
हरेक नयाँ आविष्कार र उत्पादनको घोषणा वा सार्वजनिक कार्यक्रममा त्यसका सर्जकले दुईवटा विशेषण कहिल्यै छुटाउँदैनन् – रिभोलुसनरी एन्ड ट्रान्सफर्मेटिभ । अर्थात्, क्रान्तिकारी र परिवर्तनकारी । अझ प्रविधिको क्षेत्रमा त हरेक नयाँ उत्पादनलाई आफ्नो संकायको परिवर्तनकारी अन्वेषणकोे ट्याग भिराउन कहिल्यै छुटाइँदैन ।
हरेक कम्पनीले नयाँ उत्पादन बजारमा ल्याउँदा आफ्नो नवीनतम डिजाइन र आधुनिक उत्पादन प्रक्रियाले प्रविधिको भविष्य र भविष्यमा गरिने प्रविधि प्रयोगको अभ्यासमै क्रान्तिकारी परिवर्तन ल्याउने दाबी गर्छन् । तर, केही मात्र यस्ता उत्पादन हुन्छन् जुन वास्तवमै उत्पादकको दाबीमा खरो उत्रिन सफल हुन्छन् ।
भर्खरैसन् २०२० सुरु भएको छ । अर्थात्, एक्काइसौं शताब्दीको तेस्रो दशक । २०१० देखि २०१९ सम्ममा धेरै नयाँ प्रविधि र ग्याजेट बजारमा आए । केही असफल भए भने केही उत्पादकले दाबी गरेजस्तै ‘रिभोलुसनरी एन्ड ट्रान्सफर्मेटिभ’ बन्न सफल भए । तिनै सफलमध्ये उत्कृष्ट १० प्राविधिक उत्पादन तथा आविष्कारको यहाँ चर्चा गरिएको छ ।
तर, प्रविधि बहुआयामिक क्षेत्र हो । हरेक आयामका आफ्नै मापदण्ड हुन्छन् । फरक आयामका उत्पादनलाई एउटै मापदण्डमा तुलना गर्नु विवेकशील हुँदैन । त्यसैले, यहाँ १० परिवर्तनकारी प्राविधिक अन्वेषणलाई सार्वजनिक भएको मितिका आधारमा क्रमानुसार प्रस्तुत गरिएको छ ।
१) ह्वाट्सएप
२००९ नोभेम्बरमा ह्वाट्सएप लन्च हुँदा २०१० को दशक सुरु हुन एक महिना बाँकी नै थियो । तर, यो दशकमा ह्वाट्सएपको परिवर्तनकारी प्रभाव त्यो एक महिनालाई नजरअन्दाज गर्न पर्याप्त छ ।
जब जेन कौम र ब्रायन एक्टनले ह्वाट्सएप शुरु गर्दा यो निःशुल्क थिएन । प्रयोगकर्ताले वार्षिक १ अमेरिकी डलर शुल्क तिर्नुपर्थ्याे । तर, त्यो शुल्कले ह्वाट्सएपको विश्वव्यापी प्रयोगमा कुनै असर गरेन । विशेषतः ब्राजिल, इन्डोनेसिया, दक्षिण अफ्रिकालगायतका विकासशील देशमा ह्वाट्सएपले शुरुबाटै प्रभाव जमाउन सफल भयो ।
त्यसबेला एसएमएसमा आधारित अन्य मेसेजिङ एप नभएका होइनन्, थुप्रै थिए । तर, ति एप चलाउन आईफोन नै चाहिन्थ्यो भने ह्वाट्सएप लगभग सबै आधुनिक मोबाइलमा चलाउन सकिन्थ्यो । कम्पाटेबिलिटी नै ह्वाट्सएपको सफलताको मुख्य कारण बन्यो । इन्टरनेट चल्ने सामान्य मोबाइलबाट पनि एसएमएस गरेको शैलीमा सित्तैमा मेसेज गर्न पाउनु एक दशकअघि ठूलो उपलब्धी थियो ।
जब ह्वाट्सएपमा भोइस कल र भिडियो कल गर्न मिल्ने फिचर थपियो अन्तर्राष्ट्रिय सम्पर्कको पर्याय बन्न सफल भयो । त्यही सफलताका कारण २०१४ मा फेसबुकले १९ बिलियन डलर अर्थात् २१ खर्ब ७१ अर्ब ९४ लाख नेपाली रुपैयाँभन्दा बढी मूल्यमा ह्वाट्सएप अधिग्रहण गर्यो । त्यसको केही समयमै ह्वाट्सएपको प्रयोगकर्ता संख्या १ अर्ब ६० करोडभन्दा बढी भयो । अहिले ह्वाट्सएप सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जालमध्येमा पर्छ । फेसबुकको त्यत्रो रकम खर्चिने निर्णय सही साबीत भयो ।
दशकको अन्त्यमा पनि ह्वाट्सएप चीनबाहेक सबै देशमा लोकप्रियताको शिखरमा छ । चीनको इन्स्टान्ट मेसेजिङमा भने विच्याटले कब्जा गरेको छ । तर, ह्वाट्सएपको चुनौती विच्याट होइन, आफ्नै प्रयोगकर्ता हुन् । ह्वाट्सएपलाई माध्यम बनाएर प्रवाह हुने गलत सूचनाले उसको अस्तित्व आवश्यकतामाथी बारम्बार प्रश्न उठ्ने गरेको छ । ह्वाट्सएपमै फैलिएका अफवाहका कारण धेरैपटक हिंसा र दंगा समेत भड्किएका छन् ।
एप्पल आईप्याड
२०१० को सुरुवातमा जब स्टिभ जब्सले पहिलो आईप्याड लन्च गरे, त्यसबेला सबैको एउटै प्रश्न थियो – सानो स्क्रिनको स्मार्टफोन र ठूलो स्क्रिनका लागि ल्यापटप हुँदाहुँदै यो ठिमाहा डिभाइस किन चाहियो ?
तर, स्टिभ जब्स यस्ता दूरदर्शी व्यक्ति थिए जसले आजका लागि होइन भोलीका लागि प्रविधिको विकास गर्थे । आईप्याड त्यसको बलियो उदाहरण थियो । आईप्याडले स्मार्ट डिभाइसको प्रयोगमा नयाँ इतिहासको थालनी गर्यो ।
यो ‘ठिमाहा डिभाइस’को लोकप्रियता र आवश्यकता यसरी बढ्यो कि अहिले यसमा ल्यापटपको भन्दा बढी शक्तिशाली प्रोसेसर प्रयोग हुन्छ । आईप्याडको सफलताले एन्ड्रोइड प्लाटफर्ममा डिभाइस बनाउने उत्पादकहरुले ट्याबको विकास गर्न वाध्य भए ।
२०१३ मा आएको आईप्याड एयरले पातलो र हलुका डिभाइसको परिभाषा नै परिवर्तन गरिदियो भने २०१५ मा सार्वजनिक भएको आईप्याड प्रोले स्टाइलस पेन र स्मार्ट किबोर्डका साथमा ६४ बिटको ए९एक्स चिप प्रयोग गरेर माइलस्टोन कायम गर्न सफल भयो ।
दशकको सुरुवातमा अनावश्यक देखिएको आईप्याड दशकको अन्त्यमा म्यागाजिन पढ्ने वा भिडियोमात्र हेर्न डिभाइसबाट माथि उठेर कम्प्युटर तथा कम्प्युटिङ डिभाइसको भविष्य बन्न सफल भएको छ ।
उबर र लीफ्ट
नयाँ आविष्कार वा अन्वेषण कसरी हुन्छ ? सामान्यतः लामो समयको सोच, अध्ययन र खोजबाट । तर, उबर यो दशकको प्रविधिमा यस्तो परिवर्तनकारी फड्को हो जसको अन्वेषण दुईजना आईटीका विज्ञहरुलाई अमेरिकाको सान फ्रान्सिस्कोमा ट्याक्सी पाउन गाह्रो हुँदा भएको थियो ।
२०१० मा ‘उबरक्याब’ लन्च भएपछि ट्याक्सी खोज्न बाटोमा भौंतारिनु परेन । आफ्नो स्मार्टफोन एकाध टच गर्दा गाडी घरमै आउने भयो । त्यो पनि मारुती ८०० जस्ता थोत्रा–पुराना र साना गाडी होइन बिएमडब्ल्युदेखि शानदार लिमोजिनसम्म ।
सुरुमा उबल केही सिमित सहरहरुमा मात्र चल्थ्यो भने एपमा देखाइएको शुल्कबाहेक अतिरिक्त शुल्कपनि लाग्थ्यो । तर, २०१२ मा उबरक्याबको परिमार्जित भर्सन उबरएक्स सुरु भएपछि भने ति समस्या रहेनन् । गाडीको संख्या पनि थपिए । २०१२ मै उबरजस्तै सुविधा दिने लीफ्टको पनि सुरुवात भएपछि प्रतिस्पर्धा बढ्यो र प्रयोगकर्ताले अझ बढी सुविधा पाउँदै गए ।
नेपालमा पनि पछिल्लो समय पठाओ र टुटलका प्रयोगकर्ता बढ्दै छन् । उबरले गाडीबाट दिने सुविधा पठाओ र टुटलले मोटरसाइकलबाट दिन्छन् । जुन अन्वेषणले विश्वभर दैनिक यात्रा गर्ने संस्कृति नै परिवर्त गरिदियो नेपालमा भने त्यसलाई बन्द गर्नुपर्ने दबाब आइरहेको छ । यो ठूलो बिडम्बना हो ।
तर, उबर, लीफ्टलगायतका यस्ता सुविधाको आफ्नै नकारात्मक पक्ष पनि छन् । ब्रायन कोपलम्यान र डेभिड लेभिएनले सुरु गरेको उबरको आन्तरिक समस्याले केही समय ठूलै बखेडा पनि निम्त्यायो । उबरले ड्राइभरलाई आफ्नो कर्मचारी मान्दैन भने उनीहरुलाई नियुक्त गर्दा सामाजिक परिवेश पनि मध्यनजर गर्दैन । त्यसैले प्रयोगकर्ताको सुरक्षालगायतका विषयमा गैरजिम्मेवार भएको आरोप भने उबरलाई लाग्दै आएको छ ।
इन्स्टाग्राम
सुरुवातमा आइफोनमा मात्र प्रयोग गर्न मिल्ने इन्स्टाग्राम त्यसबेला फिल्टरका लागि मात्र चिनिएको थियो । इन्स्टाका एक्स–प्रो टु र गोथाम फिल्टर प्रयोग गरिएका फोटोले इन्टरनेटमा सनसनी नै मच्चाएको थियो ।
तर, केभिन सिस्ट्रोम र माइक क्रेइगरको लक्ष्य त्यतिमै सिमित थिएन । उनीहरुले जब इन्ड्रोइडमा पनि इन्स्टाग्रामलाई विस्तार गरे त्यसले स्मार्टफोन उत्पादनमा क्रान्ति ल्यायो । इन्स्टाग्रामले रातारात क्यामेरालाई स्मार्टफोनको महत्वपूर्ण विशेषताका रुपमा स्थापित गरिदियो ।
अहिलेसम्म पनि जब कुनै नयाँ मोडलको स्मार्टफोन बजारमा आउँछ त्यसको क्यामेराको गुणस्तरले त्यसको बिक्रि निर्धारण गर्दछ । क्यामेराका साथै इन्स्टाग्रामले सामाजिक सञ्जालको अवधारणामा पनि परिवर्तनकारी भूमिका खेल्यो ।
इन्स्टाको चर्चा र प्रयोगकर्ता बढेसँगै सामाजिक सञ्जाल लिङ्क र स्टाटस सेयर गर्ने थलोमात्र रहेन । सामाजिक सञ्जाल अब आफ्ना रुची, क्रियाकलाप सबैलाई देखाउने र व्यापार तथा ब्रान्ड प्रवद्र्धन गर्ने थलो बनेको थियो ।
इन्स्टाले आफुलाई इन्टरनेटको चिल्लो–राम्रो म्यागाजिनका रुपमा स्थापित गर्यो । ठूला ब्रान्डमात्र होइन चर्चित तथा संघर्षशील सेलेब्रिटीका लागि पनि महत्वपूर्ण प्लाटफर्म बन्न सफल भयो ।
सुरु भएको दुई वर्षमै इन्स्टाग्रामले इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालका सबै परिभाषा अस्तित्वमा यसरी क्रान्तिकारी परिवर्तन गरिदियो कि फेसबुकले १ बिलियन अमेरिकि डलर खर्चेर इन्स्टाको स्वामित्व खरिद गर्यो । अर्थात्, १ खर्ब १४ अर्ब ३१ करोडभन्दा बढी नेपाली रुपैयाँ ।
एप्पल आईफोन ४एस
२००७ मा पहिलो आईफोन सार्वजनिक हुनु निसन्देह आधुनिक युगको सबैभन्दा प्रभावशाली अवसरमध्येमा पर्छ । तर, आईफोनको सन्दर्भमा भने आईफोन ४एस सार्वजनिक भएपछि नयाँ अध्यायको सुरुवात भएको थियो ।
अक्टोबर २०११ मा सार्वजनिक भएको ४एसले स्मार्टफोनको मात्र होइन निकट भविष्यमा प्रयोग हुने व्यक्तिगत ग्याजेटका फिचरमा नयाँ माइलस्टोन खडा गर्यो । आईफोन ४एसमा पहिलोपटक सिरि र आईक्लाउड समावेश गरिएको थियो भने त्यसमा भएको क्यामेराले ८ मिगा पिक्सेल फोटोमात्र खिच्नेमात्र होइन १०८०पी रिजोलुसनमा एचडी भिडियो समेत खिच्न सक्थ्यो ।
मोबाइलमा यो सबै फिचर समावेश हुनसक्छ भनेर कसैले कल्पना पनि गरेको थिएन । एप्पल विश्वको पहिलो ट्रिलियन डलर कम्पनी हुनुमा ४एसको भूमिका सबैभन्दा बढी छ ।
४एस सार्वजनिक भएको छोटो समयमै डिजिटल क्यामेराको उठिबास लाग्यो । उत्पादन नै बन्द भए । आईक्लाउडले क्लाउड स्टोरेजको महत्वका साथै आफ्ना एप्स र डेटालाई जुनसुकै एप्पल डिभाइसबाट प्रयोग गर्न मिल्ने भयो । सिरिले भर्चुअल एसिस्टेन्टको महत्व सिकाउँदै प्रविधिको नयाँ आयामको ढोका खोलिदियो ।
टेस्ला मोडल एस
टेस्ला संसारको पहिलो विद्युतिय कार थिएन तर, कारका पारखीले चाहेको जस्तो पहिलो कार थियो । त्यसअघि जति पनि विद्युतिय कार बने ति सबै साना र अनाकर्षक थिए । तर, एलन मस्कको टेस्लाले जब प्यासेन्जर सिट र डिक्कीसहितको पाँच–ढोके मोडल एस सार्वजनिक गर्यो इलेक्ट्रोनिक भेहिकल (ईभी)को क्षेत्रमा नयाँ आयाम सुरु भयो ।
२०१२ जुनमा सार्वजनिक भएको मोडल एस सबैको कल्पनाको तर कसैले पनि यथार्थ बन्न सक्ला भनेर नचिताएको गाडी थियो । ‘लाइट इयर्स बियोन्ड’ अर्थात् वर्तमान ट्रेन्डभन्दा कैयौं प्रकाश वर्षपछिको प्रविधि थियो त्यो ।
विस्तारै टेस्लाले अन्य फिचर पनि थप्दै गयो । अमेरिकाका राष्ट्रपतिको गाडीमा राखिने बायोवेपन डिफेन्स मोड अर्थात् जैविक हतियार प्रतिरक्षात्मक प्रविधिसहित हवाइजहाजमा जस्तै अटोपाइलट सिस्टम पनि राखियो । अब टेस्ला आफुले चलाउनु नपर्ने भयो ।
आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा गाडी आफैं कुद्ने भयो । तर, यसले केही नकारात्मक घटना पनि निम्त्यायो । चालकहरु जस्तै अवस्थामा पनि अटोपाइलट मोडमा छाडेर आफु आनन्दले बस्नाले दुर्घटना बढेका थिए ।
ओकुलस रिफ्ट
सन् १९८४ मा विलियम गिब्सनको ‘न्यूरोमान्सर’ उपन्यास आउँदा सायदै कसैले सोचेका थिए होलान् कि त्यो उपन्यासमा कल्पना गरिएको भर्चुअल रियालिटी (भीआर) छिट्टै यथार्थ बन्ने छ । तर, त्यसको ३ दशक पनि बित्न नपाउँदै गिब्सनको कल्पना यथार्थ बन्न सफल भयो ।
भीआरले जति बजार र चर्चा पाउनुपर्ने हो त्यो विस्तारै पाउला, तर जब २०१३ को कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस २०१३) मा पहिलोपटक ओकुलस रिफ्ट पहिलो डेमो देखाइयो प्राविधिक वृत्तमा नयाँ सनसनी मच्चीयो । त्यो एउटा नयाँ युगको सुरुवात थियो ।
तर, ओकुलसले रिफ्ट बनाउनु अघि नै यसले तरंग फैलाइसकेको थियो । ओकुलसले २०१२ मा भीआर डिभाइस रिफ्ट बनाउने भन्दै किकस्टार्टमा डोनेसन क्याम्पेन सुरु गरेको थियो । २ लाख ५० हजार अमेरिकी डलरका लागि सुरु गरिएको क्याम्पेनमा ओकुलसले १० हजार दाताबाट २५ लाख अमेरिकी डलर संकलन गरेको थियो ।
सुरुमा ओकुलस रिफ्टको मूल्य ६०० डलर थियो, त्यसको परिमार्जित भर्सन ओकुलर क्वेस्ट सार्वजनिक गर्दा मूल्य घटाएर ४०० डलर बनाइयो । सन् २०१४ मा जुनबेला रिफ्ट बजारमा सर्वत्र उपलब्ध भइसकेको थिएन, त्यसबेला फेसबुकका मालिक मार्क जुकरबर्गले स्टानफोर्ड युनिभर्सिटीको मानव–कम्प्युटर अन्तक्र्रिया प्रयोगशालामा रिफ्ट हेडसेट लगाएको भिडियो भाइरल भयो ।
जुकरबर्गले त्यही बेला ओकुलस रिफ्टको परिवर्तनकारी क्षमता मनन गरिसकेको थिए । त्यसैले भिडियो सार्वजनिक भएको केही महिनामै फेसबुकले २.३ बिलियन डलरमा रिफ्ट उत्पादक कम्पनी ओकुलस अधिग्रहण गर्यो । अर्थात् २ खर्ब ६२ अर्ब नेपाली रुपैयाँभन्दा बढी मूल्यमा ।
अमेजन इको
सामान्यतः जब विश्व बजारमा कुनै नयाँ प्रविधि वा उत्पादन आउँछ धुमधामका साथ भव्य कार्यक्रम गर्दै त्यसलाई सार्वजनिक गरिन्छ । तर, अमेजनले नोभेम्बर २०१४ को एक बिहान आफ्नो वेबसाइटमा चुपचाप एउटा नयाँ उत्पादन राख्यो । त्यो अमेजन इको थियो ।
अमेजन इकोसँगै सार्वजनिक भयो एलेक्सा पनि । एप्पलको सिरी जस्तै अमेजनको भर्चुअल एसिस्टेन्ट हो, एलेक्सा । २०११ मा सार्वजनिक भएर अनेक अपडेट पाएको सिरीभन्दा भर्खर सार्वजनिक भएको एलेक्सा अत्यन्तै अन्तक्र्रियात्मक थियो ।
जसकारण अमेजन इकोले बिना कुनै तामझाम बिना ‘वर्ड अफ माउथ’कै भरमा बजार पिट्यो । सायद जेफ बेजोसलाई इको र एलेक्सामाथि पूर्ण विश्वास थियो । जुनबेला अमेजनले इको सार्वजनिक गर्यो त्यसबेला कसैलाई पनि आफ्नो जिन्दगीमा भ्वाइस–कन्ट्रोल भएको भर्चुअल एसिस्टेन्टको आवश्यकता महसुस गरेका थिएनन् ।
तर, अहिले विकसीत देशमा अमेजनको इको र एलेक्सा अभिन्न अंग बन्न सफल भएका छन् । नेपाललगायतका देशमा प्रविधिलाई अहिलेपनि विलासिताकै साधनका रुपमा हेरिने भएकाले यसले कुनै किसिमको प्रभाव जमाउन सकेको छैन ।
गुगल पिक्सेल
गुगलले जब स्मार्टफोनको सर्वाधिक चर्चित अपरेटिङ सिस्टम एन्ड्रोइड सार्वजनिक गर्यो, उसले सफ्टवेयरमै केन्द्रीत रहँदै हार्डवेयरतर्फ ध्यान दिएन । लगभग ८ वर्षसम्म उसले एलजी, मोटोरोला र एचटीसीलगायतका आफ्ना साझेदार मोबाइल उत्पादक कम्पनीलाई नै हार्डवेयरको जिम्मा दिएर आफु एन्ड्रोइडकै स्तरोन्नतीमा लागिरह्यो ।
तर, ती ८ वर्षमा एप्पलको आईफोनले स्मार्टफोन बजारमा ‘एलिट’ स्थान बनाइसकेको थियो भने एन्ड्रोइडलाई सामसङले जसोतसो लतार्दै थियो । अन्य कुनैपनि स्मार्टफोनले आईफोनलार्ई टक्कर दिनु त टाढाको कुरा प्रतिस्पर्धाको छेउछाउ पनि पुग्न सकेका थिएनन् ।
अत्ति भएपछि गुगल आफैंले हार्डवेयरमा हात हाल्यो र बजारमा आयो आईफोनको सबैभन्दा ठूलो टाउको दुखाईको कारण – गुगल पिक्सेल । आकर्षक डिजाइन, प्रिमियम चिपसेट एवं प्रोसेसर र सर्वोत्कृष्ट क्यामेरा राखेर जब पिक्सेलले विशुद्ध एन्ड्रोन्ड प्लेटफर्ममा गुगल पिक्सेल निकाल्यो स्मार्टफोनको बजार हल्लियो भने एप्पलको साम्राज्य धर्मरायो ।
अन्य मोबाइल उत्पादक कम्पनीले एन्ड्रोइड प्लाटफर्ममै मोबाइल बनाएपनि ओपन सोर्स भएका कारण आफु अनुरुप परिमार्जन गर्नुका साथै तेस्रो पक्षका एप हालेर कुरुप बनाएका हुन्थे । त्यसैले विशुद्ध आईओएसमा बनेको आईफोनले सबैलाई मात दिइरहेको थियो । तर, जब विशुद्ध एन्ड्रोइडमा चल्ने पिक्सेल बजारमा आएपछि एन्ड्रोइडको असली सुन्दरता पहिलोपटक प्रयोगकर्तासम्म पुगेको थियो ।
विशेषतः पिक्सेलको क्यामेराले स्मार्टफोनको बजारमा क्रान्तिकारी परिवर्तन ल्याएको थियो । त्यसपछि हो स्मार्टफोनबीच क्यामेरा–युद्ध सुरु भएको । जथाभावी कस्टमाइज गरेर कुरुप एन्ड्रोइड फोनले दिक्क भएका प्रयोगकर्ताले जब पहिलोपटक पिक्सेल चलाएर एन्ड्रोइडको स्वाद पाए त्यसपछि आईफोनको बजार फेरि कहिल्यै उस्तै रहेन ।
स्पेस–एक्स फाल्कोन हेभी
एलन मस्कको स्पेस–एक्सले फाल्कोन हेभी सार्वजनिक कार्यक्रममा विश्वलाई दुई चिज देखाए – पहिलो घुमघामका लागि अब अन्तरिक्ष पनि जान सकिन्छ, दोस्रो आजसम्म देखेका भव्य प्रोडक्ट लन्चहरु सबै फिका छन् । विश्वले त्यसदिनसम्म कहिल्यै त्यस्तो भव्य कार्यक्रम देखेको थिएन ।
स्पेस एक्सको फाल्कोन हेभीको २७ वटा इन्जिन भएको थ्री–कोर रकेट अन्तरिक्षयात्रामा नयाँ युगको थालनी थियो । नासालाई एउटा रकेट बनाउन ५०० मिलियन डलरको हाराहारीमा खर्च गर्छ भने फाल्कोन हेभी जम्मा ९० मिलियन डलरमा बनेको थियो ।
फाल्कोन हेभीको लागत जति कम छ यसको क्षमता उति नै बढी । यसले ६४ टनको कार्गो बोकेर पृथ्वीको कक्षसम्म जानसक्छ । उत्पादन लागत र शक्तिका अलावा फाल्कोन हेभीले एरोनोटिकल इन्जिनियरिङमा अर्को पनि परिवर्तनकारी युगको सुरुवात गरेको थियो । त्यो हो पुनः प्रयोग गर्न मिल्ने रकेट बुस्टर्स ।
फेब्रुअरी २०१८ को सुरुवातमा परिक्षण प्रक्षेपण गरिएको फाल्कोन हेभीका दुईवटा रकेट बुस्टर्स सो महिनाको अन्त्यतिर केप क्यानाभेरलमा सकुशल फर्किएका थिए भने एउटा बुस्टर भने माथि नै विष्फोट भयो । अप्रिल २०१९ मा गरिएको फाल्कोन हेभीको दोस्रो प्रक्षेपणमा भने तीनवटै बुस्टर्स सकुशल फिर्ता आएका थिए ।
विभिन्न मिडिया तथा जर्नलमा प्रकाशित लेख एवं तथ्यांकका आधार मानेर निर्वान झापालीले शिलापत्रका लागि तयार पारेको रिपोर्ट ।







