
समाजवाद र साम्यवाद त आउँदै गर्ला, कमसे कम पुँजीवाद त ल्याऔं ।
देशको बेहाल भयो हामी कहाँबाट सन्चालित छौं ? हामीले आफैलाई सोधौं । के हामी सामन्तवादबाट मुक्त छौं ? नेता मात्र होइन, कार्यकर्ता र जनतासम्ममा सामन्तवादी चिन्तनबाट मुक्त हुन सकेका छैनौं।
म राजा हुनै पर्ने भनेर आफु सर्वसत्तावादी हुन खोज्ने हामी कसरी समानता, न्याय र स्वतन्त्रताका लागि लडौंला ? झन्डा, नारा, घोषणापत्र, विधान क्रान्तिकारी बनाउँदैमा परिवर्तन हुँदैन। परिवर्तन आफ्नो विचारमा हुनु पर्यो। हामीले न्यायको लडाईं आफुभित्रबाट सुरु गर्दै समानता आफुले लागु गराउन पहल गर्नु पर्यो नि ।
राज्यसत्ताभित्र बसेर कमिसन खाने काम पुँजीवादीहरुले सम्म गर्न डराउछन्, किन कि पूँजीवादभित्र न्यायको स्वतन्त्रता हुन्छ, नैतिकता हुन्छ, इमान्दारिता हुन्छ। तर हामीभित्र त चुनावी घोषणापत्रलाई लागु गराउनेसम्मको नैतिकता छैन ।
हामीले जे भन्छौ त्यही कानुन हो भनेर सम्झिन्छौं । हामीले जे दिन्छौं त्यही न्याय हो भन्छौं। यो नै सामन्तवादी विचार हो। सामन्तवादीहरुले आफुलाई न्याय र कानुनभन्दा माथि राखेर बनाउँथे । तर हामी लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाभित्र हँसिया-हथौडाको झन्डामुनी शासनसत्ता चलाई रहेका छौं । तर यहाँ जनताको बेहाल छ । शिक्षा, स्वास्थ्य, रोजगारी, गाँस, बाँस, कपासबाट बंचित नागरिक छन् । विचारमाथि प्रतिबन्ध लगाउने करीब दुई तिहाइको सरकार दिल्लीको केजरिवालभन्दा अलि माथि त उक्लिनु पर्ने हो ।
हाम्रो जंगलमा खरबौंको काठ सडेर गैरहेकोछ तर हामी मलेसियाबाट तयारी फर्निचर ल्याइरहेका छौं । कृषकलाई मल छैन, उत्पादन गरेको वस्तुको लागि उचित बजार व्यवस्थापन छैन । उखु किसानको हाल त हामीले देखेकै छौं । उद्योगले उँखु लगेर पैसा तिर्दैन । ट्याक्सीवालाले मिटरअनुसार भाडा लिन नमान्ने, गाडीवालाले सिन्डिकेट नछोड्ने, मालिकले मजदुरलाई ज्याला नदिने, राज्यले नागरिकलाई न्याय नदिने, एउटा पुँजीवादी राज्यव्यवस्थाले ग्यारेन्टी गरेका न्युनतम सेवा सुविधाबाट हामी बंचित कहिलेसम्म हुने हो ?
न्यायालय, सिंहदरवारभित्र, हरेक जिल्लाभित्र सरकारी कार्यालयभित्र खरबौं रुपैया बराबरका गाडी थुप्रो छन् । मर्मत गरेर चलाऊन सकिने गाडीलाईसम्म बेवास्ता गरिएको छ। नयाँ नयाँ महंगा गाडी हरेक वर्ष किनिन्छ । त्यसको श्रोत हामी जनता नै हौं । हाम्रो देशको शासन व्यवस्था कसले चलाएको छ ? हामीले सोच्नु पर्दैन ? यो देशको असली शासन सत्तामा माफिया, तस्कर र भ्रस्टाचारी बसेका छन् । अख्तियार प्रमुखले आफुलाई राजा सम्झियो र खरबौं भ्रस्टाचार गर्यो। यहाँसम्म कि गाउँपालिका, नगरपालिका प्रमुखसम्मले आफुलाई मालिक अरुलाई दास सम्झिए ।
पार्टीको नेतृत्वले आफुलाई मालिक र कार्यकर्तालाई दास सम्झिए । हामीले ज्ञानेन्द्र शाहलाई हटाएर ओली, दाहाल, कोइराला, भट्टराई, यादव, महतो, श्रेष्ठलाई राजा बनायौ। वर्गविहीन समाजको परिकल्पना गर्ने, मार्क्सवाद र सर्वहारा वर्गको राज्यसत्ता ल्याउने, लेनिनवादका किताब पढेर सामन्तवाद नछोड्ने हो भने हामीले जनआक्रोशलाई रोक्न सक्ने छैनौं ।
हामी कमसेकम पुँजीवादी राज्यव्यवस्था सम्म त पुगौं ।







