तिमी पुरुष हौ,
तिमीमा बाँचेको पुरुषार्थ साष्टाङ्ग दण्डवत गर्छ
मर्यादा पुरुषोत्तम रामचन्द्रको महिमालाई !

टपक्क टिपेर सजाउदै गर्दा आफुमा उनको छविलाई
तिमीले एक पल स्मरण गर्दैनौ
सीताको कठिन अग्निपरिक्षा
र अनेक कठिनाइहरूसँग भिडेको
उनको वनवासी जीवन !

हो तिमी पुरुष हौ
तिमीलाई छुँदैन गौरिको आत्मदाहले
तिमीभित्र पनि बाँचेको छ दक्ष प्रजापति !

अहँ तिमीलाई पटक्कै छुँदैन
द्रौपदीको चित्कारले
जगल्ट्याइएको कपालले
च्यातिएको वस्त्रले
तिमीभित्र स्वयं बिराजमान छ
युधिष्ठिरको ढोंगी धर्मवीरता !

तिमीभित्र स्वयं उपस्थित छ
स्त्रीको आत्माभिमानलाई जमिनमा रगडाउने हठ
नङ्नतामा हाँस्ने अट्टहास
र वस्त्रसम्म पुग्ने दुसासनी हातहरू !

तिमी लाल्छित गर्छौ
द्रौपदी आत्मसम्मान प्रतिशोधलाई
घरभाँडुवा आईमाई भनेर !

तिमी सन्देह गर्छौ सीताको पवित्रतालाई
चरित्रहिनताको संज्ञा दिएर !

जसले नारी साक्षरताको अर्थ पढायो
जसले हातहरूलाई जंजिर चुडालेर
तिम्रो विरुद्ध कविता लेख्न सक्षम बनायो
साबित्री बाइ फुले
तिमीमा आक्रोश उत्पन्न हुन्छ उनको स्मरणले !

तिमीलाई बिझाउछ योगमायाको इतिहास
तिमी उनको विद्रोहलाई उद्दण्ड भन्छौ !

तिमी बेचैन हुन्छौ
सिमोन द बोउआरका अक्षरहरूले
तिमी त्यसलाई उग्रता भन्छौ !

तिमी दुस्मन सम्झन्छौ
रोजा र क्लाराहरूलाई
हरेक ती व्यक्ति र विचारहरुलाई
जो तिम्रो पौरुष हिड्ने मार्गमा
अवरोधको पर्खाल उठाउने हिम्मत गर्छ !

हो त्यसैले तिमी पुरुष हौ
तिमीभित्र बाँचेको छ सम्पुर्ण पुरुष !

तिम्रो पौरुष तिमीलाई आदेश दिन्छ
तिमी आफ्नो मुठिमा कैद गर्न चाहन्छौ
स्त्री अस्तित्व !

र प्रयोग गर्छौ
साम दाम दण्ड भेद
युक्ती कपट
कुचक्र षड्यन्त्र युक्त शकुनि पासाहरू !

कतै अभिमान बनाएर
कतै मर्यादा बनाएर
कतै आवस्यकता बनाएर !

हो त्यसैले तिमी पुरुष हौ
तिमीमा बाँचेको छ सम्पुर्ण पौरुष !

सुमिना
बुटवल, रुपन्देही

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार