ओहो, अमेरिका कति राम्रो! कति विकसित त्यहाँ पुग्यो भने त स्वर्गकैजस्तो जीवन हुन्छ होला।

गगन चुम्ने भवनहरू, मनमोहक सामुन्द्रिक दृष्य, न्युयोर्कको म्यानहटन, सनफ्रान्सिस्कोको गोल्डेन गेट…कति रमाइलो र कति मनमोहक।अमेरिका गएकाहरूले गर्ने यस्तै यस्तै कुराले अमेरिका कस्तो रहेछ भन्ने कौतुहलता जाग्नु स्वभाविक थियो।

अमेरिका धेरै नेपालीको सपनाको देश हो। अमेरिकामा भएको विकासले बालकदेखि वृद्धवृद्धासम्मको मानसपटलमा गहिरो छाप पारेको छ।

नेपाललाई मात्र नभई अन्य देशका बासिन्दाहरूको पनि आकर्षणको केन्द्रबिन्दु बनेको छ, अमेरिका। हरेकजसो नेपाली युवाहरूको लक्ष्य र गन्तव्य बनेको छ। तिनै युवाको हुलमा कुनै बेला म पनि थिएँ।

विभिन्न पत्रपत्रिकामा छपिएका अमेरिकाको पोस्टर, आइएलटिएस गर्दै गरेका साथीहरू, साघुँरा गल्लीहरू भित्रभित्र पनि ठूल्ठूला अक्षरमा स्टडी इन अमेरिका लेखिएका होडिङ बोर्डहरू, त्यहाँको विकासको बारेमा सुनेको चर्चा र त्यहाँ पुगेका दाइदिदीहरूले सामाजिक सञ्जालमा पोष्ट गरेको फोटोहरू, भिडियोहरूमा देखेको भव्य जीवन शैली र अमेरिकाबाट छुट्टीमा घर आएका दाजुदिदीहरूलाई दिएको सम्मान र स्नेह देख्दा मलाईमात्र होइन मजस्ता धेरै युवालाई तान्नु स्वभाविकै थियो। फोटो देख्दै त्यही बेला पुगिहालौंजस्तो हुन्थ्यो, मिल्ने भए उडेरै जाउँजस्तो।

स्कुल पढ्दादेखि अमेरिका जाने मेरो रहर दिनदिनै झाँगिदै गयो। एलएलसी सकेर नर्सिङ पढाइ सुरू गरें।

अमेरिका आउने मेरो सपना लक्ष्यमा बद्लिँदै गयो।

पढाइ कहिले सकिन्छ र अमेरिका जाउँला भन्नेमात्र दिमागमा हुन्थ्यो।  बारम्बार अमेरिका बस्ने  भान्दाइ, सानिमा र दाइहरूसँग अमेरिका आउने  प्रोसेसबारे चासो राखिरहन्थे।

नर्सिङको पढाइ सकिएपछि स्टुडेन्ट भिसाको प्रोसेसमा लागें। अन्ततः स्काइलाइन कलेजमा ब्याच्लर अफ साइन्स इन नर्सिङ गर्न अमेरिका  प्रवेश अनुमति पाएँ।

अमेरिका जाने भएर होला मन फुरूङ थियो, एयरपोर्टसम्म बाबामम्मी र दिदी पुर्‍याउन आउनुभएको थियो।

जब प्लेन टेक अफ भयो परिवारबाट टाढा हुन लागेको ठानेर मन साह्रै भारी भयो।

सनफ्रान्सिस्को एयरपोर्ट ल्याण्ड भएपछि मेरो मानसपटलमा भएको अमेरिका र मेरो आँखाको अमेरिका भिन्न लाग्यो।

जुन कुराको कल्पना मैलै गरेकी थिएँ त्यस्तो केही भएन। केही आफन्त र साथीसँग अमेरिकी शहर घुम्दै केही दिन बिते। सधैँ उहाँहरू मसँगै घुमिरहन सम्भव थिएन।

कलेज सुरू हुनुअघिसम्म त रमाइलै लाग्यो। आखिर म मैले सोचेको  सपनाको संसारमा जो पुगेकी थिएँ।

जब कलेज सुरू भयो तब वास्तविक अमेरिका देखिन थाल्यो।

भिन्न देश, भिन्न चालचलन, रहनसहन।

ओहो! सुरूमा त घुलमिल हुन नै समय लाग्ने। धन्न आफन्त भएकाले खासै  समस्या परेन। विदेशमा एक्लै हुनु र आफन्तको साथमा बस्नुमा धेरै नै फरक हुँदो रहेछ। आफन्तको सामिप्यमा बस्न पाउँदा नौलो ठाउँमा पनि एक्लो अनुभूति गर्नु परेन।  यो मामिलामा म आफूलाई एकदम भाग्यमानी ठान्छु।

अर्काको भूमिमा जति नै सुविधा भए पनि आफ्नो जन्मभूमि र देशजस्तो कहाँ हुन्छ र? सोचेको र देखेको अमेरिकामा आकाश र पातालको भिन्नता रहेछ। अमेरिका गुलाबको फूल रहेछ, जुन  हेर्दा एकदम राम्रो तर काँडैकाँडाले घेरिएको। जो मेहनती र जाँगरिलो छ त्यो मान्छे सुन्दर फूलझैं फक्रिन सक्छ तर अल्छी र समयको महत्व नबुझ्नेलाई त्यही गुलाब काँडा बनिदिन्छ अमेरिका।

अमेरिका प्रायः सबै राज्यहरूमा नेपालीहरूको उपस्थिति छ। तर सोचेजस्तो जीवनशैली जिउने नेपालीहरूको सङ्ख्या भने निकै कम छ। सुन्दर जीवनको कल्पना गर्दै अमेरिका आए पनि यहाँ आएपछिको व्यथा भने अर्कै हुन्छ।

सुन्दै आएको अमेरिका र वास्तविक भोगाइको अमेरिकामा व्यापक अन्तर भएकाले मानिसहरूमा निराशा छाउँछ।

स्टुडेन्ट भिसामा आउनेहरू जो सँग पैसा छ, उसले मात्र सहज तरिकाले आफ्नो अध्ययन अघि बढाउन सक्छ। पढ्ने खर्च जुटाउदै पढ्नेहरूका लागि अमेरिका सहज रहेनछ। मैले अमेरिकामा पुग्न पाए सबै समस्या आफैं समाधान हुन्छन् होला भन्ठानेको थिएँ तर संघर्षबिनाको अमेरिका त अमेरिका होइन, आँशुको पहाड पो रहेछ। त्यसमा पनि फरक भौगोलिक वातावरण र जीवन शैलीमा घुलमिल हुनु चुनौती बन्छ।

घरपरिवारको छत्रछायामा हुर्किएर अध्ययन गरेकाहरू र  आर्थिक अभाव नझेलेकाहरूका लागि अमेरिका बिरानो बन्न सक्छ। समयको व्यवस्थापन गर्दै, अध्ययनलाई अघि बढाउँदै पैसा पनि कमाउनु पर्ने र अभिभावकत्व नपाउने भएकाले अमेरिकामा रहेका कतिपय नेपालीहरूले आत्महत्या गरेका समाचारहरू पनि आइरहेका हुन्छन्। आफूले कल्पना गरेको समाजभन्दा भिन्न परिस्थितिको सामना गर्नु परेकाले निकै असहज स्थितिको सामना गर्नुपर्छ।

अमेरिका यस्तो देश हो जहाँ कामबिना कोही पनि टिक्न सक्दैन। अमेरिकनहरू कामलाई कहिल्यै पनि सानोठूलो भन्दैनन् र सबै कामलाई सम्मानले हेर्छन्। जो जुन क्षेत्रमा काम गरे पनि एउटै नजरले हेरिन्छ।  यहाँ समयको पनि त्यत्तिकै  महत्व हुन्छ। हरेक कुरा समयअनुसार गरिन्छ। टाइमअनुसार नै चलिरहेको हुन्छ, अमेरिकी सिस्टम।

एकदुई हप्ता काम नहुनेबित्तिकै मान्छे घरबारबिहीन हुन्छु कि भन्ने सोच्न  पुग्छ र  आफ्नो  कामलाई  प्राथमिकतामा राख्छ।  जुनसुकै र  जसकोसुकै काम होस् आफ्नो काम सम्झेर गर्छ त्यही भएर होला आज अमेरिका हरेक कोणबाट अग्रपंक्तिमा छ।

अचेल लाग्छ- हामीले अमेरिकाबाट केही सिक्नैपर्छ।

अमेरिको रंगिन शहरमा रहेका अधिकांश नेपालीहरू रेस्टुरेन्ट, स्टोर, ड्राइभर आदिमा काम गरिरहेका छन्।यहाँको लागि यो कमाइ न्यून हो।

पुस्तौंपुस्तादेखि बसेका भारतीयहरूले अमेरिकाको कुनाकन्दरासम्म स्टोर, रेष्टुरेन्ट खोलेका छन्, डाक्टर, इन्जिनियर छन् र उनीहरूले अमेरिकी समाजमा धेरै फड्को मारिसकेका छन्।

जो लगनशील छ, उसले जहाँ  गए पनि अवसर  पाउँछ भनेझैं, आफ्नो पढाइलाई प्राथमिकता दिएर अरूमा होइन आफैंसँग जसले यहाँको उच्चशिक्षा हासिल गरेका नेपालीहरूले राम्रो काम पाउनुका साथै आर्थिक हैसियत पनि राम्रो बनाएका छन् तैपनि उनीहरूको जीवन सामाजिक हुन सकेको छैन।

तामझामका साथ व्यस्त समय समायोजन गरेर नेपाली चाडपर्वहरू मनाए पनि त्यसमा नेपालको जस्तो आफ्नोपनको साइनो भने हुँदैन। जसरी मेसिन लगातार चलिरहन्छ यहाँको नेपालीको जीवन पनि त्यसरी नै चलिरहन्छ कुनै भावनाबिना। पैसा कमाउने र जीवन बनाउने उद्देश्य बोकेर।

अचेल मलाई लाग्छ- जीवनमा सफलता हासिल गर्न अमेरिकाकै सपना नै देख्नुपर्छ भन्ने केही रहेनछ, जो  जहाँ  भए पनि लगनशिलता  इमान्दारिताका साथ मेहनत गर्नुपर्दो रैछ।सँगसँगै समयको महत्व र आफ्नो कामप्रति माया र आदर गर्न सिक्नुपर्दो रैछ।

(हाल क्यालिफोर्निया, अमेरिका।)setopati

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार