ठ्याक्कैं तिथीमिति याद भएन, सप्तरीको तिलाठिमा भारतीय सुरक्षा बलद्वारा नेपाली नागरिकमाथि दमन गरियो। २०७३साल साउन १४ गतेको खबर अनुसार देवनारायण यादव सहित १०जना घाइते भएका थिए। उनै देवनारायण यादवसहित उनका छोरालाई समेत साँग्लोले बाधेर भारतको बिहार राज्य अन्तरगतको कुनै अदालतमा मुद्दा चलाइयो। केही समयपहिले कंचनपुर जिल्ला पुनर्वासका गोविन्द गौतममाथि मार्च १० तारिक २०१७मा गोली हानेर हत्या गरियो। ३१ जुलाई २०२१ मा जय सिंह धामी महाकाली नदी पार गर्दै गरेको तुइन भारतीय सिमा सुरक्षा बलका सिपाहीले काटेर महाकाली नदीमा खसाल्यो।

यी र यस्ता घटना केही नमुना मात्र हुन्। यहाँ हरेक दिन हरेक घण्टा भारतीय सीमा सुरक्षा बलका जवानहरु नेपाल भित्रिन्छन्। मन चाहे गर्छन् जे मनलाग्यो त्यही आरोप लगाउछन्। सोझा सिधा नेपालीलाई झुठा भुद्दा लगाउने छोरी चेली बलात्कार गर्ने, खसी बोकादेखि सुन लुट्नेजस्ता काम दैनिक हाम्रा सिमानामा हुँदै आएका छन्। यो काम २०४६सालपछि अत्याधिक भएको छ। यो हाम्रो आफ्नै भोगाइ पनि हो। आजसम्म जति पनि घटना घटे नेपाली पक्षले न्याय पाएको इतिहास छैन। आजसम्म जय सिंह धामीको लाश भेटिएको छैन। नेपाल सरकार कुनै पनि मुद्दामा अग्रसरता देखाएर आफ्नो जमिन आफ्ना नागरिकको ज्युज्यानको रक्षाका लागि बोलेको संघर्ष गरेको कुनै प्रमाण छैन।

खास गरी भारतीय पक्षबाट जमिन कब्जा गर्ने हिम्मत भारतीय सुरक्षा बलसँग हुँदैनथ्यो। हामी भारत जादा आउँदा सीमानामा आजको जस्तो दुख हुँदैन्थ्यो। जब भारतले नाकाबन्दी लगायो ४५सालमा, त्यो बेलादेखि हामी भारतीय दास हुँदै यहाँसम्म आएका छौ। हाम्रा भुभाग भारतीय कब्जामा पर्दै गएका छन्। भौगोलिक रुपमा सीमाना खुम्चेका छन्। २०३२, ३३ सालसम्म कालापानी लिपुलेक लिम्पियाधुरामा मालपोत बुझ्ने, कर उठाउने नागरिकता बनाउने काम हुन्थ्यो। त्यपछि यहाँको कर्मचारीतन्त्र यति लाचार भयो कि विकट ठाउँसम्म जानै छोड्यो। जसको परिणाम हाम्रा भुभाग भारतको कब्जामा पर्दै गयो। यो पूर्वको मानेभन्ज्याङदेखि पश्चिमको दार्चुलासम्मको घटना हो।

यसका पछाडिको कारण के होला ?

यसका पछाडिको कारण अध्ययन गर्दै जाने हो भने एउटा कुरा प्रस्ट देखिन्छ। त्यो नेपालमा राजनीतिक अस्थिरता उत्पन्न गराउने यसैको आडमा नेपालभित्र माइक्रो मेनेजमेन्ट गर्ने। २०२८सालपछि नेपालमा तत्कालिन झापा विद्रोह शुरु भयो। देशभित्र यो विवाद समाधान गराउन दरवारभित्र र दरवार बाहिरका कुटनीतिक कर्मचारी, प्रधानमन्त्री, मन्त्री, राजा, सेना सबैको ध्यान यतातिर भएको बेला यहाँ निकासका लागि जनमत संग्रह गराउनेतिर राज्य लाग्यो। ठीक यही मौका छोपेर सुर्यबहादुर थापाको नेतृत्वमा तराइमा बसोबास गर्ने भारतीय नागरिकलाई माताधिकारको व्यवस्था गरियो। यसैका आधारमा नागरिकता पनि पाए। ठीक यही बेला लिम्पियाधुरा लिपुलेक कब्जा भयो। यो बेलासम्म भारतले नेपाली कर्मचारीतंत्रमा आफ्ना मान्छे घुसाइसकेको थियो।

आजको जस्तो ब्यापक त थिएन तर यहाँका गोप्य सुचना भारतसम्म पुर्याउने उच्च ओहदाका कर्मचारी भारतका लागि काम गर्न शुरु गरेकै कारण ४५सालमा नाकाबन्दी लगाउन भारत सफल भयो। १५महिने यो नाकाबन्दीमा नेपाल सरकार भारतसामु झुकेन। मरिचामान सिंह श्रेष्ठले नागरिकको लागि चाहिने नुन, तेल विदेशबाट मगाएर राष्ट्र चलाए तर भारतीय सामान नेपाल आएन। यति हुँदा पनि नेपाली नागरिक भारतीय सेनामा काम गर्दै थिए। नेपाली जनतालाई नाकाबन्दी लगाउने भारतसँग मिलेर नाकाबन्दी थप कडा बनाउन अपिल गर्ने काग्रेस मालेहरु कै कारण जनताले दुस्ख पाए। ठीक यही बेला २०४६सालको शुरुवात मै बहुदलीय व्यवस्थाका लागि आन्दोलन शुरु भयो। भारतले नाकाबन्दी लगाएको बेला सिंगो देश एक भएर भारतीय विस्तारवादको विरुद्धमा संघर्ष गर्नु पर्ने बेला यहाँका कथित जनताका हिमायाती हौ भन्नेले नै नाकाबन्दी लगाउन अनुरोध गर्नु लाई कसरी बुझ्ने ?

वीरेन्द्रले भारतसँग झुक्नु भन्दा नेपाली नागरिकसँग झुक्छु भनेर बहुदलीय व्यवस्थाका लागि स्वीकार गर्दा वित्तिकै नाकाबन्दी पनि खुल्यो। यहाँबाट शुरु भयो भारतीय दादागिरिको उग्ररुप। २०४७ सालमा संविधान बन्यो । यसैको आधारमा ०४८सालमा संसदीय निर्वाचन भयो । नेपाली कांग्रेसको सरकार बन्यो, गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री बने। यहाँबाट नेपालको पतनको अवस्था आयो। भारतलाई खुशी पार्न यहाँका उद्योग नीजिकरणका नाममा भारतीय माडेहरुलाई बेचियो। २०४९सालदेखि ०५१ सालसम्म सम्पूर्ण उद्योग बन्द गरियो। विकास निर्माणका काम ठप्प भए। नेपाली नागरिकलाई बेरोजगार बनाएर हरेक सरकारी संस्थाभित्र राजनीतिकरण गरियो। राजनीतिको पहुचको आधारमा अपराधीलाई मुक्त गर्ने, फरक विचार बोकेका राजनीतिक पार्टीका नेता कार्यकर्तामाथि झुठामुद्दा लगाउने, अपहरण गर्ने, जेल हाल्ने, गोली हान्ने, दुख दिने कामको शुरु भयो। यो नै तत्कालिन माओवादी आन्दोलनको लागि गृहयुद्धको बलियो वातावरण बन्यो। बदलाको भावनाले अन्याय अत्याचारको सीमा नाघेपछि शुरु भयो खुनीयुद्ध। यो आन्दोलन जनताको लागि मुक्ति आन्दोलन थियो। तर नेतृत्वले जनतासँग धोका गरेको थियो। प्रचन्ड बाबुरामहरु भारतबाट संचालित थिए।

तत्कालिन माओवादी आन्दोलनलाई हाम्रो समर्थन सहयोग थियो भनेर एसडिमुनी, प्रवण मुखर्जी जो पुर्व राष्ट्रपतिदेखी स्वामी अग्निवेससम्म धेरै व्यक्ति जो भारतीय सत्ताका नजिक बसेका व्यक्तिबाट बाहिरिएको छ। त्यसपछि भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे सम्झौता सप्रमाण हामीसँग छ कि प्रचन्ड बाबुराम भारतबाट नै पालीत पोषित व्यक्तिहरु हुन् । उनीहरुले नेपालमा उधुम मच्याउने खेल खेले भन्न हामी बाध्य हुन्छौ। जनता तल्लो स्तरको कार्यकर्ता, नेतासम्म इमान्दार भएर जनयुद्धमा लागेका थिए। तर मुल नेता प्रचन्डपथ भारतीय डिजाइनमा आएको थियो। १२ बुँदेपछि नारायणहिटिको अधिकार दिल्ली पुग्यो। ७२सालको भुकम्पपछि भारतले लगाएको नाकाबन्दीलाई कांग्रेसले नाकाबन्दी भन्न सकेन। आफ्ना नागरिक आफ्नो सीमा जोगाउन आवाज उठाउन सकेनन्। यसको पछिको कारण भारतबाट पालित पोषित नेता हुनुको प्रमुख कारण हो। त्यसैले आज हामीले उद्योगहरु गुमायौ। बेरोजगार भएर विदेशिन बाध्य भयौ। आज नेपाली उधमी कोही पनि नेपालमा उद्योग संचालन गर्न तयार छैनन् । कारण के होला ? कहिल्यैं कसैले सोचेको छ ?

आज हामीले अफ्गानिस्तानको घटनालाई हेरे पुग्छ। त्यहाँको राष्ट्रपतिले विदेशी नागरिकता लिएको भेटियो । सरकार प्रमुख, सेना प्रमुख, प्रहरी प्रमुख सबै भागे। किन भागे होलान ? सोचेका छौ ? विदेशीको पैसामा बिकेका देशभित्र भ्रस्टचार गरेर विदेशी बैंकमा पैसा जम्मा गरेका देशद्रोही नेतालाई देशको माया हुँदैन। भोली यिनको बस्ने खाने, मोज गर्ने, सात पुस्ता पुर्याउने काम गरिसके । अब यहाँ एमसीसी आओस् कि अरु कुनै आओस् के मतलब, मर्ने मारिने सोझा सिधा नेपाली हुन्। त्यसैले यिनीहरु अब एमसीसी पास गराउन मरिहत्ते गरिरहेका छन्। कुनै पनि पार्टीको विश्वास गर्ने ठाउँ छैन, नेताहरु एकथोक बोल्छ, अर्को थोक गर्छ। हामी नेपालीलाई गणतन्त्र, लोकतन्त्र र प्रजातन्त्र जे चाहिए पनि आँफैले ल्याएको भए हामीलाई यसको माया हुन्थ्यो यही व्यवस्थाबाट हामीले देशको उन्नति प्रगति गर्थ्यौ। तर यो विदेशीले थोपरी दिएको संघीयता, धर्मनिरिपेक्षेता र गणतन्त्र भएर त होला कोही कता फर्केको छ । कोही कता ? कसैले हिन्दू राष्ट्र, राजसंस्था, संघीयताको खारेजी आन्दोलन चर्किने अवस्था देखिन्छ।

जब कि गणतन्त्र आएको पनि १३ वर्ष भयो। यहाँ कसलाई राजा बनाउने यहाँ त हजारौ राजा सलामी खाएकै छन्। कसैले कसैलाई टेर्दैन। यो किन भएको छ? जरो कहाँ छ समुल समस्याको ? यो सब भारतीय युरोप र अमेरिकाबाट नियोजित ल्याइएको लादिएको व्यवस्था हो। अब हामी सम्पूर्ण नेपाली, जसलाई यो भुमि यहाँको संस्कृति, संस्कार र सभ्यताको रक्षा चाहिएको छ । एक हुनु पर्ने समय आयो किनकि विदेशीले हेप्न, मार्न र लुट्न कुट्न नसकोस्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार