
कम्युनिस्ट पार्टीको सदस्य आत्मा प्रदर्शन र आत्मप्रसंशाको भोका हुनुहुदैन । आत्मा प्रदर्शन र आत्मप्रसंशाको भोकाहरु हरेक ठाउमा आफुलाई केन्द्रमा राखेर प्रस्तुत हुन्छन। कतै बस्नु प-यो अगाडि कै सिटमा बस्नुपर्ने, कतै नाम लेखाउनु प -यो सबभन्दा माथि नै लेखाउनु पर्ने उनीहरुको बानी नै हुन्छ। उनीहरु आफ्नो प्रसंशा र प्रचार आफै गर्दछन या आफ्ना चम्चाहरुलाई त्यसो गर्न निर्देशन दिन्छन ।
ती मान्छेहरु मंच देख्यो कि उक्लन खोज्दछन ,माईक देख्यो कि बोल्न खोज्दछन ,ब्यानर देख्यो कि तासिन खोज्दछन, दूई,चार ब्याक्ति देख्यो कि आफुलाई तिनको नेताको रुपमा ,नायकको रुपमा प्रस्तुत गर्न खोज्छन । अप्ठ्यारो परिस्थितिमा उनीहरु पछाडी सर्दछ्न, काम गर्नु पर्ने वेला टाउको बतार्छन तर प्रचारमा आउनेवेलामा सबभन्दा अगाडी ढाउछन् । यो पूर्णतया बुर्जुवा संस्कार हो ,कम्युनिस्टहरु यसप्रकारको संस्कार देखि अलग हुनुपर्दछ ! समय सन्दर्भहरुमा सडक आन्दोलन र संघर्षका कार्यक्रमहरु हुनेगर्द्छ्न । ती कार्यक्रमहरुमा हामीले गर्ने गतिबिधिहरुले हाम्रो संगठन र हाम्रो आन्दोलनलाई फाइदा र नोक्शानी दुवै गरिराखेका हुन्छन ।
हामीले अपनाउने जननीति,जनशैलीहरुले जनताका मन छुने, उनीहरुलाई प्रवाभित गरेर संगठनमा ,आन्दोलनमा आकर्षित गर्ने गर्दछ । त्यो हाम्रो संगठन र आन्दोलनलाई फाईदा हो । त्यसको बिपरित हामीले गर्ने गलत र उत्ताउला ब्यबहार क्रियाकलापहरुले हाम्रो संगठनको तौल घटाउने र आन्दोलनको लोकप्रियतालाई नस्ट गर्ने गर्दछ ! पछिल्लो चरणमा आन्दोलनको क्रममा देखिएको सबभन्दा भद्दा बिकृति फोटो शेसन हो । सडक बाट जनताले हेरिरहेको हुन्छन , हामी आन्दोलनकारी नेता,कार्यकर्ताहरु ‘काम कुरो एका तिर ,कुम्लो बोकी ठिमी तिर’ गरि रहेका हुन्छौ । मानौ हामि क्रान्तिको निम्ति संघर्ष,आन्दोलनमा सहभागी भैरहेको होईन बरु कुनै उमंगमा पो छौ झैँ गरि आ-आफना फोटो शेसन गरि राखेका हुन्छौ । हाम्रा नाराहरु प्रतिक्रियावादी सत्ताका जरो हल्लाउने खालका हुन्छन तर ब्यबहार चाही केटाकेटीले खेल्ने ‘ भाडाकुती खेल ‘ जस्ता हुन्छन ।
संगठनका जिम्मेवार नेता तथा आन्दोलनको कमान्डरहरु नै संघर्षकै बीच अस्वभाविक ढंगले सेल्फी खिच्ने ( आफ्नो फोटो आफै खिच्ने ) र अरुलाई आफ्नो फोटो खिच्न निर्देशन दिने र भरे साँझ त्यही फोटोले आफ्नो फेसबुक वालभरि भराउ गर्ने गरेको देखिन्छ ! कतिपय ठाउमा त बैठकका फोटो मात्र होईन लाईभ भिडियो सम्म सार्वजनिक संजालमा राखेको देखिन्छ । यस्ता क्रियाकलाप बाट कार्यकर्ताले के सिक्ने ? जनताले के बुझ्ने ? नेतृत्वको यसप्रकारको बाल ब्यबहारले पार्टीलाई ,क्रान्तिलाई कहा पु-याउला ? अबस्य त्यसले हाम्रो संगठन र आन्दोलनलाइ नोक्शानी गर्दछ । आन्दोलनमा पत्रकारहरुको अनुपस्थितिमा प्रचार प्रसारको निम्ति तथा आफ्नै सम्झनाको निम्ति एउटा निश्चित सिमा भित्र रहेर फोटो शेसन गर्नु कुनै अनौठो मानिदैन तर आमजनता,पत्रकार र सुरक्षाकर्मीले नपचाउने गरि अत्यन्तै उत्ताउलो ढंगले विभिन्न पोजका फोटो शेसन गर्नु क्रान्तिकारीहरुको निम्ति सुहाउदो कुरा होईन ।
अत : परिस्थिति अनुसार पत्रकारको क्यामेरा वात फोटो सार्वजनिक हुनु, त्यस्को कपि, शेयर हुनु स्वभाविक हो । तर आन्दोलनको गरिमालाई कुनै पिकनिक या चैते दसैंको मेलाको तह सम्म गिराउने गरी आफै गरिने अस्वभाविक फोटो शेसनहरु क्रान्तिकारी संस्कार भित्र कदापी पर्दैनन । कम्युनिस्ट पार्टीको सदस्य जातिवादी बन्नु हुदैन । कम्युनिस्ट पार्टी सबै प्रकारको विभेद ,अन्याय र अत्याचारको अन्त्य चाहन्छ । त्यसकारण कुनैपनि ठाउमा जातियताको आधारमा हुने विभेद र अन्याय अत्याचारको बिरुद्ध कम्युनिस्ट पार्टीका सदस्यहरुले संघर्ष गर्नु पर्दछ । तर जातिय विभेद ,अन्याय,अत्याचारको बिरुद्ध संघर्ष गर्ने क्रममा कम्युनिस्टहरु सिमित स्वजातिय घेरा भित्र कैद हुनुहुदैन, जातिवादी बन्नु हुदैन । किनकि जनजाति आन्दोलन र जातिवाद प्रति धुर्बिय कुराहरुहुन ।जनजाति आन्दोलन सबै जात / जातिको समानता र स्वतन्त्रताको आन्दोलन हो , जातिवाद एउटा जातिको हैकमवाद र एकाधिकारवाद घोतक हो ।
जनजाति आन्दोलन बर्गीय आन्दोलनकै एउटा अंग हो यसले सर्वहारावर्गको मुक्तिसंगै विभेदका सबै रुपहरुको पनि अन्त्य हुनेकुरामा बिस्वास गर्दछ । तर जातिवादले सर्वहारावर्गको मुक्तिसंगै जातीय मुक्ति पनि हुन्छ भन्नेकुरा बुझ्दैन। उसले जातीय मुक्ति भनेको एक प्रकारको जातिय एकाधिकारवाद र हैकमवादको बिरुद्ध अर्को प्रकारको जातिय एकाधिकारवाद र हैकमवाद बुझ्दछ ! जनजाति आन्दोलनले जातिय प्रकारले हुने अन्याय,अत्याचार ,र विभेदको समाधान खोज्दछ तर जातिवाद समाधान होईन झन् ठुलो समस्या हो, यसले तुच्छ प्रकारको संक्रिणता र साम्प्रदायिकतालाई रुचाउछ । जातिवादले जातहरु बीच जातिवाद,समुदायहरु बीच समुदायबाद , थरहरुबीच थरवाद, हुदै परिवारहरुबीच परिवारवाद, घरहरुबीच घरवाद र व्यक्तिहरुबीच व्यक्तिवादको भावना शिर्जना गरेर एकापसमा दरार उत्पन्न गर्दछ ।जातिवादको अन्तिम परिणाम अफ्रिकी देश रुवान्डामा जस्तो जातिय काटमार नै हो । रुवान्डामा ७ अप्रिल १९९४ देखि सुरु भएर करिव १ सयदिनसम्म चलेको जातीय काटमारमा ८ लाख मान्छेले जीवन गुमाएका थिए । ।
सायद आजसम्मको मानव इतिहासमा एक देशमा एकअर्का बीच भएको काटमारमा सबभन्दा छोटो समयमा सबभन्दा धेरै मान्छेको मृत्यु भएको घटना यहि हो। हुतू र तुत्सी जाति बीच भयको उक्त काटमारमा फरक जातिको छिमेकी, फरक जातिको नातेदार र हितैषी मित्र मात्र होईन आफ्नै श्रीमती- श्रीमानको समेत हत्या गर्ने घृणित कार्य भएको थियो । यसप्रकारको अन्ध जातिवादी चिन्तन वाट कम्युनिस्टहरु मुक्त हुनुपर्दछ । भौतिकवाद र आध्यात्मवाद दुई बिपरित विश्व दृष्टिकोणहरु हुन् । कम्युनिस्ट पार्टीका सदस्यहरु भौतिकवादी दृष्टिकोणले लैस हुनुपर्दछ । चर्च, मस्जिद, मन्दिर धाउने ,प्राथना गर्ने,पुजापाठ गर्ने कम्युनिस्ट पार्टीको सदस्यको निम्ति सुहाउदो कार्यहरु होईनन । आध्यात्मवादले गरिव,दीनदुखीहरुको बर्तमान अवस्थाको कारण पुर्व जन्ममा गरेको पापको फल भन्छ ! र यो जन्ममा धर्म,कर्म गरेमा पुण्य प्राप्तिहुन्छ र अर्को जन्ममा धनि भईन्छ, सुखी भईन्छ भनेर सिकाउछ ।
धनीहरुको बर्तमान अवस्थाको कारण उनीहरुले पुर्व जन्ममा पुण्य गरेको कारण प्राप्त फल हो, उनीहरु भगवानका अवतारहरु हुन् उनीहरुको विरोध गर्नु हुदैन, गरीवहरुले उनीहरुको सधै सेवा गर्नुपर्दछ भनेर सिकाउछ ।त्यसको बिपरित भौतिकवादले गरिव दीनदुखीहरुको बर्तमान कारण धनीहरुले गरिव हरुमाथि गर्ने शोषण अन्याय अत्याचार र दमन हो, र धनीहरु झन् धनी हुनुको कारण गरिवहरु माथि हुने शोषण ,दमनको निरन्तरता हो भनेर सिकाउछ, यो जन्म उ जन्म भन्नेकुरा हुदैन त्यसो भन्नु शोषण, दमनको चाल मात्र हो भन्छ ! त्यस प्रकारको षड्यन्त्रको बिरुद्द संघर्ष गर्नुपर्दछ, संघर्ष नगरी शोषण,दमनको अन्त्य हुदैन शोषण, दमनको अन्त्य नभए सम्म सुख : प्राप्ति हुदैन भनेर भौतिकवादले सिकाउछ । कम्युनिस्टहरु स्वयंले धर्म मान्दैनन तर धर्म मान्ने आम जनताको चाहनालाई घृणा गर्दैनन् र जनतालाई धर्म भ्रम हो भनेर बुझाउछ्न ।
जनतालाई धर्मवारे बुझाउने क्रममा मार्क्सले धर्मलाई अफिम भन्नुभएको छ । यसको मतलव हो, जसरी मान्छे अफिमको नशाले लट्ठ परे पश्चात हेर्ने,बुझ्ने,शोच्ने, संघर्ष गर्ने सवालमा निकम्मा बन्छ ठिक त्यसरी नै धर्मको भ्रममा लट्ठिए पश्चात मान्छे उस्तै निकम्मा हुन्छ । धर्मको भ्रममा लट्ठ परेपश्चात मान्छेले समाजमा हुने विभेद, अन्याय अत्याचार र त्यसका बिरुद्ध हुने संघर्षलाई देख्दैन, बुझ्दैन ।







