उत्तर कोरियाको नाम आउने बित्तिकै हामीले दक्षिण कोरियासँगको तुलनामा एउटा गरीव, भोकमरीग्रस्त र लडाकु देशको छवी हाम्रो आगाडि आउछ। अझ त्यसमाथि निरन्तर रुपमा पश्चमी संचार माध्यममा यो देश सम्बन्धी नकारात्मक खबरहरु मात्र आउछन्। त्यस्तै मध्येको एउटा खबर जो  उत्तर कोरियाबारे सधैं जोडिएर आउछ त्यो हो  यो देशमा सन् १९९० को दशकको मध्यमा भएको भयङ्कर अनिकाल र भाेकमरीका कारण लाखौ मान्छेहरुको मृत्युबारे। यो लेखमा उत्तर कोरियाले भोगेको त्यो कहालीलाग्दो समय र त्यसलाई उसले कसरी सामना गर्‍यो त्यसबारे केहि प्रकाश पार्ने प्रयास गरिनेछ।

सन् १९९० को दसकको सुरुवातसँगै उत्तर कोरियामा ३ वटा घटनाहरु भए जसले त्यहाँ भयानक संकट ल्यायो। ती घटना मध्ये पहिलो थियो  सन् १९९१ मा सोभियत संघको बिघटन।  यसको प्रत्यक्ष  प्रभाव उत्तर कोरियाली अर्थतन्त्रमा पर्न गयो। जसको कारण यो देशको ८०%  बैदेशिक व्यापार ठप्प  भयो। त्यस्तै पेट्रोलियम पदार्थको लागि उत्तर कोरिया पूर्णरुपमा सोभियत संघमाथि निर्भर थियो। पेट्रोलियम पदार्थको आयात पनि ७५% ले घट्यो। यसले यो देशलाई ठुलै आर्थिक संकटमा परिरहेको थियो। त्यसै बेला १९९४ मा उत्तर कोरियामा संस्थापक नेता किम इल सुङ्ग को निधन भयो।  यो दोश्रो घटना थियो।  उत्तर कोरियाका जनताले किम इल सुङ्ग बाहेक अरु कुनै नेतालाई देखेकै थिएनन्।  ४८ बर्ष देखि यो देशका शासक उनी थिए। उनलाई गुमाउनु कुनै परिवारले आफ्ना संरक्षक  गुमाए सरहको मनोबैज्ञानिक क्षति थियो। यसको लगत्तै तेस्रो ठुलो बिपत्ति उत्तर कोरियाले भोग्नु पर्‍यो।शताब्दीमै एक चोटी पर्ने ठुलो पानी उत्तर कोरियामा सन् १९९५ र १९९७ मा पर्‍यो। यो बर्षातको तिब्रता यस्तो थियो कि ७ घण्टाको बिचमा ८७७ मिमि पानि परेको थियो। जसका कारण त्यहाँ धेरै ठुलो बाढी आयो र र त्यसले व्यापक भौतिक र आर्थिक क्षति पुर्‍यायो। सबैभन्दा ठुलो क्षति चाहि खेतियोग्य जमिन, जलबिधुत आयोजना, कोइला खानी र सिचाई र जमिनमुनि राखिएका खाद्यान्न भण्डारमा पुर्‍याएको थियो ।

उत्तर कोरियाको ८०% जमिन पहाडी भूभागले बनेको छ। त्यहाको २०% जमिन मात्र खेतियोग्य छ।  जसमा छ महिना मात्र खेति गर्न सकिन्छ।  र बाँकि ६ महिना चिसो र तुषारो परेर खेति गर्न सम्भव हुदैन।  जसको कारणले त्यहाँ १ बालि मात्र लगाउन मिल्छ। तसर्थ उत्तर कोरिया खाद्ध्यान्न उत्पादनमा आत्मनिर्भरता हासिल गर्नु साधारण अवस्थामा पनि सधै नै चुनौतिपूर्ण नै हुन्छ।  अझ यस्तो विषम परिस्थितिमा त झनै गार्हो हुने नै भयो। उत्तर कोरियामा खेति गर्नको लागि सिचाई बिद्युतबाट संचालित पम्पिंग प्रणालीमा आधारित थियो।  यसको लागि निरन्तर बिद्युतको प्रवाह चाहिन्छ। तर बाढी र खडेरीले जलबिधुत उत्पादन केन्द्रहरुलाई बिगारिदिएको थियो। इन्धन बगेर सिचाई गर्ने पम्पहरु सचालन गर्न सकिदैन।  त्यस्तै बाढीको कारण उत्तर कोरियाका प्राय सबै कोइला खानीहरुमा पानी भरिएका थिए। पेट्रोलियम पदार्थ र बिजुली बेगर यी खानीहरुबाट पानी तानेर नफालुनजेल सम्म संचालन गर्न सकिदैन थियो। त्यस्तै कोइलाको उत्खनन बेगर खेति गर्नको लागि रासायनिक मल उत्पादन गर्न सकिदैन थियो। जसका कारण बर्षौसम्म उत्तर कोरियाका खेतहरुमा कुनै कृषि उत्पादन हुन सकेन। यो समयलाई उत्तर कोरियनहरुले कठिन अभियान (Arduous March ) अभियानको रुपमा लिन्छन्।  खानाको अभावमा मानिसहरुले घास र रुखका बोक्राहरु समेत खाए। यो क्रममा लाखौ मानिसहरु मरे। बिदेशबाट खाद्यान्न सहायता त आयो तर त्यसले उत्तर कोरियाले भोगेको समस्याको दिर्घकालिन समाधान हुन सक्दैन थियो। यो समस्या समाधान उत्तर कोरियाले आफ्नै तरिकाले गर्न थाल्यो।  उत्तर कोरियाका नेता किम इल सुंगको एउटा प्रमुख सिद्धान्त छ जुछे, जसको अर्थ हुन्छ आत्मनिर्भरता। जुछेको वास्तविक अर्थ हुन्छ कसैले पनि आफ्नो समस्याको समाधान आफैले र  आफ्नो संसाधनमा आधारित भएर गर्नु पर्छ कुनै बिदेशी शक्तिमा निर्भर भएर होइन।

उत्तर कोरियाले फेरि आफ्नो कृषि ब्यबस्थालाई संचालन गर्नका लागि पहाडमा परेको पानीलाई कुलोहरु बनाएर बेशीमा रहेको खेत सम्म पुर्‍याउन गुरुत्वआकर्षणलाई प्रयोग गर्ने योजना बनाए।  उनीहरुले पहाडमा पानि संचय गर्ने जलाशयहरु बनाए र जसलाई  कृषियोग्य जमिनसम्म पुर्‍याउन कुलो, सुरुङ्ग र नहर जस्ता जलमार्गहरु बनाए। उत्तर कोरियासँग यी संरचना बनाउन चाहिने भारी मेसिनहरु ती क्षेत्रमा पुर्‍याउन र संचालन गर्न इन्धन पनि थिएन। उत्तर कोरिया ती सम्पूर्ण संरचनाहरु मानव श्रम शक्ति प्रयोग गरेर नै निर्माण गर्‍यो। हजारौ मानिसहरु यो काममा लागे।  यसरी त्यहाँ सरकारले सयौ किलोमिटर लामो सिचाई प्रणाली निर्माण बनायो। उत्तर कोरियालाई पहिलेको रुपमा फर्किन १५ बर्ष जति लाग्यो। जसले गर्दा यो देश बल्ल खाद्य आत्मनिर्भरताको नजिक पुग्यो।

यो आर्थिक र खाद्य संकटको सँगसँगै उत्तर कोरियाले सुरक्षा संकट पनि व्यहोरिरहेको थियो।  अमेरिकासँग सन् १९९४ मा भएको आणविक मामिला सम्बन्धी सहमतिले कुनै गति लिन सकेको थिएन। आफ्नो सुरक्षालाई भरपर्दो बनाउन तत्कालिन नेता किम जोङ्ग इल ले सेनालाई पहिलो प्राथमिकता (सोङ्गगुन) दिने नीति अघि सारे। यस नीति अन्तर्गत सेना र रक्षा मामिलालाई पहिलो प्राथमिकता दिइयो। उत्तर कोरियाले क्षेप्यास्त्रको निर्माण र परिक्षण गर्ने कामलाई तिब्रताका साथ गर्न थाल्यो। सन् २००२ अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले उत्तर कोरिया, इरान र इराकलाई शैतानको धुरी (axis of evil ) भनेर नामकरण गरेका थिए। अझ सन् २००३ मा अमेरिकाले इराक माथि हमला गरेर सद्दाम हुसेनलाई मारेपछि उत्तर कोरिया आफ्नो सुरक्षाप्रति सतर्क हुनु स्वभाविक नै थियो। यसै क्रममा यो देशले सन् २००६ मा पहिलो एटम बमको परिक्षण गर्‍यो। अमेरिकी सरकारको धम्कि र नाकाबन्दीको बाबजुद पनि उत्तर कोरिया हतियार बिकाशको क्रममा तल्लिन रह्यो।  त्यसपछि सन् २०१७ सम्ममा ६ चोटी आणविक हतियारको परिक्षण गरिसकेको छ।  जसमा सन् २०१७ मा गरियो हाइड्रोजन बम समेत सामेल छ।  त्यस्तै त्यहि बर्ष उसले अमेरिकासम्म पुग्न सक्ने अन्तरमहाद्पीय ब्यालेसटिक क्षेप्यास्त्रको सफलता पुर्बक परिक्षण गर्यो।

र सन् २०१७ को डिसेम्बर ३१ मा उत्तर कोरियाली नेता किम जोङ्ग उनले घोषणा गरे उत्तर कोरियाले आणविक रक्षा क्षमता हासिल गरेको छ।  उत्तर कोरियाले रक्षा क्षेत्रमा हासिल गरेको क्षमताको विश्लेषण गर्दै रुसका रास्ट्रपति भ्लादिमिर पुटिनले भनेका थिए – मलाई लाग्छ किम जोङ्ग उनले यो पटक निश्चित रुपमा जितेका छन्। उनले आफ्नो रणनीतिक कार्य सम्पन्न गरेका छन्। किम सँग अब आणविक हतियार र १३,००० किलोमिटरसम्म मार हान्न सक्ने क्षेप्यास्त्र छ जुन बिश्वको कुनै पनि ठाउमा पुग्न सक्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार