
छोटकरीमा भन्दा साम्यवाद भनेको सामुहिक जीवन प्रणाली हो। साम्यवादमा प्रकृतिमा भएका सबै कुरा समुदायका साझा सम्पति हुन्छन्। त्यसको उपभोग उपयोगिता र आवश्यकताको आधारमा गरिन्छ। विकासलाई प्रकृतिसँग जोडेर हेर्ने र प्रकृतिसँग मानव सभ्यताको सन्तुलन कायम गरिने कार्यनीति अवलम्बन गरिने हुँदा प्राकृतिक साम्यवादमा खुद नाफा भन्ने कुराको कुनै अस्तित्व रहँदैन। समुदायले अतिरिक्त मुल्यको भार बोक्नु नपर्ने हुँदा सम्पतिको असमान वितरण हुने सम्भावनाको अन्त्य हुन्छ। साम्यवाद स्वयमको विवेकले परिचालित बृहद प्रणाली हो। त्यसैले साम्यवादमा ब्यक्तिगत स्वार्थ वा लाभ हानीबाट हुने सबै कुराको अन्त्य हुन्छ।
साम्यवाद प्रयोगको सन्दर्भमा कुरा गर्दा फ्रान्सका लेखक रेष्टिफ द ला ब्रिटोनेले पहिलो पटक सन् १७९३ मा उच्च चेतनाबाट संचालित साझा स्वामित्वमा आधारित समतामुलक सामाजिक व्यवस्था भनेर बताए। २१ फेब्रुवरी १८४८मा मार्क्सद्वारा प्रकाशित ‘कम्युनिष्ट घोषणा’ पत्रमा समतावादलाई समाजवाद र साम्यवादको भिन्न भिन्न ऐतिहासिक चरण भनेर विभाजन गरिएको छ।
जहाँ जे जसरी व्याख्या गरिएको भएपनि ठेट अर्थमा भन्नु पर्दा प्रकृतिको सन्तुलन कायम गर्दै मानव चेतनाको उच्चताबाट स्वतस्फुर्त परिचालित आर्थिक वर्गविहिन विश्व सामाजिक प्रणाली नै साम्यवाद हो। मानिसहरुलाई लाग्न सक्छ, के त्यस्तो व्यवस्था पनि सम्भव हुन्छ र ?
सामाजिक उत्पीडन र आर्थिक उचनिचले छिन्नभिन्न विश्व राज्य प्रणाली तथा चेतनाको वर्तमान अवस्थामा साम्यवाद सपना मात्र हो। त्यसको सम्भावना अहिलेको विश्व परिवेशमा असम्भव नै छ। त्यो शब्द नै सपना जस्तो लाग्नु स्वाभाविक नै हो। तर चेतनाको क्रमिक रुपान्तरण र मानव सभ्यताको अहिलेसम्मका तथ्यहरु हेर्दा आगामी कालखण्डमा साम्यवाद अपरिहार्य बन्ने कुरालाई कुनै पनि दार्शनिकले अस्वीकार गर्न सकेका छैनन्।

महान् दार्शनिक कार्ल मार्क्सले साम्यवाद मानव चेतनाको उच्चतम बिन्दुमा पुगेपछि मात्र एक आधुनिक समतामुलक प्रणालीको रुपमा विकास हुने बताएका छन्। त्यस्तै पूर्वीय दार्शनिकहरुले पनि मानव चेतनाले आफ्नो उदय र अन्त्यको रहस्य बुझेपछि आँफु र अरुबीचको अन्तर समाप्त हुने र सर्व हिताय सर्व सुखायको भावनाले वैश्विक प्रणाली समानताको अन्तिम विकल्पमा प्रवेश गर्ने बताउदै आएका छन्।
वेदमा भनिएको छ – ‘सर्व खलु इदं ब्रह्म ।’ अर्थात सम्पूर्ण संसार चराचर जगत् ब्रह्म हो । परब्रह्मको अंश हो । हामी पनि त्यही ब्रह्मको अंश हौँ । हामीभित्र पनि त्यही परब्रह्म तत्व (ब्र्हमाण्डिय तत्व) विराजमान छ । त्यसैले ‘म’ भन्ने कुनै वस्तु छैन, छ त केवल ब्रह्म (सम्पूर्ण सृष्टि) । यहाँ ब्रह्म शब्दले ब्रह्माण्डको भौतिक,रासायनिक र विद्युतीय अस्तित्वलाई बुझाउछ। जसरी शरिरमा कुनै एउटा तत्वले मात्र यसको जीवन दिन सक्दैन त्यसैगरी प्रकृति पनि सामुहिकताको प्रतिक्रियाले जिवानुकुल रहेको छ। समुदाय भनेको पनि ठिक त्यस्तै हो। समुदायमा जब सबै प्रकारका प्रतिक्रियाले गति लिन्छ, अनि समुदाय चलायमान देखिन्छ। कुनै एउटाको इच्छा समुहको हितसंग बाझिन्छ, तब ब्यक्तिको हित र समुदायको हितबीच अन्तरसंघर्ष चर्किन्छ। त्यसले पृथ्वीको उत्पत्तिपछि जीवको उत्पत्तिसम्मको प्रतिक्रिया जस्तै लामो समय लिन सक्छ। त्यसपछि मात्रै व्यक्तिवादी समाज मानव समुदाय अर्को साम्यवादी प्रणालीगत कोर्षमा जान्छ। प्रकृति जस्तै जीव र जीवको विशिष्ट चेतना भएको मानव समुदायको आवश्यकताका कारणले साम्यवादी समाजमा रुपान्तरित हुने हो।
मानव चेतनाद्वारा संचालित समाजका आफ्नै अन्तरविरोधहरुको कारणले आफु र अरुबीचको भेद समाप्त हुने दिशामा निरन्तर अगाडि बढिरहन्छ। वेदमा लेखिएको ‘सर्व खलु इदं ब्रह्मम’ भनेको चेतना हो। सबैलाई आफैजस्तो देख्ने र त्यो अनुकुल व्यवहार गर्ने मानवको अति उच्च चेतना अर्थात् मार्क्सको भाषामा भन्दा साम्यवादी चेतना। वैंदिक दर्शनहरुमा त्यसलाई वैंदिक साम्यवाद वा व्रह्मावाद भनिएको छ।
ब्रह्मवाद भन्नाले अहंकार र इगो रहित ब्रहमाण्डलाई हेर्ने समभावी दृष्टिकोण। इगोको शुरुवाती शब्द ‘म’ भावलाई मानिएको छ । ‘म’ अर्थात अरु भन्दा सर्वोकृष्ट ‘म’, त्यसपछि मेरो परिवार, मेरो नाता सम्बन्ध, लगातार लागातार। अहिलेको विभेदकारी साम्राज्यवादी राज्य प्रणालीमा अनन्तकालसम्म मानव अस्तित्वको सम्मान गर्ने समतामुलक प्रणाली र हामीलाई प्राण दिने प्रकृतिको सन्तुलित उपयोगलाई असमानतापुर्वक लुटिएको छ। त्यसैले अहिलेको प्रधान अन्तरविरोध भनेकै साम्राजवाद र उत्पीडित राष्ट्रबीचको अन्तर्विरोध हो।। ब्यक्तिगत सम्पतिको शुरुवातले नै सामुहिक हित विरुद्ध चरम ब्यक्तिवादी सोचको विकास गरेको मानिन्छ। पौराणिक कालको कविला समाजमा हरेक आर्जित सम्पति सामुहिक हुन्थ्यो। अर्थात् त्यति बेलाको सम्पति प्राप्त गरिएको भोजन, भोजन प्राप्त गर्ने औजार र प्राकृतिक आवास समुदायका साझा हुन्थे। आमाहरुले त्यो सम्पतिको विभाजन आवस्यकताको आधारमा गर्दथे। त्यो बेलाको समाजमा ‘हाम्रोको प्रभुत्त्व’ थियो। म र मेरो भन्ने अहमको विकास भएकै थिएन।
त्यसैले मानव उत्पत्तिकालमा जुन भावनाका साथ अस्तित्वमा आयो त्यही भाव नै मानव चेतनाको उच्चतामा पनि आउने विश्वास दर्शनवेत्ताहरु गर्दछन्। उनीहरुको तर्कनुसार जबसम्म ‘म’ भन्ने अहङ्कार मानवभित्र छ,त्यति नै ऊ प्रकृति र परब्रहम चेतबाट टाढा हुन्छ। किनकि मानिस र जीव उत्पत्तिको सारबीच मानवताको दुश्मन ‘म’ पर्खाल बनेर उभिएको छ । जुनदिन अहमताको यो व्यक्तिवादी पर्खाल भत्किने छ त्यही दिनदेखि मानव समाजवाद हुँदै साम्यवादमा प्रवेश गर्नेछ । त्यसको निर्णायक तत्व मानिसमा विकसित हुदै गरेको ज्ञान र विवेक नै हो। त्यसले प्रगतिशील चेतनाका हरेक बाधाँहरुसंग हजारौं पटक अन्तरक्रिया गर्नुपर्ने हुन्छ ।
यो सृष्टि, यो जगत र निर्मित हरेक कुरा प्रकृति प्रदत्त हुन्। त्यसमा मानिसको संयुक्त श्रम, सिप र ज्ञानद्वारा मानव हित अनुकुल बनाइएको मात्र हो। त्यसैले संसार, प्रकृति र सम्पदा धरतीका साझा सम्पदा हुन् । व्यक्तिवादी सोचले निम्त्याएको असमान वितरण प्रणालीले नै मानव समुदायको अधिकतम हिस्सालाई कंगाल बनाएको हो। प्रणालीगतरुमा विकसित असमानता र त्यसको विरुद्ध मानव चेतनाका हजारौं प्रतिक्रियाले यो प्रणालीको उन्मुलन गर्ने निश्चित प्राय छ। तर त्यसको लागि सचेत सामुहिक प्रयाससँगै मानव चेतनाले कयौँ चरणहरु पार गर्नु पर्दछ।

उदाहरणका लागि हामीले हाम्रै आकाश गङ्गा, निहारिकालाई लिन सक्छौँ। यो निहारिकाभित्र कयौँ ताराहरु जन्मने-मर्ने प्रक्रियामा छन्। तिनीहरु आफ्नै स्वतन्त्र भौतिक नियमानुसार जन्मन्छन्, आफ्नो जीवन चक्र पुरा गर्दछन् र मर्दछन्। उनीहरुबीच गतिको नियम स्वतन्त्र र सन्तुलित छ। सन्तुलन र नियन्त्रण हुँदाहुँदै पनि तिनीहरु आफ्नै आन्तरिक प्रतिक्रियाको कारणले जन्मने, हुर्कने, ग्रह नक्षेत्रहरुलाई जन्माउने, जीवानुकुल वातावरण दिने गरेका हुन्छन्। यस मानेमा ती समुदायका मानिस जस्तै भिन्न भिन्न स्वभावका छन्। युग युग सन्तुलित अन्तरविरोधी र अन्तरसम्बन्धी हुँदै बिताउछन्। अन्तमा त्यो सबै आकाश गंगालाई आफ्नै बलमा परिक्रमा गराउने एउटा अर्को शक्ति छ ब्ल्याकहोल। त्यो होल नभएर पिण्ड नै हो। अन्तमा त्यसले सबै निहारिकालाई आँफुमा समाहित गर्दछ। त्यो हेर्दा देखिन्न भनेर पनि विश्वास गर्ने ठोस प्रमाण छैन। तर जब सबै निहारिका ब्ल्याकहोलमा एकिकरण हुन्छ, निहारिकाको फरक गुण, स्वतन्त्र भूमिका गुणात्मक रुपले बदलिन्छन्। बाँकी अस्तित्व ब्ल्याकहोलमा समाहित हुँदै साम्यवादमा प्रवेश गर्दछ।
ब्रहमाण्डको नियम यही हो, प्राकृतिक सत्य पनि यही हो र मानव समाजमा पनि अन्तत्वगत्वा यही प्राकृतिक नियम लागु हुन्छ। यदि प्रकृतिको यो नियम उलंघन गर्न मानव समाज उद्दत भयो भने उसले आफ्नो अस्तित्व गुमाउने निश्चित छ।
हाम्रा आदिम ऋषिमुनिहरुले गुरुकुलमा आंशिक रुपमा साम्यवाद लागु गरेका हुन्थे। त्यहाँ गुरु चेलाबीच सम्बन्ध भनेको सुर्य र पृथ्वीको भेदजस्तै हुन्थ्यो। अर्थात सुर्यले आफ्नो सबै प्रकाश र उर्जा मानव समुदायलाई भेदरहित प्रदान गरेको छ तर पृथ्वीले आफ्नै कक्षमा सन्तुलित रुपले गुरुको सामिप्यता नत्यागी परिकारमा गर्नुपर्छ। त्यो प्राकृतिक शक्ति पृथ्वीले त्याग्न नसक्ने गरि आफ्नो गुरुको अनुबन्धनमा परिचालित छ। त्यो अनुबन्धन त्यागेको दिन न त जीव जगतको अस्तित्व रहन्छ नत पृथ्वीको। मानिस वा अन्य कुनै जीव जगतको प्रणाली पनि प्रकृतिको यो नियमलाई मिच्न थालेको दिनदेखि आफ्नो अस्तित्वको संकटमा पर्ने निश्चित छ।
भौतिकीको यही नियमलाई अहिले चुनौती दिएको छ मानव चेतनाको निषेधात्मक भाव ‘म’ अर्थात अहमले। व्यक्तिवादी समाजमा विकसित हुँदै गएको अहमता, शक्तिको होड र नाफामुखी प्रवृतिले धरतीलाई ध्वस्त पार्ने आणविक बमहरुको विकास गर्यो। अरुका देश हडपेर उपनिवेश बनाउदै अरुको प्राकृतिक सम्पदा लुट्ने निहुँमा दुई विश्वयुद्ध भए, यस्ता अनेकन युद्धहरु अझै चलिरहेका छन् जसले करोडौ मानवजातिको लगातार कत्लेआम गरिरहेको छ। जंगललगायत सयौं मानव निर्मित सम्पदा जलेर नष्ट भए। प्रकृतिको इको सिष्टमलाई सन्तुलित बनाइराख्ने अन्य जीवहरु क्रमस लोप हुँदैछन्।लाखौँ वर्षमा प्रकृतिको स्वचालित प्रतिक्रियाले निर्माण गरेको जीवानुकुल वातावरण तहसनहस पार्ने क्रम अझ बढिरहेको छ। युद्धमा मानिसले खाली गुमायो मात्रै। तर प्राप्त गर्यो महामारी,जल प्रलय, भूमिको मरुभूमिकरण र असन्तुलित मौसम।
यी सबै मुर्खताका कारक स्टेफन हकिंस र ओशोले भनेझै पुँजीवादी अहम अर्थात म हो। जति मानिसले समुदाय र जीव जगतको मोह त्याग्दै जान्छ, यस्ता विपत्ति आइरहन्छन्। त्यसैले आँफु र अरुका बीचमा अकल्पनीय दूरी छ । एउटा बाटोले हामीलाई सम्मानसहितको समाजवाद हुँदै साम्यवादमा लैजान्छ। त्यो साम्यवादलाई हामीले जे नाम पनि दिन सक्छौँ। कुनै दार्शनिकले यसलाई साम्यवाद भनेका छन्, कसैले प्राकृतिक साम्यवाद र कसैले समतावाद। पूर्वीय दर्शनमा यसलाई ‘वसुधैव कुटुम्बकम’ भनिएको छ। व्यक्तिवादी लोभ र अहमताले लैजाने भनेको नर्कको बाटो हो। यसले लैजाने भनेको ग्लोबल वार्मिङ्ग र वातावरण विनाशको बाटो र मानव सभ्यताको विनाशको बाटो।
लेनिनले भनेका छन्, ‘जबसम्म संसारमा व्यक्तिवाद हावी भै रहन्छ,तबसम्म मानव समुदायको हितमा क्रान्तिको विकल्प क्रान्ति बाहेक अरु हुन सक्दैन।’ दुवै विपरित चेतनाकाबीचको अस्तित्व र संघर्ष चलिरहन्छ। यसैले नै चेतनाको संघर्षलाई क्रान्तिसम्म पुर्याएर लगातार रुपान्तरणको उर्जा दिइरहन्छ। अहमताको यही नित्कृष्ट भावले अहिले मध्यपुर्व ध्वस्त बनाउदै छ। अफगानस्थान त खरानी भै नै सक्यो। साम्राज्यवादी लुटले संसारभरी मानवता रोएको छ। चाँदीका हिम शिखरहरु काला पहाडमा रुपान्तरण हुँदैछन्। जंगल जलेर खरानीको थुप्रोमा परिणत हुँदैछ। समुद्रमा दयाविहिन मानवले ह्वेल, डल्फिन माछा सकिसके। रोगब्याधीले मानव मारिरहेको छ। आकाश धुम्म छ, अपराध कर्मले जेल भरिएका छन्। यो सबैं किन भैरहेको छ ? कर्म हैन कारण प्रधान हुन्छ। कारण हो ‘भोक र अत्याचार।’ त्यसको पनि कारण हो ‘म’ अर्थात अहमता। ‘म’ प्रकृतिले सृष्टि गरेको शब्द हैन। यो मानिसको व्यक्तिवादी राजनैतिक प्रणालीले सृष्टि गरेको शब्द हो। म,मेरो जाति,मेरो महान देश यो सबैं कहाँबाट आयो ? त्यसको एउटै उत्तर हो नीजि सम्पतिको प्रार्दुर्भावबाट, अरुलाई कजाएर खाने उपक्रमबाट।
ओशोले एक प्रसंग भनेका छन्, ”तीव्र गतिमा चेतना उल्टो सुल्टो दुबैतिर घुम्ने भएका कारणले ‘म’को भ्रम जन्मिएको हो, जसरी मसाल तीव्र गतिमा घुमेका कारण अग्निवृत्तको सृजना भएको देखिन्छ। यो एक वैज्ञानिक सत्य हो । ‘म’ भन्ने कुरा जुन शब्दमा छ, त्यस्तो यथार्थतः केही पनि हुँदैन । ‘म’ को कुनै रियल अस्तित्व छैन । गहिरिएर सोच्ने हो भने, साँचो अर्थमा ‘म’भनेको के हो ? मेरो हात हो वा खुट्टा हो वा मस्तिष्क हो वा हृदय हो ? के हो मेरो म ? एकछिन शान्त भएर भित्र खोज्न जाने हो भने, कहाँ छ म ? कुन कुरा हो मेरो म ? भित्र कुनै म खोजेर भेटिँदैन । यो अचम्मको कुरा हो । जति गहिराइमा खोज्यो, त्यति नै भित्र चेतनाको अग्रगामी प्रकाश भेट्टाइन्छ । त्यो प्रकाशको सन्दरताभित्र भिन्न समाजको आकृति, भिन्न चेतनाको जलप, भिन्न स्वर्गीय आनन्द। त्यहाँ कुनै ‘आई’ छैन, कुनै ‘मुछैन, त्यहाँ कुनै इगो, अहङ्कार भन्ने जस्तो चिज नै छैन ।”
त्यही वर्ग,अहमता र नीजि स्वार्थ विहिन समाज नै साम्यवाद हो। लेनिनका शब्दमा ‘समाजवाद समाजको साम्यवादसम्म पुग्नको लागि व्यवस्था गर्नुपर्ने संक्रमणकालिक सामाजिक प्रणाली’ भनेर बुझिन्छ। जहाँ आर्थिक वर्गहरुका मानसिक अवशेष बाँकी रहन्छन् र वर्गसंघर्ष निरन्तर चलिरहेको हुन्छ।







