प्रचण्डले नेतृत्व गरेको माओवादी दल संसदीय रछ्यानमा लडिबुडी खेलेर पुस माघको जाडोमा ढलबाट निस्केको मुसोजस्तो भैसकेको थियो। तर नाम भने माओवादी छँदै थियो। त्यो माओवादी नाम लोकलाजको विषय बनिसकेको थियो। किन कि पार्टीको बर्ग चरित्र बदलिएर अर्कै भैसकेको थियो। त्यो बदलिएको बर्ग चरित्र र पुरानो नामबीचको अन्तरविरोधको समाधान श्रमजीवी बर्गतिर फर्केर होइन बरु अझ होलसेलमा दलाल पूँजीपती बर्गमा स्थायी बसाई सराई गर्ने निर्णयद्वारा गरिएको थियो। त्यसैको राजनीतिक निर्णय थियो नेकपा एमालेसँगको पार्टी एकता। त्यस एकताको केन्द्रमा कुनै मार्क्सवाद थिएन ।

माओवाद त पेरिसडाँडाको रद्दीको टोकरीमा मिल्काएर गएका थिए साथीहरू। एमालेसँग एकताको मुख्य दाऊ भनेको संसदमा दुई तीहाई ल्याउने दल बनाएर वर्षौं वर्ष आलो पालोमा सत्ता सुख भोग्नु थियो। सत्ता भन्ने कुराको सुखभोग यस्तो हुन्थ्यो कि घोक्राएर ननिकालेसम्म कसैको पालो भनेर कसैले छोड्ने हुनै सक्दैनथ्यो र भएन पनि । त्यही सत्ता सुखको आलोपालो सहमती मिचेर केपी ओलीले अकन्टक मस्ती गर्न थालेपछि उर्लेको भोकले त्यसभित्र वितण्डा मच्चाएको थियो।

एजेण्डाहरू त थुप्रै थिए। तर मनभित्र हुडलो मच्चाउने एजेण्डा भनेको कुर्सी नै थियो। केपी ओलीको हाँडीघोप्टे प्रवृत्ति र प्रचण्डको हन्तकाले प्रवृत्ति बेस्सरी टकराए र अन्तत दल बिभाजनसम्म पुग्यो। तर राष्ट्रिय अन्तराष्ट्रिय चलखेल र शक्तिकेन्द्रहरूका आआफ्ना स्वार्थहरूको कारणले निर्वाचन आयोग टाउको कन्याएर बस्यो भने सर्बोच्च अदालतले वादी पक्षले माग नै नगरेको विषयमा समेत षडयन्त्रपूर्वक प्रवेश गरेर पुराना पार्टीहरू ब्युँताइदिने हाँस्यास्पद निर्णय गरिदियो। त्यसपछि लड्डु खाएर लगाएको पिरती आची गर्ने बेलामा छुटाएर माधव नेपालहरू आफ्नो पद संझदै पुरानो घरमै पुरानै बुहार्तन खप्न राजी बनेर फर्किए। नेपाली राजनीतिको यो दृष्य हेरिरहदा हेरिरहेको चलचित्रलाई रिभर्स गरेर हेरेजस्तै लाग्थ्यो।

प्रचण्डले मात्र होइन, केपी ओलीले पनि नेकपा एमाले बिघटन गरिसकेका हुन। दुवै पार्टी अस्तित्वमा नरहेर नयाँ पार्टी बनेपछि नयाँ नाममा प्रतिनिधीसभा सदस्यहरू चुनिए।राष्ट्रिय सभा सदस्यहरू चुनिए। स्थानीय निकायमा कैयन पात्रहरू चुनिए। ती सबै मुध्दा आइलागे भने सर्बोच्च अदालत आफै फर्स्याउन नसकेर भाग्ने अबस्था आउन सक्छ। यसरी चौतर्फी अराजकता सिर्जना गरेर अर्को तेश्रो शक्ति सत्तामा आउन खोज्दै त छैन भनेर पनि सोच्ने समय आएको छ।

तत्काल हेर्दा एमालेवालाहरू ठूलै लडाई जितेझैं गरी हर्षोल्लासमा छन भने माओवादी वालाहरू गहिरो विशादमा फसेको देखिन्छ।अब संसदभित्रको नाटकले कस्तो दृश्यको प्रदर्शन गर्ने हो भनेर पनि भनिहाल्न सकिने अवस्था छैन। अहिले सर्बोच्चको निर्णयपछि पैदा भएको परिस्थितिले क्रान्तिकारीहरूलाई नाफा न घाटाको अबस्था देखिन्छ। संसदीय ब्यबस्थाभित्र पैदा भएको झमेला क्रान्थिकारीहरूले धेरै सोच्नु पर्ने झमेला होइन। तर प्रचण्डको प्रभावमा रहेका सापेक्ष इमान्दारहरूलाई रुपान्तरण गरेर नयाँ धारामा ध्रुबीकरण गर्न भने एऊटा अवसर आएको छ।

यसै बीचमा कैयनले अब पूर्व माओवादीहरू मिल्नु पर्ने तर्क गर्न थालेका छन। यो तर्क झट्ट सुन्दा मिठो लागे पनि हकिकतमा यो भावनाको छाल उराल्नु मात्र हुने छ। किन कि कोही पहिले माओवादी थियो भन्दैमा महापतनमा सगौरव डुबेर निस्केका र अझै पनि आत्मा आलोचनासम्म गर्ने सोचमा नभएका, आफ्नो बदलिएको बर्गलाई त्याग गर्न संभव नै नभएका बरु साम्राज्यवाद तथा तिनका घरेलु एजेण्टहरूसँग हजारौं दृश्य अदृश्य बन्धनमा अनुवन्धित भैसकेकाहरू चाहेर पनि क्रान्तिकारी धारामा आउन सक्दैनन् र तीबाट क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने आशा गर्नु भनेको आफ्नै दिमाग चौपट भएको देखाउनु मात्र हो ।

यसै प्रसंगमा हिजो मैले ‘आफ्नो बिगत प्रति आत्म समिक्षा र आत्मा आलोचना गर्दै क्रान्तिकारी आन्दोलनमा योगदान गर्न तयार हुने हो भने प्रचण्डलाई इतिहासले एक पटक मौका दिन सक्छ। तर अझै संसदीय आहालमै चोपलिन चाहने हो भने प्रचण्ड चढेको जहाज संसदीय बर्मुढा ट्याङ्गुलरमा फस्ने निश्चित छ’ भनेर लेखेपछि केही राजनीतिक नेतृत्वले अन्तरङ्ग कुराकानीमा प्रचण्डको खुव माया लागेको रहेछ, जानुस यार जानुस, प्रचण्ड आपतमा छन। उनलाई मद्दत पनि हुन्छ, तपाईको आत्मालाई शान्ति पनि हुन्छ’ भनेर भन्न पनि भ्याए। र कसैलै ‘सिरक ओढेर बसेको बिरालोले म्याऊ गर्यो’भनेर दस्तक दिइहाले। म ती साथीहरूले हतार गरेर सल्लाह दिए भन्ने सोच्दै छु। या ती साथीहरू मप्रति कही न कही पूर्वाग्रह पालेर पो बसेका थिए कि भनेर पनि सोच्दै छु।या ती साथीहरू मैले सार्वजनिक रुपमा गल्ति गर्ने समयको पर्खाईमा पो थिए कि पनि भनेर सोच्दै छु।

मेरो कुरा प्रष्ट छ-यथास्थितिका प्रचण्ड भूपू माओवादी मात्रै हुन। हाल उनी माओवादी भएको सर्बोच्चको झेली निर्णयको कारणले कानूनी अर्थमा मात्रै हो। प्रचण्डको दिमाग अझै काङ्ग्रेससँग मिलेर सरकार चलाउनेतिरै छ। उनको दिमाग एमालेसँग एकता गरेर सही नै गरेको थिएँ भन्ने छ। उनको दिमाग बितेका दुई अढाई वर्षका(त्यसो त डेढ दशकका) बर्घघाती निर्णयहरूमा पश्चाताप गर्नेतिर छैन। त्यसैले अहिले आफ्नै पूजीवादी खेलमा उत्तानो परे भनेर उनलाई उठाउन जान कुनै जरुरी छैन। मैले भन्न खोजेको कति मात्रै हो भने, यी तमाम घटनाहरूबाट पछारिएर टाउको रन्थनिएर कतै उनी संसदीय निद्राबाट ब्युँझेर पश्चातापसहित त्यो पनि ू क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा योगदान गर्न तयारू अर्थात नेतृत्व नबन्न पनि तयार भएर इमान्दार प्रस्ताव गर्छन भने(त्यस्तो गर्ने संभावना लगभग छैन) त्यो बेला पनि छुवाछुत गर्नु सही हुदैन भन्ने हो। चौतर्फी घेराबन्दी र लखेटाईमा परेपछि उनका अगाडि घेरा तोडेर निस्कने या घेरा भित्रै रुदै चिच्याउदै मर्ने भन्ने दुई वटा विकल्प छन। उनीले आँट गरुन या मरुन त्यो उनको कुरा हो तर उनीसँगै कैयन इमान्दार ब्यक्तिहरू उपयुक्त निकासको लागि विष हालेको खोलाका माछाजस्तै भैरहेको समयमा ती साथीहरूले दलभित्र सकरात्मक पहल गरुन भनेर उत्प्रेरित गर्न मैले त्यो आशयको स्टाटस लेखेको हुँ ।

त्यसैले मैले लेखेको कुरालाई आफूखुसी अर्थ नलगाऔं। छोटो स्टाटसले केही कुरा प्रष्ट नभएको भए आजको कुराले थप प्रस्ट होला।

र, अन्तमा क्रान्तिकारी शक्तिले रणनीतिक मोर्चालाई अझ सुदृढ विस्तार गर्दै दिशाहीन बनेर अल्मलिरहेका धेरै मान्छेहरूलाई (त्यसभित्र मलाई पनि गणना गर्नेहरूसँग पनि केही भन्नु छैन) गोलबन्द गर्न सशक्त पहल गरुन भन्ने अनुरोध पनि गर्न चाहन्छु।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार