
२०४४/४५ साल तिर देशमा भारतीय नाकाबन्दी लागेको थियो। यही मौका छोपेर कांग्रेस र आफुलाई कम्युनिस्ट बताउने समुहले भारतलाई नेपालमा नाकाबन्दी थप्दै झनै लम्ब्याउन अपिल गरे। देशमा जन आक्रोश बढ्दै गयो। परिणाम पंच्यायती व्यवस्थाको अन्त्य भयो र २०४६साल चैत्र २६गते देशमा वहुदलीय प्रजातन्त्रको घोषणा भयो। त्यो एक प्रकारको राष्ट्रघाती काम थियो राजनीतिक पार्टीहरुले गरेको।
नेपालमा एकतन्त्रीय तानाशाही व्यवस्था थियो। त्यसलाई नेपाली जनताले आँफै फाल्नु पर्थ्यो। भारतले नाकाबन्दी गरेको बेला भारतसंगै मिलेर देशमा जनताको जीवनस्तर बर्बाद गराउनु निकै दुस्खद कुरा थियो। त्यो कामको कारण हामीले नेपालको विकास गर्न सक्ने कुरा पनि भएन र हुन पनि सक्दैन। भारतको बजार नेपाल हो र यहाँ उसको उत्पादन बेच्ने योजना अनुसार यहाँका एद्योग कलकारखाना बिक्री भए। र आज हामी ८०लाख नेपाली विदेशीका दास हुन पर्नुको प्रमुख कारण पनि भारत कै योजना अनुसार भएको छ। हामीलाई प्रजातन्त्र मात्र भएर पुग्दैन। हामीलाई हाम्रो देशमा नौलो जनवदी ब्यबस्था हुँदै समाजवादी ब्यबस्थासम्म पुग्नु छ। त्यसको लागि हामीले आफ्नै बलबुतामा लडेर ल्याउनु पर्ने हुन्छ। त्यसका हामीले आफ्नो देशको जनताको लागि आत्मनिर्भर कृषि, अर्थतन्त्र, सुरक्षा बनाउनु पर्ने हुन्छ। हामी नेपाल र नेपालीलाई पहिलो स्थानमा राखेर राजनीतिक र सैद्धान्तिक दृष्टिकोण बनाउनु पर्छ। सम्पूर्ण नेपाली जनताको एकता नै त्यसको मुल बाटो हुन्छ। तर हामीले त्यसो गरेनौ । हामीलाई भारतले खटाएका केही ब्यक्तिले यो देशका जनतालाई आपसमा जुधाएर आफ्नो स्वार्थसिद्द गर्ने काममा तल्लिन हुन पुगे। यसका लागि पहिले कांग्रेसलाई प्रयोग गर्यो भारतले पछि डा। बाबुराम भट्टराई पुष्पकमल दाहाललाई नयाँ घोडा बनाएर देशमा जनताको मुक्तिको कुरा गरेर भारतको स्वार्थ पुरा गराउने बाटो समाते।
भर्खर आएको प्रजातन्त्र जो सीमित नै भए पनि त्यसलाई मास्न लागि परेको प्रचन्ड-बाबुराम ग्रुपले देशमा अस्थिरतार्फ धकेल्दै जनयुद्द भनेर जब जनताको मन-मस्तिस्कमा युद्दको बिजारोपण गर्यो। त्यो प्रजातन्त्रको हत्या भयो। यहीबाट हामीले गल्तीमाथि गल्ती गर्दै गयौ। राज्यले हत्या-हिंशा होइन विकासको योजना लिएर जनताको माझ जानु पर्ने थियो। अबरोध गर्नेलाई कार्वाही गर्नु पर्थ्यो र निर्दोषलाई सजाय दिनु हुँदैनथ्यो। राज्यबाट भएका गल्ती यहिदेखी सुरुवात भएको हो। आफुलाई मार्क्सवादी लेनिनवादी माओवादी भनाउने उग्रबामपन्थी समुहले देशका भौतिक संरचनाहरु तोडफोड गर्ने राजनीतिक प्रतिसोध गरी ब्यक्तिहत्याको सिलसिला सुरु गरेर हजारौ नेपाली सन्तानको रगत बगायो। यो कुनै परिवर्तनको लागि थिएन। जनताको जीवनमा अर्थिक भौतिक सुधार नहुनु त्यसको प्रमाण हो। यिनीहरु चन्दा संकलन गर्ने, मोजमस्ती गर्ने नेपाली नेपाली आपसमा भिडाउने जुधाउने भन्दा अरु केही माखो मारेका होइनन । मान्छे चाँही खुब मारे। अझै प्रचन्डले सार्वजनिक स्थलमै भनेका हुन ूजत्ती मान्छे मर्नु पर्ने थियो त्यो मरेनन्। काम गरेर खान नसक्नेहरु दादागिरी गरेर ज्यान पाल्छन्, चन्दा माग्छन् बस स्टापहरुमा बसेर पैसा उठाउछन्। यस्तै थियो यो जनयुद्द चन्दा दिनेहरु अपराधी भए पनि मित्र कहलिन्थे। चन्दा दिन नसक्नेहरु दुश्मन। यो त हामीले भोगेकै कुरा होइन र ? हिजो हात्ती छाप चप्पल लगाएर गाउ बस्ती डुल्नेहरु आज अरबौ खरबौका मालिक भएका छन्, खान लाउन नपुगेर गाउँ घरमा ऋण काबढेर जीविका चलाऊनेहरुको शान एकाएक कसरी माथि गयो ? हामीले त्यसको मुल्याङ्कन कहिले गर्ने ?
यसलाई गिरिजाप्रसाद कोइरालाले मलजल गरे। उनको सरकारले जनताको गाँस बाँसको समस्या समाधानको लागि गाउँबस्तीमा उद्योग कलकारखाना खोलेर जनताको लागि रोजगारी दिन कुनै योजना नै बनाएन बरु यहाँ भएका सयौ राष्ट्रिय गौरवमा उद्योग बेच्ने, आफ्नै पार्टीको बहुमतको सरकारलाई लहड कै कारण धाल्ने संसद विघटन गराउने काम गरे। ३६से र ७४रे बनाएर कांग्रेसलाई नै फोरेर यो देशमा अराजक्ताको बिउ रोपेर जनतालाई पिडा दिने काम कांग्रेसको फासिस्ट सरकारले गर्यो। फरक बिचार बोकेका राजनीतिक पार्टी माथि दमनको नीति ल्याएर रोमियो, किलो सेरा टू अप्रेसन गरेर निर्दोष सोझा सिधा जनतालाई मार्ने काम माओवादीको नाममा हत्या हिन्सा फैलाउने काम वस्तीमा आगो लगाउने काम महिला बालिकालाई बलात्कार गर्ने काम तत्कालिन प्रहरी प्रशासनबाट प्रसस्तै भए। जसको विरुद्धमा जनताको आक्रोश बढेर गयो परिणाम यो भयो कि तत्कालिन माओवादीलाई जन स्तरबाट समर्थन भयो अधिकांश ठाउँमा। देश भित्र बेरोजगारी बढ्नु उध्योग बन्द गराउनु राजनीतिक मुद्दालाई हत्या हिंसातिर लैजानुको मुख्य दोषी कांग्रेस नै हो। यसको प्रमाण हो शान्ति वार्ता आखिर गर्नै पर्ने त रहेछ। राज्यले फरक बिचारमाथि सहयात्रा सम्बाद र बार्ता छलफलको बाटो अंगिकार नगरेर सफाया समाप्त पार्छु भन्नु नै देश गृहयुद्दमा जानुको कारण बन्यो। फलस्वरुप तत्कालिन माओवादीबाट निर्दोष जनतासम्म हिंशाको चपेटामा परे।
यसको केही अपजस तत्कालिन एमालेको पनि हुन्छ। उसले आफ्नो राजनीतिक दृष्टिकोण प्रस्ट नपार्नु राज्यलाई हत्या हिंसा रोक्न कोशिस नगर्नु एमालेको राजनीतिक असफलता नै थियो। कम्युनिस्टको नाममा उसले पजेरो काण्ड, सुत्केरी भत्तामा पुरुष सभासदले सुबिधा लिनु विकास निर्माणका काममा उल्लेखनिय भूमिका खेल्न नसक्नु पनि देशमा गृहयुद्द बढेर गयो। रातो पासवोर्ड बेच्नेदेखी प्रतिगमन आधा सच्चियो भन्दै ज्ञानेन्द्रको खुट्टामा दाम चढाएर प्रधानमन्त्री हुनको लागि आवेदन दिने काम तत्कालिन महासचिव माधव नेपालको नेतृत्वले गरे । आफ्नै महासचिवको हत्या हुँदा जनतालाई सडकमा छोडेर दरवार छिर्ने काम एमालेको भयो त्यसैले एमालेलाई लिंग छुट्याउन तत्कालिन राजनीतिक पार्टीहरुले आग्रह गरेका थिए। यही कारण हो कि लाखौं जनताले एमालेलाई छोडेर माओवादीलाई समर्थन दिन बाध्यताकारी अवस्था सृजना भयो। उता माओवादीले जनतामाथि ज्यादाती बढाउदै लग्यो।
खान बस्न नदिएकै कारण कति निर्दोष जनता यिनैं अराजक्तावादीहरुको सिकार भएका थिए ? कसैलाई याद छ ? देशैभरी यिनको आतंक कसरी चलेको हो याद गरौ त एक पटक। जब यिनीहरुशान्ति प्रकृयामा आए तब यिनिहरुको तस्करी बाहिर छताछुल्ल देखियो। कति चन्दन तस्कर भेटिए, कति यार्सागुम्बा तस्कर, त कति भुमाफिया बनेर जग्गा चिरा चिरा पार्दै जनतालाई दुबै हातले लुट्दै गरे। हतियार सप्लाई गर्नेहरु, सुन सप्लाई गर्नेहरु कति छन् कति। माओवादीमा लागेका स्थानिय कार्यकर्तादेखि केन्द्रीय नेतासम्म तस्करी कालोबजारी गरेरै आज हुनेखाने भएका हुन्। जो इमान्दार छन् उनीहरु कतै सुन्सान जग्गामा छन्, कोही बैदेशिक रोजगारीमा लागेका छन्, कोही गरिबिले पिसिएका छन्। अधिकांस बेइमान छन्, केरिरिस्ट छन्, राष्ट्रघाती छन्, कति अवसरवादी छन्। चिनियाँ व्यापारीसँग त्यो बेला बहालवाला अर्थमन्त्री कृष्ण बहादुर महराको टेप कान्ड,५०करोड मागेको आवाज सबैले सुनेकै हो। ठीक यस्तै प्रकारको अर्को कान्ड आएको छ, सुन तस्करीको दुबइबाट ३५ किलो सुन नेपाल भित्रियो। यो चानचुने कुरा होइन ।
लाखौं नेपाली युवाले बिदेशबाट आउँदा २०किलो भन्दा माथि सामान जो लत्ता कपडा खाने चिज इलेक्ट्रिक समान जे भए पनि २०किलो भन्दा माथि भयो भने प्रतिकिलोको हिसाबले तिर्नुपर्छ। हामीले बिदेश जादा या बिदेशबाट आउँदा सामान्य खाने पिउने सामान ल्याउन लैजान प्रतिबन्धित गरेको छ भनेर पैसा असुलिन्छ। तर यति ठुलो मात्रामा सुन कसरी ल्याउन सक्छ कसैले ? सोचनिय कुरा छ। बिना कसैको सहमतिमा ल्याउन सक्ने त कुरा छैन नै उसले भोली पकडियो भने के गरुला ? यत्ती ठुलो मात्रामा सुन पकडियो भने राज्यले जफत गर्छ उसको जीवन भरिको लीला हुन सक्छ भनेर पनि इमान्दार ब्यक्तीबाट यो र यस्ता काम हुनै सक्दैन। भ्रस्टाचार गर्नमा माओवादीका केही नेताले काङ्रेसलाई पनि पछि पारे ।एमालेका नेता पनि भ्रस्टाचारी छन् यसमा केही लुकेको कुरा होइन। तर अब्बल दर्जाको तस्करी गर्ने माओवादी केन्द्र नै हो यहाँसम्म कि मानव तस्करसम्म गरेका घटना हामीले नसुनेको होइन। जसरी हुन्छ धन कमाउने यिनीहरुको काम भएको छ। यिनीहरुका नालनाताको नाममा सम्पत्ती राख्छन् र आफुलाई सर्वहारा हौ भन्छन्। सम्पत्ती सार्वजनिक गर्छन् ३ तोला सुन १ कठ्ठा जमिन । धन्य हो तिमीहरु। देश नै तस्करहरुको हातमा छ। कसको के लाग्ने ?
आज देशको अवस्था त झनै भनेर लेखेर साध्य नै छैन। लामो गृहयुद्दपछी संविधानसभाले निकै महँगो धनरासी खर्चिएर संविधान निर्माण गरे। विश्वकै कही नभएको दुई दुई पटक संविधान सभाको लागि चुनाव गराइयो। बल्ल तल्ल संविधान त बन्यो तर संविधान बनाउनेलाई नै थाहा छैन कि हामीले बनाएको संविधान ले निकास कसरी दिने छरु वर्गबिहिन समाज निर्माणको सपना देखाएर जातिय द्वन्दको बाटो समाउने तत्कालिन माओवादीदेखी एमालेका केही नेता काङ्रेसको अकर्मन्य नेतृत्वको खिचातानी भ्रस्ट कमिसन तन्त्रमा रमाउन बानी परेका कार्यकर्तादेखी यहाँको राणा शासनदेखिको कर्मचारीतन्त्रले यो देशमा गरेको काम निरिह जनता बनाउने भन्दा अरु केही दिएनन्। निरास जनताको लागि तत्कालिन एमाले र एनेकपाले पार्टी एकता गर्ने बहुमतको सरकार बनाउने र यो देशमा कहिलै ५ वर्षको कार्यकाल पुरा नगर्ने परम्परा तोड्ने बाचा खाएका ओली प्रचन्डलाई विश्वाश गरेर झन्डै दुई तिहाइको सरकार बनाउने एउटा सुनौलो स्वर्णिम अवसर दिये। तर यो सरकार पनि विगतका सरकार भन्दा फरक ढंगले कुनै काम अघि बढाउन सकेन। यो सरकारले आफ्नो आयुसम्म सरकार चलाऊन त सकेन नै बरु यहाँ अप्रत्यासित भ्रस्टाचारका ठुला ठुला कान्डको इतिहास चाँही रच्दै अघि बढ्यो।
यो सरकारले चाहेको भए ठुला ठुला कृषि योजना लागु गराउन, जलबिध्युतमा एेतिहासिक काम गर्न अपर कर्णालीको भारतीय कम्पनीलाई ठेक्का रद्द गर्न र राष्ट्रिय गर्वको आयोजना माथि आँफैले लगानी गरेर कृषि तथा खाने पानी जलबिध्युत उत्पादन हुँदै महँगो महसुलमा मार खाइरहेका जनताको लागि राम्रो काम गर्ने अवसर गुमायो। अनि गुमायो अब कम्युनिस्ट पार्टीप्रति जनताको जनभावना पनि। आपसी पदको लुछाचुडी शक्तिशाली मन्त्रालयमा आफ्नो पकड अख्तियार दुरुपायोग अनुशन्दान आयोगमा आफ्नो मान्छे न्यायालयमा आफ्नो मान्छे शक्ति रास्ट्रहरुमा राजदुत आफ्ना मान्छे देशका नाफा कमाउने सरकारी संस्थानमा आफ्ना मान्छेकै भागबंडाकै लागि यो सरकारले इतिहास रच्यो। तत्कालिन प्रयटन मन्त्री रविन्द्र अधिकारीको शंकास्पद मृत्यु, गोकर्ण जंगलको जमिन यती समुहलाई बिना प्रतिस्प्रधा दिनु, ललिता निवासको जमिन बालुवाटारको जमिन कब्जा जस्ता जघन्य अपराधमा यो सरकार मौन बस्नु यी लुटेराहरु देश र जनताको लागि कुनै काम नगर्ने अपराधी हुन भन्ने प्रमाण हो। कुनै मन्त्री, संसद, मानानीय प्रधानमन्त्री- राष्ट्रपतिले यो देशका बन्द भएका उध्योग खोलौ। कृषिलाई आधुनिकिकरण गरौ, बजार ब्यबस्थापन गरौ, किसानलाई राहत हुने किसिमको कार्यक्रम ल्याउ भनेर एक पटक संसद भवनमा बोलेको सार्वजनिक ठाउमा प्रस्ताव गरेको कहिलै सुनिएन। आफुलाई क्रान्तिकारी भनाउन रुचाउने कार्ल मार्क्स, लेनिन, माओका फोटा झुन्ड्याएर सार्वजनिक अपराध गर्ने विदेशिका दलालहरुले गर्ने भने कै विदेशीका लागि हो त्यो हामीले देखीसक्यौ।
अब हामी यी भारत र युरोपियन साम्राज्यवादका दलालको पछि लाग्ने होइन। नेपालको लागि सम्पूर्ण राज्य संरचनाभित्र आमुल परिवर्तनको लागि एक ठाउमा क्रान्तिकारी शक्ती जुटेर जनताको लागि मुक्तियुद्द लड्ने समय हो।
यी लेखकका नीजि विचार हुन् ।







