
पूर्वमा लाल किरण मुस्कुराएको छ । हिमाल हाँसेको छ । लाली गुराँससँगै पहाड रक्तिम बनेको छ । वन उपवनमा लाल ध्वजा । प्रकृति हाँसेको छ, प्रतिबन्ध फुकुवा भएको दिन । ०७५ फागुनदेखि ०७७ फागुनसम्म प्रतिबन्धको अग्नीपरीक्षा । डगमग डगमग छैन एकीकृत जनक्रान्ति ।
दुई महिनामा क्रान्ति सखाप पार्ने सरकारी घोषणा कागजी बाघ बन्यो । जनताबीचमा लुकामारी, सुरक्षानुभूति जनताको अपार माया र सद्भाव आदि एकीकृत जनक्रान्तिको विशेषता हुन् । एनसेलको राजस्व छली, अमेरिकाको ग्रायण्ड डिजाइन र यसको संश्लेषण प्रतिबन्ध हो । प्रतिबन्धमा प्रतिरोध गर्नु बाध्यता र तीतो यथार्थता थियो विप्लव नेकपाको । प्रतिरोध शान्तिपूर्ण भयो । शान्तिपूर्ण हुनुमा तीन कारण थिए । एउटा पूर्व तयारी बिना अपर्झट । दोस्रो सरकारी छलकपट र षड्यन्त्र । अनि जनतामा संभाबित हुने क्षतिको बिद्रुपीकरण र न्यूनिकरण । आइलागेपछि सगरमाथा पनि थाम्ने आँट र साहस हुनु स्वाभिमानी नेपालीको इतिहास हो । नालापानीमा बन्दी भए पनि बीर बलभद्रले आत्मसमर्पण गरेका थिएनन् अंग्रेजसँगको युद्धमा । यस्तै गति र यति गरेर विद्रोह अगाडि बढेको देखिन्थ्यो ।
चैत्र वैशाखको डढेलोजस्तै विद्रोह देशैभर फैलियो । वैज्ञानिक समाजवाद, जनजीविका, समानता र न्यायको लागि विद्रोहको तुुफानी चल्यो । पुँजिवादी दलाल, सामन्त, शोषक र उत्पीडकहरुको डाँको चल्यो । अचम्मको कुरा त एकताकाका पूर्व युद्धनायकले मलाई विप्लवले मार्दैछ भनेर रोइलो गरेको भिडियो सार्वजनिक भयो । स्मरण रहोस् युद्धबाट भागेका नायक २-३ सय प्रहरीको घेराभित्र छन् । अझै डर र त्रास ?
विद्रोह गाउँ गाउँ बस्ती बस्ती, पहाड, हिमाल र तराईमा पुग्यो । जनअदालतबाट भूमाफियालाई कारबाही । कब्जा गरेको जमीन किसानलाई फिर्ता । भ्रष्टाचारीलाई जनताको सामु उभ्याइयो । यसैले होला जनता भन्छन्, जनताको साहरा र ढुकढुकी एकीकृत जनक्रान्ति। राष्ट्रियता र राष्ट्रिय योजनामा भएको अतिक्रमणका विरुद्ध नेपाल बोल्यो । भ्रस्टाचारको निशाना लाग्यो । शान्तिपूर्ण जनकारबाही भयो । तर जनयुद्धजस्तो ब्यक्ति हत्या भएको देखिएन । प्राविधिक कारणले ८ जना होनहार युवा र कुमार पौडेल सहित २ जना विद्रोहीको सरकारी षडयन्त्रबाट ज्यान गयो । २ वर्षको प्रतिबन्धमा १० जना सहिद भए ।
सरकारी पक्षबाट २ जनाको ज्यान गएको हो । जो मरे पनि नेपाली मरे । यो राष्ट्रको नै क्षति हो । सरकारको रवैयाले केही विकासका संरचना पनि ध्वस्त भए । सनकमा गरेको प्रतिबन्धलाई देशप्रेमी नेपालीहरुले आआफ्नो ठाउँबाट विरोधका स्वरहरु निकाले । मित्रशक्ति पार्टीहरुले विज्ञप्ती दिएर ऐक्यबद्धता जनाए भने विदेशस्थित कम्युनिष्ट पार्टीले पनि प्रतिबन्धको विरोध गरेर प्रमलाई लभलेटर पठाए । फिनल्याण्ड र अष्टे«लियाका कम्युनिष्ट पार्टीले प्रम वलीलाई प्रतिबन्ध फिर्ताल्याउन आग्रह गरेका हुन् ।
सबभन्दा ठूलो कुरा त एकीकृत क्रान्तिले एमसीसी –(मिलेनरी च्यालेन्ज कर्पोरेशन) को सशक्त विरोध गरी यसको बहिष्कारको लागि जनमत निर्माण गरेको छ । यो एउटा सुन्दर पक्ष हो । ५६ अर्बको लोभमा आफ्नो देशमा अमेरिकी सेनाको क्रिडास्थल बनाउनु राष्ट्रियता विराधी कार्य हो । यो इन्डो प्यासिफिक रणनीतिसँग सम्बन्धित छ भनेर अमेरिकी विदेश सचिव तथा नेपालस्थित राजदूतले पनि भन्दै आएको कुरा हो । अमेरिकाको नेपालको छातीमा टेकेर चाइनालाई हिर्काउने रणनीति हो एमसीसी । यसमा नेपाले पनि १३ अर्ब दिनुपर्ने हुन्छ ।
यो परियोजनमा अमेरिकाको नियम कानून लागू हुन्छ । नेपालको नियम कानून, संविधानले चल्दैन एमसीसी । एउटा सार्वभौम देशमा अमेरिकी कानून हाबी हुनु निश्चय नै पराधिनताको संकेत हो । कुनै देशले सहयोग गरेमा संसदले नै पास गर्नु पर्ने कहाँको विषय हो यो ?नेपालको नदी नालाबाट बिजुली निकालेर गोरखपुर रिजर्भाएरमा पठाउने अमेरिकी परियोजना हो एमसीसी । यसका लागि नेता झलनाथ खनालको संयोजकमा बनेको भीम रावल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली समेतको ३ जनाको आयोगले पनि एमसीसी खारेजगर्नु पर्ने अवधारणा दिएको थियो । तर अहिले भीम रावलको स्वर सिल्टीको ताप्के सेलाएजस्तै सेलाएको छ । आशा गरौ फेरि तातिने छ ।
अहिले विप्लव नेकपाको प्रतिबन्ध फुकुवा भएको छ । अहिले परिस्थिति फेरिएको छ । भ्रष्टाचारमा बदनाम भए पनि अहिले राष्ट्रियताको सवालमा प्रम केपी ओलीको राष्ट्रियतामा अडान देखिन आएको छ । भारतीय पत्रकारलाई झिकाएर नेपाल र भारत छोटे भाई र बडे भाई होइन । भूगोलमा भारत ठूलो भए पनि दुबै देश समान छन् भन्ने अन्तरवार्ता दिएका छन् । लिम्पियाधुरा, लिपुलेख समेटिएको नक्शा निकालिएको हो । यही कुराले पनि ओलीसँग भारत टाढिएको छ । तर पनि खुट्टा कमाएर नक्शा पाठ्यपुस्तकमा छापिएन । एमसीसीले नेपालको राजनीति खलबलिएको छ । एमसीसीले पेलेको भएर पनि प्रमले संसद विघटन गरेको एउटा कारण हुनसक्छ । अर्को कुरा पार्टी गुट उपगुटमा विभाजित भएर उनी अल्पमतमा भएको देखिन्छ। राजनैतिक विश्लेषक हरि रोकाको भनाईअनुसार ओलीले आफ्नो पाप पखाल्न पनि प्रतिबन्ध फुकुवा गरेका हुन् । यो एउटा बाध्यता पनि थियो । तीन बुँदे सहमतिमा प्रतिबन्ध फुकुवा भएको छ । (१) शान्तिपूर्ण गतिबिवध गर्ने (२) गिरफ्तार भएका वा अदालतमा मुद्दालागेका सबैलाई रिहा गर्ने। (३) आपसी वार्ता र संवादबाट देशमा भएका समस्याहरुको समाधान गर्दै जाने ।
यसमा सहिदका परिवारलाई क्षतीपूर्ति दिने र जीवन उत्सर्ग गर्ने सबैलाई सहिद घोषणा गर्ने कुरा देखिदैन । कुनै कुनै शान्ति वार्ता नचाहनेहरुले हतियारको कुरा झिकेर उत्तेजित पार्ने कुरागरेको सुन्दा अचम्म लाग्छ । यो युद्ध होइन । विद्रोह हो । नत कुनै प्रहरीको अफिसमा हमला गरेर हतियार लिइएको थियो नत ब्यारेक नै कब्जा गरिएको थियो । यो निशस्त्र शान्तिपुर्ण विद्रोह थियो । विद्रोह त अहिले पनि निरन्तर देखिन्छ । यसमा कसैले जित्ने कसैले हार्ने गरेको छैन । वार्तामा भएका शर्तहरुमा दुबै इमानदार हुनुपर्छ । यहाँ वैज्ञानिक समाजवादको लागि जनमत संग्रहको प्रस्ताव पनि राखिएको छ । कुनै नेताले भनेको पाइन्छ कि बलप्रयोग नगरिकन वैज्ञानिक समाजवाद आउदैन । ती नेताको भनाई पनि ठीक छ । तर ०६२।०६३ को जनआन्दोलन पनि त शान्तिपूर्ण तरिकाले भएको हो । राजा आफै दरबार छोडेर गएका हुन् । सबै कुरामा रक्तपात हुनुपर्छ भन्ने छैन । चीनमा पनि माओ जापानी युद्धलाई परास्त गर्न चेङ्काइसेकसँग मिलेको देखिन्छ ।
ठोस परिस्थितिको ठोस विश्लेषण गर्नु पर्छ । मेरो गोरुको बाह्रै टक्का भनेर पनि हुदैन । यहाँ पुर्वाग्रह छ । आफूले पनि काम नगर्ने गर्नेको पनि खुट्टा काटने पवृत्ति राम्रो होइन । खाने मुखलाई जुँगाले छेक्दैन । यहाँ पवृत्तिको कुरा छ । नयाँ जनवादको खिचडी अझै पाकेको छैन । नत वैज्ञानिक समाजवादको । आत्मगत स्थिति भएको छैन भन्दै क्रान्तिबाट पन्छिने प्रवृत्ति छ । सधै जनयुद्ध हुन सक्दैन । जनयुद्धका नायकले क्रान्तिको झण्डा सडकमा मिल्काएर विदेशी शक्ति सामु आत्मसमर्पण गर्न पुगे । १७ हजार सहिदको सपना चकनाचुर पारे । जनता र जनमुक्ति सेनालाई ठूलो धोकाभएको छ । अहिले देशको आवश्यकता जनविद्रोह हो । आवश्यकता वैज्ञानिक समाजवाद हो । यसका लागि जनमत संग्रह हुनुपर्छ । जनतालाई ब्यवस्था छान्ने अधिकार दिनुपर्छ । यसबाट हुन नसके जनताले विद्रोह गर्छन् ।
रोग भोकले ग्रसित जनता मुक्त नभएसम्म क्रान्ति रोकिदैन । वर्गीय समाजमा वर्ग विभेद भएसम्म शान्ति हुदैन । १९१७ को अक्टोबर क्रान्ति, १९४९ मा चीनमा भएको समाजवादी क्रान्ति, पूर्वी युरोपमा भएको १९५० देखि १९५० सम्मको क्रान्ति, उत्तरी भियतनाममा (१९४६), कोरिया (१९४८) क्युवामा (१९४९) मा भएका क्रान्ति सबै सफल भएका हुन् । तर केही ठाउँमा संशोधनवाद प्रतिगमनमा पुग्यो । तर पनि क्रान्ति जारी छ । समाजिक साम्राज्यवादको पतन्नोमुख, पुँजीवादी दलालको संकट, संसदीय ब्यवस्थाको असफलता, महंगी, बेरोजगारी आदि क्रान्तिका वस्तुगत स्थिति हुन् ।
न्याय र समानता, मुक्तिका लागि सर्वहारावर्गको अधिनायकत्वमा राज्यसत्ता आदि एकीकृत जनक्रान्तिका उद्देश्य हुन् । यसका लागि सबै सच्चा वामहरुको एकीकरण हुनुपर्छ । अहिले शुरुवातमा रणनीतिक मोर्चा बनेको छ । अपेक्षा गरौं यो एउटा सिङ्घो पार्टी बन्नेछ । अहिले देश फिजीकरण र सिक्कीमीकरणको जोखिममा छ । नेपालका लेण्डूपे सलबलाएको अवस्था छ । यसको विरोधमा सबै देशभक्त, प्रजातन्त्रप्रेमी र उत्पीडित जनताहरु एक जुट हुनु जरुरी छ ।







