
कोरोना भाइरस महामारीको रूपमा अघि बढेको छ । यद्यपि मानव इतिहासमा कोरोना भाइरस पहिलो महामारी होइन । संसारमा हालसम्म यस्ता महामारी निम्त्याउने दर्जनौँ संक्रामक रोगहरू फैलिएका छन् ।
स्वाइन फ्लू, हङकङ फ्लु, सार्स, इबोला, नोवल कोरोना भाइरसजस्ता सयौंको ज्यान लिएका स्वास्थ्य समस्यालाई महामारी भन्ने गरिन्छ । तर इतिहासमा लाखौँ मानिसको एउटै महामारीका कारण मृत्यु भएको पाइन्छ । ति मध्ये केही महामारी यस्ता छन् स्–
इबोला
सन् १९७६ मा पहिलो पटक कंगो र सुडानमा इबोला भाइरस देखियो । त्यसयता इबोला भाइरसका कारण सयौँ मानिसहरूले ज्यान गुमाउने गरेका छन् । अफ्रिकी मुलुकहरूमा देखिने गरेको इबोलाका कारण सन् २०१४ देखि २०१६ मा गिनी, सिएरा लियोन र लाइबेरिया नराम्ररी प्रभावित भए ।
गिनीमा २ हजार ५ सय ४३, लाइबेरियामा ४ हजार ८ सय ९ र सिएरालियोनमा ३ हजार ९ सय ५६ जनाले ज्यान गुमाएका थिए । सो समयमा समग्रमा ११ हजार ३ सय २५ जनाको मृत्यु भएको थियो । त्यसपछि पनि इबोला भाइरसको जोखिम देखिँदै आएको छ ।
इबोला भाइरस संक्रमित भएका ९० प्रतिशतको मृत्यु हुने गरेको पाइएको थियो । गत वर्ष मात्रै कंगोमा ३३ जनाको मृत्यु भएको थियो । यो रोग देखिएदेखि हरेक वर्षजस्तो इबोला भाइरसको प्रकोप देखिँदै आएको छ ।
स्वाइन फ्लू
सन् २००९ मा नयाँ खालको इन्फ्लुएन्जा ए ९एचवानएनवान० फैलियो । अमेरिकामा पहिलो पटक देखिएको स्वाइन फ्लू विश्वभर फैलियो । स्वाइन फ्लू निकै खतरनाक भाइरसका रूपमा देखियो ।
यसबाट कति मानिसले ज्यान गुमाए भन्ने अहिलेसम्म पनि एकीन भएको छैन । नेपालमा समेत स्वाइन फ्लूको प्रभाव देखिएको थियो । तत्कालीन नेकपा एमालेका नेता रामनाथ ढकालको स्वाइन फ्लूका कारण मृत्यु भएको थियो ।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार २००९ देखि २०१० सम्ममा अमेरिकामा मात्रै करिब ६ करोड प्रभावित बनेका थिए । स्वाइन फ्लूका कारण २ लाख ७४ हजार अस्पताल भएका थिए भने अमेरिकामा मात्र १२ हजार ४ सय ६९ जनाको मृत्यु भएको थियो ।
तर विश्वमा स्वाइन फ्लूका कारण दाबी गरिएको भन्दा ठूलो संख्यामा मानिसको मृत्यु भएको बताइन्छ । विश्व स्वास्थ्य संगठनले सन् २०१० को अगस्टमा स्वाइन फ्लू महामारी समाप्त भएको घोषणा गरे पनि हरेक वर्ष स्वाइन फ्लूबाट हजारौँ मानिस बिरामी पर्ने गरेका छन् ।
सार्स
सन् २००२ को नोभेम्बरमा चीनको ग्वाङ्दोङ प्रान्तमा सिभियर एक्युट रेस्पाइरेटरी सिन्ड्रोम ९सार्स० रोग देखापर्यो । करिब ९ महिना विश्वभरसम्म रहेको सार्सका कारण ८ हजार ९८ जना प्रभावित बनेका थिए ।
सार्सका कारण ७ सय ७४ जनाको मृत्यु भएको थियो । सार्सको मृत्युदर पनि उच्च थियो र संक्रमितमध्ये ९।६ प्रतिशत मानिसको मृत्यु भएको थियो । सार्स चीन, ताइवान, सिंगापुर, क्यानडासहित २६ मुलुकमा फैलिएको थियो ।
हङकङ फ्लू
हङकङ फ्लू सबैभन्दा पहिले सन् १९६८ मा हङकङमा देखिएको थियो् । इन्फ्लुएन्जा ए प्रजातिको यो भाइरसको संक्रमण १७ दिनभित्रै अन्य मुलुकमा फैलिएको थियो भने तीन महिनामा सिंगापुर, भियतनाम हुँदै फिलिपिन्स, भारत, अस्ट्रेलिया, युरोप र अमेरिकासम्म फैलियो ।
२०औँ शताब्दीमा देखिएको यो तेस्रो महामारी थियो । त्यसअघि एसियल फ्लू सन् १९५७ मा देखिएको थियो भने सन् १९१८र१९ मा स्पेनिस फ्लू देखिएको थियो । यसको मृत्युदर ०।५ प्रतिशत थियो ।
हङकङ फ्लूबाट त्यहाँका १५ प्रतिशत अर्थात ५ लाख जनता प्रभावित बनेका थिए । विश्वभर हङहङ फ्लूबाट १० लाखभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । अमेरिकामा मात्रै ३३ हजार ८ सयको हङकङ फ्लूका कारण ज्यान गएको थियो ।
एसियन फ्लू
सन् १९५६र५७ मा देखिएको एसियन फ्लूबाट करिब २० लाखको मृत्यु भएको थियो । चीनको गुइझाउ प्रान्तमा सबैन्दा पहिले देखा परेको एसिन फ्लू सिंगापुर, हङकङ हुँदै अमेरिकासम्म पुगेको थियो । अमेरिकामा मात्र एसियन फ्लूबाट करिब ७० हजारको मृत्यु भएको बताइन्छ ।
स्पेनिस फ्लू
सन् १९१८ देखि १९२० को बीचमा फैलिएको एन्फ्लुएन्जा स्पेनिस फ्लू विश्वको एकतिहाइ जनसंख्यामा संक्रमित भएको थियो । २० प्रतिशत मृत्युदर रहेको स्पेनिस फ्लूका कारण विश्वमा ४ देखि ५ करोड मानिसको मृत्यु भएको थियो ।
रसियन फ्लू
सन् १८८९ मा देखिएको रसियन फ्लूको महामारीका कारण विश्वभर १० लाख मानिसको मृत्यु भएको थियो । यो महामारी रूसको साइबेरियाबाट सुरू भएको थियो । त्यसपछि मस्को, कजाकस्तान, फिनल्यान्ड, पोल्यान्ड हुँदै युरोप, अफ्रिका र अमेरिकासम्म रसियन फ्लूको संक्रमण देखिएको थियो ।
ब्ल्याक डेथ (प्लेग)
युुरोपमा अक्टोबर, सन् १३४७ मा देखिएको यो महामारी युरोप, अफ्रिका र एसियासम्म फैलिएको थियो । ब्ल्याक डेथ ९प्लेग०लाई हालसम्मकै ठूलो महामारीका रूपमा समेत लिइन्छ । युरोपमा यो महामारीका कारण ३० देखि ६० प्रतिशतसम्म मानिसको मृत्यु भएको थियो ।
१४औं शताब्दीमा यो रोगका कारण विश्वको जनसंख्याको एकतिहाइको मृत्यू भएको थियो । विश्वमा त्यसबेला ४७ करोड जनसंख्या रहेको अनुमान गरिएको थियो । जसमध्ये एकतिहाइ अर्थात् १५ करोड ६६ लाखभन्दा बढीको मृत्यु भएको थियो ।
जुन जनसंख्या पूर्ति गर्नका लागि २ सय वर्ष लागेको थियो । यसले एक दिनमै ५ हजार जनासम्मको ज्यान लिएकोे थियो ।
शिलापत्र अनलाइनले तयार पारेको रिपोर्टको सानो अंश, एजेन्सीको सहयोगमा ।







