आस्था मानेर या
अन्धविश्वासमा जगडिएर
स्वतस्फूर्त या बाध्यता
वश
अहँ ! नसोध केही थाह
छैन मलाई
यो धर्म हो या शोषणको
पराकाष्ठा ?
जानेर या अन्जान बनेर
मलाई यत्ति थाह छ –
जे- जसरी भए पनि
महाभारतमा द्रौपदीको
चीरहरण जस्तै
यो युगमा पनि
स्वयं दुर्योधन बनेर
दुशासन बनेर
म उतारिरहेकी छु
आफैले आफ्नै
अस्तित्वको हुर्मत !
म २१ औं शताब्दीकी
नारी !

कहिलेकाही म निकै बेर
मजाक गर्छु
आफ्नै अस्तित्वसँग
र उपहासले खित्का
छोड्दै अट्टहास हाँस्छु !
अस्तित्वको उपेक्षा बोकेर
कहिले श्री स्वस्थानी
उभिन्छ मेरो अघि
कहिले साउने व्रत
ऋतुहरू नाघ्दै नाघ्दै
आइ पुग्छ ऋषि पंचमी
पनि
मलाई मेरो अस्तित्व
सम्झाउन !

म किंकर्तव्यविमूढ हुन्छु
हैरानी देखाउनु या
अनुगृहीत बन्नु ?
मलाई थाह छैन
अफसोच गर्नु या
अहोभाग्य सम्झनु ?
मलाई यत्ति थाह छ-
जे -जसरि भए पनि
चुपचाप-चुपचाप
त्यसलाई अनुसरण गर्छु !
म २१ औं सताब्दीकी
नारी !

मलाई के को लाज अनि
के को घिन ?
यो त परम्परा हो धान्नु छ
मैले पनि !
आखिर के फरक पर्छ
शताब्दी बद्लिनुले ?
के असर देखाउछ युग
घटित हुनुले ?
समय त उही हो उस्तै
चल्छ र उस्तै रहन्छ !

देखेकी छु त्यो दृश्य –
मेरी हजुर आमा हुँदै मेरी
आमा सम्म
आफ्नो पतिको चरणमा
लम्पसार
अनि गर्दै गरेको
पैतलाको जलपान
मानौ त्यो जल पानी
होइन अमृत हो !

तर , यो त संस्कार हो
परम्परा हो
धान्नु छ मलाई पनि र गर्नु
छ यहि
बन्नु छ पुरुष मात्रकी
सेवक !
म २१ औं शताब्दीकी
नारी !

समाज भन्छ –
ए आइमाई !
तँ जन्मनु नै अभिशाप हो
र महिनावारी कुनै
शारीरिक प्रकृया होइन
यो त महापाप हो
हजार कर्म गरेर तँ
आफुले नै पखाल्नु पर्छ !

आखिर के नै फरक पर्छ ?
म अशुद्ध बाट जन्मिएको
छ यो शुद्ध सृष्टि
म बाट धानिएको छ
म छु र चलेको छ यो
विशाल संसार !

कहिलेकाही म आफ्नै
पहिचानमा भ्रमित हुन्छु
र सोध्न मन लाग्छ समाज
सँग अनेक प्रश्न –

आखिर के फरक छ ?
नारी हुनु र दासी हुनुमा ?
पत्नी हुनु र भक्त हुनुमा ?
म सेवक हुँनु र आइमाई
हुनुमा ?
आखिर के फरक पर्छ ?

खैर ।।। अनुत्तरित प्रश्नहरू
मलाई यत्ति थाह छ
जे -जसरी भए पनि
महाभारतमा द्रौपदीको
चीरहरण जस्तै
यो युगमा पनि
स्वयं दुर्योधन बनेर
दुशासन बनेर म
उतारिरहेकी छु
आफैले आफ्नै
अस्तित्वको हुर्मत !

म २१ औं शताब्दीकी
नारी !!

सुमिना, बुटवल ( रुपन्देही )

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार