
कम्युनिस्ट पार्टीको सदस्य, आन्दोलन र अनुशासन मान्छे पूर्ण स्वतन्त्र हुनु भनेको एक प्रकारले चरा जस्तै हुनु हो । चरा जता उडे पनि भैगो, जुन देश पुगे पनि भैगो उस्को निम्ति कुनै सिमाना छैन, कुनै प्रतिबन्ध छैन । चराले जे खाए पनि भैगो ,जति खाए पनि भैगो र जति पटक खाए पनि भैगो, जहा खाए पनि भैगो उसलाई कुनै विधी, विधान र अनुशासनका नियमहरुले कैद गर्दैनन । तर मान्छेले त्यो गर्न मिल्दैन, किनकी मान्छेले सामाजिक, नैतिक, शारीरिक लगायत विभिन्न विधी, विधान र अनुशासनका नियमहरुलाई पालना गर्नुपर्दछ ।
मान्छे कहाँ जाने,कहाँ नजाने ? उसलाई विभिन्न बिधि, विधानले निर्देशन गरेको हुन्छ । के खाने, के नखाने, कति खाने मात्र होईन कुन ठाउमा खाने, कुन समयमा खाने र खाएको चिज लाई कुन ठाउमा फाल्ने समेत मान्छेको निम्ति निश्चित गरियको हुन्छ । त्यो निश्चित गरेको भन्दा बेग्लै गरियो भने मान्छे सामाजिक,नैतिक रुपमा मात्र होईन शारीरिक रुपमा पनि संकटमा फस्दछ । सांगठनिक रुपमा स्वतन्त्र व्यक्ति र कुनै निश्चित संगठनको सदस्य बिचको अन्तर चरा र मान्छे को अन्तर जस्तै हो । स्वतन्त्र व्यक्तिले सिद्दान्त,दर्शन, बिचार, राजनीति, संगठन र आन्दोलनवारे मात्र होईन कुनैपनि बिषयमा आफुलाई जे मन लाग्छ त्यही गर्दा भैगो । तर कुनै निश्चित राजनैतिक संगठनको सदस्यले त्यसो गर्न मिल्दैन । जतिवेला जे मन लाग्यो त्यो गर्ने छूट उसलाई हुदैन ।
पार्टीको नीति-नियम,विधी, विधानको अधिनमा रहेर पार्टी सदस्यले आफ्नो कर्म गर्नुपर्दछ । कम्युनिस्ट पार्टीको सदस्यको हकमा यो कुरा झन् बढी सत्य हो । विधिसम्मत ढंगले पार्टी सदस्यताको आवेदन स्वीकृत भैसके पश्चात कुनैपनि व्यक्ति पार्टी सदस्य बन्दछ । लेनिनवादी सांगठनिक सिद्दान्त अनुसार पार्टी सदस्य बने लगत्तै कुनैपनि व्यक्तिले पार्टीको कुनै न कुनै अंगमा रहेर काम गर्ने पर्दछ । यसरि काम गर्ने क्रममा समाजमा देखिने कुन चिज नैतिक र कुन चिज अनैतिक मात्र होईन पार्टी सदस्यले के गर्ने, के नगर्ने समेत पार्टीले आफ्नो नीति अनुसार ठोस गरेको हुन्छ । कुन काम कुन प्रक्रिया र बिधि ले गर्ने ? यसबारे नीति सुनिस्चित गरियको हुन्छ । कम्युनिस्ट पार्टी ‘चेन अफ कमाण्ड’ मा चल्ने संगठन हो । पार्टीको कुनैपनि सदस्य पार्टीको नीति,योजना र कार्यक्रमको सिमा भन्दा बाहिर हुनुहुदैन । पार्टीको योजना, नीति र निर्देशन अनुसार पार्टी र क्रान्तिको कार्यमा ईमान्दारितापुर्वक लाग्नु ईमान्दार पार्टी सदस्यको कर्तब्य हो ।
पार्टीको योजना ,नीति र निर्देशनको पालना नगर्नु ,जानेर, बुझेर पार्टीको बिधि र पद्दतिको उलंघन गर्नु, पार्टी संगठन संग कुनै सम्पर्क नगर्नु, आफु कहा छु ? के गर्दै छु ? पार्टी संगठनलाई जानाकारी नदिनु, पार्टी संगठनसंग सल्लाह समन्वय नगर्नु, आफुलाई जति वेला जे मन लाग्यो त्यही गर्नु, जता कुद्न मन लाग्यो त्यतै कुदनु गम्भीर प्रकारको अनुशासन बिहिनता र अराजकता हो । त्यसप्रकारका अनुशासन बिहिन र अराजक व्यक्तिहरु प्रति पार्टी गम्भीर र निर्मम बन्न बाध्य हुन्छ, हुनुपर्दछ । निश्चितरुपमा पार्टी सदस्यले बिबिध प्रकारका कामहरु गर्नुपर्दछ । सैद्दान्तिक, बैचारिक, राजनैतिक, सांगठनिक,आर्थिक जस्तै संघर्षको काम पनि पार्टी सदस्यले गर्नुपर्ने कामहरु मध्य एउटा मुख्य काम हो ।
वास्तवमा को क्रान्तिकारी हो भन्ने कुराको पहिचान संघर्षमा को कति दृढ र ईमान्दार छ ? भन्ने कुराले निर्क्योल गर्दछ । पित्तलको भाडा दुई दिन टिलिक,मिलिक तिन दिनमा कच्याक कुच्चुक भने झैँ संघर्षमाु दुई दिन वेस्सरी उफ्रिने र तिन दिनमा हराउने प्रवृति पार्टीको निम्ति हानिकारक हुन्छ । आमुल परिवर्तनको निम्ति सशस्त्र संघर्ष नै अनिवार्य सर्त हो । तर सशस्त्र संघर्षको आधार निर्माण गर्न र त्यसलाई सफल तुल्याउन को निम्ति जन संघर्षको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसकारण समय सन्दर्भमा रास्ट्रियता, जनतन्त्र र जनजीविका लगायत जनताका जल्दाबल्दा समस्याहरुमा पार्टीले जनसंघर्षका कार्यक्रमहरु घोषणा गर्दछ । त्यस्ता जनसंघर्षका कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउनु ईमान्दार पार्टी सदस्यको कर्तव्य हो । एउटा क्रान्तिकारीले विभिन्न मोर्चामा आफुलाई क्रान्तिकारी सिद्द गर्न सक्नुपर्दछ । सिद्दान्त,राजनीति र संगठनको मोर्चामा जस्तै संघर्षको मोर्चामा पनि आफुलाई क्रान्तिकारी सिद्द गर्न सक्ने मान्छे नै वास्तविक क्रान्तिकारी हो ।
क्रान्तिका हरेक मोर्चामा कुनैपनि व्यक्तिको निम्ति क्रान्तिकारी सिद्द गर्नको लागि अत्यावस्यक चिज हो अनुशासन । कुनै व्यक्ति अनुशासित छैन भने उ सिद्दान्तको जति सुकै ज्ञाता होस्, उ राजनीतिको जतिसुकै चतुर खेलाडी होस्, उ जस्तो सुकै संगठक होस् र उ जस्तो सुकै संघर्षशील होस् त्यसको कुनै अर्थ हुदैन । प्रायस् सुनिन्छ कतिपय सवालमा पार्टीको घेरा भन्दा माथि उठ्नु पर्दछ अक्सर रास्ट्रियताको सवालमा यो प्रसङ्ग आउने गरेको देखिन्छ । ‘ कतिपय सवालमा पार्टीको घेरा भन्दा माथि उठ्नुपर्दछ ‘ भन्नुको अर्थ यो हो कि कुनै निश्चित ठाउ सम्म पुग्ने पार्टीको नीति छैन, योजना छैन भने त्यस्तो अवस्थामा व्यक्तिले पार्टीको घेरा नाघेर अघि बढ्नु पर्दछ र त्यो ठाउ सम्म व्यक्ति पुग्नुपर्दछ । रास्ट्रियता लगायत कुनैपनि सन्दर्भमा बुर्जुवा पार्टीको निम्ति यो कुरा सत्य हो तर कम्युनिस्ट पार्टीको निम्ति यो सत्य होईन । किनकी बुर्जुवा हरुको रास्ट्रवाद अवसरवादी प्रकारको रास्ट्रवाद हो । उनीहरुले आफ्नो सत्ता स्वार्थको आधारमा रास्ट्रियताको सौदावाजी गर्दछन ।
राष्टियताको सवालमा अडान लिएर आफ्नो सत्ता जोगिने अवस्थामा अडान लिन्छन र अडान नलिदा सत्ता र कुर्सि जोगिन्छ भने उनीहरुले अडान छोड्छन । वास्तविक जनतान्त्रिक र जनसेवी कम्युनिस्ट नै हुन्छन । बुर्जुवाहरू कहिल्यै पनि जनतान्त्रिक र जनसेवी हुन् सक्दैनन । उनीहरुको प्रजातन्त्र र जनसेवा भनेको हात्तिको देखाउने दांत जस्तै हो ।कम्युनिस्टहरु जनतन्त्र र जनजीविकाको सवालमा जस्तै रास्ट्रियताको सवालमा पनि कहिल्यै कसै संग सम्झौता गर्दैनन ,सधै दृढ हुन्छन । आवस्यकता परे एक थोपा रगत रहुन्जेल रास्ट्रको पक्षमा लड्न कम्युनिस्टहरु तयार हुन्छन । तत्कालिन सोभियत संघको सक्षाको निम्ति लाखौ सोभियत कम्युनिस्टहरुले आफ्नो जिबन आहुति दिएका थिए । त्यस्तै तत्कालिन चीनको रक्षाको निम्ति हजारौ चिनियाँ कम्युनिस्टहरुले बलिदान गरेका थिए । अत हामि दावीका साथ भन्न सक्छौ संसारका सबभन्दा सच्चा देशभक्त कम्युनिस्टहरु नै हुन् । संसारमा चल्ने कुनैपनि न्यायिक संघर्षमा कम्युनिस्ट पार्टीको साथ,सहयोग ,सहभागिता र एक्यबद्धता अनिवार्य रहन्छ । यदि कुनै कम्युनिस्ट पार्टीले त्यसप्रकारको न्यायिक आन्दोलनमा साथ,सहयोग, सहभागिता र एक्यबद्धता जनाउदैन भने अब सोच्नुपर्दछ त्यो पार्टी कम्युनिस्ट पार्टी हो कि होईन ?
त्यसकारण राष्टियता,जनतन्त्र र जनजीविका साथै हरेक न्यायिक आन्दोलनमा कम्युनिस्ट पार्टी अग्रिम मोर्चामा रहेको हुन्छ । यो स्थिति हुदा हुदै कम्युनिस्ट पार्टीको कुनैपनि सदस्यले कुनैपनि न्यायिक आन्दोलनको निम्ति पार्टीको घेरा तोड्नु , पार्टी भन्दा अगाडी दौडन खोज्नु र पार्टी भन्दा माथि उठेको स्वाङ्ग गर्नु भनेको हास्यास्पद कुरा हो । आज सम्मको सबभन्दा बैज्ञानिक सिद्दान्तले निर्देशित गरेको पार्टी कम्युनिस्ट पार्टी नै हो । कम्युनिस्ट पार्टीको सदस्यको निम्ति सबथोक पार्टी नै हो । उसको निम्ति तल-माथि, दाया-बाया, अघि -पछि सबै पार्टी नै हो । पार्टीको नीति, योजना र कार्यक्रममा चल्नु कम्युनिस्ट पार्टीको सदस्यको कर्तब्य हो । पार्टीको नीति, योजना र कार्यक्रम भन्दा अगाडी जानु या पछाडी हुनु कम्युनिस्ट पार्टीको सदस्यको निम्ति अनुशासन विहिनता र अराजकता हो । पार्टीले आयोजना गरेको बैठक ,संघर्ष लगायत विभिन्न कार्यक्रममा सहभागी नहुनु पनि अनुशासन बिहिनता हो । त्यस्ता कार्यक्रमहरुमा निरन्तर सहभागी भएर पार्टीका कार्यक्रमहरु सफल बनाउनको निम्ति पार्टी सदस्यले बिशेष भूमिका निर्वाह गर्नुपर्दछ ।
संघर्ष सम्वन्धी या अन्य सवालमा पार्टीका केही अपुग देखिन्छन भने त्यसलाई सच्यायर अघि बढ्नको निम्ति पार्टीलाई रचनात्मक सुझाव दिनु पार्टी सदस्यको कर्तब्य हो । त्यसको बिपरित पार्टीको बैठक,संघर्ष जस्ता कार्यक्रममा सहभागी नहुने, भै हाले पनि बैठकमा सहभागी हुने तर संघर्षको कार्यक्रममा सहभागी नहुने , संघर्षको कार्यक्रममा सहभागी हुने तर बैठकमा सहभागी नहुने, पार्टी संग कुनै सम्पर्क,सल्लाह र समन्वय नै नगरी पार्टीको योजना भन्दा बेग्लै आफ्नै सुर, तालमा विभिन्न समुहले आयोजना गरेको विभिन्न संघर्षको कार्यक्रमहरुमा हाम फाल्ने तथा आफै कुनै समुहको गठन गरि संघर्षको कार्यक्रम गर्ने ईत्यादि गतिविधिहरु कम्युनिस्ट पार्टीको सदस्यको निम्ति पटक्कै सुहाउने चिज होईनन । ति त सांगठनिक अराजकता हुन् । आज एक जना पार्टी सदस्यले त्यस्तो गर्यो,भोलि अर्कोले गर्ला ,त्यसरी नै सबैले गर्यो भने पार्टीको के औचित्य रह्यो ? कम्युनिस्ट पार्टी भित्र पार्टीको नीति,बिधि,पद्दति,प्रक्रिया र अनुशासनका नियमहरुमा छलफल र परिमार्जन हुन् सक्छन तर तिनको उलंघन कदापि हुन् सक्दैनन । न्यायिक संघर्षका कार्यक्रमहरुमा सहभागी हुनु राम्रो कुरा हो तर स्वतन्त्र व्यक्तिले झैँ आफुखुशी त्यस्ता कार्यक्रममा सहभागी हुने छुट कम्युनिस्ट पार्टीको सदस्यलाई हुदैन ।
कम्युनिस्ट पार्टीको सदस्यले त्यस्ता कार्यक्रममा सहभागी हुनको निम्ति आवस्यक पार्टी प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । के हो त्यो प्रक्रिया ? वास्तवमा आफु आबद्ध पार्टी कमिटिमा जानाकारी गर्ने र त्यो कमिटिको अनुमतिमा मात्र त्यस्ता कार्यक्रममा सहभागी हुने नै पार्टी प्रक्रिया हो । तर त्यसप्रकारको पार्टी प्रक्रिया बिना नै विभिन्न खाले आन्दोलनमा आफुखुशी समाहित हुने व्यक्तिहरुलाई सामान्य आन्दोलनको दृष्टिकोणवाट मात्र हेर्दा ति व्यक्तिहरु आन्दोलनकारी हुन् सक्छन र आन्दोलनकारी हुनुको नाताले उनीहरुले आन्दोलनमा पूर्याएको योगदानको आफनै ठाउमा महत्व पनि होला । तर कम्युनिस्ट पार्टी ,संगठन र अनुशासनको दृष्टिकोणले हेर्दा तिनीहरु आन्दोलन कर्मी कम र आवारागर्दी बढी हुन् । आवारागर्दी र आन्दोलन कर्मी फरक चिज हुन् । आन्दोलनकर्मीको अनुशासित पार्टी संगठन हुन्छ र उसले आन्दोलनमा आफ्नो पार्टी संगठनको कमाण्ड कन्ट्रोल, बिधि,पद्दति ,प्रक्रिया र अनुशासनलाई स्वीकार गर्दछ । तर आवारागर्दीको कुनै पार्टी संगठन हुदैन । भैहाले पनि औपचारिकताको निम्ति मात्र हुन्छ उसले पार्टी संगठनको कमाण्ड कन्ट्रोल, बिधि,पद्दति ,प्रक्रिया र अनुशासनलाई स्विकार गर्दैन , आफुलाई जे मन लग्यो त्यही गर्दछ । सारमा मुलत बर्गीय समाजमा कुनैपनि चिज स्वतन्त्र हुदैन । यो या त्यो ढंगले कुनैपनि चिज एउटा बर्गको पक्षमा रहेको हुन्छ ।
कम्युनिस्ट पार्टीको सदस्य बन्नु भनेको सर्वहारावर्गको अगुवा बन्नु हो । कम्युनिस्ट पार्टीको सदस्यता भनेको सर्वहाराबर्गको नेतृत्व गर्ने लाईसेन्स हो । तसर्थ सर्वहारा बर्गको नेता बन्ने व्यक्ति सांगठनिक रुपमा अराजक होईन अनुशासित र मर्यादित हुनुपर्दछ । एउटा कम्युनिस्टले लाखौ सर्वहारा ,सुकुम्वासी ,मजदुरहरुलाई सांगठनिक अनुशासनको पाठ पढाउनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा आफै सांगठनिक अनुशासनको लिग देखि चिप्लियको अवस्थामा स्थिति के होला ?
सहजै अनुमान गर्न सकिन्छ । नियत सहि होला, गरेको काम सहि होला त्यसमा प्रक्रिया पनि सही हुनुपर्दछ अनिमात्र दृघकालिन परिणाम पनि सहि हुन्छ । त्यसकारण लेनिन भन्नुहुन्छ- ‘नियत होईन मुख्य कुरा परिणाम हो’ । अवश्य सहि परिणामको निम्ति सहि प्रक्रिया अत्यावस्यक हुन्छ ।







