२०२८ सालमा झापा विद्रोह भयो। २०२८ सालमा नै मोरङमा नेपाल कम्युनिष्ट पार्टीमार्क्सवादी लेनिनवादीको जन्म भयो। झापामा झापा जिल्ला कमिटि र नेपाल कम्युनिष्ट पार्टी बन्यो। झापामा सीपी मैनाली, राधाकृष्ण मैनाली, मुकुन्द न्यौपाने, केपी ओलीहरु हुनुहुन्थ्यो। यता पट्टी म लगायतका साथीहरु थियौ। २०२८ सालमा म गौरबाट काठमाडौं र काठमाडौंबाट विराटनगर पुगे। विराटनगरमा म नेपाल बैंकमा जागिर गर्ने सिलसिलामा (कार्यालय सहायक) को काम गर्न त्यहाँ गए। त्यहाँको कमिटीमा म संगठित भएँ। त्यही बेलामा ०३० सालमा सीपी मैनालीसंग मेरो भेट भेट भयो।

०३१ सालको जेठमा हामीले क्रान्तिकारी राष्टिय अपिल निकाल्यौ। ०३२ सालको जेठ महिनामा त्यसपछि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोर्डिनेसनमार्क्सवादी, लेनिनवादी बनायौ।( छोटकरीमा कोके भन्यौ।) त्यसै सन्दर्भमा कम्युनिष्ट पार्टीका छुट्टाछुट्टै समुहसंग कुराकानी भयो। सबैलाई एकतावद्ध गर्दै जाने स्थिती बन्यो। यही क्रममा हामी थुनामा परयौ। सीपी मैनाली झापाबाट, रामचन्द्र यादव मोरङ र म धनुषाबाट थुनामा परें। दुई वर्षपछि म थुनामुक्त भएँ। सीपी मैनालीले नख्खु विद्रोह गर्नुभयो। त्यसपछि म र सीपी मैनाली कोर्डिनेसन केन्द्रको पोलिटव्यूरो सदस्य भयौ। सीपी मैनाली, रामचन्द्र यादव र म पोलिटव्युरो सदस्य भयौ। कोर्डिनेसन केन्द्रको संस्थापकहरुमध्ये म, झलनाथ खनाल, अमृत बोहरा र मुकुन्द न्यौपाने पार्टीमा बांकी छौ।

०३४ सालमा म जेलबाट मुक्त भएँ। पार्टीको सचिव हुनुहुन्थ्यो, सीपी मैनाली। त्यससछि सीपीले मलाई पटनामा पठाउनुभयो, पार्टीको प्रकाशनको सिलसिलामा। ०३५ सालमा मलाई काठमाडौं बोलाउनुभयो। मलाई विराटनगर पठाउनुभयो। त्यहाँ मदन भण्डारी(सागर) भन्ने कमरेड हुनुहुन्छ, उहाँसंग भेटेर सम्पर्क गर्नु भन्ने निर्देशन आयो। म विराटनगर गएँ, मदन भण्डारीसंग भेट भयो। ०३५ सालको वैशाख जेठमा मदन भण्डारीसंग मेरो पहिलो भेट भयो। त्यो बेलामा रातो झण्डा समुह थियो। मदन भण्डारी सहितका नेताहरु मुक्ति मोर्चा समुहमा हुनुहुन्थ्यो। उहाँहरु ०३४ सालमा एकतावद्ध हुनुभयो। त्यसमा जीवराज आश्रित नेता हुनुभयो। मोदनाथ प्रश्रित, देवेन्द्र घिमिरे लगायतका नेताहरु हुनुहुन्थ्यो। उता, रातो झण्डा समुह थियो, कोशीबाट विद्रोह गरेको, वासु शाक्य त्यसको नेता हुनुहुन्थ्यो। उहाँ समेतको टिमलाई हामीले कोर्डिनेसन केन्द्रमा आवद्ध गर्यौ। मैले नै सपथ ग्रहण गराएँ , मदन भण्डारी समेत बसेर। त्यो बेला देखि नै मदन भण्डारीसंग परिचय र सहकार्य अघि बढ्यो।

०३५ सालको भदौ महिनामा कोर्डिनेसन केन्द्रको तेस्रो सम्मेलन गर्यौ, धनुषामा। धनुषाको जिल्लामा भएको सम्मेलनको केन्द्रिय कमिटिमा मदन भण्डारीलाई ल्याइयो। पोलिटब्युरोमा जीवराज आश्रित, सीपी मैनाली र म पोलिटब्युरो सदस्य भयौ। मुक्ति मोर्चाबाट जीवराज आश्रित पोलिटव्युरोमा पर्नुभयो। त्यसको केन्द्रिय कमिटिको बैठक काठमाडौंमा आयोजना भयो। काठमाडौंको बैठकले पार्टीको नाम( नेकपा माले) बनाउने निर्णय गर्यो। अव कम्युनिष्ट पार्टीमा रुपान्तरण गर्ने र राष्टिय सम्मेलनको आयोजना गर्ने निर्णय भयो। राष्टिय सम्मेलन मोरङमा गर्ने भनेर मदन भण्डारीलाइ जिम्मा दिइयो। मोरङको ईटहरामा उहाँकै घरको गाउँमा आयोजना भयो। त्यहीबाट नेकपा मालेको गठन भयो। पोलिटब्युरोमा सीपी मैनाली महासचिव, म जीवराज आश्रित र वैकल्पिक पोलिटव्युरो सदस्यमा अमृत बोहरा हुनुभयो। मदन भण्डारी केन्द्रिय सदस्य हुनुभयो भने मोदनाथ प्रश्रित बैकल्पिक केन्द्रिय सदस्य हुनुभयो।

०३६सालमा हामीले रुपन्देहीमा बैठक गर्यौ। वामदेव गौतमलाई वैकल्पिक केन्द्रिय सदस्यमा ल्याइयो। मेरो र मदन भण्डारीबीच सहकार्य भयो। पार्टीभित्र अनेक वैचारिक संघर्ष चले। ०३७ सालमा सबैभन्दा ठुलो वैचारिक संघर्ष चल्यो। पार्टीको कार्यक्रम कस्तो हुन्छ भन्नेमा संघर्ष भयो। प्रधानमन्त्रीको विषयमा के हो भन्ने थियो, रणनीतिक र कार्यनीतिक योजना के हुनुपर्छ भन्ने थियो। पार्टीभित्रका वैचारिक संघर्षमा पार्टीभित्र मदन भण्डारी र मेरो सामिप्यता बढदै गयो। ०३९ सालमा अर्को वैचारिक संघर्ष चल्यो। प्रधान अन्र्तविरोधमा मेरो र मदन भण्डारीको एउटै विचारधारा भयो। पार्टीमा सीपी मैनालीको अर्को विचारधारा भयो। तर हामी अल्पमतमा पर्यौ। तर अर्को बैठकसम्म पुग्दा सीपी मैनालीहरु अल्पमतमा, हामी बहुमतमा पुग्यौ।

यसैकारण, पार्टीभित्र अन्र्तविरोध बढदै गयो। सीपी मैनालीमाथि जेलमा बस्नुभएका राधाकृष्ण मैनाली, केपी ओलीहरुले जेलभित्रबाट उहाँमाथि प्रहार गर्न थाल्नुभयो। सीपी मैनालीले मलाई गुटवाज भनियो, जबसम्म आरोप फिर्ता हुंदैन, तबसम्म म पार्टीको महासचिवमा बस्दिन भन्नुभयो। सीपीले मलाई महासचिव बस्न प्रस्ताव गर्नुभयो। किनकी मदन भण्डारीपछिको नेतृत्वमा म नै थिँए। स्थापना गर्नेमा पनि म दोस्रो व्यक्ति हुँ। तर मैले म हुन चाहन्न भने। त्यसपछि मैले जीवराज आश्रितलाई प्रस्ताव राखे, उहाँ पनि तयार हुनुभएन। राजविराजमा भएको एउटा पूर्वाञ्चल व्युरोको बैठकमा मदन भण्डारीलाई त्यो प्रस्ताव मैले राखे। पूर्वाञ्चल ब्युरोको प्रमुख म थिँए। सदस्यमा मदन भण्डारी र ईश्वर पोखरेल हुनुहुन्थ्यो। सीपीले पार्टी चलाउन सक्नुहुन्न, अव तपाई महासचिव हुनुहोस भनेर मैले प्रस्ताव गरे, मदन भण्डारीलाई। तर उहाँ मान्नुभएन। मदन भण्डारीले नमानेपछि मैले झलनाथ खनाललाई प्रस्ताव गरें र उहाँ महासचिव हुनुभयो, ०३९ सालमा।

त्यसबेला पनि पार्टीभित्र कार्यक्रमको सवालमा वैचारिक संघर्ष भयोे, एउटा कित्तामा झलनाथ खनाल, अर्कोमा मदन भण्डारी उभिनुभयो। झलनाथ खनाल, जीवराज आश्रित र वामदेव गौतम एक ठाउँमा उभिनुभएको थियो। मदन भण्डारी र म अर्को तर्फ उभिएका थियौ। तर पछि, हाम्रो विचार नै सही सावित भयो। मदन भण्डारी र मेरोबीच सहकार्य हुंदै जाने सिलसिलामा विश्वमा धेरै ठूल्ठुला संकट देखा परे। समाजवादी मुलुकभित्र पनि संकट उत्पन्न भएको थियो। सोभियत संघलाई हामीले सामाजिक साम्राज्यवादी भनिरहेका थियौ। हामीले माओत्सु..विचारधारा मानिरहेका थियौ। यो विचाराधारा पनि मानिरहनु पर्दैन भन्यौ। त्यो भन्दा पहिले हामीले चाउनधाराको लाईन मान्ने गरेका थियौ, त्यो हामीले छोडिसकेका थियौ, ०३५ सालमा नै।

शसस्त्र संघर्षको बाटोबाट मुलतः शान्तिपूर्ण संघर्षको बाटोमा जाने भनेर ०३७ सालमा निर्णय गरेका थियौ। यस क्रममा पनि मदन भण्डारी र म एउटै कित्तामा उभियौ। विश्व र नेपालको कम्युनिष्ट आन्दोलन ठुलो संकटमा छ, कांग्रेसीहरुले नेपालमा कम्युनिष्टहरुको पतन हुने भयो भन्दैछन, कम्युनिष्टहरु भनेका अधिनायकवादका हिमायती हुन भन्ने प्रचार भइरहेको छ। त्यो सामना गर्ने कसरी ? हामीले अव जाने कसरी ? शान्तिपूर्ण बाटो त भन्यौ। यी विषयमा निकै ठुलो वैचारिक वादविवाद चल्न थाले। यी सबैमा वैचारिक पुनर्गठन प्रक्रिया शुरु भयो। चीनतर्फको धारणामा पनि परिवर्तन हुन थाले। चीनको कम्युनिष्ट पार्टीको विचाराधारा मान्ने हो, माओत्सेतु.. विचाराधारा मान्न जरुरी छैन भन्ने धारणा विकास भयो। माओत्सेतु…लाई विश्व सर्वहारा नेताका रुपमा सम्मान गर्ने हो। चीनको अनुभवबाट हामीले सिक्ने हो। माओत्सेतु.. जस्तै होचिमिन्ह, फिडेल क्यास्टे नेता हुनुहुन्छ, सबैको हामीले सम्मान गर्ने हो। विश्वका ५ वटा नेताका रुपमा माओत्सेतु..लाई हामीले मान्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौ। पार्टीभित्र विचार संघर्ष जारी थियो। सीपी मैनालीले शान्ति क्षेत्रको प्रस्तावको समर्थन गर्न थाल्नुभयो। राजा विरेन्द्रले ल्याएको शान्ति क्षेत्रको प्रस्ताव आफ्नो प्रतिक्रियावादी सत्ता जोगाउने दाउपेच हो भन्नेमा हामी थियौ।

त्यही क्रममा माओत्सेतुङ विचाराधारा, आन्दोलनको स्वरुप के हुने, खुला मोर्चा गठन गर्ने कि नगर्ने भन्नेमा पार्टीमा विवाद भयो। योकुरा हामीले ०३६ सालदेखि नै शुरु गरेका थियौ।

०३६ सालदेखि नै हामी विद्यार्थी संंगठन बनाउन थाग्यौ। नेपाल स्वतन्त्र मजदुर युनियन बनायौ। शिक्षक संगठन बनायौ। ती सबैमा हामी भित्रबाट नेतृत्व गर्न थाल्यौ। बाहिरी मोर्चाहरु आन्दोलनको अग्रपंक्तिमा उभिन थाले। विद्यार्थी, मजदुर, शिक्षक संगठनहरु अघि बढदै नेता जन्माउंदै गए। पञ्चायती चुनावलाई उपयोग गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुग्यौ। गाविस देखि जिल्ला विकासका चुनावको उपयोग गर्न थाल्यौ। कतिपय स्थानमा जित्यौ। धादि..मा राजेन्द्र पाण्डे जिते जस्तै। राष्टिय पञ्चायतको चुनावमा चार जना माननीयलाई जिताएर पठायौ। द्रोणराजआचार्य, पद्यरत्न तुलाधर, जागृत भेटवाल, सोमनाथ प्यासी, नवलकिशोर राईलाई निर्वाचित गरेर पठाएका थियौ। राष्टिय पञ्चायतका सदस्यहरुलाई सञ्चालन गर्ने जिम्मा मलाई नै थियो।

जबज अघि जनवादी बहुदल

०३६ सालको जनमत संग्रहमा हामीलाई ठुलो समस्या आईपर्यो। त्यो बेला कि निर्दल कि बहुदल ? दुई मध्ये एक रोज्नुपर्ने थियो। निर्दल रोज्ने कुरा भएन, बहुदल भनेपछि कांग्रेस ठान्ने। हामी न निर्दल, न बहुदल। हामी प्रजातन्त्र पनि मन नपराउने। हामी मन पराउने जनवाद। जनवाद जनताले नबुझ्ने। हामी जनवादको नारा लिएर जाने, जनता बुझदै नबुझने। प्रजातन्त्र भनेको कांग्रेसी शब्द हो, कसरी प्रयोग गर्ने ? प्रजातन्त्रका लागि लडाईमा सामेल कसरी हुने ? हामी बुर्जवा प्रजातन्त्रको पक्षमा जाने पक्षमा रहेनौ। जनवादी व्यवस्था ल्याउने भनेको फलामको च्युरा चपाउनु जस्तै हो। यी सबै स्थितीभित्र हामीले सोच्यौ, जनतालाई कन्भिन्स गर्नुपर्छ। जनतालाई कसरी साथ लिने भन्नेमा मदन भण्डारी र मेरो चिन्तन मिल्यो। त्यसपछि हामीले प्रजातन्त्र शब्द पनि प्रयोग गरौ भन्नेमा पुग्यौ। प्रजातन्त्र शब्दको प्रयोग अघि बहुदलमा केही फुंदा जोडनुपर्ने भयो। त्यसो गर्दा कम्युनिष्ट उठाएको बहुदल हुने भयो। मैले नै नाम राखें, जनवादी बहुदल। त्यो विषयले राष्टिय पञ्चायतमा प्रवेश गर्यो। सोमनाथ प्यासी लगायतले संसदमा उठाउन थाल्नुभयो। त्यसपछि त हाम्रो बहुदल ः जनवादी बहुदल भयो। मैले पनि राष्टिय पञ्चायतको ग्यालरीमा बसेर भाषण सुने। मलाई देखेपछि हाम्रा सांसदहरु झन उत्साहित भएर दन्दनाएर भाषण गर्न थाल्नुभयो।

रुसपन्थी कम्युनिष्टका तर्फबाट भीमबहादुर श्रेष्ठसंग सहकार्य चल्यो। भूमिगत तर्फबाट काठमाडौंको जिम्मा मेरो थियो। काठमाडौंको पार्टी संगठन चलाउने जिम्मा मेरै थियो। मध्य उत्तरको अमृत बोहरा, पूर्व उत्तरको जिम्मा मदन भण्डारीलाई थियो। जनताको बीचमा जाने कसरी त ? जनताले बुझ्ने भाषा बोल्नुपर्नेछ। जनताको समर्थन नपाए त कम्युनिष्ट पार्टी टिक्दै टिक्दैन। जनता नै हाम्रो राजनीतिको केन्द्रविन्दु बन्नुपर्छ। जनताले बुझने भाषा प्रयोग गर्ने, जनताको मन र विश्वास जित्ने, जनताको दुःख सुखमा सहभागी हुने, जनतासंग एकाकार हुने भन्ने मुल मान्यतामा जोड दिन थाल्यौ। जनताको बहुदलीय जनवादको मुल मर्म त्यहाँ आएर आउँछ।

दोस्रो भनेको, कम्युनिष्ट पार्टीमाथि विश्वव्यापी प्रहार भइरहेको छ र अधिनायकवादको आरोप लागिरहेको छ, सर्वहाराको अभिनाकत्वको हामी नारा दिइरहेका छौ। अव हामीले सर्वहाराको अधिनायकत्वबाट हिंडने हो भने बुर्जुवा मध्यमवर्गीयले हामीलाई विश्वास गर्ने आधार बन्दैन, त्यसैले हामीले पुरानै पाराले हिंडेर हुंदैन। परिस्थितीममा परिवर्तन भइरहेको छ। कम्युनिष्ट आन्दोलनले ठुलो संकटको सामना गरिरहेको छ। नयाँ शिराबाट हामी अघि बढनुपर्छ भनेर विश्व कम्युनिष्ट आन्दोलनको अध्ययन गर्न थाल्यौ। त्यसको पनि समिक्षा र मूल्यांकन गर्न थाल्यौ। शोभियत संघ र पूर्वी युरोपका पतनका कारण खोजी गर्न थाल्यौ। सोभियत संघमा पनि संकट आइसकेको थियो। यी सबै कारणले हामीले नयाँ उपायबाट नगई सुख छैन भन्ने निष्कर्षमा पुग्यौ। अब चुनावी पक्षमा उभिने।

हामीले पञ्चायतको चुनावको उपयोग गर्दा पनि हामीले सकारात्मक निष्कर्षमा पुगिसकेका थियो। त्यसैले हामीले प्रतिष्पर्धाको राजनीतिमा उत्कृष्टता प्रदर्शन गर्ने। हामी सर्वहाराको नेतृत्व भन्छौ, तर सर्वहाराको नेतृत्वमा हुने विशेषता के होत ? त्यो सर्वहारा भनेको त्याग,समर्पण र बलिदानको हिसाबले अग्रपंक्तिमा छ नै, विचार, चिन्तन र कार्यशैलीको हिसाबले पनि हुनुपरयो। अरु सबै प्रतिष्पर्धामा सर्व श्रेष्ठ हुनुपर्यो। त्यत्तिकै सर्वहारा वर्गको अगुवा दस्ताका रुपमा मान्न सकिन्न। अगुवामा हुने विशेषता हुनुपर्यो। त्यो अगुवा भनेको बन्दुक देखाएर मात्र हुने होइन, बन्दुकको मोर्चामा मात्र अगुवा भएर पुग्दैन। शानितपूर्ण मोर्चामा पनि अगुवा बन्नुपर्छ। एकपटकको जितको आधारमा मात्र हुंदैन। एकपटकको जितमा के देखियो भने कम्युनिष्ट पार्टीहरुमा सत्ताको दम्भ हुंदोरहेछ। जनताको स्वनिगरानीलाई स्वीकार गर्दा रहेनछन। त्यसैले हाम्रो कम्युनिष्ट पार्टीलाई पनि लोकतान्त्रिककरण गर्नुपर्छ, पार्टीको प्रजातान्त्रिकरण गर्ने, राज्यसत्ताको पनि प्रजातान्त्रिकरण गर्ने, सरकार र समाजको पनि प्रजातान्त्रिकरण गर्ने। अर्थात समाजमा रहेका विकृति, विसंगति हटाएर अन्याय अत्याचारमा पिल्सिएका गरिब, निमुखाको कल्याणको निम्ति नै समावेशी मान्यतलाई सारेर अघि बढनुपर्छ। सहभागिता सुनिश्चित गरि उनिहरुलाई निर्णायक बनाउनुपर्छ। त्यसैले हामीले जन आधारित कम्युनिष्ट पार्टी बनाउनुपर्छ भन्न थाल्यौ। पहिले हामी कार्यकर्ता आधारित पार्टी बनाइरहेका थियौ। पछि हामी जनताको बहुदलीय जनवादको कार्यक्रममा विस्तारै पुग्न थालिसकेपछि त्यसबेला बहुदलीय जनवाद मात्र भन्यौ। त्यसको आधारमा मदन भण्डारीले एउटा किताब लेख्नुभयो। त्यो पुस्तिकाको विचारमा हाम्रो सहमति थियो। त्यसको मुल आधारमा हामीले पार्टीको चौथो महाधिवेशन सिराहामा गर्यौ।

सिराहा महाधिवेशनबाट मदन भण्डारी महासचिव

मैले र जिवराज आश्रितले सिराहा र उदयपुरको बोर्डरमा पार्टीको चौथौ महाधिवेशन स्थल छनोट गरेका थियौ। बोर्डरमा प्रहरीको घेराउ भयो भनेपछि हामी त्यो ठाउँ छोडेर सिराहाको गाउमा महाधिवेशन गर्यौ। मदन भण्डारीलाई महासचिव बनाइयो , झलनाथ खनालको ठाउँमा। तर जनताको बहुदलीय जनवाद त्यो बेला पारित भएन। त्यो प्रस्ताव गरिएको थिएन। तर त्यो धारणा दस्तावेजमा आयो। दस्तावेजमा आइसकेपछि पार्टीभित्र निकै बहस र विवाद चल्न थाले। ०४६ सालको भदौमा चौथो महाधिवेशनबाट महत्वपूर्ण निर्णय गर्यौ, त्यो हो, पञ्चायत विरोधी आन्दोलनमा सहभागी हुने। त्यो भन्दा पहिले हामीले कांग्रेस नेतृत्वको आन्दोलनमा भाग नलिने भनेका थियौ। कम्युनिष्ट पार्टी आफै आन्दोलनको नेता हो भने सबै समाज, सर्वहारा वर्गको नेता हो भने हामीले अरुको नेतृत्वमा जाने होइन। अगुवाइ हामीले गर्नुपर्छ। स्वंय शक्तिको निर्माण गर्नुपर्छ। अरु कम्युनिष्ट पार्टी र हामीमा के फरक भयो भने मनमोहन, पुष्पलाल वा तुल्सीलाल भन्नुहोस, या मानन्धर समुह होस कांग्रेस परस्त चिन्तन थियो।

अर्कोतर्फ मोहन विक्रम सिंहजीहरुमा आफ्नो ढंगले चल्ने चिन्तन थियोे। तर हामीले आफ्नो स्वयं शक्ति निर्माण गरेर नयाँ चिन्तन र सोचसाथ अघि बढन खोज्यौं, तर हामीले आफुले मात्र जित्न सक्दैनौ भनेर विगतका आन्दोलनको निष्कर्षबाट पुग्यौै। त्यसपछि हामीले पूर्ण प्रजातन्त्रको निम्ति लाग्नुपर्छ भनेर महाधिवेशनबाट निर्णय गर्यौ। त्यो भन्दा पहिले प्रजातन्त्र शब्दको प्रयोग गर्नुपर्छ भन्ने मान्यतामा हामी पुग्यौ। प्रजातान्त्रिक राष्टिय एकता मंचको निर्माण गर्यौ। त्यो निर्माण गर्नेमा मदन भण्डारी र मेरो भूमिका महत्वपूर्ण रह्यो। बद्री खतिवडा प्रमुख बनायौ। पद्यरत्न तुलाधार, सुशील प्याकुरेल, प्रकाश काफ्ले र गौरी प्रधानलाई संगठित गर्यौ र विभिन्न कामको जिम्मा दियौ। त्यही बेलामा हामीले सोचेको के हो भने , प्रजातन्त्रलाई प्रयोग गर्ने भनेर लेख प्रकाशित गर्यौ। प्रजातन्त्र पुस्तिकाको नामै लेख्यौ। जनतामा जान जनपक्षीय उम्मेदवारको नारा दिएका थियौ। त्यसको ट्रेडमार्क माले हो भन्ने थियो। अखिल पांचौ पनि माले हो भन्ने भयो। यो माले कहाँबाट आयो भन्ने चर्चा भयो। विपी कोइरालाले मालेको रिकोनाइजेशसन गरे। त्यसले एक ढंगको अवस्था रह्यो। माले भन्ने एउटा ट्रेडमार्क रह्यो। चौथो महाधिवेशन पनि छुट्टै मोर्चा थियो। हाम्रो छुट्टै समुह थियो। अरु वामपन्थीसंग मिलेर हामी वामपन्थी मोर्चा बनाउन थाल्यौै। मोर्चा बनेपछि पञ्चायत विरोधी आन्दोलनका लागि कांग्रेससंग वार्ता गर्ने जिम्मा दियो। वामपन्थीसंग वार्ता गर्ने काम मैले गरे।

किसुनजीले भन्नुभयो, अमेरिकालाई थाहा नदिनु

पञ्चायत विरुद्धको आन्दोलनमा कांग्रेर कम्युनिष्टहरु मिलेर अघि बढने प्रस्ताव गर्यौ। कांग्रेसले वामपन्थीहरु एक ठाउ भएर आउनुहोस भन्ने प्रस्ताव राख्यो। गणेशमानजीले कांग्रेस र कम्युनिष्ट नमिली पञ्चायत ढाल्न सकिदैन भन्नुभयो। कृष्णप्रसाद भट्टराईजीले पनि मिलेर जाने कुरा त ठिक हो, तर यो अमेरिकालाई नभन्नुहोला है, अमेरिकाले थाहा पाए त हामी टिक्नै सक्दैनौ भन्नुभयोे। भित्रभित्रै समन्वय गर्ने, अमेरिकालाई थाहा नदिने कुरा भयो। गिरिजाप्रसाद कोइराला सहमत नभएपनि मुण्टो हल्लाएर एक ढंगले सहमत हुनुभयो। प्रजातान्त्रिक राष्टिय एकता मञ्चको जिम्मा हामीले जेलाट छुटेका राधाकृष्ण मैनालीलाई दिएका थियौ। पार्टीभित्रबाट चलाउने जिम्मा मेरो,खुला मोर्चाबाट राधाकृष्ण मैनालीले मञ्च चलाउनुभयो।

जबजबारे वैचारिक बहस गर्ने धारणा बन्यो

महासचिव मदन भण्डारी बनेपछि जबजबारे वैचारिक बहस चलाउने निष्कर्षमा पुग्यौ। त्यही बेला ०४६ सालको आन्दोलन सफल भयो। ०४७ मा अन्तरिम सरकार बन्ने अवस्था आयो। सरकारमा झलनाथ खनाल र संविधान बनाउने काममा मलाई पठाइयो निर्णय भयो। निर्मल लामा, भरतमोहन अधिकारी र म वामपन्थीबाट। तीनजना कांग्रेस र तीनजना दरवारबाट थियौ। त्यही बेला मेरो र भरतमोहनजीको निकटता पनि बढ्यो, केमिष्टी पनि मिल्यो। मनमोहनजीलाई तान्न र पार्टी एकता गर्ने भुमिका हामीले नै खेल्यौ।

६ बुँदे फरक मत नै जबज

हामीले तीन महिनामा संविधान बनायौ। पाँच महिनामा जारी भयो। हामीले संविधानमा ६ बुंदे फरक मत राख्यौ। त्यसैलाई मदन भण्डारीले विस्तृत गरेर २७ बुंदे फरकमतका रुपमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुुभयो। मदन भण्डारीले राष्टिय र अन्र्तराष्टिय र परिस्थितीको आंकलन गर्नुभयो, अव पुरानो पाराले होइन, नयाँ ढंगले जाऔ। अवमार्क्सवादलाई जडसुत्रवादका रुपमा बुझेर पार लाग्दैन। सिर्जनात्मक रुपमा नेपालमा बुझौ। यसको सिर्जनात्मक रुपमा प्रयोग गरौ। विकास गरौ। हामीले दुईटा नारा दियौ। कम्युनिष्ट आन्दोलन एउटा जडसुत्रवाद र दक्षिणपन्थी आत्मसमर्पणवादी विसर्जनवादी। हामीले पार्टीले कार्यकर्तालाई वैचारिक रुपमा स्पष्ट गर्न वैचारिक कार्यदिशा अघि सार्यौ उग्र दक्षिणपन्थको भण्डाफोर र विरोध गरौ , उग्रवामपन्थी जडसुत्रवादको विरोध र भण्डाफोर गरौ ,मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौ। त्यो वैचारिक कार्यदिशा हामीले तय गर्यौ। नयाँ धार भनेको जनताको बहुदलीय जनवाद हो र यो नेकपा मालेले बोक्ने निष्कर्षमा पुग्यौ।

पांचौ महाधिवेशन (मनमोहनजीसंग वार्ता शुरु भयो। भरतमोहनजीलाई घोषणापत्र बनाउने जिम्मा दिइयो। उहाँले पनि जबजको मुल मर्म र भावनालाई नै समातेर घोषणापत्र बनाउनुभयो। हामी पांचौ महाधिवेशनको प्लेटफर्ममा गयौ। त्यो भन्दा अघि दस्तावेजमा निकै बहस र विवादहरु भए। महाधिवेशनमा सीपी मैनालीले परम्परागत जनताको नयाँ जनवादको अवधारणा बोक्नुभयो, मोहनचन्द्र अधिकारीको पनि पुरातनशैलीको कार्यक्रम थियो, रघुजी पन्तले सामाजिक जनवादको कार्यक्रम ल्याउनुभएको थियो। दस्तावेजहरु वितरण भए, व्यापक बहसहरु भए। महाधिवेशन हलमा पुगेपछि भोटि..भयो।अत्याधिक बहुमतले जनताको बहुदलीय जनवाद पास भयो। अरु विचार फेल भए।

यो विचार पास हुने वित्तिकै विश्वमा नयाँ तरंग पैदा गर्यो। पांचौ महाधिवेशन लगत्तै चीनको कम्युनिष्ट पार्टीले हाम्रो पार्टीलाई भ्रमणको निम्ता दियो। भूमिगत कालमा पनि दुईवटा भ्रमण त भएका थिए। ०५० सालमा मदन भण्डारीको नेतृत्वमा हामी १० जना चिन भ्रमणमा गयौ। त्यसपछि भारतको पार्टीले हामीलाई निम्ता गर्यो। (बदलिदो परिस्थितीमामार्क्सवादको सान्दर्भिकता) का विषयमा मदन भण्डारी र म कलकत्ताको सेमिनारमा गयौ। त्यहाँ मदन भण्डारीले जनताको बहुदलीय जनवादको प्रस्तुति गर्नुभयो। त्यसपछि पुरै हंगामा मच्चियो। कम्युनिष्ट पार्टीका बीचमा हल्लीखल्ली भयो। कम्युनिष्ट पार्टी प्रतिष्पर्धाको बाटोमा जाने हो भने त कसरी टिक्न सक्छ ? भन्ने कुरा आए। अफ्रिका र ब्राजिलको कम्युनिष्ट पार्टीले मात्र समर्थन जनाए। चीन, भियतनाम, क्युबा, उत्तर कोरिया लगायतका कम्युनिष्ट पार्टीले रिजर्बेसन राखे। मदन भण्डारी भारतबाट फर्केपछि पोखराको कार्यक्रममा जानुभयो। पोखराबाट चितवनको कार्यक्रम र पूर्वको भ्रमण थियो , उहाँको। तर दासढुंगा दुर्घटनामा उहाँको २०५० जेठ ३ गते निधन भयो। त्यसपछि पार्टीको केन्द्रिय कमिटिको बैठकबाट म पार्टीको महासचिवमा निर्वाचित भएं।

मेरो नजरमा मदन भण्डारी

मदन भण्डारीको व्यक्तित्वकला असाधरण थियो , वौद्धिक क्षमता अत्यन्तै तिक्ष्ण थियो। परिस्थितीको आंकलन गर्न सक्ने, नयाँ नयाँ सिर्जनात्मक सोच र चिन्तन राख्ने। जडसुत्रवादबाट मुक्त हुनुपर्छ भन्ने मान्यता थियो।मार्क्सवादलाई धर्मसुत्रको रुपमा लिनहुदैन भन्ने, देश विशेषको परिस्थितीमा लागु गर्नुपर्छ। लागु गर्न सक्यौ भने ठिक ढंगले बुझन सक्छौ। सफल बनाउन सक्छौ। बेठिक ढंगले बुझयौ भने ठुलो दुघटना निम्त्याउंछ र, त्यही कारण सोभियत संघ दुर्घटनामा पर्यो।मार्क्सवाद र समाजवादलाइ जोगाउनुछ भनेमार्क्सवादको सिर्जनात्मक प्रयोग गरेर जानुपर्छ , यसका लागि प्रतिष्पर्धाको राजनीति स्वीकारगर्नुपर्छ , भन्दै उहाँले जनताको बहुदलीयय जनवादको कार्यक्रम प्रस्तुत गर्नुभयो। त्यो प्रतिष्पर्धा सबै क्षेत्रमा हो। राजनीति,आर्थिक, सामाजिक, सांस्कृतिक र विदेशी सम्वन्ध सञ्चालनमा गर्नुपर्छ भन्दै अहिलेसम्म हामीले भन्दै आएको भारतलाई विस्तारवाद र अमेरिकालाई साम्राज्यवाद यो गरेर हामी बदलिएको परिस्थितीमा जान सक्दैनौ। कम्युनिष्ट पार्टीले शासन सत्ता चलाउन सक्दैन। त्यसैले अव हामीले देश विशेषलाई किटेर सत्रु घोषणा गर्ने काम नगरौ। प्रमुख सत्रु एउटा छ भने त्यसको किटान गरौ। राजतन्त्रको अन्र्तविरोध प्रमुख हो। अहिले विदेशी राष्टसंगको अन्र्तविरोध प्रमुख होइन, तर उनिहरुका गलत नीतिको एकिकृत रुपमा जुध्नुपर्छ। जहाँ जुन जुन प्रवृत्ति देखिन्छ, त्यसको विरोध गरौ। त्यो दुरदर्शिता उहाँले देखाउनुभएको थियो।

यस अर्थमा पार्टीलाई सञ्चालन गर्ने सिद्धान्तमा पनि सामुहिक नेतृत्वको सिद्धान्तको आधारमा चल्नुपर्छ। पार्टीलाई कार्यकर्ताको पार्टी बनाउनुर्छ। त्यो कार्यकर्ता भनेको जनतामा आधारित हुनुपर्छ। हामो पार्टी भनेको जनआधारित कार्यकर्तामा आधारित पार्टी हुनुपर्छ। नामै राखियो, जनआधारित कार्यकर्ता पार्टी। जनतामा आधार नभएको पार्टीले केही पनि गर्न सक्दैन। जनतामा आधार छ, तर कार्यकर्ता छैनन भने त्यो बेला पनि पार्टीले केही गर्न सक्दैन। नेता र कार्यकर्ता जनतासंग जोडिएन भने त्यसले पनि केही गर्न सक्दैन। संगठित व्यवस्थित भएनन भने पनि केही हु.दैन। त्यसैले विचारको हिसाबले एकातिर नयाँ सोच विकसित भयो, संगठनात्मक सिद्धान्तको रुपमा अर्कोतर्फ सामुहिकता, सामुहिक नेतृत्वमा जाने सिद्धान्त मान्यता भयो। आचरणकाहिसाबले सर्वहारा क्रान्तिकारी। कार्यशैली जनवादी कार्यशैली अनुसरण गर्नुपर्छ र जनताको सुख दुखमा हामी सहभागी हुनुपर्छ भन्ने मान्यता राख्यौ। नेपाली समाजलाई अघि बढाउन नेपाली क्रान्ति अनेक चरणमा अघि बढछ र एकैपटक समाजवाद आउंदैन। समाजवाद ल्याउन हामीले प्रक्रियाबाट अघि बढनुपर्छ। प्रत्रियाबाट नगुज्रे सोभियत संघको जस्तै दुर्घटना हुन्छ, उसले एकैचोटी साम्यवादको कार्यक्रम घोषणा गरेको थियो। अति हतारमा गरिएको निर्णय थियो। हतार पनि नगने, ढिला पनि नगर्ने, सन्तुलित भएर अघि बढने नै जनताको बहुदलीय जनवादको नीति हो।

जनतामाथि भरोसा गर्नु, जनताकै लागि राजनीति गर्नु मुल सारतत्व हो। पार्टीको क्रान्तिकारीकरण गर्नु। क्रान्तिकारी चेत, चिन्तन र विचारबाट र कार्यशैलीबाट दिक्षित गर्नुपर्छ भन्ने त्यसको विचार हो। कम्युनिष्ट पार्टी राष्टियताका लागि दृढतापुर्वक लडने पार्टी हो। राष्टियताको झण्डा बुलन्द कसैले गर्न सक्छ भने त्यो हो कम्युनिष्ट पार्टी। कम्युनिष्ट पार्टी नरहे राष्टिय अस्तित्व रहन सक्दैन। जनताको जनजीवीकाको झण्डा पनि कम्युनिष्ट पार्टीले नै बोक्नुपर्छ।

हामीले क्रान्ति सफल पार्ने, सामन्तवादका अवशेषको विनास गर्ने, समाजवादको आधारशिला तयार गर्ने, समाजवादी क्रान्तिको चरणमा प्रवेश गर्नुपर्छ भनेर संक्रमणकालको चरणबाट अघि बढछौ भन्ने मान्यता जबजले ल्यायो। आजको सन्दर्भमा मदन भण्डारीले अघि सार्नुभएको यो विचारको सान्दर्भिकता समाप्त भएको छैन। कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरणको खांचो अहिले झन खडकिएको छ। हाम्रा काम र तौरतरिकाकाको त्रृटिले गर्दा अधिनायकवादको आरोप लागिरहेको छ। पार्टी सञ्चालन विधिमा पनि समस्या देखिएका छन। वैचारिक रुपमा होस वा संगठनात्मक रुपमा होस, या कार्यशैलीको क्षेत्रमा होस, तीनवटै क्षेत्रमा हामीले काम गरेर कम्युनिष्ट पार्टीलाई प्यारो र लोकप्रिय पार्टीको रुपमा स्थापित गर्ने काममा जाने हो भने जबजको मर्म र भावनालाई आत्मसाथ गरेर जानुपर्छ। यो गर्न सक्यौ भने मदन भण्डारीप्रतिको सच्चा सम्मान र श्रद्धांजली हुन सक्दछ। दृढतासाथ अघि बढने र लचकतासाथ प्रस्तुत हुने, यी दुईको संगम नै जबज हो। रणनीतिमा दृढ र कार्यनीतिमा लचिलो हुने जबजको मान्यता हो।

जबजको सारतत्व परिवर्तन हुँदैन

परिस्थितीमा परिवर्तन भएको छ। जनक्रान्ति सम्पन्न गर्यौ। राजतन्त्र अन्त्य गरयौ। गणतन्त्रमा प्रवेश गर्यौ र समाजवादको दिशामा अघि बढने नीति पनि अवलम्वन गरयौ। बहुदलीय प्रतिष्पर्धाको मुल मान्यताको उपदेहिता सकिएको छैन। महाधिवेशनसम्म छलफल गर्छौ। बदलिएको परिस्थितीमा पनि जबजलाई परिमार्जन र परिस्कृत गरेर नयाँ ढंगले अघि बढनुपर्ने आवश्यक्ता छ। जबजले नै परिस्थिती बदलियो भने हाम्रा कार्यनीति र रणनीति बदलिन्छन भनेको छ। हाम्रो नारा पनि बदलिन्छ। नाम मात्र परिवर्तन गर्ने हो कि? सारतत्व परिवर्तन गर्ने कुरा आउदैन। नाम र अरु विषयमा हेर्नुपर्ने हो। राजतन्त्र रहेकै बेला अघि सारिएकाले जबजलाई राम्रोसंग हेर्नुपर्ने हुन्छ। कार्यक्रम र विचारको पक्षबाट नयाँ ढंगले अध्ययन गरेर परिस्कृत गर्नुपर्छ।

सत्ताधारी नेकपा वरिष्ठ नेता नेपालसँग अन्नपूणैका लागि नरेन्द्र साउदले गरेको कुराकानीमा आधारित ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार