
समृद्धिको दिशामा चीनको जस्तो तीव्र गति कसको होला र ! चीनको एक मात्र लक्ष्य अमेरिकाको दबदबा हटाएर आफू विश्व शक्तिका रूपमा उदाउनु हो । धेरै हदसम्म ऊ त्यसमा सफल पनि भइसकेको छ ।
चीनले आफ्नो योजनाअनुरूप कै नेतृत्व पनि पाएको छ । सी चिनफिङ त्यसका लागि सबैभन्दा अब्बल र दुरदर्शी नेता हुन् । उनले सफलतापूर्वक चीनलाई समृद्धितर्फ डोर्याइरहेका छन् । सी राष्ट्रपति भएपछि चीन सबै क्षेत्रलाई समेटेर विश्वशक्ति बन्ने दौडमा छ ।
अमेरिकाको सबैभन्दा ठूलो शक्ति हो, प्रविधि । प्रविधिको क्षेत्रमा अमेरिका जति विकसित देश शायदै अर्को कुनै होला । अहिले कम्प्युटर तथा मोबाइलमा चल्ने सबै अपरेटिङ सिस्टम अमेरिकाकै छन् । एन्ड्रोइड, आईओएएस, विन्डोज, लिनक्स, म्याकओएस आदि ।
त्यति मात्र होइन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोटिक्स, चिकित्सा, अन्तरिक्षलगायत विज्ञान तथा प्रविधिका सबै महत्त्वपूर्ण विधामा अमेरिकाले लामो समयदेखि एकछत्र राज गरिरहेको छ ।
तर, चीनलाई हरेक क्षेत्रको शीर्षस्थानमा पुग्नु छ । चीनको एकमात्र लक्ष्य ‘ग्लोबल डोमिनेन्स’ हो । अर्थात्, विश्वव्यापी प्रभुत्व । २१औं शताब्दीमा प्रविधिमा एक कदम अगाडि नभएसम्म अन्य क्षेत्रमा जति नै अगाडि पुगे पनि समग्रमा पछाडि नै परिन्छ । यो युग ‘वर्क हार्ड’ को होइन, ‘वर्क स्मार्ट’ को हो । र, प्रविधिको विकासबिना ‘वर्क स्मार्ट’ सम्भव छैन ।
अमेरिकाले इन्टरनेट र जिपिएसको आविष्कार गर्यो । अब चीन त्यसैको प्रयोग गरेर अमेरिकालाई पछि पार्ने गरी परिवर्तनकारी अनुसन्धान र आविष्कारमा लागि परेको छ ।
‘चीनको मुख्य लक्ष्य भनेको २१औं शताब्दीको विज्ञान तथा प्रविधिमा विश्वव्यापी प्रभुत्व जमाउनु हो,’ राष्ट्रपति सीले गत वर्ष घोषणा गरेका थिए ।
उनको यो अभिव्यक्तिले सबैभन्दा डराएको कोही छ भने त्यो अमेरिका हो । सन् १९९१ मा सोभियत युनियनको विघटनपछि विश्वको एक मात्र ‘सुपर पावर’ बनेको अमेरिका आफ्नो वर्चस्व र एकाधिकार गुमाउन चाहँदैन । र, अमेरिकाले बुझेको छ कि जुन गतिमा चीन अघि बढेको छ, उसका लागि शाेभियत युनियनभन्दा ठूलो चुनौती बन्ने निश्चितप्रायः छ ।
चीनका युनिभर्सिटीहरू गणित र कम्प्युटरसम्बन्धी अनुसन्धान र शोधपत्रमा उदाहरणीय काम गर्दै सबैभन्दा अगाडि आइसकेका छन् । स्टेम रिसर्च अर्थात् साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथम्याटिक्स (एसटीईएम) सम्बन्धी अनुसन्धानको उद्धरणमा पनि चीनले अबको ५ देखि १० वर्षमा अमेरिकालाई उछिन्न सक्ने तथ्यांक छ ।
चीनका सिङ्हुआ युनिभर्सिटी र पेकिङ युनिभर्सिटीको यसमा सबैभन्दा बढी योगदान छ । शोधपत्र र अनुसन्धानमा एकअर्कासँग प्रतिस्पर्धा गर्दै अमेरिकालाई टक्कर दिइरहेका यी दुई विश्वविद्यालय चीनको अक्स्फोर्ड र क्याम्ब्रिज युनिभर्सिटीका रूपमा पनि चर्चित छन् ।
चीन यसै वर्षमात्र पहिलोपटक चन्द्रमाको पल्लो सतहमा सफल अवतरण गर्ने पहिलो देश बन्यो । आजसम्म चन्द्रमामा भएका सबै अवतरण पृथ्वीतर्फको र नजिक पर्ने उज्यालो सतहमा मात्र भएका थिए ।
चीन गत जनवरीमा पृथ्वीबाट सधैं टाढा रहने चन्द्रमाको अँध्यारो भागमा अन्तरीक्षयान अवतरण गर्न सफल भएको थियो । अन्तरीक्ष अनुसन्धानमा विश्वकै सबैभन्दा ठूलो र सफल अमेरिकी संस्था नासा पनि सो उपलब्धिका लागि चीनको प्रशंसा गर्न बाध्य भयो ।
सामान्य कम्प्युटरमा अमेरिका अगाडि भए पनि सुपरकम्प्युटर बनाउनमा चीन पहिल्यैदेखि अगाडि छ । यो विषयमा त अमेरिकाले धेरै पहिले आत्मसमर्पण गरिसकेको हो ।
लामो समयदेखि चीनको छवि सस्ता मजदुर र ठूला कलकारखाना भएको देशका रूपमा मात्र रह्यो । चीनले यसअघि पाएको नेतृत्व विकसित देशका रूपमा उभिन पाउँदा नै खुसी थियाे । त्यसैलाई निरन्तरता दिनमात्र तल्लिन रहे ।
तर, सी चिनफिङ फरक छन् । उनको लक्ष्य विकसित र सम्पन्न देशमात्र होइन, समृद्ध र सर्वशक्तिमान देश बनाउनु हो । विश्वव्यापी प्रभुत्व कायम गर्दै हरेक क्षेत्रको बर्चस्व कायम गर्नु हो । उनको भिजन ५–१० वर्षमा मात्रै सीमित छैन । उनी अहिल्यै चीनको २१औं शताब्दीको रोडम्याप बनाइरहेका छन् । र, चीन त्यही रोडम्यापमा अघि बढिरहेको छ ।
चीनले आफ्नो सस्तो मजदुर र कमसल उत्पादन गर्ने देशको छवि हटाउन ‘मेड इन चाइना २०२५’ योजना सुरू गरेको छ । यो अभियानअन्तर्गत चीनले २०२५ सम्ममा उच्चस्तरीय एवं महत्त्वपूर्ण उत्पादन तथा सेवा दिने लक्ष्य राखेको छ । यसअन्तर्गत चीनले १० वटा उद्योग रोजेको छ ।
ती १० उद्योगमा सूचनाप्रविधि, रोबोटिक्स, हरित ऊर्जा, अन्तरीक्षसम्बन्धी उपकरण, सामुद्रिक इन्जिनियरिङ, रेल्वे, ऊर्जा, औषधि तथा चिकित्सा, कृषि उपकरण र नवीनतम खोज रहेका छन् । यी सबै उद्योग विज्ञान तथा प्रविधिअन्तर्गत पर्छन् ।
त्यसैले, चीनको अहिलेको लक्ष्य ‘ग्लोबल डोमिनेन्स बाइ टेक्नोलोजिकल सुप्रिमेसी’ हो । अर्थात्, प्राविधिक सर्वोच्चतामार्फत विश्वव्यापी प्रभुत्व’ ।
अमेरिकालाई यसको चेतावनी लोरान्ड लेस्काइले पहिल्यै दिइसकेका छन् । लेस्काइ न्युयोर्कस्थित थिंकट्यांक कम्पनीमा चीन तथा डिजिटल पोलिसी एक्स्पर्टका रूपमा अनुसन्धान गर्छन् । उनी पहिले बेइजिङस्थित फाइनान्सियल टाइम्समा मिडिया तथा इन्टरनेट अनुसन्धानको काम गर्दथे ।
‘मेड इन चाइना २०२५ सुरू भएको छ । अमेरिका अहिले केही हदसम्म डराएको होला । तर, खासमा यो डर होइन, सन्देह मात्र हो । २०२५ मा अमेरिकाले बुझ्नेछ, वास्तवमा डर के हो । किनकि, २०२५ बाट अमेरिकाको अस्तित्व खतरामा पर्दैछ’, लेस्काईले भनेका थिए ।
अमेरिकाले लामोसमयदेखि विश्वभर एकछत्र राज गर्नुको कारण हो, प्रविधि तथा नवीनतम खोजमा विश्वको नेतृत्वदायी भूमिकामा रहनु । संसारमा हुने नयाँ-नयाँ महत्त्वपूर्ण तथा युगान्तकारी अनुसन्धान, खोज, आविष्कार र अनुसन्धान अमेरिकामै हुन्थे । सबै उसका अगाडि नतमस्तक थिए ।
तर ‘सबै’मा पर्दैन । त्यसैले चीन विज्ञान तथा प्रविधिलगायत विभिन्न विषयको खोज तथा अनुसन्धानमा द्रुतगतिमा अघि बढेको छ । तर, यता अमेरिका भने तुलनात्मक रूपमा लत्तो छाड्दैछ । जीडीपीको अनुपातमा हाल अमेरिकाले अध्ययन, अनुसन्धान तथा आविष्कारमा छुट्याउने बजेटमा ठूलो ह्रास आएको छ ।
१९७० को दशकमा अमेरिकाले आफ्नो जीडीपीको जति प्रतिशत खोजमूलक अनुसन्धानमा विनियोजन गर्थ्याे, अहिले त्यसको झन्डै आधा मात्र गर्ने गरेको छ । चीनको रफ्तार देखेर यस वर्ष तुलनात्मक रूपमा भने अमेरिकाले बजेट बढाएको छ ।
चीनले अमेरिकाकै अनुसन्धान मोडल प्रयोग गरेर अमेरिकालाई नै उछिन्दै छ । चीनको राजनीतिक संरचनामा छोटो समयका योजना प्रभावकारी हुँदैनन् । त्यसैले चीनले अमेरिकाजस्तै लामो दूरीको दौडमा छ । र, चीन सहभागी हुनलाई मात्र दौडिरहेको छैन । उसलाई पहिलो हुनु छ ।
चीनको नेतृत्वले दशकौंदेखि अमेरिकामा राज्यको लगानी रहेका अनुसन्धानले युगान्तकारी खोज गर्दै विश्वव्यापी वाहवाही पाएको हेरिरहेको छ । त्यसैले उसले पनि त्यही मोडालिटीमा अभ्यास सुरू गरेको हो । सी चिनफिङको यसमा उल्लेखनीय योगदान छ ।
यद्यपि, राज्य संरचना तथा राजनीतिक व्यवस्थाका कारण अमेरिका नै ‘फ्रन्ट फुट’मा छ । अमेरिका वा जुनसुकै देशले पनि विज्ञान तथा प्रविधिजस्ता स्वछन्द क्षेत्रमा अगाडि बढ्ने हो भने केही व्यावहारिक अभ्यास गर्न अत्यावश्यक छ ।
स्वतन्त्र समाजको निर्माण गरी अल्पमतको कदर गर्दै फरक मतलाई पनि सम्बोधन गर्न सक्नुपर्छ । देशले बौद्धिक सम्पत्ति संरक्षणको अनुभुति प्रदान गर्न सक्नुपर्छ । एउटा व्यक्ति वा कुनै समूहको बाैद्धिकताको प्रतिफल कुनै पनि देश, समाज वा संस्थाको विर्ता होइन । राज्यको काम भनेको सर्जकलाई सर्वाधिकार दिएर जनहितका लागि त्यसको प्रयोग गर्नु मात्र हो ।
यस्तै, न्यायको प्रत्याभूति दिन सक्ने स्वतन्त्र तथा स्वच्छ न्यायापालिका पनि विवेकशील समाजको अपरिहार्यता हो । आफ्नो अधिकार र न्यायका बारेमा चिन्तित व्यक्ति वा समाजले कहिल्यै पनि रचनात्मकता देखाउन सक्दैन ।
अमेरिका यी विषयमा चीनभन्दा अगाडि छ । गण्तन्त्रको अभ्यास, राज्य संरचना, सामाजिक व्यवस्था, नीतिगत आचरणलगायत सैद्धान्तिक विषयमा अमेरिकासँग पछि परे पनि चीनमा सी चिनफिङको प्रभाव र छवि प्रभावशाली छ । उनी चीनका सबैभन्दा शालीन र क्षमतावान नेताका रूपमा चिनिन्छन् । उनले देशलाई दिएको मार्गनिर्देशनले चीनमा उनी आदर्श व्यक्तिका रूपमा स्थापित भएका छन् ।
त्यसैले, सिद्धान्तमा चीन अमेरिकाभन्दा केही असहज वा अव्यवहारिक भए पनि कार्यगत हिसाबमा धेरै अगाडि छ । अमेरिका पछिल्लो समय चीनका अगाडि दबेको सबैले महसुस गरेका छन्, चिनियाँ नागरिकले पनि । यसले चीन र सी दुवैलाई धेरै फाइदा पुगेको छ ।
विज्ञान, सूचना तथा प्रविधिका यावत क्षेत्रमध्ये अहिले सर्वाधिक चर्चित र महत्त्वपूर्ण रूपमा हेरिएको क्षेत्र हो, आर्टिफिसियल इन्टेलिजेन्स । अर्थात्, कृत्रिम बौद्धिकता ।
बढ्दो प्राविधिक उन्नति र छलाङका कारण अबको समय आर्टिफिसियल इन्टिलिजेन्स र क्वान्टम कम्प्युटिङको हो । जुन देशले यो क्षेत्रमा नेतृत्व गर्छ, उसले भविष्यमा प्रभुत्व कायम गर्छ ।
चीन र अमेरिकाबीचको अहिले सबैभन्दा भीषण द्वन्द्व यिनै विषयमा हुँदैछ । वर्तमान सन्दर्भमा चीन र अमेरिकाबीच आर्टिफिसियल इन्टेलिजेन्समा घम्साघम्सी हुँदैछ ।
चीन आर्टिफिसियल इन्टेलिजेन्सको अनुसन्धानमा धूवाँधार रूपमा लागिपरेको छ भने यसको अनुसन्धानमा बजेट थप्न अमेरिकामाथि पनि चौतर्फी दबाब छ
शिलापत्रका लागि निर्वान झापालीले तयार पारेको अनुसन्धानमुलक रिपोर्ट ।







