दैनिक १५ सयभन्दा बढी युवा श्रम बेच्न विदेशी भूमितिर लम्किरहेका छन् । नेपालमै अवसर सिर्जना गर्न खोज्ने युवाको संख्या एकदमै न्यून छ ।

पूर्व मोरङको तीन टोलियामा भारतको बिहारबाट आएका जोगेन्द्र यादवले गाईपालन गरेर मासिक ५० हजार, झापाको बिर्तामोडमा एक जना भारतीय नागरिक रामज्योति साहले तरकारी खेतीबाटै परिवारको सम्पूर्ण खर्च कटाएर मासिक ३० हजार, कपिलवस्तुको भैरहवामा भारतीय नागरिक उपेन्द्र साह तेलीले आलु खेती गरेरै मासिक ३० हजार रूपैयाँभन्दा बढी आम्दानी गरिरहेको समाचार हामीले अखबारमा पढ्दै आएका छौं । तर, तीतो यथार्थ, धेरै नेपाली युवा भने नेपालमा केही छैन भनेर विदेशिने गरेका छन् ।

मैले पनि विदेशमा एउटा अनुभव सँगाल्ने मौका पाएको थिएँ । अर्थात्, कृषिबाट चमत्कार नै हुन सक्ने उदाहरणको साक्षी बन्ने अवसर ।सी अफ ग्यालीलीस्थित किन्नरेट कलेजमा एकेडेमिक प्रोग्रामको प्रमाणपत्र ग्रहण गरेपछि

७६ प्रतिशतभन्दा बढी कृषक भएको कृषिप्रधान मुलुकको म नेपाली युवा । ३ प्रतिशतभन्दा कम कृषक भएको मुलुक (इजरायल) मा कृषि पढ्ने उद्देश्यले सन् २०१४ मा त्यहाँ पुगेको थिएँ । राम्ररी पसिना बगाउन सके सुन फलाउन सकिने नेपाली उर्वर माटोमा चित्त बुझ्ने गरी अन्न फलाउन नसकेर त्यहाँ पुगेको थिएँ । तर मैले त्यहाँ त बालुवा र चट्टानमाथि विदेशबाट किनेर ल्याएर बिछ्याइएको माटोमा पनि हीरा फलाएको प्रत्यक्ष देख्न पाएँ ।

प्राकृतिक रूपमा उद्गम र सुगम भएर पनि पानीको अभाव काटिरहेको देशबाट त्यहाँ पुगेको मैले जम्मा भू–भागको आधाभन्दा बढी मरुभूमिमा थोपा सिँचाइ प्रणालीबाट १२ महिना नै अन्न उत्पादन भएको देखें ।

बिघौंविघा जमिन हुने जमिनदारहरू वर्षभरि अन्न उत्पादन गर्न नसकेर बजारमा मन्सुली छान्न बाध्य देशको मैले एक कट्ठा पनि जमिन नभएको कृषकले भाडाको जग्गामा सरकारी ऋणमार्फत करोडौं कमाएको हेरें ।

किसानको छोरा भएर दुई घण्टा पनि काम गर्ने बानी नभएको मैले त्यहाँ दिनको १५ घण्टासम्म काम गरें । काम नगरे कलेजको मासिक शुल्क बुझाउन समस्या पर्ने थियो । म त दिनको झण्डै २ सय सेकल (करिब ५ हजार रुपैयाँ) आर्जन गरेर मख्ख थिएँ । तर, मेरो मेहनतबाट त्यहाँको कृषकले झण्डै २ हजार सेकल अर्थात् (५० देखि ६० हजार रुपैयाँ) को फाइदा लिन्थे । आफ्नै स्वामित्वमा रहेको विघा जमिनमा खेताला लगाएर यहुदीको खेताला बन्न पुगेका धेरै नेपाली मैले त्यहाँ देखें । मालिक बन्न छाडेर दासी जीवन बिताउनेहरूलाई त्यहाँ देखें ।

प्राकृतिक सुगमता नियाल्दा नेपाल र इजरायलको तुलना गर्नै मिल्दैन । हामी त त्यो देशभन्दा अगाडि हुनुपर्ने हो । तर, हामी इजरायलभन्दा कैयौं गुणा पछाडि छौं ।

इतिहास खासै लामो छैन, जहाँदेखि इजरायलको कृषि विकास प्रारम्भ भयो । अहिले इजरायलमा कृषिको एक उच्च विकसित उद्योग स्थापित छ । इजरायलका ताजा उपज र इजरायलको भूगोल कृषिका लागि स्वाभाविक छैन भन्ने तर्कका बाबजुद कृषि प्रविधिमा विश्वकै निर्यातक देशमध्ये ‘नेता देश’ बन्न पुगेको छ । इजरायलमा भूमि क्षेत्रको आधाभन्दा बढी मरुभूमि छ । जलस्रोत र हावापानीबाट पनि अनुकूल छैन ।

त्यहाँको २० प्रतिशत मात्र भूमि खेतीयोग्य छ । यसको मतलब ८० प्रतिशत भूमि खेतीका लागि प्रतिकूल छ । इजरायलले आज २ दशमलव ५ प्रतिशत कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र निर्यातको ३ दशमलव ७ प्रतिशतको प्रतिनिधित्व गर्दछ । जबकि, इजरायलका कृषि श्रमिकहरूको काम शक्ति ३ दशमलव ७ प्रतिशत मात्र छ । इजरायलीहरूले आफ्नो खाना र आवश्यकताका ९५ प्रतिशत खाद्यान्न आफैं उत्पादन गर्दछन् । इजरायलमा किबुज (सामूहिक खेती प्रणाली) र मोसव (व्यक्तिगत) भन्ने दुई किसिमका अग्रगामी उद्योग र कृषि समुदायको विकास भएको छ ।

अहिलेको विकसित इजरायली कृषिको विकाससँग उन्नाइसौं शताब्दिको अन्त्यतिर ‘प्यालेस्टाइन–जिओनिष्ट आन्दोलन’ र ‘यहुदी अध्यागमन’ पनि गाँसिएको बताइन्छ ।

बसाइँ सरेर आएका यहुदीहरूले खरिद गरेको भूमि ज्यादातर अर्धशुष्क थियो । धेरै वन फडानी, माटोमा ‘अन्टिलेवल’ थियो । त्यतिबेलाका यहुदीहरूले चट्टानी क्षेत्र हुँदै भास नाली सरसफाइ गरी वन वृक्षरोपण र माटोको क्षयलाई निष्तेज पार्ने काम गरे । त्यसपछि बसोबासका लागि छतवाला भवनहरू बनाए ।

सन् १९४८ मा इजरायल स्वतन्त्र भएपछि खेतीका लागि कुल क्षेत्रफल ४ सय ८ एकड अर्थात् १ हजार ६ सय ५० वर्ग किलोमिटरबाट बढेर १ हजार ७० एकड भएको छ । जबकि, कृषि समुदायको संख्या ४ सय २५ देखि बढेर ७ सय पुगेको छ । कृषि उत्पादन १६ पटक विस्तार भएको छ, जुन जनसंख्या वृद्धिभन्दा तीन गुणा बढी हो ।

७०/७५ वर्षअघि इजरायल नेपालभन्दा कैयौं गुणा पछाडि थियो । नेपाल इजरायलको तुलनामा निकै सम्पन्न र वैभवशाली थियो । करिब ८ दशकअघि इजरायलमा भोकमरी थियो । मानिसहरूले सीमित खाद्यवस्तु मात्र किन्न सक्थे । यसका लागि सरकारले उनीहरूलाई कुपन दिन्थ्यो । हरेक परिवारले दैनिक २ लिटर दूध, ५ किलो पिठो, १० वटा मात्र अण्डा यस्तै–यस्तै धेरै सीमित खाद्यवस्तुहरू मात्र किन्न पाउँथे ।

इजरायलीसँग पानी थिएन । पानीका लागि धेरै खर्च गर्नुपर्थ्याे । काठमाडौंमा मानिसहरूले पानीका लागि हरेक महिना बढीमा २ सय रूपैयाँ तिर्ने गर्दछन् तर इजरायलका लागि यो त धेरै सस्तो थियो । इजरायलमा त मानिसहरूले घरायसी प्रयोगमा हरेक महिना २ सयभन्दा अझै बढी अमेरिकी डलर तिर्नुपर्थ्याे । पानी अझै धेरै महँगो । यस्तो अवस्थामा कसरी कृषि विकास गर्ने ? यो विषय इजरायलीका लागि कम चुनौतीपूर्ण थिएन । यसका लागि इजरायलीले लामो समय मेहनत गरे । मेहनतबाट दिक्क भएर त्यहाँका युवा विदेशिने सोच बनाएनन् ।

देश सरकारले मात्रै होइन आफैं बनाउने हो भन्ने उनीहरूले ठहर गरे । आ–आफ्नो ठाउँबाट स्वदेशकै मरुभूमिलाई हरियाली बनाउने अत्यन्तै चुनौतीपूर्ण काममा खटिए । उनीहरू उतिबेलै यूरोप र अमेरिकातिर जान सुरू गरेका हुन्थे भने आज त्यही बानी लाग्थ्यो र शायद विकासमा त्यति नै पछि पर्थ्याे ।उत्तरी इजरायलमा रहेको त्यहाँको प्रख्यात फलफूल प्याकिङ फ्याक्ट्री मिरियम सोहम प्राली

सबैभन्दा महत्त्वपूर्ण कुरा अवधारणा वा सोच नै हो । त्यसपछि ऊर्जा र जाँगरका कुरा आउँछन् । कृषि रुचि होइन, यो व्यवसाय हो । व्यवसायमा उपलब्धि हासिल गर्न लगानी गर्नैपर्छ । लगानी भनेको धन र श्रम दुवै हो । लगानी नगर्ने हो भने नाफा पनि हुँदैन भन्ने कुरा इजरायलीहरूले महसुस गरे । कृषिमा लगानीसँगै अथक मेहनत गरे । अन्ततः आधुनिक प्रविधि र प्रणालीको माध्यम अँगालेर ८ दशकभित्रै आफूलाई आवश्यक खाद्यवस्तु उत्पादन गरेर निर्यात पनि गर्न इजरायली सफल भए । आज कृषिबाटै इजरायलले आफू मात्र पालिएको छैन, विश्वका धेरै देशलाई पालेको छ ।

नेपालमा के छैन ?

हाम्रो देश प्राकृतिक सम्पदाको धनी देश मानिन्छ । सानो मुलुक भए पनि हिमालदेखि तराईसम्मको हावापानीका कारण नेपालमा विविधतापूर्ण प्राकृतिक वनस्पति, फूल, लहरा, जनावर, कीटपतंग, चराचुरुंगी तथा झरना, खोला, पहाड, कन्दरा आदि पाइन्छन् । कृषिका लागि नेपाल सम्भावित राष्ट्रमध्येमा पर्दछ ।

नेपालमा कृषिले जनसंख्याको ७६ प्रतिशत जनसंख्या धानेको बताइन्छ । कुल गार्हस्थ्य उत्पादनमा कृषिको ३९ प्रतिशत योगदान छ । तर विडम्बना, ७६ प्रतिशत किसान भएको कृषिप्रधान मुलुकले ८३/८४ करोड अमेरिकी डलरको हाराहारीमा वार्षिक निर्यात गर्दा २ अर्बभन्दा बढीको आयात गर्छ । त्यसमा पनि कृषिउपज नै बढी आयात भएको पाइन्छ । हामीले तरकारीसमेत विदेशबाट किनेर खाइरहँदा नेपाली माटोले हामीलाई गिज्यारहेझैं लाग्छ ।

नेपालसँग आधुनिक प्रविधिको पहुँच छैन भनेर पन्छिने गरिन्छ । एक हदसम्म आधुनिक प्रविधिको अपर्याप्तता रहेको कुरा सत्य हो । तर, सोच वा अवधारणाको विकास र कार्यान्वयन हुन नसक्दा कृषिको विकास पछि परेको हो भन्ने कुरा उत्तिकै सत्य हो ।

विस्तारै हाम्रो मुलुकको अर्थतन्त्र कृषिबाट विप्रेषणमा निर्भर हुँदै गएको छ । नेपाली युवाले विदेशी भूमिमा गई कमाएको पैसा अहिले अर्थतन्त्रको मेरुदण्ड बनेको छ । हाम्रा बाउ बाजेदेखि गर्दै आएको खेतीलाई हामीले विस्तारै त्याग्दैछौं ।

हाम्रा बाउबाजे अहिले हामीजस्तै विदेश गएर कहिले जीवन चलाएनन् । उनीहरूले कुटोकोदालो गरी यही भूमिमा उत्पादन गरेर जीवन चलाए । आज विज्ञान र प्रविधिले फड्को मारेर हामी निकै पर पुगिसकेका छौं । तर पनि खेतीलाई आधुनिकीकरण गरेर अघि बढ्ने हिम्मत हामीले गरिरहेका छैनौं ।

हलिउडका नोह जुप र बलिउडका खानले लगाउने फेसन हामी टपक्कै अनुकरण गर्छौं । जति नै खर्च गर्न परे पनि त्यस्तै देखिने प्रयास गर्छौं । तर, मुलुकको विकासका लागि हामीले अनुकरण गरेको खोई ? अरुले जस्तै हामीले प्रविधि भित्र्याउन वा हामीसँग भएका प्रविधिको प्रयोगबाट उत्पादन बढाउन सकिँदैन ? कृषिप्रधान मुलुक भन्ने अनि खेती गर्नचाहिँ यहुदी र मुसलमानको देशमा किन पुग्ने ? अर्बौंको तरकारी किन्नुपर्ने किन ? हामीलाई इतिहास, सम्भावना र बाँझो भूमिले गिज्याइरहेको छ ।इजरायलको बेत योसेफस्थित बाराजानी कृषि फर्ममा टमाटर प्याक गरी बजारका लागि तयार गरेको अवस्थामा

हाम्रो बानीजस्तै भइसक्यो कि कुनै पनि कुराको दोष राज्य वा सरकारलाई थोपर्ने । तर, हामीले कहिल्यै आफूलाई फर्केर हेरेनौं । जसले गर्दा हामी निरन्तर ओरालिएका छौं ।

मुलुकमा थुप्रै भूमिमा उत्पादनको प्रशस्तै सम्भावना छ । बारीमा झार उमारेर हामी सब्जी किन्न बजार जान्छौं । त्यो बजारमा ल्याउने तरकारी पनि स्वदेशको भए त हुन्थ्यो नि ! त्यो पनि विदेशबाट आयात हुन्छ । हामी खेत बाँझो राखेर २०/५० हजार कमाउन विदेश जान्छौं । अर्काको देशमा कुनै पनि काम गर्न तयार हुन्छौं । त्यही श्रम हाम्रो मुलुकमा खर्च गर्न हामीलाई लाज लाग्छ ।

सरकारले उत्पादनमा लाग्न चाहनेलाई प्रोत्साहनमूलक विभिन्न कार्यक्रम ल्याएको छ । गाउँ–गाउँमा लघुवित्त वित्तीय संस्थाहरू पुगिरहेका छन् । पढेलेखेका युवालाई सरकारी सहुलियतका ऋण, अनुदान छन् । तर, हामी खेत बेचेर विदेश जान्छौं । जसको सबैभन्दा बढी असर हाम्रै सन्ततिले भोग्नुपर्ने छ ।

आज विदेशी एयरपोर्टमा नेपाली पासपोर्ट बाकेर हिँड्दा किन दुर्व्यवहार सहनुपर्छ ? नेपालमा रहेको अमेरिकी दूतावासअगाडि गएर एकछिन उभियो भने तुरन्तै हाम्रै प्रहरी आएर हटाइदिन्छ । विदेशमा हाम्रा नेपाली दाजुभाई अनेक बहानामा मारिएका छन्, लुटिएका छन्, श्रम शोषणमा परेका छन् । तर, कुनै अमेरिकी नागरिकको नेपालमा आएर कालगतिले नै मृत्यु भयो भने पनि त्यसबारे उच्चस्तरीय छानबिन समिति गठन हुन्छ । यो सब देशको मजबुती र त्यस देशको आर्थिक धरातलअनुसार हुने व्यवहार हो । अब हामी युवाले अरुको भूमिमा गएर काम गर्दागर्दै मर्ने कि यही देशमा स्वाधीन र सर्वोच्चताका साथ उद्यमी बन्नेतर्फ अग्रसर हुने ? हाम्रासामु प्रश्न खडा भएको छ ।

हाम्रो शिक्षाले हामीलाई इतिहास सिकाउँछ । नाम, मिति, तिथि र माने कण्ठ गराउँछ । इजरायलमा मैले केही समय उत्तरी क्षेत्रमा पर्ने सी अफ ग्यालेलीस्थित किन्नरेट कलेजमा कृषि तालीम लिने मौका पाएको थिएँ । बेइत योसेफ भन्ने मोसफ क्षेत्रको विद्यार्थी नेताको रूपमा म त्यहाँ कार्यरत थिएँ । हरेक हप्ताको एक दिन कलेजमा कृषिसम्बन्धी विभिन्न शीर्षकमा पढाइ हुन्थ्यो । ग्रीन हाउस भन्ने च्याप्टर आयो । नेपालमा हुन्थ्यो भने ग्रीन हाउसको लम्बाइ, चौडाइ, उचाइ, दूरी, रङ, प्रकार यस्तै–यस्तै कुरा घोकाइन्थ्यो । तर, त्यहाँ ग्रीन हाउस नै बनाउन सिकाइँदो रहेछ । सम्बन्धित ठाउँमा लगेर ग्रीन हाउसको संरचना देखाई त्यसबारे वर्णन गरिँदो रहेछ । सैद्धान्तिक मात्र नभएर व्यावहारिक ज्ञान दिइँदो रहेछ । नेपाल र इजरायलबीच शिक्षाको फरक यति पाएँ । त्यसैले कृषिको हकमा दिइने शिक्षालाई व्यावहारिक बनाइनुपर्छ ।किन्नरेट कलेजका प्रोफेसर अभिसाइ लोन्डर स्प्रेसम्बन्धी प्राक्टिकल गराउँदै

भएर पनि नभएको देश

युवा शक्तिलाई देशको कर्णधार भनिन्छ । आज ४० लाखभन्दा बढी युवा शक्ति विदेश पलायन भएको छ । कोही काम गर्ने उद्देश्यले वा कतिपय पढ्ने बहानाले देश छाडिरहेका छन् । यी युवा कुनै न कुनै रूपमा अरुको देश बनाउने काममा खटिएका छन् । आफ्नो देश यहाँ प्रताडित छ । वार्षिक खर्बौं व्यापार घाटाबाट गुज्रिरहेको छ । खेतीयोग्य अथाह भूमि बाँझो छाडिएको छ । दिनदिनै मुलुक परनिर्भर हुँदै गएको छ ।

०७२ सालमा भारतले लगाएको नाकाबन्दीले अझै ठूलो यथार्थप्रति हामीलाई अवगत गराएको छ कि हामी कति धेरै परनिर्भर भइसकेका रहेछौं । तर, के हामी साँच्चै कमजोर हौं त ? विल्कुल होइन, हामीसँग सब थोक छ । भूमि, प्राकृतिक अनुकूलता, जनशक्ति । तर, हामीसँग जाँगर र हिम्मत देखिएन ।

काभ्रे जिल्लाले वार्षिक ७ अर्बभन्दा बढीको तरकारी उत्पादन गरिरहेको छ । नुवाकोट, मकवानपुरले पनि केही मात्रामा उत्पादन गरेकै छन् । तर, काठमाडौंलाई त्यसले नपुगेर भारतका बिहार र उत्तर प्रदेशका कृषकले फलाएको तरकारी किनेर खानुपरेको छ ।

प्रदेश १ को विराटनगरमा आलुसमेत भारतबाट आयात भएको तीतो यथार्थ हाम्रासामु छ । त्यत्रो जमिनमा झार उमारेर युवाहरू विदेश गएर कमाउँछन, त्यो पैसा घरमा पठाउँछन् र त्यही पैसाले उनीहरूका परिवारले भारतमा फलेको आलु किनेर खान्छन् । कति विडम्बना छ, हामीकहाँ । हामीसँग भएको कुराको पनि हामी उपयोग र सदुपयोग गर्न सकिरहेका छैनौं ।

यहाँ कतिपयले वातावरण छैन, केही हुँदैन, केही छैन भन्ने तर्क पनि राखेको पाइन्छ । त्यसो त ७ दशक अघि इजरायलीसँग पनि त केही थिएन शिवाय जाँगर र साहस ।

१०/१५ वर्षअघि भुटान पनि त आर्थिक रूपमा हामीभन्दा पछाडि थियो । पछिल्लो समय बर्माको विकास हेरौं, कति तीव्र गतिमा छ । श्रीलंका, पाकिस्तान, अफगानिस्तान हामीजस्तै यद्धको धरातलबाट आएका मुलुक हुन् । यी मुलुकमा अझै पनि गृहयुद्ध चलिरहेकै छ । तर, यिनीहरूको अर्थतन्त्र हाम्रोजस्तो कमजोर छैन । धेरै टाढाको कुरा किन गर्ने, हाम्रासामु भारतको गुजरात गतिलो उदाहरणको रूपमा छ । छोटो समयमा कृषिलाई एउटा गतिलो उद्योगका रूपमा स्थापना गरेर गुजरातले आफूलाई कति उदाहरणीय सावित गरिदिएको छ । यी कुराबाट हामी युवावर्ग, राजनीतिज्ञ र आम बुद्धिजीवीले नसिक्ने हो भने देश कहिले बन्छ ? सधैं काँधमा झोला बोकेर विदेशिनु मात्रै समाधान हो त ?

निश्चय पनि राज्यका पनि केही कमीकमजोरी छन् । सरकारले छुट्याउने कृषि अनुदान, युवा लक्षित कार्यक्रम प्रभावकारी छैनन् । यो त्यत्रो ठूलो समस्या होइन । संकट त यो हो कि, यी सब कार्यक्रम प्रभावकारी भएनन् भनेर देशमा भएका युवा विदेशिनु । देश र भविष्यका सन्ततिको माया गर्नेहरूले घोत्लनै पर्ने बेला हो ।

विप्रेषणले देश सधैं चल्ने छैन । सन्ततिको भविष्य उज्ज्वल, स्वाधीन र सर्वोच्चतासहितको चाहने हो भने विदेश भागेर त्यो चाहना पूरा हुनेवाला छैन । नेपालमै मेहनत गर्ने र पैसा खोज्नुपर्ने बेला हो । देश बलियो भयो भने सन्तानको भविष्य बलियो हुनेछ । देश बलियो भयो भने यूरोप र अमेरिकाको भिसा लाग्दा करोडौंकै चिट्ठा परेजस्तो गरी दंग हुनुपर्ने छैन ।

यही देशको नागरिक भएकोमा गर्व गर्न सकिनेछ । मजस्ता युवाले कृषि विकासको उदाहरण हेर्न मरुभूमिको देश जानुपर्ने छैन । उनीहरू नै हामीकहाँ आउनेछन्, कृषि पढ्न र कृषि विकास हेर्न । तर, त्यसका लागि युवा वर्ग नै लाग्नुपर्छ । लाग्ने भनेको विदेशिएर पक्कै होइन । यही देशको माटोलाई उपयोग गरेर, नेपालकै भूमिको प्रयोग गरेर, विदेशी भूमिमा बगाउने पसिना आफ्नै देशमा बगाएर ।

यी कुरा झट्ट सुन्दा वा पढ्दा अव्यावहारिक लाग्लान् तर युवा शक्ति विदेशिने क्रम नरोकिने हो भने मुलुकको आर्थिक समृद्धि अन्य कुनै रणनीतिले पनि सम्भव छैन, भए पनि त्यो दीर्घकालीन हुन सक्दैन ।

लेखक कुँवर अध्ययनका क्रममा इजरायल पुगेर फर्केपछिको अनुभूति ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार