बेपत्ता योद्धा चेतनाथ ढुङ्गाना(क.सि.एन.) २०६०।०५।०४ गते देखि बेपत्ता आज १५ वर्ष पूरा भईसक्याे  ।

समाजमा व्याप्त लिङ्गीय, जातीय, र्धािर्मक, साँस्कृतिक एवं वर्गिय विभेदका विरुद्व सर्वहारावर्गको जनवादी राज्य सत्ता स्थापना गराउन र वर्गिय मुक्तिको खातिर २०५२ साल फाल्गुण १ गते देखि शुरुभएको महान् जनयुद्धको क्रममा देशका हरेक क्षेत्र, गाँउ, समुदायबाट जनताले दिएको साथलाई तत्कालिन राज्यसत्ताका दुश्मनहरुले पचाउन सकेनन् र त्यसलाई निस्तेज पार्न महान् नेपाली आमाका हजारौं होनाहार छोराछोरीहरुलाई क्रुर, आततायी ढङ्गले मार्ने, जलाउने, जिउदै गाड्ने, समातेर यातना दिने, वेपत्ता पार्ने जस्ता कामहरु गरि नै रह्यो । यसै क्रममा एक जुझारु क्रान्तिकारी विचारले ओतप्रोत योद्धा क.सि.एन.(चेतनाथ) ढुंगाना लाई तत्कालीन राज्य सत्ताले वेपत्ता बनायो ।

क. सि.एन.को जन्म सुनसरी जिल्लाको भोक्राह गा.वि.स. वडा नम्बर ४ मा बुवा पुन्य प्रसाद ढुंगाना एंव आमा खगेन्द्रदेवी ढुंगानाको पहिलो सन्तानको रुपमा विक्रम संवत् २०३२ साल असोज ७ गतेका दिन भएको थियो । तीन भाई तथा एक बहिनीका दाजु क. सि.एन. एक निम्न मध्यम परिवारमा जन्मनु भएको थियो । सबै आफन्तको माया, ममता एंव सुन्दर पारिवारिक वातावरणले गर्दा वि.स. २०३८ सालमा प्रकाश मा.वि. प्रकाशपुरबाट उहाँको शैक्षिक यात्राको प्रारम्भ भयो । तर क.सि.एन.को कलिलो उमेरमा नै एक भयानक प्राकृतिक विपत्तीले जीवनमा सुखका क्षणहरु एकाएक हिउँको तुषारो झैं भत्काईदियो । वि.स. २०४० साल भदौं महिनाको दिनमा सप्तकोशीमा आएको बाढीले उहाँको परिवारको सम्पूर्ण भौतिक सम्पतिको विनाश ग–र्यो यद्यपी मानवीय क्षति हुन पाएन । जीवनले सर्घषका पहाडहरु फोड्नु पर्ने भयो केवल जीउनको लागी मात्र, आफ्नो आधारभुत आवश्यकताको न्यूनतम परिपूर्ति गर्न अप्ठ्यारो परेर उहाँको परिवारले देशका विभिन्न स्थानमा बसाँइ सर्दा समेत उहाँले आफ्नो शिक्षालाई निरन्तरता दिन सफल रहनुभयो । अन्ततः वि.स. २०४८ सालमा जनसेवा मा.वि. बयरबन मङ्गलबारे, मोरङ्ग जिल्लाबाट द्वितिय श्रेणीमा प्रवेशिका परीक्षा उत्र्तिण गर्नुभयो ।

यो जीवनको उतारचढावले नै पुष्टी गर्छ जीवनका दुःखका क्षणहरु, गरीबीको चपेटामा पिल्सीएको त्यो जीवन र त्यस समयमा समाजले थुपारेको अनेकौं आरोपले उहाँको जीवनमा शोषण, दमनको विरुद्धमा उत्रिनको लागि चेतनाको विकास गरिदियो जसको फलस्वरुप २०४६ सालको जनआन्दोलनमा सहभागी हुदाँ १४ वर्षको उमेरमा नैं उहाँको गिरफ्तारी भयो ।

त्यो कलिलै उमेरमा परेको राजनैतिक छाप र पुलीसको गिरफ्तारीले उहाँलाई कम्युनिष्ट आन्दोलनमा प्रवेश गर्ने प्रेरणा प्रदान ग–र्यो । क. सि.एन. को परिवार गाँस, बास कपासको खोजिमा करीब २०४८ साल सम्ममा नौ, दश ठाउँमा बसाई सरिसकेको र वहाँको पढाइपनि निरन्तर अगाडी गइरहेको हुनाले फेरी वहाँलाई त्यहीं (मोरङ्ग जिल्ला बयरवन गा.वि.स. को रमाईलो भन्ने ठाँउमा) छाडी उहाँको परिवार पुनःबसाई सर्न वाध्य भयो । उहाँले त्यही ठाँउबाट प्रवेशिका परीक्षा उत्र्तिण गर्नु भयो भने २०५० सालमा महेन्द्र मोरङ्ग क्याम्पस विराटनगरबाट आई.एस्सी. गर्नु भएको हो । आर्थिक कारणले गर्दा कामको खोजि एवं अध्ययनको लागि क.सि.एन. काठमाडौं प्रवेश गर्नु भयो ।

सोही वर्ष उहाँ अध्यापनको लागि सिन्धुपाल्चोकको खाँडीचौर स्थित सुनकोशी बोर्डिङ्ग, स्कुलमा पुग्नु भयो र अध्यापन गर्न थाल्नुभयो । २०५० साल देखि २०५४ सालसम्म त्यही अध्यापन गराउनु भए पश्चात अध्यापन छाडी काठमाडौंमा बस्न शुरुवात गरी अमृत साइन्स क्याम्पसमा बि.एस्सी.मा भर्ना भई पढाईलाई निरन्तरता दिन थाल्नु भयो । २०५५ सालमा अखिल क्रान्तिकारीमा आवद्ध हुनपुग्नुभयो । २०५५ साल चैत्रमा अमृत साइन्स क्याम्पस ईकाई सदस्य हुनुभयो ।

ऋतिक काण्डमा तत्कालिन विद्यार्थीका महासचिव पूर्ण पौडेल, शोभा खनाल, अतिन्द्र न्यौपाने, फणिन्द्र देवकोटा, शैलेन्द्र देवकोटा, दिपक देवकोटा, साधुराम देवकोटा, युवराज भट्टराई, माधव अधिकारी, कृष्ण मल्ल,केशर राजश्वर राज रिमाल, मूनाल खड्का, यज्ञ खरेल, सागर लगायत क.सि.एन.गिरफ्तार हुनुभयो ।

१ महिनामा तत्कालिन सरकार उहाँहरुलाई रिहा गर्न बाध्य भयो । त्यसपछि अस्कल क्याम्पस ईकाइ अध्यक्ष हुनुभयो । पुनः उहाँलाई २०५८ साल श्रावण २२ गते काठमाडौंबाट पक्राउ गरी स–शस्त्र प्रहरी २ नं. गण महाराजगञ्जले २०५८ साल भाद्र ७ गतेसम्म राखेको थियो । २०५८ सालमा विद्यार्थीको काठमाडौं जिल्ला सम्मेलनबाट जिल्ला सदस्य हुनुभयो । २०५९ सालमा भक्तपुर जिल्ला अध्यक्ष हुनुभयो र २०६० सालको असारमा भएको विद्यार्थीको राष्ट्रिय सम्मेलनमा केन्द्रीय सदस्य हुनुभयो । त्यसैगरी क.सि.एन.ढुंगानाले २०५७ चैत्रमा क.दिलबहादुर राईको प्रस्ताव, क.विपिन भण्डारीको सिफारिसमा क.पूर्ण पौडेलबाट महान तथा गौरवशाली पार्टी तत्कालिन ने.क.पा.(माओवादी)को सदस्यता प्राप्त गर्नु भएको हो । जो आजसम्म सबै जना वेपत्ताको स्थीतिमा हुनुहुन्छ ।

२०५८ जेष्ठमा उपईलाका समिति सदस्य, २०५८ साउनमा ए.सि.एम. हुदै २०५९ सालमा पार्टी डि.सि.एम. हुनुभएको हो । २०५८ साल चैत्र ४ गते जनवादी विवाहबाट वैवाहिक सम्बन्धमा बाँधिनु भएको थियो । उहाँलाई पार्टीले २०५९ साल बैशाखको पहिलो हप्तामा नै नुवाकोट पठाएको थियो भने २०६० साउनको अन्तिम हप्ता काभ्रे जिल्ला पठाएको थियो तर विरामी भई उपचारको लागि काठमाडौं आउदा २०६० भदौ ४ गते सरकार र माओवादी विच दाङ्गको हापुरेमा वार्ता भईरहेको वेला तत्कालिन शाही सेनाको भैरवनाथ गणले काठमाडौंको डिल्लीबजार स्थित कालिकास्थानबाट गिरफ्तार गरी आज सम्म पनि वेपत्ता बनाएको छ ।

यसरी एक क्रान्तिकारी योद्धा, जो निरन्तर वर्गीय विभेदका विरुद्ध लडिरह्यो, वर्गदुश्मनको गिरफ्तारीमा प–र्यो । तर आफ्नो क्रान्तिप्रतिको निष्ठा, इमान्दारीता, साहसलाई कहिल्यै झुक्न दिएन जसले गर्दा उसलाई वेपत्ता पारियो । भनिन्छ सच्चा क्रान्तिकारीहरु, दुश्मनका सामुन्ने आफ्नो आस्था र विचारको बलि चढाउनु भन्दा मृत्युलाई अंगाल्न सक्छन तर क्रान्तिप्रति गद्धार गर्दैनन् । जसलाई क.सि.एन. ढुंगानाको जीवनले समेत पुष्टी गरेको छ । उहाँको सम्पूर्ण परिवार पनि उहाँकै विचार एंव आस्थालाई पछ्याउदै उहाँको खोजीमा निरन्तर लागिरहेको छ र जव सम्म वेपत्ता हजारौ क्रान्तिकारी योद्धाहरु फर्केर आउदैनन् र क्रान्तिको विजय हुदैन तवसम्म लागिरहने छ ।

परिवारका तर्फबाट क.सि.एन. ढुंगाना लगायत हजारौं वेपत्ता पारिएका योद्धाहरुको तत्काल सार्वजनिक गर्नुपर्ने, दोषीलाई तत्काल कारबाही गर्नुपर्ने, वेपत्ता योद्धाका योगदानहरुको संस्थागत गर्नुपर्ने र यस्ता योद्धाका परिवारहरुको राज्यले अभिभावकत्व ग्रहण गर्नुपर्ने लगायतका मागहरु राज्य समक्ष रहेको छ ।

लेखक देवी प्रसाद ढुङ्गाना बेपत्ता योद्धा सिएन ढुंगानाका सहोदर भाई हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार