता गर्ने टुङ्गो लगायो ।

रोल्पाबाटै स्याटलाइट फोनमार्फत् गिरिजाबाबु र माधव नेपाललाई खबर गरियो । प्रचण्डजीहरुले मलाई सँगसँगै दिल्ली जाऊँ भन्नुभएको थियो । तर गिरिजाबाबुसँग भेटेर एउटा समझदारी बनाएर मात्रै आउँछु भनेर म काठमाडौँ फर्किएँ । काठमाडौंमा गिरिजाबाबुसँग छलफल गरेपछि उहाँको दिल्ली जाने ‘डेट’ सुनिश्चित गरेर म आफू पनि उता गएँ ।

मेरो सानो त्रुटिले माधव नेपाल लामोसमय दिल्लीमा बस्नुपर्यो

यो सन्दर्भमा मेरो सानो त्रुटिका कारणले माधव नेपाल लामो समयसम्म दिल्ली बस्नुपरेको कुरा तपाईंहरुलाई बताउन चाहन्छु ।

म रोल्पा जानुभन्दा अगाडि प्रचण्ड कमरेडसँग फोनमा कुरा हुँदा ‘ठिकै छ नि त’ भन्नुभएको जस्तो मेरो बुझाइ भयो । ठिकै छ भनेको मतलब वार्ता गर्ने तर दिल्लीमै गर्ने वा अन्यत्र कहीँ गर्ने, माधवजीहरू, गिरिजाजीहरूले त्यसो भन्नुहुन्छ भने ठिकै छ नि त भन्ने मैले बुझँे ।

तर प्रचण्डजीले त्यो बारेमा ठिकै छ, सल्लाह गरौँला भनेर भन्नुभएको रहेछ । मैले सल्लाह गरौँला भन्ने कुरालाई नबुझेर, ठीकै छ नि त भन्ने कुरालाई बुझेर माधवजीलाई ‘तपाईं अब दिल्ली गए हुने भयो, उहाँहरू आउनु हुनुभयो’ भनें । मैले त्यो भनेकै भोलिपल्ट उहाँले भारतीय पक्षसँग सरसल्लाह गरेर, आफ्नो काम बनाएर निमन्त्रणा पत्र लिनुभएछ र दिल्ली जाने समय निश्चित गर्नु भएछ । मैले पर्सिपल्ट माधवजीलाई भनें–  कुरा त्यस्तो होइन रहेछ, समझदारी बनाउनलाई म पो रोल्पा जानुपर्ने भयो । तपाईं अहिले रोकिनुस्, मैले ‘डेट फिक्स’ गरेपछि मात्र जानुहोला भनें ।

उहाँले ‘हैन म त अब रोक्दिनँ । पहिला पनि निमन्त्रणा गरेर पछि रोकिएँ, अब अर्को पटक निमन्त्रणा गरेर सबै कार्यक्रम बनाइसकेँ, अहिले रोकियो भने के भन्ला ? त्यसकारण म हिँडे, तपाईं उता (रोल्पा) गएर ल्याउन सक्नुहुन्छ भने प्रचण्ड बाबुरामलाई ल्याउनुस् । उहाँहरूलाई ल्याउन सक्नुभएन भने कसलाई सक्नुहुन्छ, कोही न कोहीलाई लिएर आउनुहोला’ भनेर माधव कमरेड दिल्ली जानुभयो । त्यसले गर्दा लामो समय उहाँ भारतमा बस्नुपर्ने स्थिति पैदा भयो ।

दिल्लीको भूमिका र मेरोबारेमा गलत प्रचार

म रोल्पा गएर माओवादी र सात पार्टीका बीचमा, खासगरी काँग्रेस र एमालेसँग वार्ता गर्ने सहयोगी भूमिका खेलेँ । त्यस हिसाबले स्वभाविक रुपमा दिल्ली वार्तामा पनि सहभागी भएँ । कतिपय मान्छेहरूले भित्र भित्र के बुझे र  प्रचार पनि गरे भने नारायणकाजी श्रेष्ठको दिल्लीसँग पनि कुरा भएको रहेछ कि क्या हो ?

कतिपयले दिल्लीवार्ता भारतको पहल र सहमतिमा नै भएको हो कि भन्ने पनि प्रश्न गर्ने गर्छन् । तर वास्तवमै दिल्ली वार्ता नेपालको वस्तुगत ऐतिहासिक आवश्यकताको उपज हो ।

नेपालमा राजतन्त्रविरुद्ध संयुक्त आन्दोलनको आवश्यकता ऐतिहासिक रुपमा देखापर्यो । त्यसो नभएको भए यो वार्ता, समझदारी र संयुक्त आन्दोलन हुँदैनथियो । दोस्रो, त्यसलाई बुझ्ने चेत, नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी नेतृत्वमा भयो, त्यसकारणले त्यो सम्भव भयो । तर थप कुरा, हाम्रो छिमेकी र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक दृष्टिकोण नभइदिएको भए पनि यो सम्भव थिएन भन्ने कुरा चाहिँ मान्न सकिन्छ ।

तर मूल आधार वस्तुगत आवश्यकता हो, त्यसलाई बुझ्ने माओवादी, नेपाली कांग्रेस र एमाले नेतृत्व हो र त्यसलाई सहयोग पुर्याउने अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग समर्थन पनि हो भन्ने मलाई लाग्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार