
आज देशभरि कुनै पनि सरकारी निकायहरु राम्रो सँग चलेको छैन। यानी कि यहाँ त सरकार नै छैन भन्दा गलत हुने छैन। किन कि नामको सरकार शेरबहादुर देउवा प्रधानमन्त्री हुनु हुन्छ। तर तीन महिना हुन लाग्दा पनि सरकारले पूर्णता पाएको छैन। सरकार नामको ग्यांगले आध्यादेशबाट कालो धनलाई बैधानिकता दिन नीति नियम बनाउदैछ। श्रोत नखोज्ने उद्योग खोल्न पाउने नीति नियम पास गराउछ। ४०० प्रतिशत भन्सार गाडीमा लगाएर जनता लुटेको छ। तर बाटोको अवस्था देशभरिकै खराब छ। दुरदराज गाउँ ठाउँको त कुरा गर्नै परेन । किनकि हामी दोश्रो दर्जाका नागरिक पर्यौ उनीहरुको नजरमा।
तर राजधानी कै अवस्था त्यहाँका सडक गाडीको चाँप बयान गरी साध्य छैन। आखिर यस्तो किन र कहिले सम्म ? नेता राजनीतिक पार्टीसँग जोडिएका झोले जो २०लाख भन्दा धेरै छन्। कसैलाई यो विषयमा कुरा गर्नु छैन। काठमान्डौबाट दाङ आउन र दाङबाट कठामान्डौ जान २८ देखि ३० घण्टा लाग्ने किन भयो ? ट्राफिक प्रहरीलाई साधन श्रोत छैन भनौ भने यत्रो कर उठाएर कहाँ जान्छ ?
साघुरो बाटोमा ट्रक बिग्रियो । महिनौ दिनसम्म त्यसको मालिक आएन भने पनि त्यो ट्राफिकले उठाउदैन किन ? एउटा क्रेन चौबिसै घण्टा यस्ता ठाउँ ठाउँमा हुनु पर्ने होइन र ? के यिनको यति पनि बुद्धि छैन र ? साघुरो बाटो छ, त्यसैैमाथि पहिरो गएर बेहाल छ । गाडी पाँस हुने ठाउँ छैन । ट्राफिक प्रहरी रमिते बनेको छ । किन होला ? जङलको बीचमा भोकै प्यासै, पैसा हुनेले किनेर पनि खान नसक्ने । पैसा नहुनेहरु त किराझै मर्ने भएका छन् । गाडी भाडा २८ प्रतिशतले बढेको छ। पेट्रिलियम पदार्थ २ रुपैया बढ्यो भने गाडी भाडा सयको रेसियोमा बढ्ने यो देशको अवस्था यति असफल हुँदा पनि यहाँका जनता चुपचाप छन्। यो अवस्था सुदुरपक्षिमबाट राजधानी आउने जानेको पनि हो। उहाँहरुलाई ४ दिन लाग्न सक्छ। तर उहाँहरु बोल्नु हुन्न। किन होला ? यो अवस्था एउटा बाटोको मात्र होइन, स्कुल कलेज, अस्पताल, सरकारी कार्यालय, खानेपानी, बिजुली, टेलिफोन, मालपोत, नापी विभाग र प्रहरी प्रशासन सबै ठाउँको हो।
कसैले कसैलाई टेर्दैन, सबका सब महाराजा भएका छन्। स्थानीय जनप्रतिनिधि हिजोका राजा महाराजा भन्दा माथि छन्। विशिष्ट श्रेणीका परे, उस्तै परे जनता कुट्ने नीतिगत भ्रस्टाचार गर्ने, सरकारी पैसा कुम्ल्याउने, सेवा-सुविधा जनताको पैसाबाट खाने, काम दलाल पुँजीपतिको फाइदाको गर्ने। यहाँ उद्योग खोलौ कृषिमा लगानी बढाएर रोजगारी सृजना गरौ, भारतबाट आयात रोकौ, बजार ब्यबस्थापनमा बिचौलियाको अन्त्य गरौ भन्ने सोच यिनीहरुको छैन। हिजो जनतालाई अल्मल्याउन सिंहदरवारले जनतालाई अधिकार दिएन भनियो। आज जनताको अवस्था उस्तै छ । उही समस्या छ, उही दुख-पिडा, रोगभोक र शोक उही छ, किन ?
उस्तै छ हामीलाई पिरलो उस्तै छ अवस्था
उस्तै छन् दुखी जनता उस्तै छ देशको व्यवस्था
यो गीतले आज हामीलाई भनिरहेको छ कि देशमा सामन्तवादको प्रमुख राजा मात्र होइन रहेछ। यहाँ हजारौ राजा महाराज जन्मिए। हिजोको राजाहरु दरबारिया आसेपासे शक्तिको आडमा शासन गर्थे। तर आज कथित जननिर्वाचित भन्नेहरु गुण्डा बैधानिक झोले पार्टीका झोला बोक्ने राष्ट्रको लागि नसोच्ने केबल पैसाका लागि दलाली गर्ने अनि राष्ट्र नै बेच्न पनि पछि नपर्नेहरुको आड भरोसामा लुट मच्याएका छन्। यो व्यवस्थाले जनताको झनै बेहाल हुनेछ। यो दलाल संसदीय व्यवस्थाबाट मुक्त पाउने बाटो हिजोको सामन्तलाई सिँगारेर गद्दी सुम्पने कदापी होइन। अब नयाँ व्यवस्था र आमुल परिवर्तन नै नेपालको लागि अनिवार्य व्यवस्था हुने छ। अब नौलो जनवाद नै अबको कार्यभार बनाउने हो। त्यसका लागि विदेशिएका नेपाली दाजु भाईलाई देशभित्र फर्कनु पर्ने हुन्छ। तपाईंले जीवनभर दुख गर्नु भयो कसको लागि ? न यो देशको व्यवस्थाले तपाईंको जीवनको रक्षा गर्छ न तपाईंको परिवारले नै तपाईंको कदर गर्छ ? त्यसैले यही लडौ, यही संघर्ष गरौ । यही देशको माटोमा रगत पसिना बगाउ।
देशको बेहाल के सुनाउ साथी गोली चल्दैछ
फेरी पनि हुकुमी शासन चल्दैछ गोली चल्दैछ
हो यो देशको मेसिनरी सबै खराब बनाए यी विदेशीका दलालले । अब यहाँको मेसिनरीलाई बदल्ने समय तपाईं हाम्रो जिम्मेवारी होइन र ? जहाँ काम गरेर आफ्नो परिवारसँग बसेर जीवन गुजारा चलाउन पाउने तपाईंको अधिकार होइन र ? के हामी सधैं झोला बोकेर रुँदैं रुँदैं डाँडा काटेर हिंड्नै पर्ने हो र ? यहाँको लथालिङ्ग अवस्थाको भताभुङ्ग व्यवस्थालाई ठीक ठाउँमा कसले ल्याउने हो ?







