
मुलुकमा देखा परिरहेका पछिल्ला असन्तुष्टी, निराशा र आक्रोशले तत्कालीन बेलायती र फ्रान्सेली क्रान्तिपछि प्रतिक्रान्तिको इतिहासको स्मरण हुने गर्छ ।
१७ औं शताव्दीको मध्यकालमा बेलायतमा राजा चाल्र्स प्रथमको निरंकुश शासनबाट जनता वाक्कदिक्क थिए । राजाको निरंकुश र अत्याचारी शासनका विरुद्ध ‘हामी जनताको पक्षमा भएको शासन ल्याउँछौं’ भनेर तत्कालीन बेलायती पुँजीवादी संसदवादीहरुले आन्दोलन गरे । सन् १६२५ मा राजा भएका चाल्र्स प्रथमले सन् १६४९ सम्म शासन गर्दा राजा र संसदबीच निकैं पटक द्धन्द्ध भयो । खासगरी राजा र संसदबीच कित्ताकाट चाँहि सन् १६४२ मा भयो । यही सन् १६४२ देखि संसदवादीहरुले आफ्नो छुट्टैं सेना ‘न्यु मोडेल आर्मी’ निर्माण गरेर राजको सेनाविरुद्ध निर्णायक संघर्ष गरे । अन्ततः निरंकुश राजा चाल्र्स प्रथमको सेनालाई जनताको बलमा संसदको सेनाले सन् १६४९ मा परास्त गरेरैं छाड्यो । जुन गणन्त्रवादी सेनाको नेतृत्व ओलिवर क्रमवेलले नेतृत्व गरेका थिए ।
आन्दोलन सफल भएपछि १ डिसेम्वर १६४८ मा चाल्र्स प्रथमलाई पक्रेर कैद गरियो । अब चाल्र्स प्रथममाथि अभियोग र न्यायलयको स्थापनापछि सोही न्यायलयले राजाको बध गर्ने निर्णय लियो । त्यही निर्णयअनुसार ३० जनवरी १६४९ को राजमहल नजिकैको मैदानमा चाल्र्स प्रथमलाई फाँसीमा झुण्डाएर मृत्युदण्ड दिइयो । भीडबाट चाल्र्स प्रथमलाई जल्लादको घोषणा गरियो– ‘यो देशको शत्रुको शीर हो ।’ क्रमवेलले राजाको मृत शरिर देखेर करुण शव्दमा भनेका थिए– ‘क्रुर आवश्कयता ।’
चाल्र्स प्रथमलाई मृत्युदण्ड दिएपछि बेलायतमा गणतन्त्र स्थापना भयो । गणतन्त्रपछि गणतन्त्रवादी नेता क्रमवेलले देशको शासन सत्ता संचालन गरे । क्रमवेलले शासनको नेतृत्व गरेपछि सबै अधिकार आफ्नो हातमा केन्द्रीत गरे । उनी अब चाल्र्स प्रथमभन्दा कुनैं अर्थमा कम देखिएनन् । संसद भंग गर्ने र आफु अनुकूलको संसदको निर्माण गर्न थाले । हुँदा हुँदा सन् १६५४ देखि क्रमवेलले सैनिक शासन लागू गरे । यसपछि क्रमवेल निकैं शक्तिशाली बने । उनले भनेको आदेश कानुन बन्न थाल्यो । मन नपर्ने मान्छेलाई संसदबाट पदच्युत गर्ने, मन पर्ने मान्छेलाई नियुक्त गर्नथाले । यस्तो भएपछि सबैतिर असन्तुष्टीहरु पैदा हुनथाले ।
बेलायतमा जुनबेला राजाहरुको निरंकुश र तानाशाही शासन थियो, राजतन्त्रविरुद्ध चलेको विद्रोहको लक्ष्य देशमा पुनः पूरानैं निरंकुश शासन दोहर्याउनु थिएन । तर जब क्रमवेल सत्तामा आए उनले राजतन्त्रवादीभन्दा झनैं निरंकुश र तानाशाही शासन संचालन गरे । खासगरी उनले सैनिकको बलबाट यस्तो शासन गर्नथाले । शक्तिको उन्मादमा क्रमवेलले बलपूर्वक र हिंशात्मक तरिकाबाट रम्प पार्लियामेन्ट भंग गरे । पछि आफैले निर्माण गरेको पार्लियामेन्टलाई समेत धेरै पटक भंग गर्ने र फेरि निर्माण गर्न थाले । पार्लियामेन्ट सदस्यहरु कहिल्यैं स्वतन्त्र हुन सकेनन् । क्रमवेलको राज्यकालमा नागरिक स्वतन्त्रतामाथि चाल्र्स प्रथमको समयभन्दा झन् स्वतन्त्रतामाथि ठूलो चोट लाग्यो । प्रेसको मुख बाँधियो, जसले गर्दा सरकारको आलोचना कसैले गर्न सकेनन् । क्रमवेलले न्यायधिस र वकिललाई समेत बर्खास्त गरी जेल हाल्ने काम गर्नथाले । सेनाका मेजर जनरललाई पुलिसको अधिकार दिइयो । उनीहरुलाई स्थानीय स्वायत्त शासनमा समेत हस्तक्षेप गर्न लगाइयो । क्रमवेल यति निरंकुश बने कि उनले सेनाको भय नभएको भए आफुलाई राजाको पद समेत स्वीकार गर्न सक्दथे ।
क्रमवेलका यी सबैं गविविधीले उनी सबैं दलको दृष्टिबाट गिर्न थाले । राजतन्त्रवादी दलका मान्छेहरु क्रमवेललाई ‘राजाको हत्यारा’ भनेर घृणा गर्नथाले । गणतन्त्रवादी समर्थकको दृष्टिमा पनि क्रमवेल घृणाको पात्र बन्न थाले । क्याथोलिक र पादरीहरु पनि असन्तुष्ट बन्न पुगे, किनकि उनीहरुले पनि धार्मिक स्वतन्त्रता पाएका थिएनन् । स्कट र आइरिशहरुको आँखामा क्रमवेल अत्याचारी शासकका साथैं विदेशी शासक थिए । निरंकुश, तानाशाही र असफल शासन गरिरहेका क्रमवेलको सन् १६५८ मा निधन भयो । क्रमवेलले पहिल्यैं आफ्नो छोरा रिचार्डलाई उत्तराधिकारी मनोनित गरेका थिए । रिचार्डले दुई वर्ष शासन चलाउन नसकेर राजिनामा दिएर स्वतन्त्र भएर बसे ।
यस क्रममा छोटो समय सेनाले शासन संचालन गर्यो । सेनाले केही वर्ष शासन संचालन गरेपनि नसकेपछि उसले सन् १६६० मा रम्प पार्लियामेन्टको बैठक बोलायो । त्यसले सन् १६६० को अप्रिलमा नयाँ पार्लियामेन्टको चुनाव गरायो, जसलाई पछि ‘कन्भेन्सन पार्लियामेन्ट’ भनेर चिन्ने गरिन्थ्यो । यसमा राजतन्त्रवादीहरुको प्रभावशाली बहुमत रह्यो । राजा चाल्र्स प्रथमको मृत्युदण्डपछि उनका छोरा चाल्र्स द्धितीय हल्याण्डमा बसेका थिए । उनीसँग राजतन्त्रवादी नेताको नियमित सम्पर्क थियो । यही क्रममा कन्भेन्सन पार्लियामेन्टको बैठकमा राजवादीहरुको बहुमत संख्या पुग्यो । ती राजावादी सासंदहरुको बहुमतले सन् १६६० को मई महिनामा राजतन्त्र पुनस्र्थापना गर्ने निर्णय गर्यो । यसरी बेलायती इतिहासमा राजतन्त्र फालेको १८ वर्षपछि राजतन्त्र फर्कियो ।
उता फ्रान्सको इतिहास बेलायतको भन्दा झन् रोचक छ । सन् १७७४ मा फ्रान्सका राजा भएका लुई सोह्रौं बेलायतका राजाभन्दा निकैं निरंकुश र तानाशाही भएर देखापरे । लुई सोह्रौंले राजगद्दीमा आएपछि उसले निकैं घमण्डका साथ भन्थ्यो– ‘देशका सबैं कानुन मेरो इच्छाअनुसार चल्छ । राज्यको प्रमुख शक्ति ममा निहित हुन्छ । कानुन बनाउने हक केवल मलाई छ । यसका लागि मलाई कसैप्रति आश्रित हुन आवश्यक छैन ।’ पछि उसले यस्तो समेत भन्यो– ‘म नैं राज्य हुँ र राज्य नैं म हुँ ।’
राजा लुई सोह्रौंको शासनकालमा दरवारमा मात्र १५ हजार कर्मचारी थिए । रानीको नोकर्नी मात्र पाँच सयभन्दा बढी थिए । राजा–रानीको खर्चको कुनैं सीमा थिएन । दरवारको भोगविलाश खर्चका लागि करोडौं डलर खर्च हुन्थ्यो । यी सबैं खर्च जनताको करबाट जम्मा हुन्थ्यो । देशमा चारैतिर आर्थिक संकटहरु देखा पर्नथालेपछि राजाले धेरैं प्रधानमन्त्रीहरु नियुक्ति गर्ने र फेरि बर्खास्त गर्नथाले । प्रधानमन्त्रीहरुले संकट हल गर्न नसकेपछि सन् १७८६ मा राजाले न्यायलयतिर हात बढाए तर न्यायलयले राजाको प्रस्तावलाई अस्वीकार गर्यो । अब राजाले न्यायलयलाई पनि बर्खास्त गरे । सबै उपाय सकिएपछि राजाले सन् १७८९ को मई ४ मा ‘स्टेट्स अफ जनरल’ नामको संसद बोलाए । यसमा तीन खालका प्रतिनिधिहरु थिए– ठूला धनी र पादरीहरु, मध्यमवर्गीय व्यापारीहरु अनि कमन्स अर्थात् जनताका प्रतिनिधि । राजाले करको दर बढाउन संसद बैठकमा प्रस्ताव गर्दा कमन्सहरुले अस्वीकार गरे । यही झोकमा राजाले कमन्सहरुलाई संसदबाट निकालिदिए ।
अब राजा र संसदवादी गणतन्त्र पक्षधरबीचको निर्णायक द्धन्द्ध आरम्भ भयो । संसदबाट गलहत्याइएका कमन्स (सांसद)हरुले राजाविरुद्ध सशस्त्र संघर्षको बाटो अवलम्बन गरे । राजाविरुद्ध संसदवादी गणतन्त्रवादीहरुले ‘नेशनल गार्ड आर्मी’ निर्माण गरेर सशस्त्र संघर्ष गरे । उनीहरुको संघर्षलाई जनताले साथ दिए । राजा लुई सोह्रौंले विदेशी शक्तिको भरमा विद्रोहलाई दबाउन खोजेपनि असफल भए । १४ जुलाई १७८९ को निर्णायक विद्रोहसामु राजा सोह्रौं झुक्न बाध्य भए । राजा–रानीलाई पक्रेर दरवारमा बन्दीजस्तै बनाएर राखियो । दुई वर्षको बीचमा राजाले षडयन्त्र गर्न थालेपछि अन्ततः २१ सप्टेम्बर १७९२ मा गिलोटिनमा राखेर लुई सोह्रौंलाई मृत्युदण्ड दिइयो ।
राजा लुई सोह्रौंलाई मृत्युदण्ड दिएपछि गणतन्त्रवादी दल जेकोबिन, जसले सशस्त्र विद्रोहको नेतृत्व गरेको थियो । त्यही पार्टीका नेता रोविस्पियरले फ्रान्सेली शासन सत्ताको नेतृत्व गरे । सत्ता लिएपछि गणतन्त्रवादी दल जेकोबिनलाई विदेशी र आन्तरिक विद्रोहबाट निकैं कठिनाइहरु पैदा भए । यस्तो बेला जेकोबिन दलले देशमा शान्ति कायम गर्ने नाममा ‘आतंकको राज’ खडा गर्यो । सन् १७९२ देखि १७९४ सम्मको दुई वर्षमा झण्डैं ४० हजार मान्छेको ज्यान लिएको इतिहासकारहरुको भनाई छ । आफ्ना विरोधीहरु, ती पार्टी भित्र र बाहिर सबैलाई निर्ममतापूर्वक हत्या र आतंकको सहाराबाट समाप्त गर्ने बाटो लिएपछि गणतन्त्रवादी नेता रोविस्पियरलाई सन् १७९४ मा जनताले गिलोटिनमा राखेर मृत्युदण्ड दिए ।
रोविस्पियरको पतनपछि सन् १७९९ सम्म ‘डाइरेक्टरी सरकार’को नाममा शासन असफल भएको भन्दैं तत्कालीन सेनाका कर्णेल रहेका नेपोलियनले सैनिक ‘कु’मार्फत सन् १८०० देखि १८१५ सम्म शासन गरे । नेपोलियनको पतनपछि फ्रान्समा राजतन्त्र फर्कियो । लुई सोह्रौका भाई लुई अठारौं फ्रान्सका राजा भए । सन् १८४८ को दोस्रो राज्यक्रान्तिले राजतन्त्र फालेर दोस्रो गणतन्त्र प्राप्त गर्यो । फेरि सन् १८५१ मा गणतन्त्र खोसियो तर यो बेला सामन्ती बाटोमा गएन । पछि सन् १८७० मा फ्रान्सले तेस्रो गणतन्त्र पायो । यसले सन् १९४० सम्म स्थिरता पायो । सन् १९४२ मा जर्मनको आक्रमणपछि खोसिएको चौथो गणतन्त्र सन् १९४६ मा प्राप्त गर्यो । फ्रान्सको इतिहासमा सन् १९५६ पछि मात्र फ्रान्सले लामो राजनीतिक स्थिरता पाउन सक्यो ।
१७ र १८ औं शताव्दीको इतिहासमा बेलायत र फ्रान्समा भएको क्रान्ति र प्रतिक्रान्तिबाट नेपालका गणतन्त्रवादी शासकहरुले थोरैं पनि सिक्न खोजेको देखिएन । तत्कालीन बेलायत र फ्रान्समा राजाको निरंकुश र तानाशाही कदमलाई पछिका गणतन्त्रवादी नेताहरुले पछयाएजस्तैं नेपालमा पनि संसदवादीहरुले त्यही बाटो अवलम्बन गर्न पुगेका छन् ।
इतिहास बडो निर्मम हुन्छ । फ्रान्सको इतिहासमा लामो समयको राजनीतिक अस्थिरता र पटक पटक फेरिने सत्तासमीकरणका कारण उसले लामो संक्रमणकालीन प्रसव वेदना भोगेर यहाँसम्म आएको हो । इतिहासकारकाअनुसार फ्रान्सले धेरै दुख भोगेर संसारलाई धेरै सिक्ने मौका दिएको छ । तर इतिहासले सिक्न चाहनेहरुलाई मात्र सिकाउछ । सिक्न नचाहनेहरुलाई इतिहासले केही पनि सिकाउदैन तर दण्डित चाँहि अवश्य गर्दछ ।







