अन्तराल देखी
प्रकाशको अनावृष्टि भए
जस्तै
चकमन्न अँध्यारो
कुनाबाट
हाम फाल्छन् मेरा
भावहरू !
सदैव वेदनामा
लतपतिएर
उदासीनताको खोल
ओढ्दै
अस्थाए जस्तै गरि शीर
झुकाएर
शब्दहरू !

उज्यालोमा हिँड्न बानी
परेकाहरू
मेरा शब्दभाव माथि
प्रश्न खडा गर्छन्
सायद
यो अँध्यारोबाट
अतालिएर
निस्किएका
अँध्यारा शब्दहरूबाट
उद्विग्न भएर होला
बडो व्यग्रताका साथ
सोधिन्छन् प्रश्नहरू !

के साँच्चै तँ भित्र उज्यालो
छैन ?
यदि छ भनेँ
किन उब्जनी हुन्छन्
अँध्यारोमै शब्दहरू ?

म मौनतामै अँघि
बढाउँछु
आफ्नो कलम
पुनः दोश्रो पटक प्रश्न
उठ्छ
तँ भित्र आशाको दुनिया
छैन ?
यदि छ भने
किन उत्खनन हुन्छन्
सधै अस्ताएर भावहरू ?

यति बेला म टक्क
अडिन्छु
सोचमग्न हुन्छु
अनि पोख्छु अँध्यारोको
वृत्तान्त !

जँहा सालौँ देखी
प्रकाशको खडेरिले
चकमन्नता छाएको छ !
जँहाको जिजीविषा
समयको
विषाक्त चुनौतीको
डसाइले
शोकाकुल बनेको छ !
वेदनाको बादलले
उमङ्गहरू ढाकिएका
छन् !

हो !
त्यहि ठाँउमा जन्म
लिन्छन् मेरा शब्दहरू
निराश मनहरूमा
सहानुभूतिको सुमसुम्याइ
बनेर !

त्यसैले लेख्दैछु म
यो आशाको कविता
अँध्यारोको वृत्तान्त
प्रकाशसँग परिचित
बनाइ चकमन्नतामा एउटा
अनन्त रोश्नी भित्राउने
अभिलाषाको कविता ! !

बुटवल, रुपन्देही

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार