कम्युनिस्टको भारी बिसाउँदैं
रामको भजन गाउँदै
काम गरे पो माम
यहाँ त उल्टो छ
कम्युनिस्टले
भजाउँछन् राम नाम
अनि कमाउँछन् बदनाम
रामको नाम
कमाउँछन् दाम।

दामै दाम नक्कलीको काम
राजश्वमा दाम
कोरोनामा दाम
आपदपर्दा जय हरि राम।

भन्छन् विष्णु अवतार राम
छैन कतै घरबार
उनी हुन अपरम्पार संहार।

एक अलौकिक राम
अयोध्या सरयु किनार
उद्गम स्थल मानसरा्वर
प्रागैतिहासिक राम हो मिथक
आध्यात्म रामायणको पुराण
कालिदासको आख्यान
कम्युनिस्ट पण्डाहरु
राम नाममा लहरी लहरी
दिग्भ्रमित बनाउँदै
फाल्छन् कम्युनिस्ट पगरी।

रहस्यमय काल्पनिक राममा
कम्युनिस्ट बन्दैछन् बदनाम
चितवन माडीमा रामको मन्दिर
दुर्भाग्य केपी वली बन्दैछन्
बदनाम।

वेमौसमको बाजा
राम मन्दिरको तमासा
यता कम्युनिष्टको खोल
उता धर्मको ढोल
जनता छक्काउने
चटके बजाउने?
स्वर्गको सपना देखाउने
पुर्नजन्म पढाउने।

धर्म त अफिम हो
लठ्याउने
ज्ञानेन्द्रिय निष्तेज बनाउने।

सामन्ती सँस्कार
छैन यसको आकार
कहाँ छ बेदमा
राम नाम?
उपनिषदको पुराणमा
मनुस्मृतिमा छ
राम नाम
तर डार्विनको विकासवाद
खुलाउँ छ पर्दा रहस्यवाद
वैज्ञानिक न्युटन र ग्यालिलियो
देखाए संसार बालेर दियो।

शिकारी युगदेखि रकेट बजार
दास युग सामन्ती र पुँजीवाद
क्रमशः हुन्छ नयाँ जनवाद
र, वैंज्ञानिक समाजवाद
यो हो द्वन्द्वात्मक भौतिकवाद।

यथास्थिति र प्रतिगमन
सत्ताको हुन्छ दमन
विकासवादी यात्रा अग्रगमन
तर अफसोच !
हुन्छ प्रतिगमन
दलाल पुँजीवाद छ देशमा
राष्ट्रियता, जनतन्त्रको सवाल छ
तर देश त बबाल छ।

राष्ट्रियतामा ह्रास
वैंदेशिक हस्तक्षेप
माफिया तस्करी र ठगी
भ्रष्टाचारको छ बिगबिगी
सानालाई कानून
ठूलालाई उन्मुक्ति
जेल हेरौ साना साना माछा।

ठूला ठूला माछा संसदमा ?
वा अझ ठूला मन्त्रि बन्छन् ?
मन्त्रिलाई अख्तियार लाग्दैन
यो हो लोकतन्त्र ?
सुरक्षा र न्यायमा लगाम
प्रधानमंत्री कोष
घुम्ने चेयरलाई पोष
श्रीपेच बिनाका राजा
उही छ सँस्कार उही छ आधार
पत्रकारलाई बन्धन,
मानव अधिकारमा क्रन्दन्।

फाल साथी कम्युनिस्टको खोल
दुईटा डुंगामा खुट्टा
पार लागिन्छ ? खेल छ झूठ्ठा
किन विभ्रम ? विषयान्तर गर्न।

चीलले चल्ला लग्यो भनेर
स्यालले चल्ला टिपेजस्तै
हिन्दूहरुको ध्यान मोड्न
सूर्यालाई हत्केलाले छेकेर
भ्रष्टाचारलाई छिपाउन।

किन खेलमा
प्रचण्ड नेपाल छक्याउन ?
एकता एकता निरपेक्ष एकता ?
विचारमा पो एकता
यहाँ त हुन्छ
कुर्सीमा एकता विचारमा अनेकता।

के को लागि फूट ?
के को लागि एकता ?
आखिरमा मिलेर हो खाने
बिलो नमिले फुटेर जाने।

काले काले मिलेर
खाऊँ भाले।

जनजीविका र स्वतन्त्रता
जनतन्त्र र राष्ट्रियता
यसैमा हुन्छ देशभक्तको एकता
एमसीसी बहिष्कारमा प्रतिबद्ध
जनता छन्
साम्राज्यवाद र दलाल विरुद्ध
जनता उठ्दैछ सडकमा
केही छैन निर्विकल्प
जनता सबभन्दा ठूला हुन्
जनता छन् अजेय
कहाँ रोकिएको छ विजय ?

( प्रेस स्वतन्त्रता सेनानी) ०२।०५। २०७७

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार