
कम्युनिस्ट पार्टीको सदस्यको जिबन शैली रहस्यमय हुनुहुदैन पारदर्सी हुनुपर्दछ । उसको जीवन, व्यवहार,क्रियाकलापहरु सबैले सजिलै पढ्न सक्ने खुला किताव जस्तो हुनुपर्दछ । आर्थिक र चारित्रिक सवालमा कम्युनिस्ट पार्टीको सदस्य सबभन्दा बढी सचेत हुनुपर्दछ । घरपरिवार र आफु चल्ने आर्थिक स्रोत के हो ? त्यो प्रस्ट हुनुपर्दछ । ‘पैसा देखे महादेवको चार नेत्र’ भन्ने उखान कम्युनिस्टहरुको जीवनमा लागु हुनुहुदैन ।
पैसा, सुन, चाँदी ,गरगहना ,सम्पति भनेपछि हुरुक्क हुनेहरु कम्युनिस्ट होईनन ! लेनिनको बुझाईमा खिया नलाग्ने भएकोकारण सुन चर्पी बनाउनको निम्ति उपयुक्त धातु हो । सुन सम्बन्धि यो बुझाईले समग्र आर्थिक सवालमा लेनिनको दृस्टीकोणलाई प्रस्ट बनाउछ । व्यक्ति चल्न र संगठन चलाउनको निम्ति आर्थिक पनि एउटा महत्वपूर्ण पक्ष हो नै । तर व्यक्तिले आफ्नो नैतिकता, प्रतिष्ठा भन्दा माथि आर्थिकलाई राख्नु हुदैन ।
सिद्दान्त भन्दा ठुलो आर्थिक होईन । जसरिपनि आर्थिक, हरहालतमा आर्थिक भन्नु गलत हो । सिद्दान्त,बिचार ,दृस्टीकोण ,नैतिकता र प्रतिष्ठा त्यसपछी मात्र आर्थिक हो ,हुनुपर्दछ । सिद्दान्त,बिचार ,दृस्टीकोण ,नैतिकता र प्रतिष्ठालाई बन्धकी राखेर जम्मागरिएको आर्थिकले केहि अर्थ राख्दैन । बरु त्यसरी जम्मा गरिएको आर्थिकले व्यक्ति र संगठनलाई धोस्त बनाउछ। समय सन्दर्भमा विभिन्न ठाउ बाट पार्टीको नाममा आउने रकम एक पैसा पनि पार्टी सदस्यले आफ्नो खल्तीमा राख्नुहुदैन, पार्टीको पैसा आफुखुशी सुको पनि खर्चगर्नु हुदैन।
जति रकम आउछ त्यति नै पार्टीमा तुरुन्तै जम्मा गर्नुपर्दछ। कम्युनिस्टहरु हरेक सवालमा झैँ आर्थिक सवालमा पनि पराश्रीत हुनुहुदैन । थोरै आर्थिक संकट प-यो कि कहाँ पाईएला आर्थिक सहयोग (चन्दा ) भनेर सधै दिमाग खियाउने बानि राम्रो होईन, आत्मानिर्भर हुने प्रयास गर्नुपर्दछ । पार्टीले समय सन्दर्भमा संचालनगर्ने आर्थिक अभियानलाई आफ्नो व्यक्तिगत आर्थिक जोहो गर्ने शिजन (मौसम ) ठान्नु हुदैन । कम्युनिस्ट पार्टीका सबै सदस्यहरुले पार्टीले निश्चित गरेको आर्थिक अनुसाशनको घेरा भित्र रहेर आर्थिक क्रियाकलाप गर्नुपर्दछ । त्यो घेरा भन्दा बाहिर जाने जोकोही पनि कारवाहीको भागिदार बन्नुपर्दछ ।पार्टीका कुनैपनि सदस्यले शंकास्पद ढंगको आर्थिक गतिबिधि गर्नुहुदैन ।
पार्टीको नाममा आफुखुशी विभिन्न खाले मान्छेहरु संग भेटेर नियमित अनियमित व्यक्तिगत गोप्य आर्थिक स्रोत बनाउने छुट कम्युनिस्ट पार्टीमा कसैलाई पनि हुदैन । सबै व्यक्तिगत गोप्य आर्थिक स्रोत पार्टीकरण गर्नुपर्दछ । पूर्णकालीन पार्टी सदस्यले आफुलाई पूर्ण रुपले पार्टीकरण गर्नुपर्दछ , पार्टीले निर्देशित गरेको निश्चित मापदण्ड पुरागर्नुपर्द्छ । त्यस्ता पूर्णकालीन सदस्यहरुको ब्यबस्थापनको जिम्मा पार्टीले लिन्छ। आफु खुशी हिड्ने,आफु खुशी बस्ने तर पार्टीको नाममा आफुखुशी प्रत्यक्ष,अप्रत्यक्ष पैसा उठाएर मोजमस्ती गर्नेहरु पार्टीको पूर्णकालिन सदस्य हुनसक्दैनन । अल्पकालीन सदस्यहरुले कतै कसैको आशा गरेर होईन, छलछाम गरेर होईन मेहनत ,परिश्रमगरेर चल्न सिक्नुपर्दछ, वास्तवमा यहि नै कम्युनिस्ट शैली हो । जो कसैलाई पनि तर्सायर,धम्कायर या विभिन्न बहाना बनायर पार्टीको नाममा रकम संकलन गरेर व्यक्तिगत ब्यबस्थापन गर्दा पार्टी र क्रान्तिको उपहास तथा अनुशासनको खिल्ली उडाउने काम त अवस्य हुन्छ नै साथै समाजमा पार्टी र क्रान्तिको बद्नाम पनि हुन्छ। कम्युनिस्टहरुले जनताका समस्याहरुमा निरन्तर सहभागी भएर उनीहरुको सेवा गर्नु पर्दछ ।
त्यसरी सेवा गरे वापत कम्युनिस्टहरुले जनतावाट केहिपनि लिनुहुदैन । जनताको सेवा गरे झैँ गर्ने बदलामा ‘ मेवा ‘ को आशा गर्ने मान्छे कम्युनिस्ट हुन सक्दैन ।’ जनताको सियो धागो पनि सित्तैमा नलेउ’ भन्ने माओवादी मान्यतालाई अझै परिस्कृत गर्दै ‘जनतालाई देउ तर बदलामा जनता बाट केहिपनि नलेउ’ भन्ने मान्यता कम्युनिस्टहरुले स्थापित गर्नुपर्दछ । ‘आफुले गरेको गल्ति बाट भएको आर्थिक क्षतिको उचित मुल्य तिर’ भन्ने माओवादी मान्यतालाई क्रान्तिकारी कम्युनिस्टहरुले पूर्ण रुपमा आत्मासात गर्नुपर्दछ र जनताका सम्पतिको नोक्शानी गर्नुहुदैन ! कम्युनिस्टहरु जनतामा उम्रिने र जनता मै फैलने र फुल्ने गर्नुपर्दछ । माओत्सेतुङ् भन्नु हुन्छ “हामि कम्युनिस्ट बिउ झैँ हौ र जनता माटो झैँ हुन् भन्ने सम्झेर जनतासंग मिसिने, एकहुने,जनतामा जरा हाल्ने र जनतामा नै फुल्न सक्नुपर्दछ” हाम्रा ब्यबहारहरुले कम्युनिस्ट पार्टीका सदस्यहरुलाई जनताले माया गर्ने, खोजि खोजि भेटघाट गर्न आउने, आफुमाथि अन्याय हुदा कम्युनिस्ट पार्टीको सदस्यलाई सम्झने वातावरण निर्माण गर्नुपर्दछ ।
जनतालाई आतंकित पार्ने, हैरान बनाउने र कम्युनिस्ट पार्टीको सदस्यलाई देख्दा जनताले पिठ्यु फर्काउने वातावारण कहिल्यै बन्न दिनुहुदैन । स्टालिन भन्नुहुन्छ : ‘ आमजनताको बिचमा पार्टीको नीति एवं राजनैतिक प्रतिष्ठा छैन भने पार्टीले वर्गको नेतृत्व गर्न सक्दैन’ । श्रमलाई सम्मान नगर्ने,पैसाको निम्ति अनैतिक हर्कत गर्ने र जनतालाई ठग्ने मान्छे कम्युनिस्ट पार्टीको सदस्य बन्न लायक हुदैन । कम्युनिस्ट पार्टीका सबै सदस्यहरु पूर्णकालीन हुदैनन् त्यसकारण पूर्णकालीन नभएका पार्टी सदस्यहरुले विभिन्न पेशा,ब्यबसाय गर्नु स्वभाविक हो । पेशा ब्यबसाय गर्दा जे पायो त्यही पेशा,ब्यबसाय गर्नु हुदैन । क्रान्तिकारी आन्दोलनको मर्म संग मेल नखाने घृणित पेशा,ब्यबसाय कम्युनिस्टहरुले अंगाल्नु हुदैन । दलाली गरेर कमिशन लिने ,भ्रस्टाचारी गर्ने ,घुसखोरी र तस्करी गर्ने, कालाबजारी गर्ने जस्ता पेशा ,ब्यबसाय देखि कम्युनिस्टहरु लाखौ कोष टाढा हुनुपर्दछ । कम्युनिस्ट पार्टीका सदस्यहरु आफ्ना आचरण ,बानि ब्यबहारको सन्दर्भमा आफ्ना छर छिमेक र समाजमा प्रतिष्ठित हुनुपर्दछ , उदाहरणीय पात्र बन्नुपर्दछ । त्यो भयो भने मात्र पार्टी र क्रान्तिले समाजबाट सहयोग र समर्थन प्राप्त गर्न सक्दछ ।
कम्युनिस्ट पार्टीका सदस्यहरु समाजमा ब्यईमान, फताह, धुर्त, बदमास, चरित्रहीनको रुपमा कलंकित भयो भने सिंगो पार्टी र क्रान्ति नै बद्नाम हुन्छ । कम्युनिस्ट पार्टीका सदस्यले व्यक्तिगत हितलाई पूर्णत् त्याग्नुपर्दछ र आफुलाई पार्टी र क्रान्तिको हितमा समर्पित गर्नुपर्दछ । वास्तवमा यहिनै क्रान्तिकारी नैतिकता हो । यसवारे हो चि मिन्ह भन्नुहुन्छ ” पार्टी सदस्यको लागि क्रान्तिकारी नैतिकता सारा परिस्थितिमा पार्टीको हितलाई सबैभदा माथि राख्नुमा रहेको छ । पार्टीको हित र व्यक्तिको हित बाझिएमा पार्टी हितको पक्षमा व्यक्तिको हितलाई एकदमै त्याग्नुपर्दछ ” कतिपय ठाउमा के देखिन्छ भने कुनै कुनै नेता,कार्यकर्ताहरुले आफु भन्दा ठुला नेताहरुको अत्यन्तै बढी चाकडी गर्ने अनि आफु भन्दा तलका कार्यकर्ताहरुलाई एकदमै दवाव दिने गर्दछन । यो गलत तरिका हो, यसलाई यदाकदा ‘ बाइसाईकल पोलिसी’ पनि भनिन्छ । हामीले साईकल चलाईरहदा शरीरको अगाडिको भाग बढी झुकाउने र पछाडिको भागले तल तिर बढी दवाव दिने गर्दछौ । साईकल कुदाउनको निम्ति यो ठिक तरिका हो । वुर्जुवा संगठन संचालनको नीतिसंग यो कुरा केही हदसम्म मेल खान्छ तर क्रान्तिकारी संगठन संचालनको निम्ति यो ठिक तरिका होइन । कम्युनिस्ट नेता,कार्यकर्ताहरुको निम्ति यो सुहाउदो व्यवहार होइन ।
माथिल्लो कमिटि र त्यसको नेतृत्व वाट सिक्नुपर्दछ र आवस्यक सम्मान गर्नुपर्दछ तर अनावस्यक ढंगले सहि र गलत सबै बिषयमा नतमस्तक हुने ,झुक्ने प्रवृतिले हामीलाई क्रान्तिकारी नेता,कार्यकर्ता होईन कसैको ब्यतिगत दास बनाउछ । त्यस्तै तलका कार्यकर्ताहरुलाई पनि सधै सम्मान गर्नुपर्दछ र उनीहरु वाट सिक्नुपर्दछ । निर्देशन दिदा आदेशमुलक होईन आग्रहमुलक ढंगले दिनुपर्दछ। अनि मात्र हामीले क्रान्तिकारी नेता,कार्यकर्ता र क्रान्तिकारी संगठन निर्माण गर्न सक्दछौ ।







