यो संकटकालीन समय हो
या हो संकट मानवीयताको
किन भै रहेछ मस्तिष्कबाट चेतनाको ध्वंश
किन हराइरहेछ हृदयबाट संवेदना
किन संकटमा परेको छ मानवता ?

हामी उभिएको यो धरातल
निरन्तर गरिरहेको छ
युगसँग सङ्गिन प्रश्नहरू

लुटेर खुल्लमखुल्ला महिलाको अस्तित्व
किन अहङ्कार गरिरहेछ पुरुषत्व
किन लगाइएको छ यो समयमाथि
इतिहासकै कालो धब्बा
(क्वारेन्टिनमै सामूहिक बलात्कारको प्रयास)
किन उदाङ्गिएको छ मान्छे
किन नासिदो छ लैङ्गिक चेत

एक पोका जीवनजलको अभावमा
गरिएको छ राजु सदाको हत्या
जातीय विभेदता
उर्फ (क्वारेन्टिनमै अलग भान्सा)
मान्छेले मान्छेमाथि गरेको घोर अपमान
अमानवीयताको पराकाष्ठा

पुस्तौं पुस्तासम्म विस्मृत हुने छैन
कर्णाली हत्याकाण्ड
आलो रगतको गन्ध
नवराज बिकहरूको रगतले रँगिएको भेरी

कुनै कवितामा अटाउदो छैन
सडकमा अलपत्र परेका श्रमिकहरूको दुरदशा
कुनै गीतको अन्तरामा सजिदो छैन
जीवनको मोहले
देशको सिनाना भेट्न हतारिएकाहरूको
छट्पटाहट
कुनै आलेखमा अटाउदो छैन
महिनौ हिँडेर खुट्टा खिइएकाहरूको पिडाको फैलावट

अनसन बनेका छन् चित्कारहरू
बधिर भएका छन् शासकहरु
क्रूर बनेको छ शासन

हड्ताल भनेर लाठी बर्साइन्छ
भोकका आवाजहरूमाथि
देशद्रोही भनेर विद्युतीय यातना दिइन्छ
राष्ट्रप्रेमीहरूमाथि
सत्ताको मदमत्त म्युजिक बनाइ
मनोरञ्जन लिइन्छ
गरिब र श्रमिकका आहतहरूमाथि

जहाँ दीनदुखीहरूको आवाज पुग्दैन
भोकमरिको अर्तनात पुग्दैन
यो राज्य व्यवस्था हो
या हो कुनै तानशाही गिरोह ?

जो आफै उदार छैन
जो भित्र बाँचिरहेको छ निजि स्वर्थको उच्चतम स्थान
जसको सरोकार छैन
जन भावनासँग
त्यो शासकीय हृदय या हो पाषण महल ?

जहाँ एक स्त्री सामूहिक बलत्कृत हुन्छिन्
जहाँ बाँचिरहेका छन् जनताहरू पिडाग्रस्त जीवन
जहाँ रोग अगावै खेदिरहन्छ अव्यवस्थित नामको मृत्यु
यी क्वारेन्टाइन हुन् या कालकोठरी ?
आइसोलेसन हुन् या मृत्युुशैया
छाउगोठ या कुनै यातनागृह ?

यो संङ्कटकालिन समय हो
या हो सङ्कट मानवीयताको
किन भैरहेछ मस्तिष्कबाट चेतनाको ध्वंश
किन हराइरहेछ हृदयबाट संवेदना
किन संङ्कटमा परेको छ मानवता

चरम पीडामा डुबुल्की मारेर
हामी उभिएको यो धरातल
चिच्याइ चिच्याइ निरन्तर गरिरहेको छ
युगसँग संङ्गिन प्रश्नहरू।।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार