
एउटा क्रान्तिकारी पार्टीको संसदीय पुँजीवादमा पतन भएसंगै भुइँ मान्छेहरुका आवाज प्रवाह गर्ने पुँजीवादविरोधी क्रान्तिकारी धारा पुनर्गठित हुनु, संघर्षको मैदानमा हेलिनु र गरिब वर्गको नेतृत्व गर्नु अनिवार्य थियो । यही अनिवार्यतालाई सार्थक तुल्यांउदै ०७१ साल मंसिर ८ गते नेपाल कम्युनिस्ट पार्टी संशोधनवादी प्रतिक्रान्तिकारी समुहले खरानी पारेको क्रान्तिभित्रबाट विद्रोहको फिलिङ्गोलाई प्रज्वलित गराउदै अगाडि आयो । नेपालमा श्रमजीवि वर्गको झण्डा उठ्यो, बलिदान पुन भर्भराएर उठ्यो । जनविरोधीहरु पुन: अताल्लिए भने श्रमिक वर्गमाझ उल्लास छाउन पुग्यो ।
दुर्मुख दलालहरुले जे जे भने पनि यतिबेला नेपालको राजनीति संसदीय प्रणालीको विकल्प नेपाल कम्युनिस्ट पार्टीले उठाएको वैज्ञानिक समाजवाद नै हो भन्ने ठाउँसम्म आइपुगेको छ । दलालहरुले नेतृत्व गरिरहेको संसदीय पुँजीवाद असलमा माफिया र लुटेराहरुको पक्षपोसण गर्ने सत्ता हो रहेछ भन्ने कुरा नेपालको राजनीतिको अन्तिम सत्य साबित भएको छ । अब कुनै झुट वा नयाँ भ्रमले संसदीय प्रणालीको संकट समाधान नहुने बरु त्यसको बदलामा नेपाली समाज वैंज्ञानिक समाजवादमा प्रवेश गर्ने कुरापनि अनिवार्य सत्य बनेको छ । तथ्यहरुले स्पस्ट रुपमा विषयहरुलाई उजागर गरेका छन् ।
के वर्तमान लुटेरा सत्ता जनपक्षिय छ ? यो सत्तासंग कम्युनिस्ट मुल्यलाइ छुने साधारण कार्यक्रम अवस्थित छ ? कम्युनिस्टको झण्डाभित्र छिपेको खुंकार लुटेरा पुँजीवादले समाजवादको नारा घन्कायो( के यो माफिया ग्यांङ्गबाट नेपाली जनताले समाजवादको न्युनतम कार्यक्रम पाउन सके ? अंह, कम्युनिस्ट नामको पार्टी र तिनका नेतृत्वबाट जनताले कम्युनिस्ट मूल्य अनुसारका न्युनतम कार्यक्रम पनि पाउन सकेनन् बरु उल्टो बर्बर लुट र अत्यचारको श्रृंखलाहरु चले । दलाल पुँजीवादी लुटेराहरुको राक्षसी लुटको जंजालबाट नेपाली जनता गुज्रन बाध्य बने । अन्तत संशोधनवाद नांगेझार बन्न पुग्यो, वास्तविक कम्युनिस्ट पार्टी र क्रान्ति जवान बनेर उठ्यो । यसैको ज्वलन्त उदाहरण सत्ताको हड्डिमा लुछामार गरिरहेका संसदवादी कुकुरहरुको विघटन, पतन र स्खलन एकातिर छ भने अर्कोतर्फ क्रान्ति कांचुलीबाट बाहिर अवतरित भइसकेको छ ।
नेपाली राजनीतिमा उछालिएका विभिन्न स्वरुपका अन्तविरोधधहरुको कयौ कोणबाट विश्लेषण गर्न सकिन्छ तर संसदीय पुँजीवाद कि वैंज्ञानिक समाजवाद ? यथास्थिति कि अग्रगमन श, यतिबेला यी दुई कोणबाटमात्रै नेपाली राजनितिको मुख्य अन्तरविरोधलाई पटाक्षप गर्न सकिन्छ । यसरी हेर्दा नेपालको राजनीति शक्ति सन्तुलनको चरणमा प्रवेश गरिसकेको छ । दिमाग बिग्रीएका अभिमानी शासकहरुको पुँजीवादी चश्माले पैसा र सैन्य शक्तिलाई आफ्नो संकटको निवारक तत्व ठानिरहेका छन् । त्यसैले नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेका जनप्रिय कार्यक्रमबाट काँपेर दमन गर्दै क्रान्तिकारी आन्दोलनलाई सैन्य बलद्वारा दबाउने दुस्वप्न देखिरहेका छन् । उनीहरुले बुझ्न जरुरी छ अन्तिम र निर्णायक तत्व जनता हुन्, जनताको मनोविज्ञानको केन्द्रीकरण यतिबेला एकीकृत जनक्रान्तिमा भएको छ । त्यसैले लडाइँ आमने सामने छ । वैंज्ञानिक समाजवाद कि संसदीय पुँजीवाद ? यहि मुद्धामा ।
नेपाल कम्युनिस्ट पार्टीमाथि ०७५ फागुन २८ गते प्रतिबन्ध लगाए पछि सरकार निरन्तर दमनमा छ । पुर्व क्षेत्रको दमन अझ उल्लेखनीय छ । धरपकड र झुट्टा आरोपहरुको लामै फेहेरिस्त त छदै छ तर भोजपुरमा तिर्थ घिमिरेको हत्याबाट सुरु भएको हत्या श्रृंखलालाई सरकारले कुमार पौडेल हुँदै निरकुमार राईसम्म पुर्यायो । पुर्व क्षेत्रमा सरकार हत्यामा उत्रिने यो विषयले पुर्व क्षेत्रका संसदवादीहरु र क्रान्तिकारीहरुबीच विद्यमान अन्तविरोधको अवस्थालाई उजागर गरेको छ । पुर्वमा संसदवादीहरुको केन्द्र रहनु र दलाल, भ्रस्टचारी र माफियाहरुको संरक्षण यहाँ नै बढी हुनुले पुर्वका जनतामाथि अत्याधिक अन्यायअत्याचार रहेको स्पष्ट छ ।
निर्वाध रुपमा जनता लुटिरहेका दलालहरुलाई नेपाल कम्युनिस्ट पार्टी टाउको दुखाइ बन्न पुग्यो । फलत संसदवादी दलालहरु पुर्वमा क्रान्तिकारीहरुको हत्या गर्न तम्सिए । राज्य संयत्रको दुरुपयोग गरेर एउटा राजनीतिक आन्दोलन र क्रान्तिकारी युवाहरुको हत्या गर्दै संसदवादीहरुले दमनको केन्द्र पुर्वलाई बनाए । सुरक्षा संयन्त्रको दुरुपयोग भएता पनि यसमा ओली र पुर्वका लाल गद्धारहरुको अभिमान स्पस्ट रुपमा प्रतिविम्बित भएको छ ।
यसले दमनको केन्द्र पुर्व हो भन्ने मात्र प्रस्ट पारेको छैन कि प्रतिरोध र क्रान्तिको केन्द्र पनि पूर्वलाई बनाइदिएको छ । विज्ञान र तथ्यहरुको आधारमा मुखरित हुन्छ र तथ्यहरुले यहि साबित गरेका छन कि पुर्वका जनता प्रतिरोधी विद्रोहका निम्ति तयार छन् । कम्युनिस्ट आन्दोलनभित्रको संशोधनवाद र बाहिर सामन्तवाद विरुद्ध युद्धको मोर्चा खोल्ने पूर्वका जनता फेरिपनि संगठित बन्ने छन्, जेल नेल हत्या र दमनको सामना गर्दै क्रान्तिलाई निरन्तर अगाडि बढाउने छन्, यसमा कुनै संदेह छैन । सत्ता र शक्तिको अभिमानमा आन्दोलनको प्रवाहलाई देख्न नसक्ने अन्धा शासकहरु, सुन्न नसक्ने बहिराहरु ठुला ठुला क्षति गराउन र जनतालाइ दुख दिन उद्धत छन् । तर अब त्यस्तो हुने छैन जो शासकहरु चाहिरहेका छन् ।
जति रोक्न खोजे पनि जनताको आँधीलाई दुनियाँको कुनै त्यस्तो तागत र शासकले रोक्न सकेको छैन यहि एतिहासिक तथ्य हो । दलालहरु बाहेक क्रान्तिकारी शक्ति, देशभक्त शक्ति, सच्चा लोकतन्त्रवादी शक्तीहरुको संयुक्त मोर्चा र एकीकृत जनक्रान्तिको निर्णायक धक्काले संसदीय पुँजीवादललाई नेपालबाट सदाका लागि उन्मुलन गर्ने छ र वैंज्ञानिक समाजवादी सत्ताको स्थापना हुने छ । सबैले आ आफ्नो मोर्चा सम्हालौं ।







