
खै हाम्रा लालसेना
खै हाम्रा हतियार
हामीले लडेको जनयुद्ध
केका लागि थियो ?
के यही राज्यसत्ताकै निम्ति हो त ?
हिजो जनताको अधिकारको निम्ति
आवाज लिएर
अघि बढ्ने युवाहरु
आज आफ्नो जीवनसँग
संघर्ष गर्दै छन् !
हिजो जनताको निम्ति लड्छु
भन्नेहरु आज कुर्सीको निम्ति लडिरहेका छन्
हिजो हामीसँग भएको शक्ति गुमायौं
के थियो तिम्रो स्वार्थ
जो तिमी आज सत्ता नै खोजिरहेका छौं
परिवर्तन भनेको युद्धबाट
मात्र सम्भव छ भन्ने तिमी हिजो
आज किन शान्तिको नारा जपिरहेका छौं
हजारौंको बलिदानबाट
पाएको तिम्रो यो सत्ता
ज्युँदै मर्न दिँदैनौं भन्ने तिमी
आज फेरि हजारौंलाई
मर्न बाध्य बनाउँदै छौ
राज्यसत्ता केही होइन
भन्ने तिमी
किन आज कुर्सी र सत्ताको लागि
मरिहत्ते गरिरहेका छौं
के का लागि थियो जनयुद्ध ?
आज यो प्रश्न तिमीतिर तेर्सिएका छन्
अनि तिमीले हिजो बाँडेको सपना
जनताको माझमा
सरकार तिम्रो हातमा थियो
जनताले के पाए ?
अधिकार माग्ने आवाजहरुमाथि
किन प्रतिबन्ध लगायौं ?
युद्धका घाइतेहरुमाहरु छटपटीरहेका छन्
किन तिमी चुप बस्यौं ?
तिम्रो राजनीतिक स्वार्थका निम्ति
सोझा जनतालाई किन ढाल बनायौं ?
हजारौं जनमुक्ति सेनालाई बिसर्जन गरायौं
वर्गीय मुक्तिका शब्दहरु विसर्जित भए
तिमी सत्तामुखी बन्दै
सामन्ती दलाल वर्गको कित्तामा पुग्यौं
के यही व्यवस्थाका लागि
थियो त्यो बलिदान ?
के यही व्यवस्थाका लागि
थियो त्यो जनयुद्ध ?







