तिमी हिँड कि तिमीले
अझै धेरै अग्ला पहाडहरु
चढ्नु छ,
तिमी हिड कि
सधैं ठक्कर खाने तिम्रा
खुट्टाहरुले
धेरै ढुङ्गाहरुलाई
ठक्कर हान्नु छ !

तिमी हिँड कि तिम्रा
हातहरुमा जकडिया
धेरै बन्धनका जन्जिरहरु
चुडाल्नु छ,
तिमी हिड कि तिमीले
तिम्रा विरुद्धमा खडा
गरिएका
कालो कानुनका
दस्तावेजहरु खारेज
गर्नुछ !

आखिर।।।।
सहन्छौ अत्याचार कहिले
सम्म र?
यो समाजबाट ठगिन्छौ
कहिले सम्म ?
विचार मात्रै गर्छौ कहिले
सम्म ?
आकाश छुन आतुर
तिम्रा पखेटाहरु काटिने
कहिलेसम्म ?
फक्रिदैं गरेका
तिम्रा सपनाहरु टुटिरहने
कहिले सम्म ?
लामो यात्रा तय गर्न अघि
बढेका
तिम्रा खुट्टाहरुमा नेल
कहिले सम्म ?
चिता बनी जल्छौ कहिले
सम्म ?
कठोर अग्नि परीक्षा
दिन्छौं कहिले सम्म ?
उन्मुक्तिका आवाजहरु
दबाउदै
यातना, हिरासत र जेल
कहिले सम्म ?

तिम्रो भयलाई आक्रोश
बनाउ
तिम्रो विवशतालाई
विवेकपुर्ण आवेग बनाउ,
तिम्रो मौनतालाई विरोध
बनाउ र
तिम्रो मनमा कुडिएका
विचारहरुलाई
मसाल बनाएर जलाउ !

तिमी हिँड कि
तिमीले अझै
धेरै अँध्यारा रातहरु
छिचोल्नु छ,
तिमी हिँड कि
तिमीले अझै धेरै
समुन्द्री छालहरुमा तैरनु
छ,
तिमी हिँड कि
तिमीले अझै
धेरै आँधी-तुफानसँग
टकराउनु छ !

तिमी हिँडकि
तिम्रो अस्तित्वलाई
नकार्ने
ति सबै पुस्तकहरु
जलाउनु छ,
तिमी हिड कि
तिमीले आफ्नै नयाँ
इतिहास रच्नु छ,
तिमी हिँड कि
तिमीले अझै न्याय,
समानता र स्वतन्त्रताको
लामो लडाइँ लडनु छ !

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार