समय मध्यरातको थियो । पोहोर सालको यसैदिन, अर्थात ठिक एक बर्ष पहिले । बिदाइ हुदैगरेको चिसो मौसम, तरपनी कठ्याङ्ग्रीन बाध्य पार्ने छिप्पिएको जाडो । सुनसान सडक अनि सुतेका बस्तीहरु । पोखरा-काठमाडौ हाइवेको एक परिचीत प्रतीक्षालयबाट दुई आतंककारीहरु प्रहरीले गिरफ्तार गरेको रात ।

प्रहरी प्रशासनको नजरमा फरार अभियुक्तको लिस्टमा थिएँ म । मलाई निरन्तर खोजिनैरहेका थिए उनिहरु । किनकि म परिवर्तनको अभियानमा हिडिरहेको एक बिद्रोही थिएँ । अग्रगमनको मोर्चामा कुदिरहेको एक छापामार । देशको स्वाधीनता, दीगो शान्ति, उन्नति र समृद्धिका निम्ति जनमुक्तिको यात्रामा साढे दुई दशकका विषम बसन्तहरु समर्पित गरेको एक प्रतिबन्धित मान्छे । हो मलाई राज्यले आतंककारीको आरोपमा खोजी गर्नु, वारेन्ट जारी गर्नु, गिरफ्तार गर्नु, झुठ्ठामुद्दा लगाउनु कुनै अस्वभाविक बिषय थिएन ।

२५ औं जनयुद्ध दिवसको पुर्वसन्ध्यामा प्रचारात्मक कार्यमा थियौं हामी । तनहुँको जामुने चोकमा बसेर एकछिन आराम गर्दैथियौं, एकएक प्रहरीहरु भ्यानबाट झरे । विद्यार्थी भाइ पर्वत सेडाइ म गिरफ्तार पर्यौं । हतार हतार हत्कडी लगाए । लगातार केहि मिनेटसम्म निकै अपमानित बोली बोलिरहे एक प्रहरी जवान । ती जवानका गाली सुन्दा लाग्थ्यो उनी कस्तो परिवारमा जन्मे होलान् ! कस्तो समाजमा हुर्के होलान् ! उक्त इलाकामा चोरीडकैतीको बिगबिगी पनि रहेछ क्यारे ! हामिलाइ चोर हुन कि भनेर कब्जामा लिएकारैछ्न सुरुमा । एकछिनमा हाम्रो साथबाट पार्टी केन्द्रले छापेको जनयुद्ध दिवसको पोष्टर अनि केहि अन्य कागजपत्रहरु भेटे अनि आपसमा खासखुस गर्नथाले । भन्दैथिए ‘यिनिहरु पक्कै विप्लवका मान्छे होलान् जस्तोछ ।’ त्यसपछि हामिलाइ खासै सोधपुछ गर्न चाहेनन् । जिल्ला प्रहरी कार्यालयबाट अर्को ग्रुप बोलाए, अनि हामीलाई दमौली हिरासतमा पुर्याए । हिरासत कक्षको ढोकामै पुग्दा ‘ओहो ! कसरी गिरफ्तार हुनुभो दाइ’ भनेर एउटा परिचित आवाज आयो । उहाँ हुनुहुन्थ्यो कास्की जिल्लाका सेक्रेटरी कमरेड सुजन । उहाँलाई पोखराबाट धेरै महिना पहिले गिरफ्तार गरेर थुप्रै जिल्लाहरुका हिरासत घुमाउदै रिहा गिरफ्तार-रिहा गिरफ्तारको अन्यायपुर्ण र अराजनीतिक हर्कतको क्रममा त्यहा ल्याइएको थियो । हामी दुई केहि मिठा कुराहरु गर्यौं र विहानको ३ बजिसकेको थियो, सुत्यौं । तर मलाई खासै निद्रा लागेन ।

विहान उज्यालो हुनेबित्तिकै एक प्रहरी हवल्दारले सोधे, ‘के तपाईंहरु विप्लवको हो ?’ हामीले ‘हो’ भन्यौं । नाम र हैसियत सोधे हामीले बतायौं । जिल्ला इन्चार्ज नै गिरफ्तार परेको कुरा बल्ल थाहा पाए, अनि हतार हतार एसपीसम्म खबर पुर्याए । ठुलै उपलब्धि ठानेको हुनुपर्छ सायद प्रहरी प्रशासनले, उनीहरु खुशी देखिन्थे । एकछिनमै मलाई एसपीले बोलाए, केही सोधपुछ गरे, भन्दैथिए निकै धेरै खोज्यौ तपाईंलाई बल्ल आज फेलापर्नुभयो, मैले समसामयिक राजनीतिक बिषयमा केही कुराहरु गरें । फेरि हिरासत कक्षमै पुर्याए ।

गैरसंवैधानिक र निरंकुश रुपमा राज्यले हाम्रो पार्टीलाई प्रतिबन्ध लगाएको पनि संयोगले ठिक एक बर्ष पुगेको दिन थियो । मलाई राजद्रोहरुको मुद्दा चलाए । आफुलाइ कम्युनिस्टको आवरण दिनेहरु नै सरकारमा छन् । हिजो सङ्गसङ्गै हिडेका कमरेडहरुकै सरकार छ । प्रतिबन्ध पछि एक बर्षको अन्तरालमा देशैभरी हजारौं र तनहुँमा दर्जनौं साथिहरु गिरफ्तार भएका थिए । साथिहरुबाट विभिन्न जिल्ला र दमौली हिरासतको अनुभवहरु सुनेको थिएँ मैले । हप्ता दिनहरु बित्दै गए आफैले प्रत्येक्ष भोग्दै गएँ हिरासतका समयहरु ।

मानसिक यातना दिनु प्रहरीको पहिलो जोड देखिन्थ्यो । परिवार र आफन्तहरुसङ्ग फोन गर्न नदिनु, भेट्न आएका आफन्तलाई पनि गेटबाटै फर्काइदिनुरधम्काउनु, पत्रपत्रिका लगायत आधारभूत सामाग्री नल्याइदिनु, अति न्यून र गुणस्तरहिन खानपिन बनाउनु, औषधि उपचारमा चरम बेवास्ता गर्नु, आदि इत्यादि कर्म प्रहरीका योजनाबद्ध कार्य देखिन्थे । प्रतिकुलताको बीचबाट पनि मलाई भेट्न आउने आफन्त, साथिसङ्गी, विभिन्न पार्टीका मित्रहरू, पत्रकार, मानवअधिकारवादी सबैसबैलाइ हार्दिक धन्यवाद पनि दिन चाहन्छु । खुब मानव अधिकारको ढ्वाङ पिटेर नथाक्ने यो राज्य अनि यै राज्यको प्रशासनमा देखिने गम्भीर स्वेच्छाचारी र सरकारी बर्दिको आडम्बरी दुरुपयोग देख्दा लाग्थ्यो मानव अधिकार, लोकतन्त्र, कानुनीराज्य, बिधिको शासन सब हात्तिको देखाउने दात मात्र हुन् ।

‘मुस्कान सहितको प्रहरी सेवा’ अनि ‘प्रहरी मेरो साथी’जस्ता लोकप्रिय कार्यक्रम पनि सुनेकै थिएँ मैले । तर केही प्रहरीका नियत, बोलिभाषा र कार्यशैली हेर्दा त्यसको ठिक उल्टो लाग्थ्यो ‘अहंकार सहितको प्रहरी सेवा’ अनि ‘प्रहरी मेरो दुश्मन’ । म निकै गम्भीर पनि बनें । प्रहरी काँ हाम्रो दुश्मन हुन र रु श्रीमतीका गुनियो चोली फेर्न, बालबच्चा हुर्काउन अर्थात नुनतेलको जोहो गर्न प्रहरीमा जागिर खाएका हुन् । पुजीवादी सिजनमा न्यून जागिरले परिवार पाल्न पनि पुग्दैन उनिलाइ । हो हाम्रो क्रान्ति ती प्रहरी सेनाका निम्ति पनि त हो नि । देशका दलालहरु, भ्रष्टहरु, ठुला ठुला माफियाहरु, तस्करहरु भने पक्कै हाम्रो शत्रु हुन् । तैपनि मनमा प्रश्नहरु खेलिरहन्थे-नागरिकको शान्ति सुरक्षा गर्नुपर्ने प्रहरीमा किन यस्तो राक्षशीपना रु सामाजिक विकृति र विसङ्गति विरुद्ध चल्नुपर्ने प्रहरीमा, सामान्य सभ्यता त सबैसङ्ग हुनुपर्ने होइन र ? हिरासतका अन्य दर्जनौं थुनुवाहरु देख्दा लाग्थ्यो राज्यको नजरमा यिनिहरु पनि नामुद अपराधी रहेछन् ।

सामान्य भुलमा थुनिएर लाखौंका अमानवीय धन्दाको फन्दामा पर्दारहेछ्न पैसा र पावरको औकात नहुनेहरु ! पैसा, शक्ति र सत्ताको भरमा चोरहरु साधु बन्न पाइने, साधुहरु चोर सावित हुने सक्ने कस्तो विडम्बना छ ! यो देशका खास अपराधीहरुलाइ कस्ले मुद्दा लगाउन सक्ने र ! कस्ले गिरफ्तार गर्नसक्ने ! जाली फटाहा, भ्रष्टाचारी, अत्याचारीहरुलाइ कस्ले कार्वाही गर्नसक्ने ! बिचरा कार्वाही गर्नेसंस्था र ब्यक्तिहरुनै थोरधेरै, कहिकतै मुछिएका छन् । स्वयं राज्यसत्ता र सरकार नै लुटेरा, ठग, भ्रष्ट, अपराधी, स्वार्थी, लोभिपापी बनेपछि सबैतिर समस्याहरु विकराल हुने नै भए । दलाल संसदिय ब्यबस्थाले गर्दा देशमा रोग, भोग, अभाव, अशिक्षा, गरिबी, बेरोजगार, महङ्गी, भ्रष्टचार, परनिर्भर, राष्ट्रघात र संकटहरु झन् झन् भयावह बनेकै कारण हाम्रो पार्टीले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापन गर्ने उद्घोष गरेको हो ।

एक महिनापछि सिडिओ कार्यालयबाट धरौटीमा रिहा गरियो । तर अदालतमा आगजनी र बिस्फोटको मुद्दा छ भनी पुनः गिरफ्तार गरियो । पर्वत सेडाइ भाइको भने कहि कतै कुनै मुद्दा थिएन । तर गैरकानुनी रुपमा हिरासतमै राखियो । किन राखियो ? के कारणले राखियो रु न जवाफ प्रहरीसङ्ग छ, न कुनै मानव अधिकारवादीसङ्ग ! जे गरेपनि हुने जसो गरेपनि हुने, ‘नेपालको कानुन दैवले जानुन’ भन्थे, कथित लोकतन्त्रमा पनि जर्जर बनेकोछ लगातार मनपरि र कानुनको खिलाप गर्ने समस्या । भोलिपल्ट दमौली अदालतबाट सामान्य तारिखमा रिहा भइयो, तर अदालत परिसर भित्रैबाट फेरि गिरफ्तार गरियो । पुनः जिल्ला प्रहरी कार्यालय लगियो, आधा घण्टाजति एसपीसङ्ग छलफल भयो । एसपीले पार्टी परित्यागको कागज गर्ने प्रस्ताव ल्याए, बिचरा एसपीलाई के थाहा हाम्रो राजनीतिक अभियान स्वयं एसपीहरुका निम्ति पनि हो भनेर ।

ठाडो अस्वीकार सहित मैले राजनीतिक बिषयमा केहि छलफल गरें र झुठ्ठामुद्धाबाट अदालतले सफाय दिएको कागज देखाएर त्यहाँबाट निस्कें, अनि हिरासतमा रहेका पर्वत सेढाई भाइसङ्गै बाहिर निस्किदै गर्दा फेरि प्रहरी कार्यालयकै गेटबाट पुनः पक्राउ गरे । रात पर्दैथियो, प्रहरी भ्यानमा हालेर रातारात गोरखा हिरासत पुर्याए । दमौली हिरासतमा बिताएकै प्रकृतिमा गोरखा हिरासतका करिब आधा महिनाका समयसङ्गै कोरोनाको हाहाकार, लकडाउनको उकुसमुकुस र सर्बोच्च अदालतको आदेशमा रिहाई भएको आज ठिक एक बर्ष पुगेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार