म स्कुल पढ्थें, झापाको गरामुनि दुर्गा जुनियर हाइस्कुलमा। नेत्र घिमिरे, नारायण उप्रेती, मोहन उप्रेतीलगायत थुप्रै थिए, मलाई पढाउने शिक्षक जो कम्युनिस्ट थिए। उनीहरुहरु असल मानिस थिए।उनीहरु किसानका खेत खन्थे र अन्याय अत्याचारको विरोध गर्ने। त्यसबेला मेरो स्कुलमा राष्टिय गान श्रीमान गंभीर नेपाली थिएन। ‘ती चन्द्रसुर्य लाल गगनमा चम्किरहेका हेर’ थियो। मलाई गरिब र किसानले गरेर खान पाउने व्यवस्थाका बारेमा गुरुहरु बताउँथे। अर्थात त्त्यो युग नयाँ युग बनाउने सपनाको युग थियो। मेरो यात्रा त्यहाँबाट शुरु भयो।

त्यो युग सपना निर्माणको युग थियो। तर त्यो सपना देख्नु मर्नु पर्ने कारण बन्थ्यो। दमन थियो। हरेक पल क्षण राजतन्त्रलो स्तुती गाउनु पर्थ्यो। त्यो युग विस्तारै पंचहरु मालिक बन्ने युगमा परिणत भयो। पंचले सन्तान पाए, तिनलाई मण्डले भनिन्थ्यो। यिनले जसलाई पनि कुट्न पिट्न पाउँथे। म जति जति हुर्कदै गए, मेरो स्वतन्त्रता उतिनै साँगुरिदै गयो। त्यसबेला राजमार्ग पनि बन्यो, बस चढ्न पनि पाइयो। त्योबेला १५ रुपैयामा चीनमा बनेका जुत्ता, २० रुपियाँमा कट्नको सेतो सर्ट र ५० रुपैयाँमा कट्नको चिनियाँ पैन्ट पनि पाइन्थ्यो। सबैले लाउँथे तर गीत राजारानीको गाउनु पर्थ्यो। बाबुआमा पनि तिमी नै हौ, देश पनि तिमी नै हौ, भगवान पनि तिमी नै हौ, सपना पनि तिमी नै हौ। जब झापाको आन्दोलनमा दमन भयो। रित पनि बदलियो। अब स्कुलमा राष्टिय गान सकिन्थ्यो, तब ‘हाम्रा राजा हाम्रो प्राण’ भन्नू पर्थ्यो। त्यो युग अझै अगाडि बढ्यो, तब भन्नू पर्यो ‘सबै नेपाली पन्च र सबै पन्च नेपाली।’ लोकतन्त्रको शब्द ओठसम्म मात्र आउन पाउँथ्यो।

किन त्यो दमन भयो ?

मेरो दिमागले त्यसलाई स्वीकार गरेन। म कलेज पुगे कलेजमा मन्डले, रत्नपार्कमा मन्ड्ले, जताततै मन्ड्ले। मैले स्कुलमा देखेका गरीबको अन्त गरि सपनाको संसार बनाउने मान्छे काठमाडौ आएर पन्च बनेछ्न्। उनीहरु ज्ञानेश्वरको पचायत जाँचबुझमा जागिरखान थाले। मलाई अचम्म लाग्यो। यी त सिद्धान्तका लागि मर्न डराउनु हुन्न भन्थे। तब भित्र भित्रै देश बनाउनेहरुसङ्ग संगत हुन थाल्यो। यिनीहरु सामन्य र असल मानिस थिए। खर्च थिएन, पढाइ छोडेका थिए, परिवार पनि बिर्सेका थिए। यिनीहरु नै देवता हुन् भन्ने लाग्थ्यो। त्यसैले सपना मरेन।

तर सडकमा हिँडदा पनि डर थियो त्यसबेला। मण्ड्लेको गोदाइ जताततै हुन्थ्यो। यस निरंकुशताका विरुद्धमा मानिसको अवाज खुल्यो। लडदै, पिटाइ खाँदै, जेल जाँदै स्वतन्त्रता ल्याइयो। छाती खोलेर बोल्न पाइयो। सरकार बनाउन पाइयो। तर हिजोका देवताहरु मानिस होइन अर्थोकै रहेछ्न भन्ने देखिन थाल्यो। उनीहरुलाई चाकरी मन पर्दो रहेछ। एक खालका साथीहरु उनीहरुलाई खुशी पार्दै अरुलाई समाप्त गर्न थाले। उनीहरु अहिले ठुला मानिस बनेका छ्न्। अहिले उनीहरु धनी बनेका छ्न्। अहिले उनीहरु मेरो करबाट महँगा गाडी चढ्छ्न्। अहिले उनीहरु राजनीति होइन बिखनीति गर्छ्न्। अहिले स्वतन्त्रता त छ, तर नैतिकता मर्यो। अहिले उनीहरुका दिमागमा गरिब होइन, गरिब लुट्ने तर्किव छ। उनीहरु झोला बोकाउँछन् र अरु उनीहरुको झोला बोक्छन्। नैतिकता नभएपछि मानिस नांङ्गो हुंदोरहेछ। उनीहरुको नश्ल परिवर्तन भएको छ। लाग्थ्यो स्वतन्त्रता भए बांच्न अरु चाहिन्न, अहिले लाग्छ नैतिकता नभएपछि त सास फेर्न नै नसकिने रहेछ। अहिले सास फेर्न नै गाह्रो भएको छ। हिजो मलाई शिक्षकले ‘गोरु हो’ भनी सिकाएको थियो, आज त्यसलाई ‘गधा हो’ भन्नू पर्ने भएको छ।

विकास अब प्राथमिकता हो भनेको हिजोअस्ती हो। मैले ठाने अब देशमा उद्योग खुल्ने भए। अब बारी ढकमक्क हुने भए। तर वारि त सबै डोजरले काटी सके। नेपाल अहिले खन्ने भाइरसले ग्रस्त छ। देशभरी डोजरले खने पनि मानिसले खुट्टैले हिड्नु पर्छ। डोजरले पानी जहाज पनि पल्टायो र रेल पनि पल्टायो। स्वतन्त्रता र अनैतिकताको बाजा बजाएर विवाह भयो। जब स्वतन्त्रता र अनैतिकताको विवाह भयो, भ्रस्टाचार सन्तानको रुपमा जन्मियो।

भ्रस्टाचारले विचार मार्दो रहेछ। अहिले नेपालले चीनले आर्थिक विकास गरेजस्तै षड्यन्त्र र दुराचारको प्रगतिमा विश्वकीर्तिमान कायम गरेको छ। आज एकजनाको विरोध गर्नु होस् र भोली मन्त्री हुनुहोस्। मन्त्री बन्न पाउनु भएन भने यता आएर उताकालाई गाली गर्नु होस्। नाम कम्युनिस्ट राख्नुहोस् र काम असभ्य गुन्डाको गर्नुहोस्। नाम बुद्धिजीवी काम रछ्यान निर्माण। मैले ८ वर्षमा शुरु गरेको मेरो चेतनाको यात्रा अहिले सत्ता पद र स्वार्थका लागि नागों हुनु पनि सभ्य हुनु नै हो भन्ने बिन्दुमा पुगेको छ।

आउने पुस्ताले अब (अ) आफ्नो भबिस्यलाई हेरेर चेतना निर्माण गरेन भने उ कसैको दास हुनेछ।(आ) बाहिर सडकमा रास्ट्र र भित्र कोठा विदेशीको भक्ती गर्नेहरुले देश ध्वस्त पार्दै गरेको देख्न नसक्ने युवापनि देशका लागि बोझ नै हो। (इ) देशलाई भ्रष्टाचार, विदेशी खेल र विचारविहिनताले सक्दैछ।

आज मसङ्ग कम्प्युटर छ, दुनियाँको जानकारी छ, सबैथोक छ। तर चेतना छैन। म सङ्ग राजनीति छ, तर नैतिकता छैन। म सङ्ग प्रविधि छ, तर देशप्रेम छैन। म सङ्ग कम्युनिस्ट नेता र प्रधानमन्त्री छ्न्, तर गरिबको आशा छैन। म सङ्ग शिक्षा छ तर ज्ञान छैन। मसङ्ग केबल देश छ। यदि युवाले म नै देश भन्ने चिन्यो भने विचारहिन, नैतिकताहिन र मानवताहिनहरुले चित खानेछ्न्। यो देशका मालिक केबल जनता हुन्, नेता होइनन। विचारको खेतीले मात्र राजनीतिलाई नैतिक बनाउँछ। मेरो यात्रा विचारबाट विचारहीनतामा आइपुगेको छ। जताततै मानिस नांगिएका छ्न्, त्यसैले ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार